विश्वव्यापी भोटको अर्थ राजनीति

  • अपत्य शर्मा

विश्वका सबै भन्दा ठूला धनीले आजभोलि समस्त प्राणीदेखि शोषित, पीडित, दमित आम श्रमजीवी जनताका लागि फासिवादी हिटलरले जस्तै बन्दीहरुलाई तड्पाइ तड्पाइ मार्ने ग्याँस च्याम्बरको रुपमा परिणत गरेका छन् । विश्वका सबैभन्दा ठूला खर्बपतिहरुले कार्वन उत्सर्जन गरेर पृथ्वीको जलवायु परिवर्तन गर्नेदेखि  लिएर मानव जातिलाई आणविक वम रोगाणु बम, नापाम वम, न्यूट्रोन बमदेखि अनेकौं अत्याधुनिक अस्त्रशस्त्रको ठूलो भण्डार राखेका छन् । आ–आफ्ना हातहतियारहरु बिकाउन विश्वव्यापी रुपमा विश्वका प्रतिक्रियावादी सैनिक तथा गैर सैनिक तानाशाहहरुलाई हातहतियार बिकाएर साम्राज्यवादी, विस्तारवादी शक्तिको विरोध गर्ने देशभक्त जनतालाई नरसंहार गराइरहेछन् ।

२०२० को फोब्र्स सूचीमा विश्वका २,०९५ अर्बपतिहरुमध्ये २० जना अर्बपतिले उनीहरुको विलासी जीवनशैली बिताउँदा निकाल्ने कार्वन उत्सर्जनको मापन गर्ने अध्येताले ती २० जना अर्बपतिका घर, गाडी, निजी विमान, निजी पानी जहाज आदिबाट निस्कने कार्वनको तथ्यांकले विश्व तापमान बृद्धिमा हात रहेको जनाइएको छ । अत्याधिक कार्वन उत्सर्जन गर्ने अर्वपति रोमन अब्रामोभिच थिए । उनले सन् २०१८ मा ३३८५९ टन उत्सर्जन गरेका थिए । स्मरणीय छः हालको विश्वमा प्रतिव्यक्ति वार्षिक औसत  कार्वन उत्सर्जन करिब ५ टन छ । अमेरिकामा १५, चीनमा ७, भारतमा २  नेपालमा १ टन मात्र छ । माइक्रो सफ्टका संस्थापक बिल गेटसको वार्षिक कार्वन उत्सर्जन परिमाण ७,४०८ टन थियो । यी विश्वका सबै भन्दा ठूला धनाढ्यहरुले आफ्ना अति विलासी जीवनशैलीबाट निस्कासन हुने कार्वनको मापन गरिए तापनि उनीहरुका लगानीबाट उत्सर्जन गरिएका कार्वनको चाहिं हिसाब किताव गरिएको थिएन । ग्रेट ब्रिटेनमा रहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अक्सफामले हालै प्रकाशित कार्वन बिलिनायर्स प्रतिवेदन अनुसार विश्वका १२५ अर्बपतिको संयुक्त कार्वन उत्सर्जन परिमाण ६ करोड ७८ लाख जन संख्या भएको फ्रान्सको भन्दा बढी छ । अर्को शब्दमा भन्ने हो भने एक जना अर्बपतिले वार्षिक ३१ लाख टन कार्वन पृथ्वीमा छोडिरहेछन् । यसमा आम्दानीका हिसावमा हिसाब गर्ने हो भने विश्वका अत्यन्त गरिब ९० प्रतिशत मानिसले गर्ने उत्सर्जन भन्दा करिब १० लाख गुणा बढी हो । यिनै ९० प्रतिशतले नै सबैभन्दा बढी पीडित भैरहनु परेको छ । स्मरणीय छ ः संसारका कैयौं अर्बपतिको कार्वन उत्सर्जनबारे मूल्यांकन नै भएकै छैन ।

माथिको सानो विवरणले के प्रष्ट हुन्छ भने विश्वका सम्पूर्ण प्राणी जगतलाई संकटतिर, विनासतिर धकेल्दै लग्ने यी नै ठूला विश्वका सबै भन्दा ठूला धनाढ्य हुन् । नेपाल पनि जलवायु परिवर्तनले पीडित, शोषित र दमित हुनु परेको छ । सबै भन्दा थोरै कार्वन उत्सर्जन गर्ने नेपाल पनि दण्डित हुनु परेको छ । नेपालको सौन्दर्य र अर्बौंको पेय, जलस्रोत, खाद्य, जैविक जीवहरुको क्षेत्र दिन प्रतिदिन संकटमा पर्दैछ । नेपालका सेता  हिमाल काला पहाडमा परिणत हुँदै छन् । अहिलेको अुनपातमा कार्वन उत्सर्जनलाई यथावत राखेमा सन् २०५० मा नेपालको भविष्य नेपालीको अस्तित्व नै खतरामा छ भनेर विज्ञहरुले भविष्यवाणी गरिसकेका छन् । नरभक्षी खर्बपतिहरुले आफ्ना मानवता विरोधी आपराधिक हडोर अनुहार छोप्न परोपकारका लागि केही रकम छुट्याएका छन् ।

यी ठूला खर्बपतिहरुले आ–आफ्ना मुलुकका अर्थ राजनीति मात्र आफ्ना नियन्त्रणमा लिने नभएर विश्वका अधिकांश मुलुकहरुका अर्थ राजनीति पनि आफ्नो नियन्त्रणमा राखेका छन् या राखेर ती देशका सम्पूर्ण  आर्थिक, स्रोत र साधनहरुलाई पनि आफ्नो बनाइरहेका छन् ।

प्रजातन्त्र, गणतन्त्रको नाममा स्वतन्त्रता, सार्वभौमसत्ता, मानव अधिकार आदिका रक्षाका लागि संसदीय व्यवस्था या राष्ट्रपतीय जे जस्ता व्यवस्था भए पनि त्यसका चुनावी नाटक अत्यावश्यक हुन्छ ।  आम जनताले आफ्ना हक अधिकार, स्वतन्त्रता, सामाजिक, आर्थिक तथा राजनैतिक अधिकारको सुरक्षाका लागि आफ्ना प्रतिनिधित्व गर्ने शासकलाई मताधिकार प्रयोग गरेर शासक वर्ग चयन गरेका हुन्छन् । तर त्यो शासक वर्ग शोषक मालिक वर्गमा परिणत हुन्छ र भुँई मान्छेहरुको ड्राकुलाले जस्तै रगत पिउँछन् ।

नेपालका आवाजविहीन भूँइ मान्छेहरुले २०१५ सालदेखिको आम निर्वाचनको नाममा विभिन्न रुपरंगका चुनावी दृश्यहरु हेर्दै आएका छन् । विपन्न दलित मधेश, तराई पहाडका चरम शोषित, पीडित, अपमानित समुदायको अवस्थामा कुनै तात्विक परिवर्तन नआएको सबैको अगाडि खुला छ । अवश्य पनि यस्ता शोषित, अपमानितहरुबाट  भोट तान्न छुवाछूत र विभेद हटाउने कानुनका धाराहरु बनाएका छन् । नेपालका मारिने, बलात्कृत हुने, जिउँदै जलाइने, उपल्लो जातसँग प्रेम सम्बन्ध राख्ने अछुत जोडीले बहिष्कृत भएर गाउँघरबाट लखेटिनेहरुलाई न्याय दिइएका छैनन् । नवराज विक र उनका साथीहरुले कहिलै न्याय पाउने छाँट छैन । यहाँ भूँइ मान्छेहरुले के बुझ्दै छन् भने शोषक, शासक वर्गले शोषित वर्गलाई गधालाई मालिकले गाँजरको मूठो देखाएर दौडाउनु जस्तै गाँस, बाँस र कपासको सपना देखाउनु मात्रै हो ।

नेपालका राजनैतिक दलहरुले सत्ताधारी हुन विगतदेखि २०७९ सालसम्मको चुनावमा मोटो रकम खर्च गरेर सत्ताधारी बने र बन्दै छन् । २०७९ को हालैको आम निर्वाचनमा गुण्डा नाइके बलात्कारी, ठूला भ्रष्टाचारी, तस्कर, हत्यारादेखि खर्बपति उद्योगी, निर्माण व्यवसायी पनि सांसद बनेका छन् । करोडौं खर्च गरेर सांसद पद हत्याउनेहरुले कानुनहरु पनि आ–आफ्ना वर्गस्वार्थ रक्षा गर्ने, मोटो रकम आर्जन गर्नमा नै आ–आफ्ना कार्यकाल पूरा गर्ने छन् । आफ्ना सम्पूर्ण अपराधहरुबाट जोगिन पंचायतमा प्रवेश गरे जस्तै अबका दिनहरुमा विभिन्न पार्टी र संगठनहरुमा प्रवेश गरेर रातारात प्रतिष्ठित मोटो रकम आर्जन गर्ने क्षेत्रमा कार्यरत भएर सुरक्षित हुने सुअवसर प्राप्त गरिरहेछन् ।

राष्ट्रपति, प्रधानमन्त्री तथा सांसदहरु छान्ने जुनसुकै निर्वाचन साम्राज्यवादी अमेरिकादेखि विकसित पुँजीवादी मुलुकहरु र विकासोन्मुख मुलुकहरुमा ज्यादै खर्चिलो बनाइएका हुन्छन् । गरी खाने शोषित, पीडित, अपमानित वर्गको मानिसका लागि चुनाव लड्नु र विजय प्राप्त गर्नु प्रायः असम्भव जस्तै हुन्छ । यसकारण सानो चर्चा यूरोप र अमेरिकाका चुनावमा कस्ता छानिन्छन् त भन्नेमा जाऔं ।

पार्टीहरु पार्टी व्यवस्था भएका मुलुकहरुमा हुन्छन् । पार्टीहरुको प्रतिस्पर्धा भनेको देशको शासनसत्तामा आफ्नो पार्टीको एकाधिकार जमाउनु हो । कुनै पनि व्यक्तिले एउटा न एउटा वर्गको प्रतिनिधित्व गर्छ र वर्गस्वार्थ रक्षा गर्न आफ्नो वर्गको पार्टी बनाउँछ । संयुक्त राज्य अमेरिकामा रिपब्लिक पार्टी र डेमोक्रेटिक पार्टीहरु मात्र छन् । रिपब्लिकन पार्टीलाई घोर कट्टर दक्षिणपन्थी पार्टीको रुपमा विश्लेषण गरिन्छ भने डेमोक्रेटक पार्टीलाई केही उदार पार्टीको रुपमा विश्लेषण गरिन्छ । तर यी दुवै पार्टीले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा मात्र होइन यूरोपेली मुलुकमा पनि युद्ध, गृहयुद्ध र विखण्डन  गराउने काम समान रुपले गराउँदै आएका छन् । यी दुवै पार्टीले अमेरिकाका धनाढ्य वर्गको स्वार्थ रक्षा गर्छन् । अमेरिकाका राष्ट्रपतिहरु स्वयं धनाढ्य नै हुन्छन् । २०१७–२०२१ सम्म अमेरिकाका राष्ट्रपति भएका डोनाल्ड ट्रम्पको सम्पत्ति डलर ३००० मिलियन थियो । ट्रम्पले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण नबुझाएका  र कर छली पनि गर्दै आएका छन् । ४४ औं पूर्व राष्ट्रपति बाराक ओबामाको ७० मिलियन डलर छ । फोर्बका अनुसार जुन १०,२०२१ जो बाइडेनको सम्पत्ति १७.७ मिलियन छ ।

अब विश्वलाई चुसेर सम्पन्न भएको साम्राज्यवादी मुलुक संसदीय प्रजातन्त्रको नमुना मुलुकका प्रधान मन्त्रीका सम्पत्ति विवरणतिर चिहाऔं । बेलायतमा पनि दुई पार्टी मात्र अस्तित्वमा छन् । ती कन्जर्भेटिभ पार्टी र लेवर पार्टी हुन् । यी दुईवटै पार्टीले पालैपालो बेलायतका शासन सत्ता चलाउँदै आएका छन् । लेबर पार्टी भन्दा पहिले लिवरल पार्टी पनि अस्तित्वमा थियो र कन्जर्भेटिभ  पार्टीसँग काम गथ्र्यो । वर्तमान बेलायती प्रधानमन्त्री रिशी सुनकको सम्पत्ति ८५० मिलियन बेलायती पौण्ड छ । सुनक राजा चाल्र्स तृतीय भन्दा पनि धनी छन् । पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको कुल सम्पत्ति जुलाईसम्म ८,२०२२ मा १.६७ मिलियन पौण्ड थियो ।

पहिलो सर्वहारा  वर्गको सत्ता पेरिस कम्युनको स्थापना भएको राज्य क्रान्ति भएको मुलुक फ्रान्समा धेरै पार्टी छन् । ती हुन रिपब्लिकन, नेशनल राल्ली, सोसलिष्ट पार्टी, ला फ्रान्स इन्साउमिज ।

वर्तमान फ्रान्सका राष्ट्रपति इमानुयल माइक्रोनको सम्पत्ति (२०२२) मा ७६ मिलियन डलर छ । उनको पार्टीको नाम ला (रिपब्लिक्यु इन मार्चेको नाम) फेरेर रिनै सान्सस राखेका छन् । फ्रान्समा धेरै पार्टीहरु छन् । त्यहाँ दक्षिणपन्थी पार्टीहरु र वामपन्थी पार्टीहरु छन् । युएमपिदेखि अति दक्षिणपन्थी पार्टीहरु र अति वामपन्थी पार्टीहरु पनि छन् । ला फ्रान्सस इनसौमिज पार्टीले पुँजीवाद विरोधी व्यवस्था विरोधी अति वामको यूरोपियन आन्दोलनको विरोधी पार्टीका नेता मेलेन्चोन पूरा नाम जी लुस एन्टोनी पिएरे मेलेन्चोन हो । २०१७ देखि २०२२ सम्म नेशनल एसेम्बलीका सदस्य रहे ।

उपरोक्त सानो विवरणले के प्रष्ट हुन्छ भने साम्राज्यवादी  तथा विकसित पुँजीवादी मुलुकहरुका राष्ट्रप्रमुख हुनेहरु धनाढ्यहरु हुन्छन् । उनीहरुले नै विश्व प्रभुत्व कायम गर्छन र विश्व अर्थ राजनीतिमाथि अधिकार जमाएका छन् । अमेरिकी साम्राज्यवादीले विश्व अर्थ राजनीतिमाथि अधिकार जमाउन अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक र विश्व शान्ति र मानव अधिकारको रक्षा गर्ने नाममा संयुक्त राष्ट्रसंघको पनि स्थापना गरेको छ । राष्ट्रसंघको नाममा त्यस अन्तर्गत शिक्षा, स्वास्थ्य, गरिबी निवारणको नाममा अनेकौं अन्तर्राष्ट्रिय, राष्ट्रिय गैर संस्थाहरु खोलेर एसियाली, अफ्रिकाली तथा ल्याटिन अमेरिकी मुलुकहरुको अर्थराजनीतिमाथि नियन्त्रण गरिरहेछन् । अर्थराजनीतिमा मात्र होइन धर्म, संस्कृतिमाथि पनि अतिक्रमण गरिरहेका छन् । यही बल्छी रुपी साम्राज्यवादी आर्थिक जालमा नफस्ने स्वतन्त्र आत्मनिर्भरता राष्ट्रियताको पक्षमा उभियो भने प्रजातन्त्र र मानव अधिकारको रक्षाको नाममा सि आइएद्वारा आतंक तोडफोड र आफ्ना प्रतिक्रियावादी कठपुतली सरकार गठन गर्ने गरेको छ । जबसम्म मानव अधिकारको प्रश्न छ अमेरिकादेखि बेलायत तथा यूरोपेली मुलुकहरुमा रंगभेद, वर्णभेद, लिंगभेदका आधारमा कालो रंग भएका अफ्रिकीदेखि एसियालीसम्मले अपमानित र हिंसाको शिकार बनिरहनु परेको छ ।

नेपालका ठूलाठालु वर्ग जो साम्राज्यवादी र विकसित पुँजीवादी शिक्षा दिक्षाले लैस हुन्छन्, उनीहरुको मन मस्तिष्कमा पुँजीवादी तुच्छ व्यक्तिवादी, व्यक्ति, म, प्रधान मेरो, पुँजीवादी स्वार्थले प्रमुखता पाउनु, संकीर्ण रंगभेद, वर्णभेद, क्षेत्र र लिंगभेदको मन मस्तिष्कमा दुषित शिक्षा भरेर स्वदेश फर्केका हुन्छन् । अर्को शब्दमा भन्दा ह्याचरीबाट निस्केका कुखुरा जस्तै पुँजीवादी चल्ला हुन्छन् । उनीहरुमा पुँजीवादी व्यक्तिवादी स्वार्थी मानवतावाद मात्र हुन्छ । सर्वहारावादी संवेदनशील सामूहिक भावनाले ओतप्रोत सर्वहारावादी समाजवादी मानवतावादलाई नष्ट गरिएको हुन्छ । यसकारण नेपालमा दिइने सम्पूर्ण शैक्षिक, शिक्षा प्रणाली तिनै रंगभेद मानवताविहीन भएकाले भ्रष्टाचार, घुसखोरी, हत्या, बलात्कार, आत्महत्याहरु स्वाभाविक मानिएका छन् । पुँजीवादी मानसिक दासताको शिक्षाले राष्ट्रिय र सर्वहारा अन्तर्राष्ट्रवादी हुनु भन्दा नेपालका पुँजीवादी शिक्षितहरु स्वदेशमा भन्दा साम्राज्यवादी र विस्तारवादीका मुलुकहरुमा गुलाम हुन लाखौं खर्चिदै छन् ।

के नेपालका वर्ग सचेत नेपालीले वर्गभेद, लिंगभेद, वर्णभेद जातीय विभेद, घृणा र अपमानको अन्त्य गर्ने समानतावादी, विश्वबन्धुत्वको भावनाले लैस गर्ने, स्वतन्त्र आत्मनिर्भर अर्थनीति अँगाल्ने शैक्षिक प्रणाली लागु गर्नु सक्दैनन् र ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित