डा. शम्भु कट्टेल, संयोजक, मार्क्सवादी एकता अभियान
डा. शम्भु कट्टेल वामपन्थी बुद्धिजीवी हुनुहुन्छ । उहाँको संक्षिप्त परिचय यसप्रकार रहेछ । विसं २०३०–३१ बाट वामपन्थी झुकाव भएका नातेदारको सङ्गतले मार्क्सवादसँग सम्पर्क, २०३३–३४ तिरको चितवनको मालपोत खारेजी आन्दोलनमा संलग्नता, त्यतिखेरै चौम मातहतको किसान सङ्गठन हुँदै चौममा प्रवेश, २०३७ देखि चौम राजनीतिमा पूर्णकालीन, २०३८ मा त्रिभुवन विश्व विद्यालयको प्राध्यापन पेशाबाट पंचायत विरोधी भएको आरोपमा जागीर खोसिए पछि पार्टीमा पूर्णकालीन, पूर्णकालीन अवस्थामा प्रकाशन फाँट, सङ्गठन फाँट, मजदूर फाँटको भूमिका, २०४६ मा विरामी परेपछि पार्टटाइमर, पार्टटाइमरको अवस्थामा अनुसन्धान लगायतका बौद्धिक काम तथा भूमिगत रुपमा नेतृत्वको भौतिक संरक्षणको भूमिकामा, २०५७–२०७३ सम्म उच्च शिक्षाको निहुँमा पुँजीवादको संरचना अध्ययन र विदेश सम्पर्कको लागि अमेरिका बसाई भए पनि नेपालका माओवादीको पालुङगटार भेला लगायतका सभा सम्मेलनहरूमा सहभागिता, अमेरिकामा रहँदा शिक्षण र अनुसन्धानका काम बाहेक पार्टीको विदेश सम्बन्ध विस्तारमा संलग्न, २०७३–७८ को अवधिमा बढी अमेरिका बसे पनि नेपालमा पनि बसाई, यही बीचमा नेपालमा एडजंक्ट प्रोफेसरको रुपमा छिटपुट रुपमा प्राध्यापन कार्य, २०७७ तिर माक्र्सवादी एकता अभियानको प्रारम्भ, हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार तथा क्रान्तिकारी राष्ट्रिय बुद्धिजीवी सङ्गठनको सह–संयोजक, माक्र्सवादी एकता अभियानको संयोजक, शैक्षिक योग्यता एम.पि.ए.(नेपाल), एम.ए. (नेपाल, थेसीस अपूर्ण), एमएस तथा पिएचडी (अमेरिका)
० सुरुमा मार्क्सवादी एकता अभियानको संक्षिप्त परिचयका लागि यहाँलाई अनुरोध गर्दछु ।
– यो देशमा गरीब श्रमजीवीहरूको पक्षमा परिवर्तनको लागि सहजकर्ताको भूमिका खेल्ने उद्देश्यले मार्क्सवादी एकता अभियान गठन गरिएको हो । यो एउटा खुकुलो मञ्च हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकामा क्रान्तिकारी सुधारको लागि त्यसमा संलग्न दल वा समूहहरूबीच छलफल आदिद्वारा सही दिशाको पहिचान, पहिचान भएका दिशाको कार्यान्वयनको लागि ती शक्तिहरू बीच समन्वय र एकता अभिबृद्धि र साथ सहयोग गर्ने यसका कामहरू हुन् ।
० तपाईले नेतृत्व गरेको संस्थाको नाम अनुसारको काम अर्थात् मार्क्सवादीहरूलाई एकतामा ल्याउने सम्बन्धी केही पहल पनि गर्नु भएको छ कि ?
–केही पहल भएको छ । कोरोना महामारीको समयमा संविधानको सीमाबारे समीक्षा गर्ने र देशमा परिवर्तनका कुरा गर्ने दलका नेताहरूसँग अन्तरक्रिया गरी उहाँहरूको राजनीतिक तथा सङ्घर्षको कार्यदिशामा सुधार गर्न मद्दत गर्ने कामहरू भएका थिए । त्यसको प्रभावले कतिपय दलहरूले त्यसको लगत्तै रणनीतिक मोर्चाहरू पनि बनाएका थिए । विभिन्न मञ्च तथा दलहरू संलग्न २१ दलीय कार्यनीतिक मोर्चाको घटकको रुपमा रही आˆना विचार प्रवाह गर्ने र त्यसले आयोजना गरेका राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी आन्दोलनमा भाग लिने कामहरू भए । कोरोना पछि अन्य मञ्च मोर्चाहरूसँग संयुक्त रुपमा अन्तरक्रिया र आन्दोलनमा भाग लिने कामहरू पनि भएका छन् । अहिले आन्दोलनको दिशाको रुपमा गरीब वस्तीहरूमा उत्पादन सहकारीहरू निर्माण, उनीहरूद्वारा स्थानीय जनसङ्घर्ष र त्यस मार्फत् सुरुमा अनौपचारिक स्थानीय जनसत्ताको निर्माण र विस्तारको आवश्यकताबारे परिवर्तनकामी शक्तिहरूलाई बुझाउने काम जारी छ ।
० मार्क्सवादलाई विज्ञान हो भनिन्छ र कतिले यसलाई विज्ञान हैन पनि भनेका छन् ? तपाइको विचारमा माक्र्सवाद के हो ?
–मार्क्सवादी सिद्धान्त विज्ञानमा आधारित छ । प्रकृतिको विकासको क्षेत्रमा यसले द्वन्द्ववादको सत्यतालाई स्वीकार गर्दछ र सामाजिक क्षेत्रमा यसले इतिहासले सिद्ध गरेको ऐतिहासिक भौतिकवादलाई स्थापित गरेको छ । यसले समाज परिवर्तन यसका भौतिक आवश्यकताले डोर्याउने सत्यलाई मान्दछ र यो मूलत: श्रृङ्खलाबद्ध हुने कुरा स्वीकार्दछ । माक्र्सवाद मूलत: विज्ञान हो र समाज परिवर्तनको कुरामा कला पक्षको पनि भूमिका त रहन्छ नै ।
० मार्क्सवाद एउटा गतिशील विज्ञान हो भन्ने आधारहरू के छन् ?
– विज्ञान गतिशील भएकाले विज्ञानमा आधारित माक्र्सवाद पनि गतिशील हुने त भैहाल्यो । माक्र्सले उनको समय र त्यस अघिका उनले थाहा पाएका तथ्यका आधारमा केही सत्यताहरू पहिल्याए (जसलाई हामी माक्र्सवाद भन्छौँ) । माक्र्सले समाज अध्ययन र परिवर्तनका विधिहरू पहिल्याए जुन तथ्यमा आधारित छन् र व्यवहारमा पनि पुष्टि भएका छन् । पछिका विद्वानहरूले परिवर्तित परिस्थितिमा त्यही विधिका आधारमा थप निष्कर्षहरू निकाले । लेनिनले केही नयाँ तर माक्र्सवाद सङ्गत निष्कर्षहरू निकाले भने माओले पनि उनको परिस्थिति अनुकूलका नयाँ निष्कर्षहरू निकाले जुन माक्र्सवादका आधारभूत मान्यताहरूसँग मेल खान्छन् । त्यस्तै अरुले पनि ती आधारभूत मान्यताहरूसँग मेल खानेगरी यसमा थप गर्दै लगेका छन् । मूल मर्मको सत्यता सर्वकालिक भएर पनि स्थिति अनुसार यो परिष्कृत हुँदै गइरहेको छ र यसकारण यो गतिशील छ ।
० लोकतान्त्रिक मुलुकमा माक्र्सवाद फाप्दैन भन्ने माक्र्सवादका विरोधीहरूको भनाइ प्रति तपाईको के भनाई छ ?
– कतिपय मान्छेहरू माक्र्सवादलाई गरिबीसँग खेल्ने राजनीति भएकाले गरिबी घटेपछि माक्र्सवादको भूमिका रहँदैन भन्ने सोंच्दछन् । यो गलत बुझाई हो । मार्क्सवाद कुनै पनि समाजको वर्गको अस्तित्त्वले पैदा गरेको हो । विकृतिलाई हटाउन वर्गको अस्तित्त्वनै मेटाउने अर्थ–राजनीतिक संरचना मार्फत् समस्या हल गर्ने विधि भएकाले यसको भूमिका वर्ग रहेसम्म मात्र हैन वर्ग र राज्य विलोपीकरणको अवस्थामा स्वचालित समुदायहरूले कसरी पुरानो शोषणलाई सदाको लागि अन्त गरी उन्नत स्तर हासिल गर्ने सम्मका स्थितिमा पनि यसको भूमिका रहन्छ ।
प्रचलित वा पुरानो लोकतन्त्र भनेको थोरै सम्पन्न वर्गले ठूलो विपन्न वर्गमाथि उत्पादनका साधनहरूको निजी स्वामित्वको आडमा त्यसबाट हुने उत्पादनको ठूलो हिस्सा कब्जागरी त्यसलाई पुन: थप निजी धन आर्जन गर्ने साधनको रुपमा प्रयोग गर्दै राज्यसत्ताको सहाराबाट मूलढोकाको लूटतन्त्र कायम गर्ने व्यवस्था भएकोले त्यहाँ वर्गीय शोषण, वर्ग बीचका दुरी र विकृतिहरू मौजुद हुने हुनाले माक्र्सवादी राजनीतिको आवश्यकता रहिनै रहन्छ ।
० मार्क्सवादी एकता अभियान राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालमा आबद्ध छ । त्यो मोर्चाले अहिले के गर्दैछ ? मोर्चाको आगामी योजना के छ ?
– यो मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा व्याप्त विकृति विसङ्गतिहरूको विरुद्ध आवाज उठाउने काम गर्दछ । अहिले यो कार्यनीतिक मोर्चाको रुपमा छ र यसका कामहरू हाल काठमाडांैमा सीमित छन् । पछि यसको दायरा बढाउने कुरा छ, कति बढ्छ समयले नै बताउने छ !
० मिटर ब्याज पीडित,लघु वित्त पीडितहरूको आन्दोलनमा पनि तपाईंहरू जोडिनु भएकोछ । सरकारले मिटर ब्याज सम्बन्धी कानुन पनि बनायो । के अब मिटर ब्याज पीडितहरूको समस्या समाधान भएको हो ?
– समाधान भएको छैन । सरकारले यी मिटर व्याजी लेनदेनलाई अनुचित लेनदेन घोषणा गर्नु सकारात्मक छ । लघुवित्तबारे सरकारले अझै बोलेको छैन । मिटर व्याज कानूनले भविष्यमा यसलाई यति भयावह बन्नबाट त रोक्ला तर विगतमा ऋणीहरूबाट असुलिएका स्याज र स्याजको स्याज जस्तो मात्रामा असुलिएका रकम र हडपिएका जग्गा फिर्ता गर्ने काम भएका छैनन्, पीडकहरूलाई छेकथुन सजाय भएको छैन, पीडितहरू पीडित हुने क्रम रोकिएको छैन ।
० यहाँले सहकारी सत्ताको कुरा गर्नु भएकोछ । यसबारे प्रकाश पारिदिनु न ।
– गरिव वस्तीहरूमा उत्पादनसँग जोडिएका सहकारीहरू निर्माण गरी आत्मनिर्भर अर्थतन्त्रमा योगदान पुर्याउने, उनीहरूलाई स्थानीय जनसङ्घर्षमा सरिक गराउने, ती गरीबमुखी जनसहकारीहरूलाई सुरुमा अनौपचारिक रुपमा जनअदालत, स्थानीय विकासको नेतृत्व र व्यवस्थापन गर्ने जनसरकारको भूमिकाद्वारा स्थानीय जनसत्ताको रुपमा विकास गर्ने, त्यसलाई विस्तार गरेर केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्ने अवधारणा हो यो । यो परिवर्तित स्थितिमा सुरुमा वैधानिक अभ्यासबाट आधार इलाकाको अभाव पूर्ति गर्ने विधिको रुपमा लिइएको हो ।
० अहिलेको दाहाल नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध केही कदम चाले जस्तो देखिन्छ । के यो सरकारले भ्रष्टाचार निवारण गर्न सक्ला ?
– सक्तैन । भ्रष्टाचारको श्रोत सामन्ती तथा पुँजीवादी संरचना हो, जुन उहाँहरू भत्काउन चाहनुहुन्न । त्यो संरचना र संस्कृति भत्काएमा भ्रष्टाचार धेरै कम हुन्छ । उहाँहरू भोट किनेर लूटको स्वर्गको शासन टिकाउन भ्रष्टाचारलाई आम्दानीको श्रोत बनाउँदै हुनुहुन्छ, यो रोक्दा उहाँहरूको वर्तमान सत्तामा जाने बाटो नै बन्द हुने हुनाले देखावटी २–४ घटना बाहेक धेरै काम हुने देखिदैन ।
० नेपालको कम्युनिस्टहरू आन्दोलनलाई सत्तामा जाने, आफुलाई कम्युनिस्ट भन्नेहरूले नै बदनाम गरे भन्ने जनताको बुझाई छ ? यसबारे के भन्नू हुन्छ ?
– हो, बदनाम गरे । सत्तामा गए पनि मध्यमार्ग लिन सक्थे, त्यो नगरेर सुदूर दक्षिणायन भए । हतियार नलिएर पनि सुधार गर्न सकिने धेरै कुरा थिए, त्यो गरेनन । गरीबको पक्षमा कुनै प्रस्तावसम्म पनि पेश गर्दैनन्, पारित हुनु नहुनु त छँदै थियो । जनताको कित्ता छोडे, पुरानै सम्भ्रान्तहरू रिझाउन, उनैसँग गठबन्धन गर्न र विदेशीहरूको वैशाखी टेकेर लूटतान्त्रिक शासनतर्फ लागे र बदनाम गरे ।
० कम्युनिस्ट आन्दोलनमा अहिले उठाउनु पर्ने मुद्दाहरू के के हुन सक्दछन् ?
– राष्ट्रिय स्वाधीनता, मिचिएको भूमि फिर्ता, असमान सन्धिको सके खारेजी नसके संशोधन, विदेशीलाई रातारात नागरिकता बाँंड्नमा रोक, आत्मनिर्भर अर्थतन्त्र, विजुलीको आन्तरिक प्रसारण लाइनमा जोड, आन्तरिक माग पूरा गरेर बाँकी रहेको विजुली मात्र निर्यात्, समुद्री व्यापारको पहँुंच, चिनियाँ व्यापारिक मार्गबाट समुद्री पहँुचमा जोड, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अधिकारको उठान, उत्पादक जनसहकारीको विकास, आन्तरिक बजारको विकास, ५०% भन्दा कम भोट ल्याउनेलाई जितेको मान्न नहुने, दलहरूले एक्लैले अलग घोषणापत्र सहित चुनाव लड्न पर्ने, अपराधीले चुनाव लड्न नपाउने, हृवीप प्रणालीलाई सुधार गर्ने, खराब उम्मेदवारको प्रत्याहृवान, प्रदेश तहको खारेजी, गरिव परिचय पत्र र राहत, जमीनको उत्पादकहरूबीच न्यायोचित वितरण, कम्पनीहरूलाई जग्गा उपलब्ध गर्नमा राष्ट्रिय बहस हुन पर्ने, तलव सुविधाहरूमा ठूलो अन्तर हुन नहुने, नाफामा तथा व्याज आदिमा अङ्कुश चाहिने, बढी आम्दानीलाई बढी कर लगाउनु पर्ने, संविधानको मौलिक अधिकार लागू हुन पर्ने, साना व्यवसायीलाई प्रोत्साहन चाहिने, खाद्यान्न आत्मनिर्भरतामा जोड हुन पर्ने, शिक्षा स्वास्थ्य संविधानले भने अनुसार सहुलियतपूर्ण हुन पर्ने, बिचौलिया प्रणाली, कमीशन, भ्रष्टाचार बन्द हुनु पर्ने र रकम व्याज सहित असुल उपर गरी अपराधीलाई दण्ड हुनुपर्ने, घरेलु सहयोगी लगायतको न्युनतम तलव सुबिधा तोकिन पर्ने, रोजगारीको ग्यारेन्टी गर्न पर्ने, अनावश्यक भीआईपी सुविधा कटाउन पर्ने, कालो बजारी नियन्त्रित हुन पर्ने लगायत ।
० कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन के गर्नु पर्ला ?
– सामूहिक नेतृत्व प्रणाली ।
– उत्पादक जनसहकारीमा आधारित जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष, र जनसरकार÷जनअदालत÷जनसत्ता
– संसदीय सङ्घर्षमा भन्दा जनआन्दोलन र प्रतिरोध सङ्घर्षमा बढी जोड
– बैकल्किक कार्यक्रम सार्वजनिक गरी त्यसबारे जनतामा बहस
–शीर्ष नेतृत्व व्यवहारमा ओर्लन पर्ने (जनतामा जाने, सडकमा जाने, सङ्घर्षमा जाने)
– रणनीतिक मोर्चाले जनसत्ता संचालन गर्न पर्ने
– वैकल्पिक चुनाव पद्धति सार्वजनिक गर्न पर्ने
–युवाहरूलाई आकर्षित गर्ने
–गैर–कम्युनिष्ट सुधारवादीहरूलाई आकर्षित गर्ने
–देशभक्तहरूलाई आकर्षित गर्ने
– नयाँ मुद्दाहरू (जस्तै पर्यायवरण लगायतलाई) समेट्ने
–क्रान्तिको लक्ष्य शोषित–उत्पीडित वर्गलाई शोषणको जंजीरबाट मुक्त गर्नु बनाएमा भड्कावहरूबाट बच्न सकिने
–निरन्तर क्रान्तिको अङ्गको रुपमा पार्टीभित्र वैचारिक तथा व्यवहारमा ओराल्न सांस्कृतिक आन्दोलन चाहिने
–बाहिरी दुश्मनलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धताद्वारा बाहिरै छेक्न पर्ने ।
० कम्युनिष्ट आन्दोलनको भविष्य कस्तो देख्नु हुन्छ ?
–त्यो हामी आफैमा भर पर्छ । हामी आफै व्यवहारमा ओर्ले काम बन्छ, अरुको मुख ताके बन्दैन । जनदवावलाई प्रधान जोड र संसदीय सङ्घर्षलाई सहायक जोड भएमा र वदमासीहरूको विरुद्ध प्रतिरोध सङ्घर्ष गर्दै गरिवहरूको स्थानीय जनसत्ता बनाउँदै अघि बढेमा प्रगति छिटो हुन्छ ।
० अन्त्यमा हाँक मार्फत थप भन्नु केही छ कि ?
–आफ्नो राय प्रचार गर्ने मौका दिनु भएकोमा धन्यवाद ! हाँक साप्ताहिक सधै गरीब जनताको कित्तामा उभिरहोस् ।