कम्युनिष्ट पार्टीमा व्यक्तिवाद

– शशिधर भण्डारी

क. माओले कम्युनिष्ट पार्टीमा व्यक्तिवादको चर्चा गर्ने सन्दर्भमा ‘सानो डफ्फा’ मनोवृत्तिको विषय उठाएका छन् । त्यसमा उनले भनेका छन– ‘कुनै कमरेडहरु आफ्नो सानो डफ्फाको हितलाई मात्र ध्यानमा राख्दछन् र सामान्य हितलाई वेवास्ता गर्दछन् । बाहिरबाट हेर्दा यो व्यक्तिगत हितको सम्पादन जस्तो देखिदैन । तर वास्तवमा यसमा अधिकतम संकीर्ण व्यक्तिवाद निहित रहेको हुन्छ ।’ (माओत्सेतुङकी संकलित रचनाएँग्रन्थ ३ पृष्ठ १८३) माओको यो भनाइले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा परिणामगत दृष्टिले अत्यन्त महत्व राखेको देखिन्छ । माक्र्सवाद–लेनिनवादले इतिहासका निर्माता जनता हुन् भन्ने मान्यता राख्दछ । ब्लांकीवादले नेता र केही सुरवीरहरुको भूमिकालाई इतिहासको निर्माता ठान्दछ । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा ब्लांकीवाद र माक्र्सवादका बीचमा यही अन्तर रहँदै आएको छ । ब्लांकीवाद अराजकतावादको व्यवहारिक सैद्धान्तिक स्रोत हो । सन् १८७१ को पेरिस विद्रोह ब्लाँकीवादीहरुको नेतृत्वमा भएको थियो । सो विद्रोहको ढाइ महिना पश्चातको असफलताले पैदा गराएको करुणाको गाथा सामान्य गाथा थिएन । सो घटनामा पेरिसका मजदुरहरुले प्रदर्शन गरेको वीरता र रगतको आहुतिले इतिहासमा निकै गहिरा स्मृतिका छापहरु छोडेर गएको छ । त्यतिमात्र होइन इतिहासका निर्माता जनता हुन्, राजनीतिक लडाइँमा वर्गयुद्धमा हारजितको फैसला केही नेता र सुरवीरहरुले होइन, जनताले गर्दछन् भन्ने निर्मम पाठ पनि पढाएर गएको छ ।माओत्सेतुङ हमेशा जनतामा भर परेको देखिन्छ । जनयुद्धकालमा मात्र होइन सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भए पश्चात पार्टीमा दक्षिणपन्थी संशोधनवादले वर्चश्व कायम गर्न थालेपछि माओत्सेतुङ जनताकै बीचमा गएका थिए । दक्षिणपन्थी संशोधनवादका विरुद्धको लडाइँमा सञ्चालित सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा उनले जनताकै बलमा उठाउने प्रयत्न गरेका थिए । इतिहासका निर्माता जनता हुन् र राजनीतिक लडाइँको हारजीतको फैसला एक वा अर्को हतियारले मात्र होइन जनताको शक्तिले गर्दछ भन्ने कुरा माक्र्सवादी लेनिनवादी सच्चाइ हो । राजनीतिक परिवर्तनमा जनता साध्य हुन्छन्, नेतृत्व, संगठन र हतियार अत्यावश्यक साधन भने अवश्य हुन् । तर इतिहासका निर्माता जनता मात्र हुन् वा इतिहास निर्माणमा असाधारण क्षमता र योगदान भएका व्यक्तिहरुको पनि भूमिका हुन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय राजनीतिमा छलफल चल्दै आएको देखिन्छ । कतिपय अवस्थामा कम्युनिष्ट आन्दोलनको नेतृत्वलाई जनता र कार्यकर्तामा रहेको पिछडिएको सैद्धान्तिक स्तर र चेतनास्तरका कारणले देवत्वकरण गरिएको तथा अपार विश्वास अनि भरोशा गरिएको पनि पाइन्छ । त्यसबाट फाइदा उठाएर नेतृत्वमा एउटा डरलाग्दो अभिमानको मनोरोग विकास भएको पनि देखिएको छ । गीतामा कृष्णले अर्जुनलाई ‘म सम्पूर्ण हुँ, तिमी निमित्त हौं’ भने जस्तै आफूलाई सम्पूर्ण ठान्ने मनोवृत्ति पनि देखिन्छ । इतिहास निर्माणमा असाधारण व्यक्तित्वहरुको भूमिका अवश्य हुन्छ । त्यो भूमिका र नेतृत्वको देनलाई जनताले सकारात्मक गजले नाप्दै गए भने स्वतः स्थापित हुने कुरा हो । त्यसमा सिद्धान्त र विचारको निरन्तरताको कुरा पनि आउँछ । नेतृत्व कार्यकर्ता र जनतामा भर परेन, आफ्ना वरिपरि प्रदक्षिणा गर्नेहरुको आडमा नीति लाद्न खोज्यो, अरुका विचार सुनेन, आफूलाई प्राधिकारी ठान्न खोज्यो, स्वेच्छाचारी बन्दै गयो भने त्यो नै चरम प्रकारको व्यक्तिवाद हो । त्यसले नेपाल र विश्वका कैयौं देशका कम्युनिष्ट आन्दोलनमा डरलाग्दा क्षतिहरु पु¥याएको छ । ब्लांकीको केही सुरवीर र नेतृत्वलाई राजनीतिक निर्णायक शक्ति र इतिहासका निर्माता ठान्ने दृष्टिकोण एउटा अराजकतावादी सैद्धान्तिक दृष्टिकोण हो । त्यो अभिमानमा आधारित हुँदैन । त्यसकारण त्यसको सैद्धान्तिक अर्थ र महत्व छ । तर नेतृत्वको अभिमानमा आधारित व्यक्तिवाद सामन्तवादको नयाँ रुप वा संस्करण हो । जुन वर्गचेतन श्रद्धा भन्दा बाहिर हुन्छ । त्याग, तपस्या र बलिदानका हिसावले ब्लांकीवाद एउटा समर्पित विचारधारा हो ।

त्यसैले स्वयं माक्र्सले ब्लांकीलाई फ्रान्सेली क्रान्तिको मुटु र मस्तिष्क बताएका छन् । त्यसो त व्यक्तिवाद र ब्लांकीवादको तुलना हुँदैन । व्यक्तिवाद क्यारिरिष्ट र आत्मसंरक्षणवाद पनि हो ।सिद्धान्त, विचार, व्यवहार र योगदानको आलोकमा हेर्दा इतिहास निर्माणमा असाधारण व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण रहेको परिदृश्यमा त्यस्ता व्यक्तित्वहरुलाई समयले स्वतः स्थापित गराउँदै लगेको देखिन्छ । राजनीतिमा कार्यकर्ता, जनता र सहयोद्धा साथीहरुद्वारा प्रकट हुने आलोचनात्मक विवेकको प्रयोगलाई अस्वीकार गर्ने नेतृत्व जनताको वर्गचेतन श्रद्धाको प्रतीक बन्न सक्दैन । त्यसरी बन्ने भए हिटलर, मुसोलिनी र इदिअमिन आदि बन्ने थिए । सोभियत रुसको इतिहासमा समाजवाद निर्माण गरेको र द्वितीय विश्वयुद्धमा सोभियत रुसलाई विजयको शिखर चुमाएको व्यक्तित्व स्टालिन समेत आलोच्य भए । आज पनि स्टालिन वर्गचेतन श्रद्धाका प्रतीक हुन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका प्राधिकार हुन् । तर पनि स्टालिनका सबभन्दा नजिकका वैचारिक मित्र माओत्सेतुङले पनि स्टालिनमा केही व्यक्तिवादी र अधिभूतवादी कमजोरीहरु रहे भनेर आलोचना गर्नुप¥यो । माओको स्टालिनप्रतिको यो आलोचना वर्गचेतन श्रद्धामा आधारित छ । त्यसकारण व्यक्तिपूजन र वर्गचेतन श्रद्धा अथवा आलोचनात्मक चेतसहितको श्रद्धामा पनि ठूलो अन्तर छ । व्यक्तिवादी मनोवृत्ति भएको सामन्तवादको संस्करण बोकेर कम्युनिष्ट पार्टीको नेतृत्वमा पुगेको नेताले व्यक्तिपूजन मन पराउँछ । आलोचनात्मक चेतसहितको वर्गचेतन श्रद्धा मन पराउँदैन । उसले आलोचनात्मक विवेक वा चेतसहितको प्रतिक्रियालाई आक्रमण सम्झन्छ र प्रतिशोध र इवि साध्ने काम गर्दछ । स्टालिनको पनि व्यक्तिपूजन कम भएको थिएन । स्टालिनको सत्तरियौं जन्मदिनको अवसरमा स्वयं निकिता खु्रश्चेवले भनेका थिए– ‘कमरेड स्टालिनको नाम सोभियत जनताद्वारा प्राप्त समस्त विजयको प्रतीक हो र उनी पूँजीवादी गुलामी तथा राष्ट्रिय उत्पीडनका विरुद्ध शान्ति र समाजवादका लागि तमाम दुनियाँका श्रमिक जनताका संघर्षका प्रतीक हुन् ।’ यसरी खु्रश्चेवले धेरै पटक स्टालिनको व्यक्तिपूजन गरेका थिए । स्टालिन एकजना द्वन्द्ववादी सुझबुझपूर्ण र विराट क्रान्तिकारी व्यक्तित्व थिए । उनले सोभियत सत्ताको नेतृत्व गर्दा केही गल्तीहरु जरुर भए तर स्टालिन माओले भनेजस्तो सानो डफ्फाको हितलाई मात्र ध्यान राख्ने व्यक्तित्व थिएनन् । त्यसैले द्वितीय विश्वयुद्धमा सैन्य अनुशासन पालन नगरेका निकिता खु्रश्चेवका छोरा लियोनिद निकितोभिच खु्रश्चेवलाई तत्कालीन सोभियत संघको सैन्य अदालतले कडा सजायको फैसला ग¥यो । सजाय माफीका निमित्त निकिता ख्रुश्चेवको अनुरोधलाई स्टालिनले अस्वीकार गरे र उनले सैन्य अदालतको निर्णय आफूले उल्ट्याउन नमिल्ने र न्याय प्रणालीमा काखापाखा गर्न नमिल्ने जवाफ दिएका थिए । यसबाट खु्रश्चेव स्टालिनप्रति क्रु्द्ध भएको कुरा त्यतिबेलाको सोभियत संघको कम्युनिष्ट पार्टीको गोप्य दस्तावेजमा पाइन्छ । अन्ध व्यक्तिपूजनको कर्म गर्नेहरुले कुनै लाभलाई ध्यानमा राखेर काम गरेका हुन्छन् । जसरी व्यक्तिवाद पूँजीवाद भन्दा जेठो प्रवृत्ति वा संस्कार हो । त्यसरी व्यक्तिपूजन पनि पूँजीवाद भन्दा जेठो प्रवृत्ति वा संस्कार हो ।

त्यसकारण कम्युनिष्ट आन्दोलनसित यसको साइनो लाग्दैन ।समाजलाई आमूल परिर्वतन गर्ने र विकसित गर्ने दर्शन अथवा द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणलाई माक्र्सवादको पदावलीबाट बुझ्ने गरिन्छ । यो दर्शन र इतिहासको रचना माक्र्सले नै गरेका थिए । त्यसकारण माक्र्सवाद उनको दर्शनको पर्यायका रुपमा अगाडि आयो । यो माक्र्सको व्यक्तिवादी हैकमले स्थापित भएको नाम होइन । कार्ल माक्र्सले मजदुर आन्दोलनको शिविरमा पनि विभिन्न चिन्तन र विचारधाराहरुसित संघर्ष गरे । उनले फरक विचार राख्नेहरुप्रति सम्मान गर्न पनि जाने । कसैको आलोचनात्मक विवेकमाथि विर्को लगाएनन् । ब्लांकीमाथि त्यति ठूलो श्रद्धा माक्र्सले विचार र सिद्धान्त मिलेर गरेका थिएनन् । त्यसैले अनुयायीहरुको वर्गचेतन श्रद्धाले माक्र्सवाद भन्ने पदावली जन्मेको हो । त्यो नाम माक्र्सले आफै राखेका होइनन् । माक्र्सवादबाट ऐंगेल्सको भूमिकालाई अलग गराउने हो भने स्वयं माक्र्सवाद अपांग हुन्छ । त्यसैले माक्र्सवाद माक्र्स र ऐंगेल्सको संयुक्त प्रयत्न अनि मस्तिष्कको उपज हो । माक्र्सवाद शब्दको प्रयोग प्रतियोगितात्मक पूँजीवादी युगको सर्वहारा क्रान्तिको युगान्तकारी भूमिकाको व्यापक स्वीकृति हो । व्यापक स्वीकृति किन हो भने यसलाई माक्र्सका प्रखर आलोचकहरुले पनि स्वीकारेका छन् । तत्कालीन सोभियत संघको कम्युनिष्ट पार्टीलाई कतिपय स्थानमा इतिहासकारहरुले लेनिनको पार्टी भनेर पनि लेखेको पाइन्छ । यथार्थमा त्यो लेनिनको मात्र पार्टी थिएन । तर सो पार्टीको निर्माण, विकास र समाजवादी क्रान्तिको इतिहासमा लेनिनको असाधारण भूमिका रहेको कारणले लेनिनको नाम आउनु स्वाभाविक हो । लेनिनले मजदुर आन्दोलनको शिविरमा तीब्र वैचारिक संघर्षको विडा उठाए । तर आफ्नो विचारमाथि प्रयोग भएको आलोचनात्मक चेत वा विवेकप्रति असहिष्णु भएको देखिदैन । मजदुर आन्दोलनको मेन्सेविक धारका नेता प्लेखानोवलाई लेनिनले दर्शनका गुरुका रुपमा आदर गरिरहे । त्यही धारबाट आएका लिओन ट्राटस्कीलाई लेनिनले रक्षामन्त्रीको जिम्मेवारी दिए । भ्यालेन्तेमा कालान्तोइ पनि वोल्शेविक सांगठनिक इतिहासबाट आएकी नेतृ थिइनन् तर लेनिनले उनलाई पनि मन्त्रिमण्डलमा ल्याउने प्रस्ताव गरे । भनिन्छ, प्लेखानोवलाई पनि लेनिन कुनै महत्वपूर्ण जिम्मेवारीमा ल्याउने मनस्थितिमा थिए । सन् १९१७ मा समाजवादी क्रान्ति भयो । १९१८ मा प्लेखानोवको मृत्यु भइहाल्यो । लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा समाजवादी क्रान्तिको नेतृत्व गरेर रुसको नयाँ इतिहास निर्माणमा युगान्तकारी भूमिका खेले । त्यसैले सो पार्टी र योगदानको पर्यायका रुपमा लेनिनको नाम आउनु पनि उनीप्रतिको वर्गचेतन श्रद्धाको परिणाम हो ।

शक्तिपूजन, व्यक्तिपूजन वा व्यक्तिवादी हैकमको कारण होइन ।सन् १९७० को दशकमा पेरुको कम्युनिष्ट पार्टीमा कमरेड गोञ्जालोको उदय भयो । सो उदय माओवादी दर्शन र जनयुद्धको कार्यनीति बोकेर अगाडि आयो । सन् १९८० को दशकमा पेरुको कम्युनिष्ट पार्टीले बन्दुक उठायो । केही वर्षमै सो पार्टीमा गोञ्जालो विचारधाराको चर्चा शुरु भइहाल्यो । सोभियत समाजवादमा धमिरा लागिरहेको अवस्थामा पेरु कम्युनिष्ट पार्टीले उठाएको जनयुद्धको विडा विश्वभरिका क्रान्तिकारी कम्युनिष्टहरुका निमित्त आशाको केन्द्र समेत बनेको थियो । गोञ्जालोको सो स्थान व्यक्तिपूजनले निर्माण ग¥यो वा गोञ्जालोको व्यक्तिवादी मनोवृत्तिबाट प्राप्त भयो । यसै भन्न सकिन्न । तर त्यो ठीक निर्णय थिएन । उनको गिरफ्तारी पश्चात सो पार्टीलाई हाक्ने सफल नेतृत्व देखिएन । उता जेलमा क. गोञ्जालोले आफ्नो विचारमा नडगमगाएर लामो र कठोर जीवन बाँचे । यो दृश्यले गोञ्जालोको कम्युनिष्ट क्रान्तिप्रतिको महान निष्ठामा शंका गर्नु पाप हुन्छ । तर यो अनुमान गर्न सकिन्छ कि पार्टीमा नै गोञ्जालोको देवत्वकरण गरियो जसको परिणाम वैकल्पिक नेतृत्वको उदय हुन सकेन । थप कुरा पेरुको कम्युनिष्ट आन्दोलनको गहन अध्ययन र अनुसन्धानविना यसै भन्न सकिदैन । नेपालमा तत्कालीन नेकपा (माओवादी) ले प्रचण्डपथको अवधारणा अगाडि ल्याउनु पनि वस्तुवादी निर्णय थिएन भन्ने कुरा त्यस पश्चातको इतिहासले प्रमाणित गर्दै आएको छ ।व्यक्तिवादले आफ्नो विषयमा सहकर्मी साथी, कार्यकर्ता र जनताबाट भएको आलोचनात्मक विवेकको प्रयोगलाई सहन सक्दैन । माओले भने जस्तै त्यस्तो नेतृत्वले आप्mनो सानो डफ्फाको हितलाई मात्र ध्यान दिन्छ । फरक मतका साथीहरुलाई जिम्मेवारी दिन डराउँछ । व्यक्तिपूजकहरु खोज्दै हिडछ । उसलाई विशाल पार्टी निर्माण र क्रान्तिप्रति मतलव हुँदैन । सानो डफ्फाको भए पनि मुखिया भइरहने रहर हुन्छ । त्यसका लागि व्यक्तिवादी नेतृत्वले चम्चा, सिद्धान्त नबुझेका सिधा कार्यकर्ता र व्यक्तिपूजकमात्र खोज्दै हिड्छ । आफ्नो स्वार्थमा धक्का लाग्न शुरु गरेको महसुस भयो भने सहकर्मीहरुलाई एक वा अर्को बहानामा पार्टीबाट निकाल्ने षड्यन्त्र गर्दछ । पार्टीको अवस्था कमजोर भयो भने व्यक्तिवादी नेतृत्वले आफू जवाफदेही बन्न चाहँदैन । त्यसको सम्पूर्ण दोषको भारी सहकर्मी साथी र कार्यकर्ताको पिठ्यूँमा बोकाउँछ । इतिहासको समीक्षा गर्न, गल्ती स्वीकार्न र सच्याउन मरिगए मान्दैन । आफ्ना कुरालाई सही सावित गर्न गलत ढंगले सिद्धान्तको जलप लगाउने, इतिहासको गलत परिभाषा गर्न बेर लाउँदैन ।

आफ्नो व्यक्तिवादी स्वार्थ पूरा भएन भने व्यक्तिवादी मनोवृत्तिको नेतृत्वले पार्टी फोड्छ र फुटेको पार्टी अरु मजबुत भएको तर्क गर्न पुग्छ । क. माओत्सेतुङको भनाइ अनुुसार व्यक्तिवादीहरुको भूमिकामा बाहिरबाट हेर्दा व्यक्तिगत हितको सम्पादन जस्तो देखिदैन । तर वास्तवमा यसमा अधिकतम संकीर्ण व्यक्तिवाद निहित रहेको हुन्छ । (हेर्नुहोस ऐ.ऐ. माथिको) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा व्यक्तिवादी मनोवृत्ति भएका नेतृत्वको धेरै उदाहरण दिन सकिन्छ । कम्युनिष्ट आन्दोलनको इतिहासमा व्यक्तिवादी स्वेच्छाचारीहरु ठूला मान्छे त भइहालेका छन् तर असल मान्छे हुन सकेका छैनन् । किनभने त्यस्तो नेतृत्वप्रति सहकर्मी, साथी, कार्यकर्ता र जनताले समेत वर्गचेतन श्रद्धा प्रकट गर्न सकेका हुँदैनन् । व्यक्तिवादी नेतृत्वले जबरर्जस्ती आफूलाई प्राधिकार बनाउन खोज्दछ जुन शाही मनोवृत्तिक रोग हो ।

Comments