अस्तव्यस्त देश : मस्त शासक

मनु वि.क. ••
देशको स्थिति निकै भयावह हुँदै गईरहेको छ । देशमा क्रान्ति र परिर्वतनको कुरा भएको लामो समय भयो । लोकतन्त्र गणतन्त्र आएको पनि यति समय भयो । जनताले सोचे, देशमा सुधार ल्याउन लोकतन्त्र चाहिन्छ, जनताको स्थितिमा परिर्वतन गर्न राजनीतिक व्यवस्थामा सुधार हुनुपर्दछ । राजनीतिक पार्टीहरूले पनि सोही अनुसार स्थितिमा सुधार ल्याउने बाचा कसम जनताको अगाडि खाएर जनताले राजनैतिक दलहरूलार्ई परिवर्तनको आन्दोलनमा सहयोग गरे । खाईनखाई, आफ्नो सुधारको कुरालाई बिर्सेर जनताको लागि हक अधिकार स्थापनाको लागि भन्दै राजनैतिक दलहरूलाई सहयोग गर्ने गरे । जनताको उच्च प्रकारको सहयोग बलिदान त्याग तपस्याबाट देशमा राजनैतिक परिर्वतन भयो । परिवर्तनको पक्षमा नेपाली जनताले आधा शताब्दी सङ्घर्ष गरेका छन् ।

जनताले जसरी भएपनि देशको व्यवस्था परिवर्तनको लागि योगदान गरे । यसरी देशमा राजनैतिक परिवर्तन भएको थियो । देशमा राजनैतिक परिवर्तन त भयो तर राजनैतिक दलहरूमा दलका नेताहरूमा आउनुपर्ने परिवर्तन आउन सकेन । उनीहरूको काम गर्ने तौर तरिका काम गर्ने शैली विधि पद्धति पुरानै प्रकारको रहृयो । गणतन्त्र, धर्मनिरपेक्षता सङ्ग सङ्गै सङ्घीयता जस्ता कुराहरू परिवर्तित राजनीतिमा आए । संविधानबाट जे खोज्छन् जनताले उही दिने जस्तो भयो । जनताको स्थितिमा भने कुनै परिवर्तन आउन सकेन ।

जनताहरू आज झनै कहाली लाग्दो अवस्थामा रहेका छन् । राजनीतिमा लागेकाहरू देशको परिवर्तनमा लागेकाहरूले नयाँ बनाउने वा आवश्यक पुरानोको संरक्षण गर्ने गर्नु पर्दथ्यो । त्यो हुन सकेन । राजनीतिमा परिवर्तन भएर आएको पाएको अधिकार भनेको विदेश जाने मात्रै हो भन्ने गरिएको छ, अहिले देशमा केही गर्न सक्ने युवाहरू छैनन् गाउँ शहर वास्तव मै युवा विहीन अवस्थामा पुगको छ । जसरी पनि विदेश नै जाने मनस्थितिमा युवाहरूलाई पुर्‍याएको छ । देशमा केही हुँदैन भन्ने जस्तो पार्न खोजिएको छ । देशलाई गाली गर्ने मनोविज्ञानको विकास भैरहेको छ । नेताहरूलाई गाली गर्ने संस्कृतिको मलजल भइरहेको छ ।

सरकारदेखि लिएर म्यानपावरहरू सबै युवाहरूलाई विदेश पठाउने भन्नेमा रहेका छन् । सबै विदेश नै गएमा देशमा कसले गर्न आउने हो ? समस्या विकराल बनेर आएको छ । घरमा कोही विदेश छैन भन्ने घर पाउन मुस्किल भएको छ । विदेशमा नगएको घरका मान्छेले, विदेशमा आफ्ना आफन्ती नभएका मान्छेले समाजमा ऋण समेत पाउन नसक्ने भएका छन् । घर व्यवहार नचल्ने अवस्था बनाईएको छ । विदेश जाने भनेको घरको इज्ज्यतको विषय बनेको छ ।

देशमा जे थियो त्यो सकिएको छ । नयाँ भन्ने संस्कार चाल चलन बन्न सकेको छैन । आपसमा मिलेर बसेको समाज भाँडिएको छ मिलेर गर्ने कामहरू पनि अचेल नहुने भएका छन् । समाजमा मिलेर गर्ने कामहरू घर बनाउने देखि लिएर एकले अर्कोलाई सहयोग गर्ने, आपत विपदमा मद्दत गर्ने संस्कार हराएको छ । सबै कुरामा पैसासङ्ग नै तुलना गर्ने परिपाटीको विकास भएको छ । उत्पादनका साधनहरू चल, अचल पूँजी हुन् । चल पूँजीमा म्यानपावर अर्थात श्रम शक्ति उत्पादनको प्रमुख शक्ति हो । पैसा उत्पादनको चल पूँजी हो । त्यो बाहेक जमिन, कच्चा पदार्थ, मेशिनहरू सबै उत्पादनको लागि अचल पूँजी हुन् । यी सबैको मेल र सही परिचालन बाट नै केही कुराको उत्पादन हुन सक्दछ । उत्पादन राज्यले वा व्यक्तिगत रुपमा लगानी गरेर हुने कुरा हो । अहिले देशमा विदेशी सामान भित्र्याउने जुनसुकै अवस्थामा पनि विदेशी समानको आयत गर्ने गरिएको छ । नत राज्यले उत्पादनमा जोड दिने नत व्यक्तिगत रुपमा उत्पादन गर्न खोज्नेलाई प्रोत्साहनको व्यवस्था हुने भएको छ ।

उत्पादनको लागि चाहिने म्यानपावरलाई जुनसुकै अवस्थामा विदेश पठाउने र आफूहरूले देशमा रजाइँ गरेर बस्ने चलनको विकास गरेर राज्य बसेको छ । केही गर्न खोज्ने युवाहरू विदेशमा अर्काको दास बन्न पठाउनमा राज्य तल्लिन छ । यो देश नभए त्यो देश त्यो देश नभए अर्को देशमा भिषा लगाउन धाउँदा धाउँदै युवाहरूको कैयौँ महत्त्वपूर्ण समय बितेको छ । त्यसमा पनि ठगी कति हो कति छ । यही केही गरौँ भन्दा गर्ने बातावरण छैन । देशमा नै उत्पादन भएका सामानहरूको उपभोग गर्ने बानी नेपालीको हराउँदै गएको छ ।

नेपालीहरूको मनोविज्ञानलाई बुझेर उत्पादन गर्नु भन्दा पहिले नै बजारमा विदेशी सामान प्रशस्त रहेको छ । देश बन्ने सबैको पसिनाले हो । देशका युवाहरूका पसिनाले नै देश बन्ने हो तर अहिले केही गरौँ भन्ने युवाहरू विदेशमा रगत बगाउन पुगेका छन् । यसरी विदेश युवा पठाएपछि आफ्नो देश बन्ने भन्ने त कहाँबाट हुनु ? भएका जग्गा जमिन पनि बाँझै रहने मात्र हुन् भएका संरचनाहरू पनि सकिने र हामी झनै परनिर्भर हुँँदै जाने मात्र हो । अहिले यस्तै नै भएको छ । देश बनाउन भन्ने कुरा चानचुने कुरा होईन । यो कठोर मिहेनत र पसिनाले मात्रै बन्न सक्दछ । सबैको पसिनाले मात्रै देश बन्न सक्दछ । नीति निर्माता देखि लिएर सबैले ध्यान दिन सके मात्रै देशले कोल्टे फेर्न सक्दछ ।

विकसित भनिएका देशहरू त्यसै विकसित भएका होईनन् । लामो र कठोर मेहनत र सङ्घर्षबाट नै देश बन्न सक्दछ । तर यो बारेमा कसैले सोच्न सकेका छैनन् । उनीहरूले देश निर्माणको लागि आवधिक तथा दीर्घकालीन योजना बनाएर काम गरेकाले मात्रै विकसित भएका हुन् सफल भएका हुन् ।

समय सँधै एकैनास रहँदैन । कतिखेर के हुन्छ भन्ने कसैलाई थाहा छैन । राज्यले नागरिक तथा देशको बारेमा अलि लामो अर्थात धेरै लामो नभए पनि केही वर्षको लागि सोच्न सक्नु पर्दछ । केही वर्षसम्म के गर्ने भन्ने योजना प्रस्तुत गर्न सक्नु पर्दछ । योजना लाई कार्यान्वयन गर्न सक्नु पर्दछ । कार्यान्वयन गर्नको लागि चाहिने जनशक्तिलाई काम दिन सक्नु पर्दछ । आपत विपद परेपनि देशले थेग्न सक्दछ । अहिले विदेशले नेपाली नागरिकलाई सस्तोमा कज्याउन पाएर लिईरहेको छ । भोलि विदेशले नागिरक लिन नसक्ने भएमा वा अन्यदेश बाट लगेमा वा युद्ध अथवा अन्य यस्तै आपद विपद परेमा विदेशमा पसिना बगाउने नेपाली दाजुभाइ दिदी बहिनी नेपालमै आउन पर्ने हुन्छ । त्यो समयमा नेपालले आफ्ना नागरिकलाई के गरी काममा लगाउने भन्ने योजना केही पनि रहेको छैन । सकेसम्म सबैलाई विदेश पठाएर आएको रेमिट्यान्सले देश धानेर वा यहाँ रहेका राज्य बाट तलब खुवाएर देशको विकास हुन सक्दैन ।

अहिले यहाँका नागरिक विदेशमा गएका छन् । यहाँ सानो भन्दा सानो कामका लागि पनि विदेशी कामदार आएका छन् । एकातिर आफ्नो नागरिक काम नपाएर विदेशी भुमिमा लडिरहेको छ । अर्कातिर यहाँको काम अरुले आएर गरिदिनु पर्ने भएको छ । यहाँबाट विदेशबाट रगत पसिना बगाएर पठाएको पैसा फेरी अर्कैतिर पुगेको छ । साँच्चि सोच्ने हो भने देशका युवाहरूको मन, वचन, कर्म सबै विदेशमा भएको छ । यहाँका शासकहरूले युवाहरूको, आफ्नो देशको नागरिकको कुनै चिन्ता लिनु भन्दा पनि आफूले यहाँ कसरी लुट मच्चाउन सकिन्छ भन्नेमा ध्यान दिईरहेका छन् । शासकहरूले संधै देखाउँदा जनताको कुरा गर्ने व्यवहारमा आफ्नो मात्रै सुख खुशी हेर्ने गरेका छन् । कुनैपनि शासकले विगत या वर्तमानमा सत्तामा रहेको वा राज्यको पहुँचमा पुगेको मान्छे गरिब दु:खी, केही नभएको अवस्थामा पुगेको छैन ।

पुरानो व्यवस्थामा होस् या नयाँ परिवर्तित गणतान्त्रिक व्यवस्थामा होस सत्तामा जाने वित्तिकै राजनीति गर्नेहरूको दिन फेरिएको छ । राज्यको कर्मचारी वा अन्य कुनै माध्यमबाट ओहोदामा पुगेकाहरूको पनि दिनचर्या निकै राम्रो गरी नै चलिरहेको छ । दिन चर्यामात्र होईन अकुत सम्पत्ति सङ्गालिएको छ । यसको कारण राज्यमा रहेकाहरूले जुनसुकै माध्यमबाट भएपनि सेवा सुविधा पाउँदै आएका छन् । सेवा सुविधाको कमी भएमा बढाउँछन् । जे मन लाग्यो त्यही नीति बनाई राज्यलाई दोहन गर्दछन् । अहिले सम्म भएको त्यहि हो । उनीहरूले राज्यलाई सक्दो दोहन गरेका छन् । राज्यको ओहोदामा रहेकाहरूले आज यहाँ बसेर साधन स्रोतको उपयोग गर्दा सम्म गरेपछि सके सम्म विदेशतिरै बस्न जाने सम्म पनि गरेका हुन्छन् । उनीहरूलाई यहाँको कुनै माया नै नभएको जस्तो गर्दछन् । शासनमा रहेकाहरूले जुनसुकै माध्यमबाट आफुहरू विदेशमा नै जाने योजना बनाएर बसेका पनि हुन्छन् । उनीहरूले सके आफै जाने नभए आफ्ना छोराछोरीलाई वा नातापातालाई विदेश मै स्थापित गराउँदै गर्ने र पछि आफू पनि विदेशमा नै जाने सम्म गर्दछन् । उतै आरामको जिन्दगी बिताउने सोचमा रहेका छन् ।

शासकलाई केही कुराको कमी नै हुन पाउँदैन । देश भने देश, विदेश भने विदेश, जहाँसुकै ढोका खुल्ला छ । सके सम्म देशबाट रकम विदेशी भूमिमा लगेर राख्ने जस्ता काम गर्दछन् । कालो धनलाई कसरी सेतो बनाउने भन्नेमा रहेका हुन्छन् । विदेशी भूमिमा रकम लगेर बैङ्कमा राख्ने, यहाँ रकम नदेखाउने जस्ता काम गरी राज्यलाई धोका दिईरहेका छन् । गरिब जनताका छोराछोरी विदेशी भूमिमा पसिना बगाउन बाध्य भएका छन् । गरिबहरू दैनिकी चलाउन नसकेर तड्पिएका छन् ।

विगतदेखि परिवर्तनको लागि चलेका आन्दोलनहरूले आन्दोलनबाट प्राप्त उपलब्धीहरूले जनताले चाहेको जस्तो हुन सकेको छैन । जनताले आफ्नै भुमिमा रगत पसिना बगाउन पाएका छैनन् । सोचेको भन्दा दयनीय अवस्थामा जनतालाई पुर्‍याईएको छ । भएका साधन स्रोतमा पनि विदेशीको भर पर्नु पर्ने बनाईएको छ । उत्पादनको लागि पुराना विधिहरूको कसैले सम्मान गर्न सकेको छैन । स्थानीय स्रोत साधनलाई बेवास्ता गरिएको छ । यसले जीवन जिउन निकै कठिन भइरहेको छ । राज्यमा परिवर्तन होला केही भएपनि सुख आउला भनेर परिवर्तनको पक्षमा लागेका, परिवर्तनको लागि होमिएकाहरू निराश भैरहेका छन् । परिवर्तनको पक्षमा लागेकाहरू अहिले विदेशी भूमिमा नैराश्यको सास फेर्न बाध्य भएका छन् । यहि मौका छोपेर प्रतिगामीहरूले आफ्नो गुमेको राज फेरी प्राप्त गर्ने सपना देखिरहेका छन् । राजनैतिक परिवर्तनले नै सबैकुराको समाधान गर्नु पर्ने हो तर परिवर्तन भएपनि आधार संरचना मापरिवर्तन आउन नसक्दा स्थिति जहाँको त्यहिँ रहेको छ । शोषणको रुपमा परिवर्तन आउन नसक्दा अझै झनै अवस्था बिग्रदो रेहेको छ । देश झनै गरिब भएको छ ।

राज्यमा देखिएका विकृति विसङ्गति भनेर, सुनेर सक्ने छैन । तर शासकहरू भने निकै मस्त रहेका छन् । उनीहरूले केही परको पनि सोचाइ बनाएका छैनन् । आफूलाई जता गएपनि पसिना नबगाई सबै कुराको सुख मिलिरहेको छ । आफ्ना साधन स्रोतहरू जति वर्ष प्रयोग गरेपनि सकिने छैनन् । आफूले जुनसुकै आवरणमा लुटेर राखेको स्रोतले पुस्तौँलाई केही पीर छैन । दु:ख त केवल गरिबहरूलाई मात्र हो । आफूलाई भएपछि अरुका लागि सोच्नु शासन सत्तामा रमेकालाई आवश्यकता रहेन । यसले गर्दा देशको अवस्था जस्तो सुकै होओस् मतलव हुने कुरा भएन । र देशलाई सुधार्नु पनि परेन भन्ने जस्तो शासकले गरी रहेका छन् । विडम्वना परिवर्तनकै लागि लडेकाहरूले सत्ताको वागडोर सम्हालिरहेका छन् । उनीहरूले पनि देशका लागि केही गर्ने भन्ने सोचाइ बनाउन सकेका छैनन् । समय धेरै वितिसकेको छ । देशमा गणतन्त्र आएको पनि १७ वर्ष भइसकेको छ । यो बेला जो जो सत्तामा पुगे उनीहरू केवल सत्ताको स्वादमा मात्रै रमेका छन् । नेपाली जनताको दु:खमा केही मलहम लगाउने काम गर्न सकेका छैनन् । यो पार्टी सत्तामा आउँदा यो काम भएको छ । यो नेता सत्तामा रहँदा जनताको जनपक्षीय यो काम गरे वा उद्योग धन्दा यो खोल्यो वा यो पार्टीवा नेताले सत्तामा पुग्दा यो काम गरेर देशलाई आत्म निर्भर पारेका छन् भन्ने केही पनि हुन सकेकोे छैन । झनै देश टाट पल्टिएको छ ।

जनताहरू बैङ्क तथा वित्तिय संस्थाहरूको शोषणको जालमा परेका छन् । विधि पद्धतिको अन्त्य भएको छ । देशमा लुटको राज चलेको छ । आचरण, बानी, व्यवहार दलालीमा फेरिएको छ । शासकले केही सोच्नै नसक्ने अवस्थामा पुगेका छन् । जनता उठ्नै नसक्ने अवस्थामा रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित