बासुदेव ••
वर्ग सङ्घर्षका कामहरू, सामाजिक कार्यहरू, विकासका काममा आर्थिकको आवश्यकता पर्दछ । त्यो समस्या समाधान गर्न सबैले केही न केही योजना बनाएर आवश्यकता पूरा गर्ने गरेका हुन्छन् । जनताको पक्षमा काम गर्ने क्रान्तिकारी सङ्गठनहरूले पनि आफ्नो योजनामा काम गर्नुपर्दछ । आर्थिक समस्याको समाधानको विषयमा कतिपय समुह वा व्यक्तिहरूले सबै कुराको निर्णय आर्थिक सम्पन्नताले नै गर्दछ जे गरेर भएपनि आर्थिक उत्पादनमा लाग्नु पर्दछ भन्ने सोंचाई राखेको पाईन्छ । कतिपयले आर्थिक समस्या केही होइन, समस्या समाधान त भैहाल्दछ भन्ने सोंचाईहरू राख्दछन् । दुवै प्रकारका सोंचाईहरू गलत छन् ।
हामीले व्यक्तिगत सम्पत्तिमा आधारित समाजलाई अन्त्य गरेर समुहिक सम्पत्तिमा आधारित समाज स्थापना गर्न चाहन्छौँ । त्यो काम पूरा गर्नु हाम्रो लागि अनिवार्य शर्त हो । जतिबेला त्यो समाज स्थापित हुनेछ, अवश्य पनि व्यक्तिले व्यक्तिलाई शोषण गर्ने र एउटा वर्गले अर्को वर्गलाई शोषण गर्ने व्यवस्थाको अन्त्य हुनेछ । त्यो हाम्रो रणनीतिक कार्यक्रम हो । हाम्रा तात्कालिक कार्यक्रमहरूले पनि एक व्यक्तिले अर्को व्यक्तिलाई र सबै प्रकारका संस्थागत भ्रष्टाचार, सुदखोरी, अनियमितता र अराजकताद्वारा हुने शोषणको अन्त्य गर्दै अगाडि बढ्नु पर्दछ भन्ने निर्देशन गर्दछन् भने दीर्घकालीन उद्देश्य पूरा गर्न तत्कालीन कार्यहरूलाई पूरा गर्दै अगाडि बढ्नु पर्ने हुन्छ । ती सबैको निर्देशन सही प्रकारको सिद्धान्तमा आधारित राजनीतिले गर्दछ । सही राजनीतिले सबै प्रकारको निर्णय गर्दछ । त्यसकारण सही राजनीतिको निर्णय गर्नु नै प्रथम कार्य हो । सही राजनीतिलाई स्थापित गर्न र देशव्यापी बनाउन सही प्रकारको आर्थिक कार्यक्रम पनि चाहिन्छ ।
जसरी सही राजनीतिले सबै कुराको फैसला गर्दछ । त्यसैगरी यस समाजमा आर्थिक समस्यालाई पनि कम गरेर आक्न सकिंदैन । मुख्य समस्या आर्थिकले समाधान त गर्दैन । तर त्यसलाई कम गरेर आक्न नसकिने भएकोले आर्थिक समस्या समाधानको बारेमा पनि गम्भीर रूपमा ध्यान दिनुपर्दछ ।
राजनीतिलाई सफल बनाउन कार्यकर्ताको आवश्यकता पर्दछ । ती कार्यकर्ताहरूका व्यक्तिगत आफ्ना समस्याहरू हुन्छन् । व्यक्तिगत आर्थिक समस्याहरू सामुहिक समस्या समाधान भएपछि स्वत समाधान हुँदै जान्छन् । तर त्यसो भनेर तत्कालीन रूपमा नभैनहुने समस्यालाई समाधान नगरी एउटा कार्यकर्ता सङ्गठनमा पूरा काम गर्न सक्दैन । त्यसै भएर लेनिनले कार्यकर्ताहरूलाई कसरी बाँच्ने भन्ने आर्थिक बोझबाट उनीहरू मुक्त हुनुपर्दछ भनेर बताउनु भएको छ । अझ पूर्णकालिन कार्यकर्ताहरूलाई त यहाँसम्म कि आफ्ना परिवारहरू समेतको सबै आर्थिक बोझबाट उनीहरू मुक्त भएको हुनुपर्दछ । तबमात्र उनीहरू पूराका पूरा सङ्गठनको कार्यमा होमिएर लाग्न सक्दछन् । सही राजनीति भएर मात्र नपुग्ने र त्यसलाई लागू गर्न सक्रिय कार्यकर्ताको आवश्यकता पर्दछ । केही सीमित सक्रिय कार्यकर्ताले पनि राजनीतिलाई सफल बनाउन सक्दैनन् । त्यसकारण हजारौँ कार्यकर्ता निर्माणको लागि आर्थिक विषय पनि आवश्यक वस्तु बन्न जान्छ ।
आर्थिक समस्याको समाधन कसरी गर्ने ? यो एउटा महत्त्वपूर्ण विषय हो । क्रान्तिकारीहरूले आर्थिक समस्या समाधानको लागि चमत्कारी कार्यलाई प्राथमिकता दिंदैनन् । नत प्रतिक्रियावादी र साम्राज्यवादी तथा विदेशी दलाल माथि भर पर्दछन् । त्यसो भए क्रान्तिकारीहरूको आर्थिक स्रोत के हो ? उनीहरूको आर्थिक स्रोत किसान र मजदूर शक्तिहरू माथि भर पर्नु नै हो । क्रान्तिकारीहरूले मजदूर, किसानसङ्ग सम्बन्ध राख्ने उनीहरूको चेतनास्तरलाई माथि उठाउने, सङ्गठित गर्ने कार्य गरेपछि नै त्यो समस्या समाधान गर्न सकिन्छ । त्यसोगर्दा क्रान्तिकारीहरूले बल प्रयोग गरेर होइन भन्ने विषयलाई प्राथमिकता दिन्छन् ।
प्रथमत दैनिक आर्थिक समस्या समाधानको लागि आफ्नै सङ्गठनमा भर गर्नुपर्दछ । द्वितीय, आम जनसमुदायमा । कतिपय समयमा केही गलत विचारहरूले आर्थिक समस्या समाधानको लागि जनतामा जाने विषयमा विरोध गर्दछन् । ती विचारहरूले गरिबहरूले पैसा दिन सक्दैनन् । धनी पुँजीपतिहरूसङ्ग प्रसस्त पैसा हुन्छ र उनीहरूले दिनुपर्दछ । सङ्गठन भित्रका कैयौँ कार्यकर्ता पैसा माग्न हिड्नु हुँदैन, लाज लाग्छ, विरोधीहरूले विरोध गर्दछन् आदि भनेर बताउँछन् । त्यस्ता कार्यकर्ताहरूको सोंचाईले जान वा अन्जानमा पुँजीपतिहरूलाई सहयोग पुर्याइरहेका हुन्छन् । उनीहरूले वास्तवमा क्रान्तिकारीहरूको इज्ज्त र नैतिकता के हुन्छ भन्ने कुरा बुझेका छैनन् । कतिपय बुझेका भन्नेहरूले पनि जब पैसा माग्न व्यवहार मै जानु पर्ने हुन्छ, उनीहरूलाई सामन्ती र पुँजीवादी इज्जतले सताईरहेको हुन्छ । नबुझेका प्रथम प्रकारका कार्यकर्ताहरू इमान्दार हुन्छन् । तर बुझेका द्वितीय प्रकारका कार्यकर्ताहरू ओठे क्रान्तिकारी र अवसरवादी प्रकारका हुन्छन् । नबुझेकालाई प्रशिक्षणको आवश्यकता हुन्छ भने बुझेकाहरूलाई आलोचनाको ।
जोसङ्ग पैसा छ त्यस्ता कार्यकर्ता र नेताहरू आफै बाटा खर्च गर्दछन्, आफ्नै खर्चमा खाना खान्छन्, प्रकाशनहरू किन्दछन् र पढ्दछन्, उनीहरूको परिवारमा के खाउँ के लाउँको समस्या छैन, छलफलमा उनीहरूनै अगाडि हुन्छन् । सक्रिय समेत उनीहरू नै हुन्छन् आदि कारणले गर्दा उनीहरूले नै क्रान्ति गर्ने हुन् कि भन्ने असर पर्दछ । जोसङ्ग पैसा छैन, हिड्ने बाटाखर्च छैन, खाना खाने आफ्नो पैसा छैन, प्रकाशन किन्न र पढ्न पाउँदैनन, पारिवारिक समस्याले पिरोली रहेको हुन्छ, सक्रिय हुन समस्याहरूले सक्दैनन् छलफल र बहसमा पनि भाग लिन सक्दैनन् । त्यसरी एकथरी फुर्सतीला, टाठाबाटा हुन्छन् भने अर्काथरी आफ्नै समस्यामा अल्झिने र सीधा हुन्छन् । टाठावाठाहरू पूर्णकालिन र नेतृत्व गर्दै जाने र सीधा–साधाहरू गरिबीले विचारलाई बलियो बनाउन, काम गर्न र नेतृत्व गर्न नसक्ने हुन्छन् । त्यसरी क्रमश: राजनीतिक नेतृत्व निम्न पुँजीवादी र पुँजीवादीहरूको पक्षमा पर्दै जान्छ । त्यसकारणले गरिब र मजदूरहरूको नेतृत्व स्थापित गर्नको लागि गरिब र मजदूर वर्गबाट आएका कार्यकर्ताहरूको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्दछ । त्यसको लागि क्रान्तिकारीहरू स्पष्ट छन् । उनीहरूले गरिब, मजदुरहरूमा सङ्गठन गर्दछन्, उनीहरूको चेतनालाई माथि उठाउन प्रयत्न गर्दछन् । उनीहरूलाई नै नेता बनाउँछन् र बनाउनु पर्दछ । गरिब मजदुरहरूको मुक्तिको राजनीति पनि उनीहरूले नै गर्दछन् । त्यसकारण सङ्गठनभित्र गलत प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यो सङ्घर्ष कार्यक्रमलाई लागू गर्दा नै स्पष्ट हुँदै जान्छ ।
अर्को कुरा पुँजीपतिले पैसा सहयोग गर्दछन् र समस्या समाधान हुन्छ । तर क्रान्तिकारीहरूको समस्या समाधान गर्न आर्थिक उनीहरूले त्यसै दिंदैनन् । उनीहरूले आफ्नो स्वार्थको लागि शर्त अनुसार दिने गर्दछन् । यदि जनताका पक्षधरहरूले त्यसरी आर्थिक लिएभने उनीहरूको शोषणको माध्यमलाई विरोध नगर्ने, उनीहरूको स्वर्गमा धक्का लगाउन नहुने, ज्याला बढाउन नहुने आदि शर्त लगाउने गर्दछन् लाई मान्नु पर्ने हुन्छ वा पैसा नलिनु पर्नेहुन्छ । दुईमध्ये एउटा शर्त मान्नको लागि पैसा लिने शर्त मानेर जाँदा सिद्धान्त र नीतिको विरोध हुँदै जान्छ । त्यसकारण क्रान्तिकारीहरूले सिद्धान्त र नीतिको विरूद्ध कार्य गर्दैनन् । व्यवहारिक रूपले अर्को समस्यातिर पनि क्रान्तिकारीहरूको ध्यान रहिरहन्छ । एक पुँजीपतिबाट हजारौँ रूपैयाँ लिएर आर्थिक समस्या समाधान हुन्छ तर राजनैतिक र सङ्गठनात्मक कार्य त उसले गर्दैन । त्यसकारण हजारौँ रूपैयाँ एकजनासङ्ग लिनुभन्दा हजारौँ व्यक्तिसङ्ग गएर यथासक्य रूपैयाँ लिने गर्नाले हजारौँ व्यक्तिसङ्गको सम्बन्धले राजनीति र सङ्गठनात्मक कार्यको लागि बलियो आधार बन्दछ । त्यसरी आर्थिक समस्याको साथै राजनैतिक सङ्गठनात्मक र कार्यकर्ता उत्पादनमा समेत आधार तयार हुँदै जान्छ । त्यो नै महत्त्वपूर्ण विषय हो ।
आर्थिक समस्या समाधानको लागि माथि जे भनियो आधारभूत रूपमा के निष्कर्ष निस्कन्छ भने आफ्नै वर्ग र सङ्गठनमा भरपरेर नै आर्थिक समस्या समाधान गर्न सकिन्छ र सक्नुपर्दछ । त्यसबाहेक कहिले कांही अन्यत्रबाट हुने आर्थिक सहयोगलाई पनि उपेक्षा गर्नु हुँदैन र गर्दैनौँ । तर क्रान्तिकारीहरूले पुँजीपतिहरूको शर्त वा कुनै शर्तलाई स्वीकार गरेर आर्थिक उपार्जन गर्ने र समस्या समाधानमा काम गर्ने गर्नु हुँदैन र गर्दैनन् । उनीहरूको शर्त एउटै हुन्छ, गरिबहरूको पक्षमा काम गर्नु र प्रतिक्रियावादीहरूको विरूद्धमा सङ्घर्ष गरेर सत्ता पल्टाउने कोशिस गर्नु वा पल्टाईदिनु । हामीलाई आर्थिक समस्या समाधानको लागि स्रोत र दाताहरूको कमी छैन । एउटा विषयको कमी रहने गरेको छ त्यो हो निर्णयको कार्यान्वयन । आर्थिकको विषयमा आफ्ना समस्याहरूलाई लिएर जनतामा जाने त्यसलाई व्यवहारमा लागू गर्ने बारे कमी हुने गरेको छ ।
जुन व्यक्तिहरूले सङ्गठनलाई नियमित रूपले आर्थिक सहयोग गर्ने निर्णय दिएका छन्, प्रथमत, उनीहरूले आफै दिने गर्दैनन्, द्वितीय, नियमित रूपमा माग्न जाने गरिन्न । कहीबाट नियमित रूपमा आर्थिक आएको छ भने पनि त्यो रकम व्यवस्थित गरिन्न, कहाँबाट कति रकम आयो ? कहाँ कति खर्च भयो ? त्यसको जाँचबुझ गरिन्न भने त्यसले अरू जटिलता पैदा गरिदिन्छ । यहाँसम्म कि प्राप्त भएपछिको रकम कुन शीर्षक र कुन माध्यमबाट खर्च गर्ने हो ध्यान दिने गरिन्न र एउटा शीर्षकको रकम अर्को शीर्षकमा र एउटा योजनाको रकम अर्को योजनामा खर्च गर्ने गरिन्छ भने, यहाँसम्म कि आफूले लिएको रकम आफ्नो सङ्गठनको तहमा दर्ता गर्ने र विवरण पेश गर्ने बारे गैरजिम्मेवारी तरिका अपनाइन्छ भने, त्यसले सङ्गठनभित्र अविश्वास पैदा गरिदिन्छ र आर्थिक समस्यालाई झन् जटिल बनाईदिन्छ । आर्थिक समस्या समाधानको लागि प्रथमत: सैद्धान्तिक रूपले स्पष्ट हुनु जरूरी छ । द्वितीय, व्यवहारिक र सङ्गठनात्मक रूपले पनि स्पष्ट भएर आफ्ना कमी कमजोरीहरूलाई हटाउदै समस्या समाधान गर्ने बारे ध्यान दिनु पर्दछ ।