–सन्जु सुन्दास
मानवले जन्मदै आमाको गर्भबाट आफ्नो निधारमा ठूलो र सानो जात भनेर कोरिएको हुन्छ जस्तै समाजमा छ । छुवाछूत र विभेद नै मान्छेले भोग्नुपर्ने हो त ? अवश्य पनि होइन । कसैले छोएको पानी समेत नचल्ने जन्मदै छुत र अछुत प्रथा किन बन्यो ? मानवबीचमा यति छुवाछुतको ठूलो पर्खाल किन ? हामी मानव आधुनिक र सभ्यताको जति नै कुरा गरेपनि छुवाछूत र धनी गरिवबीचको असमानता किन भेटिन्छ ? जबसम्म हामी पूर्ण रूपमा व्यवहारमा परिवर्तन ल्याउन सक्दैनौं तबसम्म कहिल्यै समान धरातलमा परिवर्तन हुन सक्दैनौ । नयाँ र नौलो मार्गदर्शनका खोक्रा भाषण गर्दैमा हरेक समस्याको समाधान भेट्टाउन सकिँदैन । व्यवहारमा नै पूर्ण परिवर्तन ल्याउनलाई पहिलो पुरानो मानसिक चिन्तनलाई परिवर्तन गरेर नयाँ मानसिक चिन्तन बनाउनु आवश्यक छ । ।
हामीले प्रगतिशील संस्कार, आनीबानी अवलम्बन गर्नु पर्दछ । छुवाछुत विभेदको अन्त गर्नु पर्दछ । प्रगतिशील शिक्षा दिनको लागि आफै सक्षम हुन अति आवश्यक छ र पहिला आफै उदाहरण बनेर प्रस्तुत हुनुपर्छ ।
आज हाम्रो समाजमा मानव समाजको कलङक बनेको जुन घिन लाग्दो छुवाछूत प्रथा छ तिनै सामन्ती वर्गको स्वार्थको निम्ति बनाइएको हो । यहाँ शुद्र र अछुत ती नै मानिन्छन् जो समाजमा सबभन्दा बढी पसिना बगाएर मेहेनत गर्दछन । पुँजीवादी कानुनले जतिसुकै समावेशिताको नारा घन्काए पनि दलित बनाईएकाहरुको अवस्था परिवर्तन हुन सकेको छैन । दलित बनाईएका समुदायलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको सर्वविदितै छ । त्यसैले दलित समुदाय आफैले आफ्नो हक अधिकारको निम्ति एकजुट भएर लाग्नुको विकल्प छैन ।