– भानुभक्त शर्मा
म सबै भन्दा पहिलो पटक अखिल (छैठौं) श्री सति ढुङा मा. वि. जैदि ,बागलुङको स्कुल इकाईमा सगठित भएको थिएँ । अखिल (छैठौं) बागलुङ दक्षिण भेग एरिया समितिको सचिव, अध्यक्ष हुँदै जिल्ला समिति सम्म काम गरेँ । २०५५ मङ्सिरमा अखिल (छैठौं) को चितवनमा सम्पन्न चौधौं राष्ट्रिय सम्मेलनमा सहभागी भएँ । २०५७ मा धनगढीमा सम्पन्न पन्ध्रौं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी भएको थिएँ । मैले लामो समय विद्यार्थी सगठनमा नै काम गरेँ । २०५९ पछि बुटवलआई होलटाइमरको रुपमा काम गर्न थालें । त्यतिबेला म अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को लुम्बिनी र राप्ती को क्षेत्रीय सचिव र कार्यालय सचिवको रुपमा काम गरेको थिएँ। सांगठनिक रुपमा नवलपरासी, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, कास्की,पर्बत, म्यादी लगायत जिल्लामा कार्यक्रममा सहभागी भएको थिएँ । शाही सेना र माओवादी ज्यादतीको भण्डाफोर कार्यक्रम अन्तरगत प्युठान र दैलेख सम्म पुगेको थिएँ ।
२०५९ को प्रतिगमन पछि बुटवलमा भएको विभिन्न आन्दोलनमा सहभागी भएँ। भैरहवामा अनसन बसेको थिएँ। कैयौं पटक गिरफ्तारमा परेको थिएँ ।
सघीयता विरुद्धको आन्दोलनमा नारायणघाट,काठमाडौका आन्दोलनमा सहभागी भएको थिएँ । साथै पार्टीको आन्तरिक समितिमा बसेर काम गरेको अनुभव पनि छ ।
यु. ए.इ. नेपाली एकता समाजको सचिव भएर काम गरेको अनुभव पनि छ। सन् २००९ मा संयुक्त अरब इमिरेट्स आएर कम्पनीको लोडिङ र अनलोडिङ काम गरेको थिएँ । देशमा हुँदा जुन सगठनमा काम गर्ने उत्साह र जागर थियोे त्यो चाहिँ वैदेशिक रोजगारीमा आए पछि कम हुँदै जाने रहेछ भन्ने लाग्छ । कम्पनीको नियम अनुसार काम गर्नु पर्ने, छुट्टिको समय पनि नमिल्ने, खर्च ब्यबस्थापनको समस्या अनि सगठनका साथीहरूको चिन्तन, महत्वाकांक्षी भावना आदि पनि संगठनमा समस्या बन्दा रहेछन् । विभिन्न समस्याका वावजुद म संगठनमा जोडिएकोछु ।
आम मजदुरका समस्या जस्तै नेपाली मजदुरहरुका पनि समस्या छन् । यु.ए.ई.मा खास गरी सम्झौता अनुसारको काम र तलब नपाउने नै मुख्य समस्या छ । पछिल्लो चरणमा भिजिट भिसामा दुबई ल्याउने र युरोप लगायत अन्य देशमा सुनौलो रोजगारीको रूपमा पठाउछु भन्दै विभिन्न बाहानामा नेपाली युवाहरुलाई अलपत्र पार्ने काममा नेपालीहरु नै सामेल हुने गरेका छन् । नेपालीबाट नेपालीलाई नै शोषण, दमन ,अन्याय ,अत्याचार गर्ने र बन्धक बनाउने काम सम्म भएका छन् ।यसको कारण कतिपय मानसिक रोगी र आत्म हत्या सम्म गरेका घटनाहरु सुनिन आएका छन् ।
नेपालीले नेपालीलाई ठग्ने प्रचलन रोक्न नेपालको सरकारलाई दवाव दिन जरुरीछ । ठगहरूलाई कार्वाही गरिनु पर्दछ र ठगिने नेपालीहरूलाई न्याय दिइनु पर्दछ ।