– कृष्ण प्रशाद पौडेल ,हाल हैदरावाद ,भारत
मेरो जन्म २०३० साल असार ४ गते बुवा रुपनायण पाध्या र आमा जमुना देवी पाध्याको कोखबाट बाग्लुङ जिल्ला विनामारे ३ माझिरुम्टामा भएको हो । म मेरै गाउँमा पञ्चायती तानाशाही व्यवस्थाको बर्बर दमन अन्याय अत्याचारको विरुद्धमा हुने सबै किसिमका कार्यक्रमहरुमा सरिक हुने क्रममै मेरो राजनीतिक यात्रा सुरु भएको थियो । म २०४२साल तिर विनामारे श्री सर्वोदय जनक नि मा वि को सात कलाससम्मको पढाई सकेर जनता मावि सर्कुवामा पढ्नको लागि गएको थिएँ । त्यहाँ गएपछि पढाइको साथ साथै अखिल (छैटौ) मा रहेर सकृय रुपमा काम गएने वातावरण सिर्जना भयो ।
नेपालमा रोजगारीको कुनै सम्भावना नभएकोले २०४८ सालमा एस.एल. सी.सम्मको पढाई सकेर म मन्द्रास गएँ । त्यहाँ त्यतिखेर मसालको मान्छे भने पछि नेपाली जनसम्पर्क समितिका कार्यकर्ताहरुले नोकरीमा लगाउन नमान्ने र नेपाली कांग्रेस हुनु पर्ने जस्ता कुराले नोकरी पाउन गाह्रो भयो । त्यसपछि म चङगलपेट तामबरामदेखि अगाडि एउटा सानो प्राइभेट कम्पनीमा काममा लागेँ । करिव १५ महिना एक्लै दिन काट्न गाह्रो भएको थियो । त्यहाँ संगठनमा आवद्ध हुने अवसर प्राप्त भएन त्यस पछि म घर गएँ । घर एक महिना बसेर मेरो दाजु होम नाथ पौडेल हैदरावादमा नै नोकरी गर्ने भएकोले हैदरावादमा आउन केही सहज भयो र तीन दशक कटाउन केही गाह्रो भएन किनकि म यहाँ आएपछि छिट्टै अखिल भारत नेपाली एकता समाजमा समाहित भएँ । मलाई परिश्रम गर्न मन पर्छ त्यस कारण कम्पनी भित्र मजदुरको लागि काम खोज्न धेरै कोशिश गरें तर कम्पनीभित्रको काम नपाएपछि आज सम्म चौकिदारको काम गर्न बाध्य भएको छु । विदेशमा अनिवार्य रुपमा संगठनमा आवद्ध हुन जरुरी महसुस गरी म अखिल भारत नेपाली एकता समाजको टोल, एरिया, नगर, क्षेत्र हुँदै केन्द्रसम्मका यी पाँच सांगठनिक संरचनाहरुमा काम गरेको लामो अनुभव छ । भारतस्थित आम नेपालीहरुका हरेक समस्याको समाधानका लागि यहाँको प्रशासनदेखि कम्पनी मालिक, नोकरशाह, पुँजीपतिहरु र तिनका विभिन्न तहका एजेण्टहरुसँग संघर्ष गर्नु पर्छ । न्यायको लागि बुलन्द आवाज उठाउन पर्दछ यहाँ पनि हरेक ठाउँमा नेपालमा जस्तै कमिसनखोरहरू छन् । त्यसको बारेमा पनि नेपालीहरुलाई व्यावहारिक र सैद्धान्तिक ज्ञानको आवस्यक पर्दछ । हामीले योजना बनाएर साप्ताहिक, मासिक र वार्षिक कलास दिने गरिएको छ ।
नेपालीहरु संगठनमा लागेका र संगठन बाहिर बसेकाहरुमा धेरै अन्तर छ । यहाँ नेपालीहरुका समस्याहरु धेरै छन् । व्यवहारिक र सैद्धान्तिक ज्ञानको कमीको कारण समय समयमा सानोतिनो कुरामा पनि झगडा गरेर प्रशासनमा जाने गरेका छन् । यहाँको प्रशासनले निशुल्क कुनै पनि काम गर्दैन । कम पैसामा हुने कामलाई बढी लिने गरेको छ । साना तिना समस्याहरु अखिल भारत नेपाली एकता समाज भएको ठाउँमा सहज रुपमा वादी प्रतिवादीलाई बोलाई छलफल गराई संगठनले नै समाधान गर्ने गरेको छ । भारतमा यहाँको आइ. डि.बाहेक नेपाली आई .डि .लाई पनि मान्यता दिनु अति आवश्यक छ । अहिले आई.डि .बनाउनको लागि ८÷१० हजार एजेण्टलाई बुझाउनु पर्छ । तैपनि बन्छ बन्दैन कुनै ग्यारेन्टी हुँदैन । आई. डी. पुरुफ नभएसम्म नोकरीमा लगाउन, घर भाडामा बस्न र मोबाइलको सिम निकाल्न समेत निकै गाह्रो छ । यस्ता सामान्य कुराहरु नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान गर्नु पर्दछ भन्ने हाम्रो संगठनको माग छ । १९५० को सन्धि यहाँ कार्यान्वयन भएको पाईदैन । नेपाल भारत आवत जावत गर्दा पनि बाटोमा नेपालीहरु असुरक्षित छन् सिमानामा लुटपाट हुने गरेका छन् । यसको विरुद्धमा अखिल भारत नेपाली एकता समाजले समय समयमा ज्ञापन पत्र बुझाउन र जुलुस प्रदर्शन गर्दै आइरहेको छ ।
अहिले मैले अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य र मध्ये दक्षिण भारत क्षेत्रीय समितिको अध्यक्ष रहेर काम गरिरहेको छु ।
विदेशमा सम्झन लायक घटनाहरु धेरै छन नेपालीहरु माथि करिव करिव दिन दिनै घटनाहरु घट्ने गर्दछन् । अखिल भारत नेपाली एकता समाजको इतिहासमा केही अविस्मरणीय घटनाहरु छन् – १९८६ को नेपालको पञ्चायती व्यवस्थाको विरुद्धमा दिल्लीमा जुलुस पर्दशन गर्दाको दमन , गिरफ्तारी र जेल यातना, नोयडामा सुमित्रा हेमराज र आरोषी हत्याकाण्ड , अहमदावादमा तन्दुरी हत्या काण्ड जस्ता हत्या काण्डहरु ।
आजको अवस्थामा भारतमा स्थायी रुपमा काम पाउन गाह्रो छ । गुणस्तरीय शिक्षा हासिल गरेका र राम्रो नोकरी पेसा व्यवसायको रुपमा काममा लागेका केही नेपालीहरुलाई संगठनमा आवद्ध गर्न कोशिश गर्दा गर्दै पनि असंगठित हुनाले आम नेपालीलाई संगठित गर्न अप्ठ्यारो हुने गरेको छ । धेरै नेपालीहरु अहिले होटल कोठी र चौकिदारका रुपमा काम गरेको पाइन्छ । तिनीहरुको डिउटी लामो १२÷१४ घण्टा हुनुको कारणले पनि उनीहरुलाई संगठनमा आवद्ध गर्न समस्या भएको छ । यी अप्ठ्याराका बाबजुद हामीले नेपालीहरूलाई संगठित गर्दै देशलाई नबिर्सन, नेपालको परिवर्तनको आन्दोलन जोडिन, भारतमै पनि अन्यायका विरुद्ध लड्न प्रशिक्षित गर्दै आएका छौँ ।
नेपालमा नेपाली जनताले ठूलो योगदान दिएर व्यवस्थाहरु परिवर्तन गरेका छन् तर नेपाली जनताको अवस्थामा परिवर्तन भएको पाइदैन । नेपाल सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नु पर्छ तर त्यो दिशामा अगाडि बढ्न सकेको छैन । अहिलेको यो दलाल प्रतिक्रियावादी व्यवस्थाको विकल्पमा नेपालका क्रान्तिकारी शक्तिहरु एक ठाउँमा हुनैपर्छ टुटफुट खण्डित कुरा गरेर सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको विकास हुँदैन र आम नेपाली जनताहरुको समस्या समाधान पनि हुन सक्दैन यसको विकल्पको खोजी गरियोस भन्न चाहन्छु । नेपालको अहिलेको अवस्था अर्धसामन्ती अर्धऔपनिवेशिक र भूपरिवेष्ठित राष्ट्र भएको हुँदा नेपालको वस्तुगत परिस्थिति अनुरुपको राजनीतिक व्यवस्था स्थापनाओ आवश्यकता छ ।
नेपालमा क्रान्तिकारी शक्तिहरूको एकता जरुरी छ
Comments