कम्युनिस्ट आन्दोलनको रक्षा र विकास  तर्फ हाम्रो मुख्य ध्यान जानुपर्दछ

  • कृष्णराज पौडेल , अध्यक्ष, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति

० राष्ट्रिय जनमोर्चा समन्वय समितिले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लियो । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

–               स्थानीय तह निर्वाचनलाई उपयोग गर्ने र निर्वाचन मार्फत् हाम्रो पार्टीका राजनीतिक प्रश्नहरुलाई जनताका बीचमा स्थापित गर्ने हाम्रो उद्देश्य थियो । हामीले हाम्रो पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारहरु खडा गरेर निर्वाचन उपयोग ग¥यौं । पार्टीको तर्फबाट घोषणापत्र र पर्चा तयार पारेर जनताका बीचमा वितरण ग¥यौं । प्रतिक्रियावादी व्यवस्थाको भण्डाफोर गतकालमा सरकारमा रहेका दलहरुले गरेका राष्ट्रघाती एवं जनविरोधी कुकर्महरुको विरोध र हाम्रो राजनीतिक एजेण्डाहरुलाई जनताका बीचमा पु¥याउने कार्यमा  एक हदसम्म हामी सफल भएका छौं ।

० पाँच सय जनाको मतदाता परिचयपत्र जम्मा गर्न नसकेर निर्वाचन आयोगमा तपार्ईहरुले दल दर्ता गर्न नसकेको भन्ने तपाईहरुबारे सुनियो नि ?

–               त्यो गलत कुरा हो ।  मतदाता परिचयपत्र जम्मा गर्न नै नसकेको भन्ने सही हैन । हामीसँग आबद्ध रहेका उम्मेदवारहरुले अहिलेको निर्वाचनमा प्राप्त गरेको मतलाई नै हेरे पनि थाहा हुन्छ कि हामीसँग कति मतदाताहरु छन् । मसालको बहुमत पक्षको नेतृत्वले हामीलाई कमजोर देखाएर आफ्ना कार्यकर्तालाई थाम्नका लागि गरिएको प्रोपोगाण्डा मात्र हो । पार्टीको अहिलेको संक्रमणकालीन अवस्था समयको चाँप र कतिपय प्राविधिककारणले समयमा दल दर्ता गर्न सकिएन ।

० त्यसो भए अब दल दर्ता गर्नुहुन्छ ? आगामी संसदको र प्रदेशको चुनाव उपयोग गर्नुहुन्छ ?

–               हाम्रो मूल पार्टी नेकपा (मसाल) केन्द्रीय समन्वय समिति विशेष महाधिवेशनको तयारीमा जाँदैछ । महाधिवेशनले एउटा स्पष्ट बाटो तय गर्नेछ । एउटा कम्युनिस्ट पार्टीका लागि चुनाव उपयोग वा बहिष्कार एउटा कार्यनीतिक प्रश्न हो । महाधिवेशन पछि हामीले त्यसबारे आवश्यक निर्णय लिने छौं ।

० निर्वाचनमा तपाईहरुको असफलता मात्र भयो भन्ने पनि सुनिन्छ नि त ?

–               पहिलो कुरा त यो सफलता, असफलताको प्रश्न होइन । दोस्रो कुरा हामीले पार्टी पुनःनिर्माणका कैयौं काम गर्न बाँकी छन् । हामी अहिले पार्टी पुनर्निर्माणको अवस्थामा छौं । नेकपा (मसाल) लाई सैद्धान्तिक, राजनीतिक र सांगठनिक प्रकारले दक्षिणपन्थी दिशामा जान नदिई सुधार गर्नुपर्छ भन्ने हाम्रो सोचाई थियो । तर फरक विचार राख्ने कामरेडहरुलाई मसाल नेतृत्वले अवैधानिक ढंगले हटाउने, एकलीकरण गर्ने, कार्वाही गर्ने, निस्कासन गर्ने, अल्पमतको पक्षमा रहेका कमिटीहरुलाई विघटन गर्दै गएपछि विचार र संगठनको रक्षाका लागि समन्वय समिति बनाएका छौं ।

दोस्रो कुरा चुनावमा हार र जीतले मात्र सबै कुराको फैसला गर्दैन । निर्वाचन उपयोग एउटा पक्ष हो तर सच्चा कम्युनिस्ट आन्दोलनको रक्षा र विकास तर्फ नै हाम्रो मुख्य ध्यान छ । चुनावी विजयको कुरा मात्र गर्नुहुन्छ भने गत २०७४ को संघीय संसदको चुनावमा नेकपा(नेकपा) को झण्डै दुई तिहाई बहुमत आएको थियो । त्यत्रो बहुमत आएको दलले देश र जनताको लागि के ग¥यो त ? परिणाममा साम्राज्यवादी, विस्तारवादी र दलाल पुँजीवादको सेवा गर्नु बाहेक उल्लेखनीय काम गर्न नसकेको देखियो नि ! यस स्थितिमा सही कार्यदिशाको निरुपण महत्वपूर्ण कुरा हो ।  हामी सबैले के कुरा बुझ्नुपर्दछ भने संसदीय प्रणालीबाट शोषित पीडित श्रमजीवी वर्गको पक्ष्ँमा काम गर्न सकिंदैन । यो प्रणाली पुँजीवादी तत्वहरुको नै प्रणाली हो । सर्वहारावर्गले संसदीय प्रणालीको अन्त्य गरेर त्यसको ठाउँमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नुपर्छ । त्यसका लागि संसदमा अलमलिएर होइन जनताको बीचमा वर्गसंघर्ष चलाएर मात्र अगाडि जान सकिन्छ ।

० तपाईहरुले आफ्नो घोषणापत्रमा प्रदेश सरकार र प्रदेश सभाको खारेजीको नारा राख्नु भएको रहेछ ?

–               हो, हामीले मूल नारा त्यसलाई नै बनाएका थियौं । विगत पाँच वर्षको अनुभवले नेपालमा प्रदेश तहको संघीय संरचनाको आवश्यकता छैन भन्ने पुष्टि भएको छ । अनावश्यक खर्च बढाउने ।, कर बृद्धि गरेर जनताको ढाड सेक्ने र दलहरुले आफ्ना कार्यकर्ता पाल्ने थलो मात्र भएको छ । केन्द्र सरकारले मुद्रा, परराष्ट्र, राष्ट्रिय सार्वभौमिकता, अखण्डता राष्ट्रिय सुरक्षा जलविद्युत लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु जस्ता महत्वपूर्ण कुराहरु हेर्नु पर्दछ र स्थानीय तहले विकास निर्माण, जनताका काम, शिक्षा, स्वास्थ्य लगायतका काम गर्नुपर्दछ । त्यसैले स्थानयि तहलाई धेरै भन्दा धेरै अधिकार दिनु पर्दछ । यसरी हेर्दा प्रदेश सरकारको काम के हो ? त्यसको आवश्यकता नेपालमा पुष्टि हुन सकेन त्यसैले त्यो प्रदेशको संरचना पुरै खारेज गर्नुपर्दछ ।

० तपाईहरुले त “नो भोट” को माग पनि गर्नु भएको छ नि ?

–हो, हामीले “नो भोट” को माग राखेका छौं । जनताले दल र उम्मेदवारप्रति विश्वास नलागेमा “नो भोट” को अधिकार पनि पाउनु पर्दछ । यो मुद्दालाई हामी अझ अगाडि बढाउने पक्षमा छौं ।

० अहिले स्थानीय निर्वाचनको सन्देश के हो भन्ने लाग्छ तपाईलाई ?

–   स्थानीय निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारहरुले पनि विजय प्राप्त गरेका छन् । जस्तै धरान र धनगढी लगायत उपमहानगरपालिका र कैयौं पालिकामा स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् । यो जनताको राजनीतिक दलहरु प्रतिको वितृष्णा हो । दलहरुको अत्याचार, बेथिति विरुद्धको प्रतिक्रिया हो । सत्तासीन दलहरुको भ्रष्टाचार, अन्याय, बेथिति प्रति जनता आजित भएका छन् भन्ने बुझिन्छ । अर्को कुरा, जनताले नयाँ पुस्ताको नेतृत्व चाहेका छन् भन्ने पनि बुझिन्छ । तर दुःखद कुरा के छ भने प्रतिगामी तत्वहरुले सत्तासीन दलहरुको भ्रष्ट, राष्ट्रघाती, जनविरोधी र नालायकीपन देखाएर आफ्नो स्थिति सुधार गर्दै गएका छन् । यो अत्यन्त दुःखद पक्ष हो । संसदीय व्यवस्थाको असफलताको पृष्ठभूमिमा अग्रगामी व्यवस्था नयाँ जनवादी व्यवस्थाको पक्षमा जनमत देखिनु पर्दथ्यो । नेपाली जनताले चिहानमा पुरिसकेको राजतन्त्र फिर्ता हुनुपर्छ भन्ने पक्षले यो निर्वाचनमा मत पाउनु दुःखद कुरा हो । जनतालाई प्रतिगमन के हो र अग्रगमन के हो भन्ने चेतना दिनु पर्दछ । यसलाई जोडदार तरिकाले जनताको बीचमा बहस चलाउनुपर्छ ।

० स्वतन्त्र उम्मेदवारहरुले जित्नु भनेको दलहरु प्रतिकै वितृष्णा हो कि व्यवस्था विरुद्धकै वितृष्णा हो ?

–               यो मूलतः दलहरु प्रतिको वितृष्णा हो । व्यवस्थाप्रतिकै वितृष्णा हैन । खासमा कम्युनिस्ट पार्टीले व्यवस्था प्रति नै वितृष्णा सिर्जना गर्दै अग्रगामी व्यवस्था नयाँ जनवादको दिशामा आधार तयार पार्दै जानु पर्ने हो । त्यस दिशामा हाम्रो काम निकै कम भएको छ । हामीले त्यसप्रति ध्यान दिनु पर्दछ ।

० तपाईहरुको मसाल वा जनमोर्चामा मुख्य विवाद के हो ?

–प्रतिक्रियावादी संसदीय व्यवस्थालाई जोगाउनु पर्दछ भन्ने यथास्थितिवादी दक्षिणपन्थी कार्यदिशा मसालको बहुमत पक्षको हो भने संसदीय व्यवस्था विरुद्ध संघर्ष अगाडि बढाउन् पर्दछ र यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्दछ भन्ने हाम्रो विचार हो । राज्य सत्तालाई हेर्ने दृृष्टिकोण मै मतभिन्नता छ । यो हाम्रो मुख्य मतभेद हो । मुख्य मतभेदले अन्य कैयौं राजनीतिक, संगठनात्मक कार्यशैलीगत मतभेदहरु सिर्जना हुँदै गए ।

० आगामी कार्यक्रम के छन् ?

–               देश र जनतासित जोडिएका समस्याहरुलाई उठाउँदै आगामी संघर्षको कार्यक्रम तय गरिनेछ । अब छिट्टै बैठक बसेर हामी पार्टी–संगठनलाई ठोस दिशामा अगाडि बढाउने योजना बनाउँदै छौं । महंगी चरम चुलीमा पुगिसक्यो । प्रतिक्रियावादी सत्ताका विरुद्धमा उभिन सक्ने अग्रगामी शक्तिहरुसित सहमति हुन सक्ने विषयहरुमा सहकार्य कार्यगत एकता र संयुक्त मोर्चालाई अगाडि बढाउने दिशामा पनि पहल गरिरहेका छौं ।

प्रस्तुति ः हाँक प्रतिनिधि

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित