लोकनारायण सुवेदी
विश्वका अन्य देशका निर्वाचनहरुमा घोर दक्षिणपन्थी र दक्षिणपन्थीहरुले पकड जमाउँदै गरेको देखिँदै गरेको विश्वमा यति बेला श्रीलंकामा भने माक्र्सबादी विचारधारा अवलम्वन गर्ने जनता विमुक्ति पेरेमुना (जेभिपी)का नेता अनरा दिशानायके गएको आइतबार राष्ट्रपति पदमा निर्वाचित हुँदा धेरैले आश्चर्य प्रकट गरेका छन् । पूँजीवादी शासन व्यवस्थाको लामो समयबाट सानो देश श्रीलंकामा ५५ वर्षीय दिशानायकेलाई यस कारणले त्यहाँका जनताले भरोसा र विश्वास गर्न पुगेका छन् कि उनी एकजना मजदुरका छोरा हुन् भनेर मात्र गरेका होइनन् । दिशानायके भ्रष्टाचारका विरुद्ध लड्दै आएका र आर्थिक सुधार ल्याउनसक्ने विकल्पकोरुपमा श्रीलंकाली जनताले उनलाई विजय गराएका हुन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दुइ चरणको मतदानपछि त्यस पदमा निर्वाचित दिशानायकेले यस कारण विजय प्राप्त गरे कि शीर्ष स्थानमा रहेका दुइ उम्मेद्वारामध्ये कसैले पनि चाहिने पच्चास पतिशत मत ल्याउन सकेका थिएनन् । उत्तर मध्य श्रीलंकाको एउटा गाउँ थम्बुटेगामाका अनुरा दिशानायके जनता विमुक्ति पेरामुना(जेभीपी)का नेता हुन जसले नेशनल पिपुल्स पावरसँग गठबन्धन गरेका थिए । यस अघि २०१९ को चुनावमा केवल ३ प्रतिशत मत मात्र पाएका दिशानायकले यस पटक भने ४२.३१ प्रतिशतजतिको शानदार मत प्राप्त गरेर आफ्ना प्रतिद्वन्द्वी सजीथ प्रेमदासा ३२.७६ प्रतिशत)लाई निक्कै नै पछाडि छोडिदिएका छन् । यसरी अप्रत्याशित लाग्ने विजय प्राप्त गरेर उनले गएको सोमबार राष्ट्रपति पदको सपथ ग्रहण पनि लिइसकेका छन् ।
यो निर्वाचनमा बामपन्थीहरुको वर्चश्व स्थापित भएको देखेर भारतीय सत्ताको मन भने निकै अमिलो भएको बुझिन्छ । यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिशानायकेलाई बधाई दिदै ‘भारतको नेभरहुड फस्र्ट’ भन्ने विदेश नीति र दृष्टिकोणले श्रीलंकाको विशेष स्थान छ’ भन्ने दर्शाएका छन् । त्यसका लागि श्रीलंकाका नब निर्वाचित राष्ट्रपति अनरा दिशानायकेले पनि परस्पर सहयोगका लागि आफ्नो प्रतिबद्धत जनाइ पनि सकेका छन् । श्रीलंकामा भारतका उच्च आयुक्त सन्तोष झाले पनि दिशानायकेलाई भेटेरै भारतको तर्फबाट उनलाई बधाई दिइसकेको छ । भन्नकालागि त मोदी र श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले एक अर्कालाई सम्मान दर्शाउने किसिमको वयान दिएका छन् । प्रायः यस्ता अवसरहरुमा औपचारिकतावश यस प्रकारका सम्मानपूर्ण सन्देशहरु आदान प्रदान हुने नै गर्दछन् । तर मूलरुपमाहेरिनु त के पर्छ भने नयाँ राष्ट्रपतिको भारतप्रति र भारतको नयाँ राष्ट्रपतिप्रति दृष्टिकोण र व्यवहार के कस्तो हुने हो । अहिलेसम्म देखिँदै आएको के छ भने भारतीय सत्ता प्रतिष्ठानकोआफ्ना वरिपरीका छिमेकीहरु कुनैसँग पनि त्यस्तो भन्ने गरिएजस्तो सुमधुर सम्बन्ध रहने गरेको देखिदैन जत्तिको मोदी प्रधानमन्त्री बन्नेभन्दा पहलिा केही हुने गरेको देखिन्थ्यो । अहिले त भारतसँग उसका छिमेकी देशहरुसँग कुनै न कनै समस्यालाई लिएर सम्वन्ध त्यति सहज रहेको देखिदैन । तर भारतले भने त्यसो हुनुमा भारतका छिमेकी देशहरुमा चीनको बढ्दो प्रभावको कारण त्यसो भएको भाष्य निर्माण गर्ने र वास्तविक यथार्थलाई लुकाउने छिपाउने गर्दै आएको छ ।
हुन पनि अनेक कारणले चीनले पनि श्रीलंकामा दृष्टि दिने गरेकै छ । त्यहा गोटायेबा प्रेमदासाको कालखण्डमा श्रीलंकाको एउटा द्विप हम्बनटाटामा चीनले सैनिक अखडा राख्न खोजेको थियो भन्ने समेत भारतको दाबी छ । जसबाट उसले भारत र सम्पूर्ण हिन्द महासागरीय क्षेत्रको दक्षिणी भागमा नजर राख्न सकिने थियो भन्ने दाबी पनि गर्ने गरिएको छ । अरु कारणहरुमा भने भ्रष्टाचार, नातावाद कृपावाद, बिग्रँदो अवस्था र खस्कँदो अर्थव्यवस्था, प्रेमदासाका विरुद्ध फैलदो जनाक्रोस आदिले गर्दा उनले पद छोड्नु परेको पनि यस सन्दर्भमा औंल्याइएको छ । त्यसपछि चीनको त्यो क्षेत्रमा प्रवेश रोकिएको भन्ने पनि भारतको आँकलन छ । अब यो श्रीलंकाको नयाँ सरकारले कस्तो दृष्टिकोण र व्यवहार गर्दछ हेर्नुपर्ने हुन्छ भन्ने गुनासो पनि भारतको सत्तावृत्तले गर्दैछ । वैचारिकरुपले दिशानायके चीनको नजिक हुनाले भारतको आशंका रहेको र भारतभन्दा चीनलाई बढी प्राथमिकता दिन सक्ने लख पनि काटिँदैछ । अनि त्यसो भएमा भारतका लागि कठिनाईहरु बढ्न सक्ने सम्भावना छ भन्ने पनि नयाँ दिल्ली वृत्तको कथन छ ।
यद्यपि कतिपय विश्लेषकहरुको के मान्यता पनि छ भने वर्तमान कालखण्डमा मध्यममार्गी हुनु नै श्रीलंकाका वाम पार्टीहरुको पनि बाध्यता रहेको छ । श्रीलंकामा कुनै पनि प्रकृतिको सरकार आओस् त्यसले भारतलाई नजर अन्दाज या वेवास्ता गर्न मिल्दैन भन्ने अहम पनि भारतीय सत्ताधारीहरुले पालेकै छन् ।हुन पनि प्रेमदासा सरकारको नीतिहरु तथा भ्रष्टाचाका विरुद्ध जुन नेताहरु सबैभन्दा मुखर रहेका थिए तीमध्येमा दिशानायके नै बढी अग्रभागमा रहेका थिए । उता चीनले पनि यो दिशानायकको विजयमा खुशी प्रकट गरेको छ । चीनको सरकारी वर्चश्व रहेको पत्रिका ग्लोबल टाइम्सले लेखेको छ कि ‘दिशानायकेको विजयले भारतमाथिको श्रीलंकाको निर्भरतामा कमी आउने छ’ ।
त्यसो त केही दिन पहिला जति बेला दिशानायके भारतको भ्रमण गएका थिए र भारतीय विदेशमन्त्री सुब्मन्यम जयशंकरलाई पनि भेटेका थिए । उनले भारतसँग श्रीलंकाको राम्रो सम्बन्धको कुरा गरे र त्यसको आवश्यकता रहेको पनि जनाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए ।यद्यपि वैचारिकरुपले भने दिशानायके भारत विरोधी रहेको पनि स्वयं भारतीय सत्ताको सेरोफेरोमा रहेकाहरु नै उल्लेख गर्न बिर्सँदैनन् र त्यसलाई भारतको एउटा चूनौति नै हो भन्ने पनि ठान्दछन् । हुन त श्रीलंकाली मामिलाका कतिपय भारतीय विश्लेषकहरु के पनि मान्दै आएका छन् भने दिशानायके वैचारिकरुपले चीन निकट देखिए पनि केही वर्र्षयतादेखि उनको विचारमा निकै सन्तुलन आएका पनि छ । उनीहरु के पनि भन्न पछि पर्दैनन् भने विपक्षमा रहँदा जस्तो विचार कुनै पनि नेताले व्यक्त गर्ने गर्दछन् सत्तामा पुगेपछि प्रायजसो तिनमा परिवर्तन पनि देखिने गरेको छ । त्यसलाई शासन सत्ता चलाउन लचिलो बन्नु पर्ने आवश्यकता पर्दछ भन्ने एक किसिमको मनोवै ज्ञानिक दबाब पनि भारतले दिने गरेको छ । त्यसैले के पनि मानिँदैछ भने श्रीलंकाको आर्थिक दुरावस्थाको स्थितिमा भारतले श्रीलंकालाई जे जस्तो सहयोग गरेको थियो त्यसको ख्याल दिशानायकेले राख्नु पर्दछ भन्ने दबाब पनि भारतको छ । यस दृष्टिले हेर्दा श्रीलंकाको नयाँ सरकारले भारतलाई बाहिर राखेर कुनै भिन्न नीति बनाउन सक्तैन भन्ने दबाव पनि दिइरहेको देखिन्छ । त्यत्ति मात्रै नभएर श्रीलंकाले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध र समान व्यवहार गर्नु पर्दछ पनि भनिँदैछ । दुवैका नजिक पनि श्रीलंका आउन सक्तैन र टाढा पनि जान सक्तैन भन्ने तिनको विश्लेषण छ ।श्रीलंकाको भौगोलिक स्थिति पनि केही भिन्न र यस्तो रहेको छ कि क्षेत्रीय सुरक्षालाई मध्यनजरमा राखेर उसले भारतको साथमा रहनु बढी श्रेयस्कर हुने कुराको दबाब पनि भारतले दिन चुकेको छैन । यसका अतिरिक्त श्रीलंकाको आन्तरिक राजनीतिको हिसाबले पनि दिशानायके सम्भवतः चीनको त्यत्ति नजिक जान चाहँदैनन् पनि भनिदैछ । त्यसका पनि मूलतः दुइटा कारण दिइदैछ । भारतको भाष्य अनुसार पहिलो कारण के भने चीनको कथित विस्तारवादी नीतिसँग सारा विश्व अवगत छ । दोश्रो कुरा चीनसँगको निकटताको कारण प्रेमदासाको कस्तो हविगत भयो त्यो पनि दिशानायकेले देखेकै हुनुपर्दछ भन्ने समेत भारतको कथन छ । यी सबै कुरा गरेर दिशानायकेलाई चिनतिर ढल्किन नदिन भारत जोडतोडले लागेको देखिँदैछ । छिमेक सम्बन्धमा रहेका असमानताका अप्ठेराहरुलाई पञ्छाउनेभन्दा पनि भारत आफ्ना वरिपरीका छिमेकीहरुमा जोसुकै शासन सत्तामा आए पनि तिनले भारतीय वर्चश्वलाई परोक्षा प्रत्यक्षरुपमा मान्नु पर्दछ भन्ने दलिल दिने गर्दछ । त्यसैले अहिले पनि दिशानायकेको वैचारिक निकटता जता भए पनि भारतले पाउने गरेको स्थान गुम्ला भन्ने पीर निकै नै लिएको देखिन्छ ।यसले भारतको ‘छिमेकी पहिला’ नीतिको अन्तर्यमा के रहेछ भनेर बुझ्न पनि मद्दत मिलेको छ ।