- रामबहादुर बुढा
“२०४७ सालतिर प्यूठान बांङगेसालका मकबुल हुसेनले नेकपा (मसाल) को युवा संगठन अखिल नेपाल युवक संघ जिल्ला समिति सदस्य रही काम गर्दथे । प्यूठान विजुवार टारीकी लक्ष्मी सुवेदीले मसालकै अखिल नेपाल महिला संघ जिल्ला समितिमा रही काम गर्दथिन् । ती दुवै फरक फरक धार्मिक, सांस्कृतिक पृष्ठभूमिका थिए ।
हुसेन मुस्लिम र सुवेदी हिन्दु धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिका थिए । संगठनमा काम गर्ने क्रममा देखाभेट भयो, प्रेम भयो र आखिरमा विवाह गर्ने निधो गरे । उनीहरुको विवाह सम्बन्धमा तत्कालीन नेकपा(मसाल) प्यूठान जिल्ला प्रवक्ता के.वी. गुरुङको यस्तो सम्झना छ,“उनीहरु भाग्नलाई भालुवाङ पुगेका रहेछन् । म पार्टीको कामले कतैबाट घर फर्कंदै गर्दा मैले बाटोमा भेटे र सोधे, तिमीहरु कहाँ हिड्यौं ? “हामी विवाह गर्ने÷जात, धर्म मिल्दैन । भाग्नुप¥यो ।” उनीहरुले भने । मैले भने – नेता नै भागेर कहाँ हुन्छ ? कम्युनिस्टले जात, धर्म मान्ने कुरा हुन्न । हामी विवाह गराइदिन्छौं भने र फर्कन भने । उनीहरु घर फर्किए अनि विवाह भयो ।”
२०४७ फागुन २० गते बाङ्गेशालको दरभानमा मञ्च खडा गरेर प्रगतिशील विवाह सम्पन्न गरिएको थियो । तत्कालीन मसाल र त्यससम्बद्ध नेताहरु केवी गुरुङ, कुलदिप जिसी, लालमणि शर्मा, झविन्द्र पौडेल, विष्णु पौडेल लगायतले विवाह सफलताको शुभकामना दिएका थिए । माइतीपट्टीका प्यठान विजुवार टारीका ब्राहम्णहरुलाई धर्म, विवाह, संस्कृतिका बारेमा सम्झाउन धेरै मेहनत गर्नु परेको केवी गुरुङ सम्झन्छन् । हुसेन र सुवेदीका एक छोरी अन्जना हुसेनले पनि धादिङका ब्राहम्णसित अन्तर्जातीय विवाह गरेकी छिन् ।” (स्रोत अन्तर्जातीय विवाह पृष्ठ २०३
माथिको विवरण “अन्तर्जातीय विवाह” शीर्षकको पुस्तकबाट लिइएको हो । मैले “अन्तर्जातीय विवाह” पुस्तक लेख्नका लागि सामग्री संकलन गरिरहेको थिएँ । बुटवलमा एक दिन राजेश विकले मलाई सुनाउनु भयो –प्यूठान बाङ्गेशालको मुस्लिम र हिन्दु ब्राहम्ण केटीको बीच पनि विवाह भएको छ है । हिन्दु र मुस्लिमको बीचमा विवाह भनेपछि मलाई अलि बढी चासोको विषय बन्यो । राजेशले अझै थप्नुभयो–केटी चाहिं प्यूठान विजुवारका नवराज सुवेदीकै आफन्ती हुन् । त्यो कुरा केवी गुरुङलाई थाहा छ । गुरुङलाई सम्पर्क गर्नु होला । राजेशले मलाई यसै भन्नुभयो ।
केवी गुरुङलाई सम्पर्क गरें, हिन्दु मुस्लिम विवाहको कथा । सत्य कथा केही उहाँले सुनाउनु भयो र मकबुल हुसेनको पनि नम्बर दिनुभयो । हुसेनसँग सम्पर्क गरें । उहाँले पनि आफ्नो विवाहको कहानी सुनाउनु भयो । अनि “अन्तर्जातीय विवाह” पुस्तकमा माथिको विवरण लेख्न सम्भव भयो ।
हुसेन र सुवेदीको जीवनचर्यालाई अझै नजिकबाट हेर्न मन लाग्यो । हुसेनजीले भन्नुभयो, “आउनु न मेरो घर । काठमाडौं कलंकीको खसीबजार हुँदै गणेशमान कलेजको नजिकै । केही दिन पहिले म पुगें । हुसेन–सुवेदीको घर । रमाइलो लाग्यो । यो जोडीले जिन्दगीमा थूप्रै हण्डर ठक्कर खाएको छ तर एक अर्काको आपसी विश्वास, मिहनेत र धैर्यताले सबै समस्याहरु सामना गर्न सफल भएका छन् । ३२ वर्ष जीवन गुजारिसकेका छन् ।
हुसेन जोडीको कुरा सुन्दै जाँदा थाहा लाग्यो कि बुबा सुकर्दिन मिया र आमा तस्वीरन मियाँको कोखमा २०२५ साल वैशाख ५ गते मकबुल हुसेन प्यूठानको बाङगेसालमा जन्म भएको रहेछ । उता बुबा ऋषिराम सुवेदी र आमा सावित्रीदेवी सुवेदीको कोखमा २०२९ सालमा लक्ष्मी सुवेदी, प्यूठानको विजुवार टारीमा जन्म भएको रहेछ । मकवुल आप्mना बाआमाका २ भाइ छोरा र ३ दिदीबहिनी हुन् । भाइ अकबर अहिले कतार छन् । बहिनीहरुको विवाह भइसक्यो । लक्ष्मी सुवेदीका आफ्ना बा आमाबाट जन्मिएका ४ दाजुभाइ र २ बहिनी हुन् । दुई बहिनीमध्ये लक्ष्मी कान्छी हुन् । लक्ष्मीले केही समय बाङगेसाल स्थानीय हुलाकमा करारमा जागिर पनि गरेकी थिइन । बच्चा जन्मिएपछि बच्चाको हेरचाह, घरधन्दा आदिमा नै लक्ष्मीको जीवनको लामो समय व्यतित भयो ।
मकबुल हुसेनले २०५९ सालसम्म प्यूठान बाङगेसाल गाविसमा सहलेखापालको रुपमा काम गरेका थिए । २०६१ सालमा माओवादीहरुले उनलाई पक्रिएर ६÷७ दिन हिंडालेका थिए । युद्ध विराम भएका बेला उनी छाडिएका थिए । माओवादीहरुले साढे ४ लाख रुपैयाँ दिनुपर्ने, काठमाडौं आउन जान छोड्नु पर्ने र माओवादीलाई सहयोग गर्नु पर्ने तीन वटा शर्त राखेका थिए । अर्कोतिर राज्यपक्षबाट पनि त्रास छँदै थियो । त्यो तनाव झेल्नु भन्दा हिड्न उपयुक्त ठानेर मकबुल हुसेन २०६१ देखि २०६३ सम्म काठमाडौं आएर बसे ।
२०६३ मा राज्य माओवादीबीच शान्ति सम्झौता भएपछि हुसेनले लक्ष्मीलार्ई पनि सँगै काठमाडौं लिएर राखे । २०६५ देखि २०७३ सम्म हुसेन वैदेशिक रोजगारमा कतार जानु प¥यो । कतारको कमाईले काठमाडौंमा घर बनाउन सम्भव भयो । घर नबन्दासम्म काठमाडौंमा भाडामा बस्नु परेको थियो । भाडामा बस्दाको सम्झना लक्ष्मी यसरी व्यक्त गर्दछिन–“हामी यतै कलंकीतिर भाडामा बसेका थियौं । घरबेटीले मुस्लिमसित विवाह गरेकी भनेपछि अलि फरक आँखाले हेरे । त्यसपछि कलाकार जेवि टुहुरेको घरमा भाडामा बसियो । जेबी टुहुरे बुवा सारै असल मान्छे हुनुहुन्थ्यो । मलाई छोरी भन्नु हुन्थ्यो । एउटै परिवार जस्तो भएर हामी बस्यौं । मेरो श्रीमान विदेश भएका बेला पनि हामी आमा छोरी ढुक्कसँग उहाँको घरमा बस्यौं । कहिलै पनि जातीय विभेदको आसय हामीले थाहा पाएनौं । पछि हामीले उहाँकै छिमेकमै घर बनाएपछि यता स¥यौं । बुबा अहिले बित्नु भयो ।”
हुसेन र सुवेदीका एक मात्र सन्तान छिन् –अन्जना हुसेन । अन्जना एउटी शिक्षित छोरी हुन् । अन्जना हुसेनले २०७४ साल फागुन २५ गते धादिङ जिल्लाको थाक्रे गाउँपालिका तसर्पु भन्ने गाउँका सन्जय अर्यालसित अन्तरजातीय विवाह नै गरेकी थिइन । दुवै शिक्षित हुन् । बुबा आमा नै अन्तरजातीय विवाही भएकाले आफूहरुलाई खासै समस्या नभएको अन्जना बताउँछिन् । अन्जना हुसेन र सञ्जय अर्यालबाट जन्मिएका नयाँ शिशु आयन अर्याल ३२ महिनामा हिंड्दै छन् र अब स्कूल हिंड्न थालिसकेका छन् । अन्जनाले काठमाडौंको रिचमण्ड कलेज, पद्मकन्या कलेजबाट उच्च शिक्षा हासिल गरिन । उनले नेपालगञ्ज नर्सिङ कलेजबाट जनस्वास्थ्य विज्ञानमा स्नातक पनि पढिसकेकी छिन् । उनका श्रीमान अर्याल एक व्यवसायी हुन् । अर्यालको हजुरबुबा गाउँका एक परिचित पण्डित हुन् । आफ्नो नातीले हुसेनकी छोरी विवाह गरेकामा उनलाई कुनै विरोध छैन ।
अन्तरजातीय विवाह गरेकोमा केही नराम्रो अनुभव पनि छन कि हुसेनजी भन्ने प्रश्नमा हुसेनले भने, “हामीलाई जातीय छुवाछूतकै व्यवहार त भएन । विहेबारी, चाडपर्व आदिमा अलि फरक नजरले हेरिने रहेछ । दुवैतिर नै त्यस्तो हुँदो रहेछ तर त्यसलाई हामीले महत्व दिएनौं ।” लक्ष्मी भन्छिन् “समाजमा रुढिवादी सोंचाई राख्ने मान्छेहरु भए पनि प्रगतिशील सोंचाई राख्ने नवराज स्वेदी, श्रीधर सुवेदी लगायत आफन्तहरु पनि हुनुहुन्थ्यो त्यसले गर्दा हामीलाई त्यति धेरै अप्ठ्यारो भएन ।” अप्ठ्यारोमा बाँचिरहेका अन्तरजातीय विवाहीहरुलाई के सल्लाह दिनुहुन्छ भन्दा हुसेन भन्छन्, “सबभन्दा पहिलो कुरा हत्तोसाही हुनु भएन ।
कुरीतिका विरुद्ध जुध्ने आँट हुनुप¥यो । समाजले पचाउँछ कि पचाउँदैन भनेर हिनताभाव पाल्नु भन्दा गलत कुराका विरुद्धमा जुध्ने आँट गर्नुपर्छ ।” अन्तरजातीय विवाहको सकारात्मक पक्ष के होला भन्ने प्रश्नको जवाफमा हुसेन भन्छन्, “विवाह र धर्म भन्ने कुरा आस्थासित जोडिएको हुन्छ । जाति र धर्मले कोही पनि निच हुँदैन । विभेदले निच बनाएको हो । हरेक जाति र धर्ममा निच मान्छेहरु हुन्छन् । उनीहरुलाई सही मान्छे बनाउन सकेमा मानव समाज सुन्दर हुन्छ ।”
मकबुल हुसेनले अहिले आफ्नै गाउँमा केही गरौं न त भनेर प्यूठानको बाङगेसालमा “झिम्रुक पोल्ट्री फारम” संचालन गरेका छन् । कोभिडले व्यवसायमा अप्ठ्यारो पारेको भए पनि हरेस नखाइकन व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

