१९५० को सन्धिले दिएका सहुलियतहरु गुम्दै गएका छन्

– उमानन्द आचार्य
मेरो नाम उमानन्द आचार्य हो, मेरो जन्म जैमिनी नगरपालिका वाड नं. ९ पैयुँ थन्थाप, बाग्लुङ जिल्लामा २३ वैशाख २०२७ सालमा वुवा टिकाराम पाध्या र आमा रत्नकला पाध्याको कान्छो सन्तानको रूपमा भएको हो ।
म २०४० सालमा जैमिनी नगरपालिका वडा नं ९ पैंयुँको पोखरीवारीमा अवस्थित श्री जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययन गर्दै गर्दा अनेरास्ववियु (छैठौ) मा आवद्ध भई राजनीति तर्फ आकर्षित भएको हुँ ।
मलाई संगठनमा लाग्न विद्यार्थी जीवनमा भएका राजनीतिक गतिविधिले प्रभावित पारेको थियो । जव म कक्षा ४ मा अध्ययन गरिरहेको थिएँ, त्यसबेला अखिल (छैठौ)ले स्कूल छुट्टी भए पछि सामान्य प्रशिक्षण चलाउने र विद्यार्थी संगठको अवश्यक किन छ ? अखिल छैठौको लक्ष्य र उद्देश्य के हो ? तानाशाही पंचायती व्यवस्था र निरंकुश राजतन्त्रले नेपाली जनतामाथि गरेका अन्यायपूर्ण दमनको बारेमा जानकारी गराउने गर्नु हुन्थ्यो । ती विषयले म प्रभावित भैरहेको थिएँ । विस्तारै अखिल (छैठौ)को सदस्यता पनि लिएर स्कूल इकाईमा बसेर काम गर्न थालेको थिएँ ।
निम्न किसान परिवारमा जन्मेको हुनाले स्कूल जीवन पूरा गर्न नपाउँदै म आर्थिक समस्याका कारण जागीर गर्न भारतको चेन्नै तर्फ लागे । १९९० मा म अखिल भारत नेपाली एकता समाजको सदस्य भएर सक्रियतापूर्वक काम गर्ने प्रेरणा प्राप्त गरेको थिए ।
अखिल भारत नेपाली एकता समाज भारतमा रहने नेपालीहरूको हकहित र सुरक्षाको प्रत्याभूत गर्न १९७९ मा स्थापना भएको एक अभिभावकीय संगठन हो । जव म अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएँ । त्यस पछि म जनताका जल्दा बल्दा समस्या समाधान गर्न हमेसा लागि रहने गर्छु । जनताको पक्षमा ईमान्दारीतापूर्वक काम गर्ने संगठनको उद्देश्यबाट प्रभावित भएर अहिलेसम्म संगठनमा काम गर्दै आएको छु । अहिले म समाजको केन्द्रीय सचिवालय सदस्य, दक्षिण भारत क्षेत्रीय समितिको सचिवालय सदस्य र चेन्नै उत्तर नगर समितिको अध्यक्षको रूपमा काम गर्दै आएको छु ।
भारतमा रहने आम नेपालीहरूका समस्या समाधान गर्न हाम्रो संगठन हमेशा अग्रपंत्तिमा रहेर काम गरिरहेको छ । भारतमा यात्राका दौरान नेपालीहरूमाथि हुने लुटपाट, अन्याय अत्याचार, रेलबाट खसेर मर्ने, हराउने, आत्मा हत्या गर्ने, दुर्घटनामा पर्ने, खानपानको लापरवाहीबाट अकालमा ज्यान गुमाउने, वेसाहारा, असाहय, वेरोजगरी र अलपत्र परेका सबै खाले नेपालीहरूका पक्षमा आवश्यक सहयोग गर्न हामी र हाम्रो संगठन हमेसा तत्पर रहने गर्दछौं । समय समयमा समाजको तर्फबाट घटनाक्रमको जानकारी गराउनुका साथै रोकथामको लागि केन्द्र तथा स्थानीय सरकारलाई भेटेर ज्ञापन पत्र बुझाउने पनि गरिएको छ । नेपालीहरूले पाउने १९५० को सन्धि तहत सहुलियतहरू दिन प्रतिदिन गुम्दै गएका छन् । सन्धि आफैमा असमान रहेको छ र खारेज हुनु पर्दछ तर खारेज नहुँदासम्मका लागि मिल्ने केही सहुलियतहरू प्राप्त गर्नको लागि हाम्रो समाजले सरकार समक्ष लिखित वा मौखिक रूपमा आवाज बुलन्द गर्दै आएको छ ।
संगठनमा काम गर्दाका केही अविश्मरणीय पलहरू पनि छन् । संघीयता विरोधी काठमाडौं केन्द्रित १० दिने आन्दोलन । नेपालीहरूको हक हित र सुरक्षाको लागि सिमानामा जुलुस तथा धर्ना आन्दोलन । नेपालीहरूको लागि कानुनी अधिकार रासन कार्ड, आधारकार्ड बनाउन सहयोग र कतिपय आपत विपतमा परेका चेलीहरूलाई उद्धार गरेका अविष्मरणीय पलहरू पनि छन् । हालै झापाकी एक जना विष्णुमाया सुब्बा दिदीलाई दुर्घटनामा परी अचेत अवस्थामा चेन्नैको स्टान्ली हस्पिटलमा भेटाएर उपचार पछि उनका आफन्त खोजी गरेर चेन्नैबाट टिकेट लिएर झापा पठाउने काम गरियो । यसरी जनताको काम गर्न पाउँदा धेरै खुशी लाग्छ ।
अहिलेसम्म घर परिवारको लागि जागिर र देश र जनताको सेवामा समर्पित हँुदै आइएको छ । अव पनि देश र जनताको लागि पार्टी संगठनद्वारा निर्देशन गरिएका जिम्मेवारी निभाउँदै अगाडि बढ्ने विचार छ ।
(चेन्नै, भारत)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित