– शशिधर भण्डारी
दक्षिण एसियामा उत्पन्न भई विकास भएको वैदिक सभ्यता विश्वका प्राचीन सभ्यता मध्येको एउटा विराट सभ्यता हो । मिस्र र आसिरियाका सभ्यताहरु पनि वैदिक सभ्यताका समकालीन सभ्यताहरु थिए । यी सभ्यताहरुको लामो समयको कालखण्डपछि मात्र रोम र युनानको सभ्यताको विकास भएको थियो । आज मिस्र र आसिरियाको सभ्यताको मात्र होइन रोम र युनानको सभ्यताको समेत ऐतिहासिक निरन्तरता छैन । अहिले ती सभ्यता इतिहासमा भेटिन्छन् तर त्यो संस्कृतिको पालनकर्ता भेटिदैनन् । नाइल नदीको घाटीको सभ्यता र बेविलोनियाको सभ्यताको झन नाम मात्र बचेको देखिन्छ । आज त्यहाँका मानिसहरुको संस्कृति र जनजीवनलाई हेर्दा ती आफ्ना प्राचीन सभ्यताहरुसँग तिनीहरुको कुनै सम्बन्ध देखिदैन । तर भारतको वैदिक सभ्यताको एउटा मानवीय संस्कृति र जीवनधारा आजसम्म हजारौं वर्षदेखि निरन्तर बग्दै आएको देखिन्छ । यो सभ्यता र संस्कृतिले कर्मका कुरा धेरै गर्दछ तर यसको दार्शनिक जग भाग्यवाद हो । एउटा सभ्यता र एउटा संस्कृति हजारौं वर्षदेखि मानव मस्तिष्कलाई हल्लाएर निरन्तर बगिरहनु सामान्य कुरा होइन । यो दक्षिण एसियाको सभ्यताका अनुयायीहरुले गर्व गर्न लायक कुरा पनि हो । तर दक्षिण एसियामा विस्तारै वर्ण व्यवस्था वा जात व्यवस्था कायम भएर विभेदपूर्ण समाज व्यवस्थाको जग बस्दै गयो । मानव मस्तिष्कमा परेको वा पारिएको भाग्यवादी दार्शनिक सोच र चिन्तनको प्रभावले दक्षिण एसियामा पुनर्जारणको युग आएन । किनभने युरोपमा जस्तो यहाँ बौद्धिक क्रान्ति पनि हुन सकेन । जसको परिणाम वैदिक सभ्यताको विकासको क्रममा शासकहरुले वर्ण व्यवस्थाको स्थापना गरे । पूर्वीय सभ्यतामा गीताको धारा बगेसँगै आजसम्म कुनै न कुनै रुपमा दक्षिण एसियाको सामाजिक संरचनामा वर्ण व्यवस्था वा त्यसको विकृत रुप जात व्यवस्था कायम छ । त्यसकारण वर्ग संघर्षको जनमुक्तिकामी राजनीतिक आन्दोलनलाई अगाडि बढाउने प्रश्नमा दक्षिण एसियाको सामाजिक व्यवस्था अलि फरक र जटिल प्रकारको छ । त्यसैले पश्चिमा साम्राज्यवादद्वारा उत्पादित अस्मितावादी राजनीति र इशाई मेसिनरीले विशेषतः दलित र केही हदमा जनजाति समुदायमा आ–आफ्नो प्रभाव विस्तार गरेको पाइन्छ ।
पहिले कामका आधारमा स्थापना भएको जात व्यवस्थालाई विस्तारै एउटा प्रथा र छुवाछुतका रुपमा अगाडि बढाउने काम शासकहरुले नै गरे । दक्षिण एसियाली उपमहाद्वीपमा करिब २५ सय वर्ष अगाडि वर्ण व्यवस्थाको जग निर्माण गरिएको थियो भन्ने विद्वानहरुको मत रहेको छ । करिब २ हजार वर्ष पहिले ब्राह्मण राजा मनुको शासनकालबाट वर्ण व्यवस्थामा छुवाछुत प्रथा लादेर व्यवस्थित गरियो । मनुले मुनस्मृति नामक ग्रन्थ लेखेर जात व्यवस्था र छुवाछुत प्रथालाई एउटा वैचारिक रुप प्रदान गर्ने प्रयत्न गरे । जात व्यवस्था जनतालाई विभाजन गरेर शासन गर्ने शासकहरुको एउटा गतिलो अस्त्रका रुपमा पनि स्थापित हुँदै गयो । नेपाली खस आर्य समुदायमा धेरै पछिसम्म वर्ण व्यवस्थाको परिपाटी थिएन । भारतबाट वैदिक आर्य हिन्दूहरु नेपालमा आएर खस आर्य समुदायमा वर्ण व्यवस्थाको स्थापना गरेका हुन् । लिच्छवीकालसँगै वागमती उपत्यकामा वर्ण व्यवस्था प्रवेश गरेको थियो । खस आर्य समुदायमा पनि त्यसैको सेरोफेरोमा वर्ण व्यवस्था र हिन्दू धार्मिक संस्कार प्रवेश गरेको अनुमान छ । यथार्थमा प्राचीन वैदिक सभ्यता र हिन्दू दर्शनमा वर्ण व्यवस्थाका संकेतहरु पाइन्छन् तर त्यसमा छुवाछुत र जात व्यवस्था पहिले थिएनन् । पछि मात्र शासकवर्गले स्थापित गराएका थिए । नेपालमा मल्लकालमा आउँदासम्म भारतीय वैदिक आर्यहरुले थोपरेको जात व्यवस्था वा छुवाछुत प्रथा त्यति कडिकडाउ भएको देखिदैन । नेपालमा वर्ण व्यवस्था कायम भएको एक हजार वर्ष पछाडिसम्म छुवाछुत प्रथामा कडिकडाउ भएको थिएन । भारतका वैदिक आर्यहरुले समग्र खस आर्य समुदायलाई नै अछुतको रुपमा व्यवहार गर्दथे उक्त कुरा हिन्दूका कतिपय शास्त्रहरुमा उल्लेख पाइन्छ । पशुपतिनाथ हिन्दूहरुको पवित्र र महत्वपूर्ण धाम मानिन्छ । वर्षेनि भारतबाट लाखौं श्रद्धालुहरु पशुपतिनाथको दर्शन गर्न काठमाडौं आउँछन् । पशुपतिनाथको पूजा विधि सञ्चालनका मुख्य पुजारीहरु भारतीय वैदिक आर्य समुदायका ब्राह्मणहरु छन् । नेपालमा लोकतन्त्र स्थापना भएपछि पशुपतिनाथको पूजा अर्चनाका मुख्य व्यक्तिहरुका रुपमा नेपाली ब्राह्मणहरु राख्नुपर्दछ भनेर आवाज उठिरहन्छ तर भारतले परम्परालाई उल्लंघन गर्नुहुँदैन भन्ने तर्कका आधारमा नेपालमा उठ्ने आवाजलाई अस्वीकार गर्दै आएको देखिन्छ । भारतको यो अस्वीकृतिका पछाडि खस आर्य समुदाय सम्पूर्णरुपमा अछुत होे भन्ने वैदिक आर्यहरुको पुरानो धारणाको मनोविज्ञानले काम गरेको बुझिन्छ । खस आर्य समुदायको संस्कृति वैदिक संस्कृतिभन्दा पुरानो बोन संस्कृति र परम्परासित जोडिको इतिहास छ । सुदूरपश्चिम र कर्णालीका शीलालेख तथा सुर्खेतको काँक्रे बिहारमा अवस्थित मल्लकालीन अवशेषका आधारमा विचार गर्दा खस आर्य समुदाय बाह्रौं तेह्रौं शताब्दीसम्म बौद्धमार्गी भएको तथ्यहरु पाइन्छन् । मल्लकालमा पनि नेपालमा जात व्यवस्था र छुवाछुत प्रथा लचिलो नै भएको संकेतहरु पाइन्छन् । त्यसैले त्यो जात व्यवस्थालाई कडा बनाउन राजा जयस्थिति मल्लको शासनकाल (१३६०–१३९५) को पालामा भारतका कट्टर ब्राह्मण नेपालमा छुवाछुत र जात व्यवस्थालाई कडा पार्न नेपाल आएका थिए । तिनीहरुले बागमती उपत्यकामा समाजलाई चार वर्ण र चौसठ्ठी जातमा विभाजन गरेका थिए । तदनुरुप जयस्थिति मल्लको पालामा जात अनुरुपको पहिरन लगाउनुपर्नेसम्मको आश्चर्यलाग्दो ढंगको विभेदकारी नियम बनाइएको थियो ।
भारतमा जात व्यवस्था आज पनि ठूलो सामाजिक समस्याका रुपमा रहेको छ । पूँजीवादी नेताहरुले यो समस्यालाई आफ्नो राजनीतिको रोटी सेक्ने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् । आज पनि दक्षिण एसियाको सामाजिक संरचनामा जात व्यवस्थाको अस्तित्व कायम भइरहनुका पछाडि भाग्यवादी दार्शनिक सोच र चिन्तन प्रणालीको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । यस्तो सोच र चिन्तन प्रणालीबाट दलित जनसमुदायलाई नै मुक्त हुन कठिन भइरहेको छ । त्यसकारण भाग्यवादी सोच र चिन्तन प्रणालीलाई नचिरिकन जात व्यवस्थालाई चिर्न सकिदैन ।
आजको युग एक्काइसौं शताब्दीको चेतना, विज्ञान र प्रविधिको विकास तथा सूचना साम्राज्यको युग हो । यस्तो युगमा पनि हाम्रो दक्षिण एसियाको विशेषतः हिन्दू समाजले दास युग र सामन्तवादी युगका कुरुप र क्रुर विभेदकारी वर्ण व्यवस्था तथा छुवाछुत प्रथाका कुसंस्कारहरुलाई कुनै न कुनै रुपमा बोकेर हिंडिरहेको छ । दास तथा सामन्ती युगमा युरोप र अमेरिकामा पनि अत्यन्त विभेदकारी तथा घोर अन्यायपूर्ण समाज व्यवस्था थियो । रंगभेदका कानुनहरु यति क्रुर थिए कि अफ्रिकाका काला जातिहरुलाई गोरा जातिहरुले दास बनाएका थिए । तिनीहरुले काला जातिलाई सिक्रीले बाँधेर डो¥याउँथे र पशुलाई जस्तै किनबेच गर्दथे । काला जातिका महिलाहरु बालककालमै गोरा जातिहरुको यौन दुराचारको शिकार हुन विवश हुन्थे । आज पनि युरोप र अमेरिकामा रंगभेदकारी दासयुगिन संस्कृतिका अवशेषहरु पाइन्छन् । तर आज हाम्रो दक्षिण एसियामा विद्यमान समाजभन्दा युरोप र अमेरिकाको समाज धेरै अगाडि बढिसकेको छ । युरोपमा दास युगका विरुद्धमा ठूला–ठूला दास विद्रोहहरु भएका थिए । सामन्तवादका विरुद्धमा निर्मम क्रान्तिहरु भए, युरोपमा भएको बौद्धिक क्रान्तिले अन्धधार्मिक तर्क र दैवी सिद्धान्तका विरुद्धमा धावा बोल्यो । क्रान्तिले रुढीवादका विरुद्धमा आलोचनात्मक विकेकका आधारमा तर्क ग¥यो । त्यसैको जगमा पुनर्जागरण काल आयो । औद्योगिक क्रान्ति भयो र राजनीतिक क्रान्तिका ज्वारभाटाहरु उठे । सन् १७८९ मा फ्रान्समा सम्पन्न सामन्तवाद विरोधी क्रान्तिले युरोपको नक्सा मात्र होइन मानव जातिको मनोविज्ञान नै फेरिदएको थियो । सन् १९१७ मा रुसमा सम्पन्न अक्टुवर समाजवादी क्रान्तिले मानवीय समतामूलक राज्य व्यवस्था स्थापना गर्ने प्रश्नमा मानव चेतलाई इतिहासकै अग्रभागमा लगेर उभ्याइदिएको थियो ।
यता दक्षिण एसियाको समाजमा कायम भएको वर्ण व्यवस्था, जात व्यवस्था र छुवाछुत प्रथा जस्तो विभेदकारी प्रणालीका विरुद्धमा निर्मम विद्रोह र क्रान्तिहरु भएनन् । यहाँ आलोचनात्मक विवेकको प्रयोग गर्ने र वैज्ञानिक तर्क गर्ने स्तरको वौद्धिक क्रान्ति भएन । रुढिवाद र यथास्थितिवादी नकारात्मक मूल्यका विरुद्धमा पुनर्जागरणको उदय भएन । त्यसको प्रभाव आजको हाम्रो समाजमा पनि कायम छ । विज्ञान पढाउने शिक्षक, प्राध्यापक समेत लुखुर लुखुर कर्मकाण्डका पछाडि हिड्ने, कुनै तर्क नगर्ने मनोबृत्ति हामीमा कायम छ । संस्कृतिको ऐतिहासिकता बुझ्ने र जान्ने महत्वपूर्ण कुरा हो तर एउटा बौद्धिकले कुनै तर्क नगरेर जात व्यवस्था वा छुवाछुत प्रथालाई स्वीकार्नु गलत कुरा हो । एउटा युगिन कालखण्ड व्यतित भइरहँदा पनि दक्षिण एसियाको उत्पीडित जाति शान्त नै रह्यो । यसका पछाडि वर्ण व्यवस्थाको साथसाथै हुर्कदै आएको भाग्यवादी दृष्टिकोणले धेरै हदमा काम गरेको देखिन्छ । एकातिर वर्ण व्यवस्थाका पक्षपाती शासकहरुले भाग्यवादी दृष्टिकोणलाई दलितहरुको दिमाग दिमागमा भरिदिए । अर्कोतिर तिनीहरुले पानी नचल्ने क्याटोगोरीमा राखेका कथित अछुत या दलितहरुका बीचमा अर्को जात विभाजनको व्यवस्था कायम गराएर विभाजनका थप पर्खालहरु उभ्याइदिए । यसरी दक्षिण एसियामा दलित विद्रोह र क्रान्तिका ज्वारभाटाहरु उठ्न सकेनन् । विश्वका कुनै पनि उत्पीडित जातिहरुको सामाजिक राजनीतिक मुक्ति आन्दोलनहरु उत्पीडित जातिले मात्र उठाएर सफलता प्राप्त गर्न सक्दैनन् । त्यस प्रकारले एकल जातीय आधारमा उठेको आन्दोलनले एउटा सम्प्रदायवादी आन्दोलनको रुप लिन्छ र आन्दोलन नकारात्मक बिन्दुतिर बहकिन्छ । दक्षिण एसियामा वैदिक कर्मकाण्ड तथा वर्ण व्यवस्थाका विरुद्धमा दुईहजार वर्षभन्दा अगाडिदेखि नै गौतम बुद्ध र महावीरहरुले आवाज उठाउँदै आए । ती विचारहरु क्रान्ति, विद्रोह होइन आत्मिक ज्ञान र आफू सुध्रनुपर्ने शान्त तपस्वी विचारका रुपमा अगाडि आए । भारतमा इष्टइण्डिया कम्पनी प्रवेश गरेपछि कैयन समाज सुधारकहरुले पनि वर्ण व्यवस्थाका विरुद्धमा आवाज उठाए । यो सुधारवादी अभियानमा प्रायः उच्च जातिका व्यक्तिहरु नै थिए । पछि डा. भीम राव अम्वेडकरले उठाएको आवाजले भारतीय समाजलाई निकै प्रभावित बनायो । भारतमा माक्र्सवादीहरुले पनि वर्ण व्यवस्था, जातीय प्रणाली र छुवाछुत प्रथाका विरुद्धमा वर्गीय झण्डा उठाएर आन्दोलनलाई सही समाधानको दिशामा अगाडि बढाउन प्रयत्न गरे । दलितहरुको ठूलो जनमत डा. अम्वेडकरको विचारबाट प्रभावित थियो । डा. अम्वेडकरले माक्र्सवादलाई सुंगुरहरुको दर्शनको संज्ञा दिए । जसको परिणाम अम्वेडकरवादी र भारतका कम्युनिष्टहरुका बीचमा सहकार्य हुन सकेन । गान्धी र नेहरु पनि वर्ण व्यवस्थालाई पूर्णरुपमा उन्मूलन गर्ने पक्षमा उभिन सकेनन् । त्यसकारण भारतमा जात व्यवस्था आज पनि ठूलो सामाजिक समस्याका रुपमा रहेको छ । पूँजीवादी नेताहरुले यो समस्यालाई आफ्नो राजनीतिको रोटी सेक्ने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् । आज पनि दक्षिण एसियाको सामाजिक संरचनामा जात व्यवस्थाको अस्तित्व कायम भइरहनुका पछाडि भाग्यवादी दार्शनिक सोच र चिन्तन प्रणालीको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । यस्तो सोच र चिन्तन प्रणालीबाट दलित जनसमुदायलाई नै मुक्त हुन कठिन भइरहेको छ । त्यसकारण भाग्यवादी सोच र चिन्तन प्रणालीलाई नचिरिकन जात व्यवस्थालाई चिर्न सकिदैन ।