– ओविराम जि .एम.
मैले प्यूठान जिल्लाको भिङ्ग्री मा.वि.मा अध्ययन गर्ने बेला २०५० तिर साविकको भिङ्ग्री गा वि सको वडा नम्बर ८ को अखिल नेपाल युवक संघको टोल कमिटीमा आवद्ध भइ सांगठनिक जीवनको सुरुवात गरेको हुँ । म २०५१ तिर भारतको महाराष्ट्रको पुनामा पुगेर अखिल भारत नेपाली एकता समाजको लोना वाला एरिया समितिमा काम गरेको हुँ । त्यसको एक वर्ष पछि मैले एकता समाजको पुना नगर समितिमा काम गरेको थिएँ । वामपन्थी युवक मोर्चाको पश्चिम भारत
क्षेत्रीय समितिमा रहेर पनि काम गरेको थिएँ । म २०६४ बाट अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिमा रहेर काम गर्न थालेको हुँ । २०६२ देखि २०७४ सम्म मैले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको होल टाइमर भएर काम गरेँ ।
भारतमा होल टाइमर भएर काम गर्दा १० वर्षको अवधिमा धेरै खालका अनुभवहरू संगाल्ने अवसर मिल्यो । महाराष्ट्रदेखि पूर्व उत्तर भारतका आसाम, मेघालय, मिजोरम, नागाल्याण्डसम्म र यता पश्चिममा उत्तराखण्ड सम्म घुमेको थिएँ । भारतमा जाने नेपालीहरूले फरक फरक राज्यमा फरक फरक खालका समस्याहरू भोग्नु पर्दछ । उत्तराखण्डमा जाने नेपालीहरूले प्रायः भारी बोक्नु पर्दछ । मान्छे, खाद्यान्न, ग्याँस आदि बोक्नु पर्दछ । उत्र्तराखण्डका मान्छेहरूको भेषभुषा सुदुर पस्चिमका नेपालीहरू सित मिल्दछ । आसाममा करोडौं नेपाली भाषीहरू छन् तर उनीहरूको अगाडि भारतीय शासकको विरोध गर्दा उनीहरू रिसाउने गर्दथे ।
आसाममा खेतीपाती गर्दछन् । नेपालीहरु त्यहाँ गएर लिजमा जग्गा लिई खेती गर्दछन् । पैसा कमाउन मिल्ने खालको अम्लिसो, अदुवा खेती धेरै गर्दछन् । गाईपालन पनि गर्दछन् । आसामका मान्छेहरूको प्रायः पूर्बी नेपालका नेपालीहरू सित नाता सम्बन्ध हुन्छ । नागाल्याण्ड र मिजोरममा पास बनाएर मात्र जान पाइन्थ्यो ।
मेघालयमा स्थानीय खसिया जातिहरूले नेपालीहरू माथि हिंसात्मक आक्रमण गर्ने समस्याहरू छन् । त्यहाँ नेपालीहरु गाइपालन गरेर दुध बोक्छन् । स्टेट गोभरमेन्ट अन्तर्गत जागीर पनि खान्छन् । मेघालयमा जाने नेपालीहरु कैयौंले कोइला खानीमा पनि काम गर्दछन् । कोइला खानीका मजदुर, दुध बेच्ने किसान, सरकारी जागिर खाने नेपालीहरु सबैलाई जम्मा गरेर आसामको ग्वाटीमा एकता समाजको क्षेत्रीय सम्मेलन गरेका थियौं ।
भारतीय विस्तारवाद भनेर अपीलमा लेखेका थियौं । भारतविरोधी गतिविधि भनेर उद्घाटन पछि हिरासतमा हामी ४ जना इन्द्र लिम्बु, (पाल्पा) कृष्ण के.सी. (आसाम), दलबहादुर नेपाली (बागलुङ) र मलाई छोपेर ४ घण्टा हिरासतमा राखियो । राती १२ बजे छोड्यो । दुई दिनपछि बन्दशस्त्र गरेर सम्मेलन सम्पन्न ग¥यौं । कतिपय सरकारी जागिरे भएका साथीहरु भागभाग हुनुभयो । भारतभरी नेपालीहरु ठगिएका छन् । शोषणमा परेका छन् । तिनको उत्पीडन विरुद्ध हामीले लगातार आवाज उठाउँदै भारतव्यापी संगठन ग¥यौं ।