स्थिति स्पष्ट गर्नका लागि–पत्र

गंगा पौडेल

वि.सं. २०३७ सालमा तत्कालिन ने.क.पा.(चौ.म.) हालको ने.क.पा. (मसाल)को पार्टी सदस्यता प्राप्त गरी दक्षिण भारतको चेन्नैबाट सेल कमिटिदेखि डी.सी.भारत शाखा सदस्य हुँदै ने.क.पा.(मसाल) को केन्द्रीय सदस्य, केन्द्रीय कार्यालय सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको थिए । पार्टी निकट भारत स्थित नेपालीहरुको सामाजिक संगठन तत्कालिन अखिल भारत नेपाली एकता समाज (पछि नाम परिवर्तन गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज)को सदस्यता सन् १९८० मा प्राप्त गरि उक्त संगठनको एरिया समिति देखि नगर समिति, दक्षिण भारत क्षेत्रीय समिति हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र महासचिवसम्मको जिम्मेवारी बहन गर्दै आएँ । भारतमा अल्पकालिन पेशेवरको रुपमा २५ वर्षसम्म काम गर्दै गर्दा नेपालमा हुने गरेका वाम तथा प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा पार्टीको निर्देशनमा देशका विभिन्न जिल्लामा आएर आन्दोलनहरुमा सहभागी भएको थिएँ । २०४८ सालमा पार्टीले चुनाव बहिष्कारको नीति लियो, त्यसपछि २०४९ साल देखि चुनावलाई वैधानिक मोर्चाको तर्फबाट निरन्तर रुपमा उपयोग गर्दै आएको छ । बहिष्कारदेखि हालसम्मका सबै तहका प्रत्येक चुनावहरुमा पनि सहभागी हुँदै आएको कुरा सर्वविदितै छ । २०४६ को पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, गिरीजाको फासिष्ट सासन र माओवादी ज्यादतीका विरुद्धको आन्दोलन, २०६२÷०६३ को राजतन्त्र विरुद्धको आन्दोलन र संविधान सभाको चुनाव, संघियता विरुद्धको आन्दोलन लगायत देशभित्र भएका प्रत्येक आन्दोलन, कार्यक्रमहरुमा प्रत्यक्ष रुपमा सकृय सहभागी हुँदै आएको छु ।

वि.सं. २०६२ को आन्दोलनबाट मलाई पार्टीले देशभित्र नै काम गर्ने भनेर भारतबाट स्थानान्तर ग¥यो । पार्टीको निर्देशन अनुसार म देश भित्र आएँ । करिब २५ वर्षको भारतको बसाईमा अल्पकालिन र पूर्णकालिन कार्यकर्ता मात्र नभएर शुरुका दिनबाट नै विभिन्नस्तरको नेतृत्व तहमा नै काम गर्दै आएको थिएँ । देशभित्र आइसके पछि १ वर्ष सम्म तत्कालिन नवलपरासी जिल्ला इन्चार्जको जिम्मा थियो । सातौ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएसके पछि केन्द्रीय कार्यालय सचिव, कोषाध्यक्ष र केन्द्रीय प्रशिक्षण केन्द्र (पार्टी स्कुल) संचालकको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएँ । त्यसैगरी २०७३ साल कार्तिकमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाँचौ अन्तर्राष्ट्रिय भेला (बुटवल) ले अन्तर्राष्ट्रिय एकता समाजको अध्यक्ष पदको जिम्मेवारी दियो । एक कार्यकाल त्यो जिम्मेवारी पनि वहन गरियो । केन्द्रीय कार्यालयमा काम गर्दै गर्दा जिम्मेवारीमा हेरफेर भयो र मलाई वैधानिक साप्ताहिक पत्रिका सञ्चालनको जिम्मा प्राप्त भयो। २ वर्ष पत्रिका ब्यवस्थापन काममा लागे । त्यसपछि बुटवलमा राष्ट्रिय जनमोर्चाको नयाँ निर्मित कार्यालय भवन निर्माणको अपुरो काम फिनिसीङ गर्नका लागि बुटवल भवनको जिम्मा दियो । करिब चौध महिनामा नयाँ भवनको सिलालेख लेख्ने बाहेकको बाँकी काम सम्पन्न भैसके पछि पार्टीले बाग्लुङ्ग जिल्लाको इन्चार्ज बनायो । मलाई बाग्लुङ्ग पठाउँदा २०७४ को प्रादेशीक र सङ्घीय निर्वाचन गर्ने मिति घोषणा भैसकेको थियो । त्यसपछी म वाग्लुङ गएँ। चुनाव सम्पन्न भयो । २ वर्षको बाग्लुङ्ग बसाई पछि पुनः बैधानिक पत्रिकाको जिम्मा दोहोरियो । यसरी पार्टीमा करिब चालिस वर्ष काम गर्दै गर्दा २०७६ मा सम्पन्न आठौँ महाधिवेशन पूर्व (२०७२ मा) पार्टी सरकारमा जाने भनि गरिएको निर्णय, २०७४ को प्रादेशीक र संसदीय चुनावको तालमेल सम्बन्धी विवाद पार्टी भिन्न तिव्रगतिमा भइरहेको थियो । त्यसपछि २०७६ को जेठमा सम्पन्न महाधिवेशनकालमा तयार पारिएको दस्तावेजहरु माथिको छलफलमा केन्द्रिय समितिमा चर्काे विवाद सिर्जना भयो । आठौं महाधिवेशनका मस्यौदा दस्तावेजहरूमा पार्टीले बुर्जुवा गणतन्त्रबाट प्राप्त संविधानमा उल्लेख गरिएको समाजवाद उन्मूख कार्यक्रमलाई स्वीकार गरियो, प्रधान दुश्मन र मित्रशक्तिको बारेमा पार्टीले स्पष्ट किटानी गर्न सकेन, नयाँ जनवादी कार्यक्रम सम्बन्धि न्युनतम तथा आधारभूत कार्यक्रम पनि ठोस प्रकारले ल्याउन सकेन, वर्गसङ्घर्षको सिद्धान्तबाट विचलित भयो, केन्द्रीय स्वयंसेवक समिति विघटन ग¥यो, चुनावलाई रणनीतिक कार्यक्रमको रूपमा प्रस्तुत ग¥यो, पार्टी बुर्जुवा संसदीय चुनाव भन्दा पनि माथि उठ्न सकेन ।

जनवादी केन्द्रियताको धज्जी उडाउँदै भिन्नमत पक्षको विचार माथि अस्वस्थ प्रकारले हस्तक्षेप र प्रहार ग¥यो, फोरम देखि पार्टी जिल्ला सम्मेलनसम्म बहुमत पक्षवाट अल्पमतमाथि गरिएको विभेद, निलम्बन, निष्कासन, एकलीकरण, भेला, सम्मेलनमा अल्पमत पक्षलाई निषेध गर्ने, जिम्मेवारीबाट हटाउने, बहुमतको एकलौटी शासन चलाउने जस्ता गतिविधिहरूमा पार्टी नेतृत्व उद्दत रह्यो । महाधिवेशन पछि पनि नेतृत्वबाट हुनेगरेका हुकुमी तथा तानाशाही प्रवृत्तिको विगविगी बढ्दै गयो । कथित शुद्धिकरणको नाममा भिन्न विचार राख्ने जिल्लाहरुलाई विघटन समेत गरियो । अल्पमतपक्षको विचारसँग सम्बन्धित सबैलाई पाखा लगाउने अभियान व्यापक रूपमा सञ्चालन भएपछि मैले गत मिति २०७६÷०९÷१४ मा केन्द्रीय समितिबाट राजिनामा दिएर जिल्ला मातहत रही कामगर्ने धारणा बनाएको थिए । मैले राजिनामा दिएको २ वर्षसम्म पनि मलाई नत पार्टीबाट निष्कासन गरेको जानाकारी भयो नत कंिह कतै पार्टीको सम्पर्कमा राखियो ।

यसरी पार्टी भित्र मेरो प्रश्न मात्र हैन, सैयौँ कार्यकर्ताको हकमा यस्ता अनगिन्ती ब्यवहार हुँदै गए । त्यो क्रम निरन्तर चलिनै रहेको छ । हुँदाहुँदै आठौं महाधिवेशनले पारित गरेको राजनितिक प्रस्ताव र सङ्गठनात्मक प्रस्तावलाई प्रकासन गर्ने समयमा पार्टी नेतृत्वले हेराफेरी ग¥यो । पारित दस्तावेजलाई परीवर्तन गर्नु महाधिवेशनको घोर उल्लङ्घन हो । आठौ महाधिवेशनमा पार्टीको बहुमत पक्षले पारीत गरेको दक्षिणपन्थी लाइनलाई सच्चाउनका लागी देश तथा प्रवासका कैयौँ कार्यकर्ताहरूबाट संस्थागत तथा व्यक्तिगत रूपमा लिखित प्रस्तावहरु केन्द्रीय कार्यालयमा दर्ता भएका छन् । आठौ महाधिवेसनमा फरक प्रस्ताव पेश गरेका केन्द्रीय सदस्य का.कृष्ण पौडेलले पार्टीले अवलम्बन गरेको दक्षिणपन्थी लाइन सच्चाउन, पार्टीलाई एकताबद्ध गराई अगाडी बढाउनकालागि लगातार प्रयत्न गर्नु भयो । वहाँले लिखीत प्रस्ताव पेश गर्नु भयो तर उक्त प्रस्तावलाई बहुमत पक्षले लत्याउने काम ग¥यो । यसरी व्यक्ति तथा संस्थागत रूपमा केन्द्रमा पठाइएका कैयौँ प्रस्तावहरुमाथि केन्द्रीय कार्यालयबाट अङ्कुश लगाइयो ।

मिति २०७६ माघ १० गते “मैले राजिनामा किन दिनुप¥यो ?” भन्ने शिर्षकमा १७ पेज लामो पत्र, त्यसपछि “ध्यानाकर्षणपत्र” र सुझाव सहित को जिज्ञांसा पत्र गरी ३ पटकसम्म पार्टीले समातेको दक्षिणपंथी लाइनलाई सच्चाएर पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि छलफल र बहसको माग सहित केन्द्रीय कार्यालयमा प्रस्ताव पठाएँ तर पार्टी नेतृत्वले ति सबै पत्रहरूलाई डस्टबिनमा फ्याँकीदियो । यसको मतलव तानाशाही नेतृत्वले आकाश खसे पनि आफ्नो परम्परागत प्रवृति, पार्टीलाई निजी कम्पनिको रूपमा चलाउने आफ्नो अभिष्टबाट पछि फर्कन चाहेन । यति हुँदैगर्दा अहिले मसालको विगतको छुट्टै पहिचानलाई समेत समाप्त गर्दै प्रतिकृयावादी शक्ति नेपाली कांग्रेसको मतियार बनेर पार्टीलाई कांग्रेसी कारण गर्ने तर्फ अगाडी बढ्दै गएको छ । काङ्ग्रेसको सत्ता टिकाउन आफ्नै पार्टीको प्रदेश सांसदलाई बलि चढाउने काम मात्र नभएर आर्थिक प्रलोभनमा पछाडि परेन । गत स्थानिय चुनावमा देशैभरिका सातसय त्रिपन्न पालीका मध्ये कांग्रेस लगायतको गठबन्धनको बैशाखी टेकेर चार थान पालिकामा आफु सन्तुष्ट हुने नेतृत्वले चौथो महाधिवेसन पछीको पार्टी र आठौं महाधिवेशन पछिको पार्टीलाई एक पटक समिक्षा गर्ने हो भने हालको ने.क.पा. (मसाल) कहाँ छ ? पार्टीको बहुमत पक्षले एक पटक निधार खुम्चायर सोचोस् मेरो आग्रह छ ।

०३६ साल फागुन १२ देखी २६ गते सम्म तत्कालिन बाग्लुङ जिल्ला हालको प्यूठान बाग्लुङ सिमानामा पर्ने अर्खा स्थित बाघे ओढारमा पार्टीले सञ्चालन गरेको भनिएको प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरेको “छापामार युद्धको सङ्गठनको तयारी” शिर्षकको प्रस्ताव कता लुकाइएको छ । त्यो प्रस्तावलाई इमान्दार पूर्वक पार्टीका कार्यकर्ताहरूलाई एकपटक पढाउन मैले पार्टी नेतृवलाई विनम्र अनुरोध गर्दछु । त्यो प्रस्तावको स्पीरिटबारे अहिले पार्टीका अत्याधिक कार्यकर्ता तथा सदस्यहरू अनभिज्ञ छन् । छपामार युद्धसम्बन्धि उक्त दस्तावेजलाई अध्ययन गर्ने हो भने नेतृत्वले अहिले लिएको बाटोको कालो कर्तुत उदांगो हुनेछ । त्यो दस्तावेजले नेकपा (मसाल) चार थान पालिका जित्न काङ्ग्रेससँग वैशाखी टेक्ने कुरा कल्पना पनि गरेको छैन । उक्त दस्तावेजमा नेपालमा छापामार युद्धको विकास गर्दै लाल सेनाको माध्यमबाट प्रतिकृयावादी राज्य सत्तालाई ध्वस्त पारेर नयाँ जनवादी क्रान्ती सम्पन्न गर्ने भनिएको र तत्सम्बन्धी विभिन्न प्रकारका तालिम सम्बन्धि विषयमा प्रष्ट पारिएको बताइन्छ । २०३६ सालको पार्टीको त्यो स्पीरिट आज कहाँ पुग्यो र पु¥याइयो ?

नेकपा (मसाल) नेतृत्वले इतिहास माथि गरेको मजाकलाई राम्रोसँग बुझेका नेता कार्यकर्ताहरु सयौंको सङ्ख्यामा पार्टीबाट पलायन भएको कुरा छर्लङ छ । पार्टीभित्र किन यो स्थिति उत्पन्न भयो ? कहाँनेर कमजोरी भयो भन्नेबारे नेतृत्वले कहिले पनि समिक्षा गर्न तयार भएन र चौथो महाधिवेसन देखी हालसम्म कति नेता कार्यकर्ता पार्टीबाट बाहिरीए तिनीहरूको एउटा सुचि तयार गर्न जरुरी छ । इतिहासको समिक्षा नगर्ने हो भने भविष्यको सही गन्तब्यमा पुग्न सकिन्न । मसाल नेतृत्वको विश्वास र विचारको पछाडि कैयौँ मान्छेहरू लागे । कसैले परिवर्तनका लागि भनेर प्राणकै आहुति दिए, कसैले सरकारी जागीर छाडे, कसैले पेशा, ब्यवसाय नै छाडेर पार्टीमा हाम फाले । तर कार्यकर्ताहरूको ठूलो हिस्सा पलायन तथा निष्कृय भए । पलायन, निष्कृय र निष्कासित भएका सबै नेता कार्यकर्तालाई अवसरवादी, पदलोभी र निम्न पुँजीवादी चिन्तन भएका भनेर आरोप लगाउने गरिन्छ । न्यूक्लसको समय देखिनै अहिले सम्म कतिपयलाई त गद्धार, सि आईडी, रअ बाट सञ्चालित पनि भन्ने गरेको छ भने अहिले पछिल्लो अवस्थामा पनि समानान्तर दस्तावेज प्रस्तुत गर्ने र समर्थन गर्ने साथीहरुलाई पुरानै आरोप र प्रतिगामी तत्व समेत भन्ने गरेको छ । यसरी मसाल नेतृत्वले आफ्नो स्वेच्छचारी, हैकमवाद र तानाशाही प्रवृत्तिलाई ढाकछोप गर्न र आफुलाई स्वघोषित “क्रान्तीकारी” देखाउन अरुलाई लगाइने गरेका झुटा आरोपहरु हुन् भन्नेकुरा प्रष्ट भएको छ ।

चौथो महाधिवेशनदेखि हालसम्ममा जे जति नेता कार्यकर्ताहरु पार्टीबाट पलायन भए ती सबै मसाल नेतृत्वसँग वैचारिक, राजनीतिक र व्यवाहारिक रूपमा सङ्घर्ष भएकै कारण पार्टीबाट पलायन भएको कुरा सोझै अनुमान गर्न सकिन्छ । मान्छे जोगी बन्न राजनीति गरेको हँुदैन । उसका निश्चित उद्देश्यहरू हुन्छन्, नेतृत्वले गलत तरिकाले अङ्कुश लगाउन खोज्छ भने निश्चय पनि उसले कुनै अप्रिय बाटो लिन पनि सक्छ । नेकपा (मसाल) का माहामन्त्रीले बाहिर क्रान्तिका कुरा गर्ने र कार्यकर्ताहरुलाई बेवकुफ बनाउने तर भित्री नियत खराब भएको कुरा स्पस्ट भएपछि कार्यकर्ता पलायन हुने गरेको थाहा भयो । हिन्दीमा एउटा कहावत छ “मरता है तो क्या नै करता” भने जस्तै पलायन हुने सबैले त्यही बाटो अपनाए ।

नेतृत्वले बारम्बार भन्ने गरेको छ कि फुटेर जानेहरुले के गरे ? यो प्रश्न मसालको नेतृत्वलाई गर्नु पर्दछ कि सत्तरी वर्षको राजनीति जिवनमा पार्टीको नेतृत्वले देश र जनताको लागी उल्लेखनीय र लाभदायी काम के ग¥यो ? संसदीय चुनाव उपयोग गर्न थालेको पनि ३० वर्ष बितीसक्यो । चुनाव जितेर गएका हाम्रा जनप्रतिनिधिहरू र अन्य पार्टीका जनप्रतिनिधिहरू बीचको भिन्नता के रह्यो ? विगतमा गा.वि.स.चुनाव जितेका अध्यक्ष, उपाध्यक्ष, कतिपय जिल्ला विकास समितिका प्रमुखहरु किन पलायन भए ? त्यति वेला चुनाव जितेर जनताको पक्षमा काम गरेका तिनीहरु आज हामीसँग कति जना रहे ? तिनिहरूले अरूको भन्दा उल्लेखनिय काम के गरे ? जतिजति संसदिय फोहरी खेलमा चलखेल भयो त्यत्ति नै कार्यकर्ताहरु पलायन भएका छन्। २०५१ सालदेखी संसदिय व्यवस्थामा भाग लिएका सांसदहरुका बारेमा सोचौं त उनीहरुबाट जनताको पक्षमा के कति काम भए ? चित्र बहादुर के.सी. १५ वर्ष अथवा तिन कार्यकाल सम्म संसद र करिब आठ महिना त उपप्रधानमन्त्री हुनुभयो वहाँले जनतालाई प्रत्यक्ष सहयोग पुग्नेकाम के गरेर देखाउनु भयो ? एकपटक समिक्षा गरौं त कतै भरिया बिसाउने एउटा चौतारी बन्न सक्यो कि ।

मसाल नेतृत्वले क्रान्तिकारी कुराहरु गरेर कार्यकर्ता र जनतालाई अल्मलाउने, आफूले जिवन भरी पार्टीभित्र मुखिया र जिम्मुवाली पेशा गरी रहने । कार्यकर्तालाई जोती रहने, सधैंभरि आफ्नो समर्थनमा हात उठाउने एउटा वफादार झुण्ड बनाइरहने । त्यो झुण्डले आफ्नो  विपक्षमा बोल्न थाल्यो भने त्यसलाई किनारा लगाई हाल्ले उसको प्रवृत्ति नै रह्यो । त्यसको सिकार हामी सयौ नेता कार्यकर्ता भयौं । नेपालमा आँफुलाई स्वघोषित कम्युनिष्ट भन्न चाहने जुनकुनै पार्टीमा यस प्रकारको प्रवृत्ति थियो नै । मसालमा पनि यस्तो हुनु अत्यन्त दुखद कुरा हो । नेपालमा ठूला साना गरी एक दर्जन जति आफुलाई कम्युनिष्ट पार्टी बताउनेहरु छन् । ति सबै पार्टीभित्र आमुल परिवर्तनको लागी इमान्दारिपूर्वक काम गरेका तर पार्टी भित्रको विभेद, अन्याय, अत्याचार, शोषण, दमनमा परेका अनगिन्ती नेता कार्यकर्ताहरू पनि छन् । उनीहरू पनि त्यहाँ छटपटाएर बसेका छन् । त्यसै गरी विभिन्न पार्टी बाट बहिरगमनमा परेर बसेका क्रान्तीकारी बिचार भएका व्यक्तित्वहरु पनि छन् । मसालभित्र पनि त्यस्तो ठुलै सङ्ख्या छ । यस्ता विभिन्न समूह, संस्था, व्यक्तिहरूको हकमा अब तीनवटा विकल्प रहे । पहिलो, तत्तत् पार्टीहरूसँग नै आत्म समपर्ण गर्ने, दोश्रो, क्रान्तीकारी विचारको हत्या गरेर निष्कृय भैं माला जपेर बस्ने, तेस्रो, क्रान्तीकारीहरू एकजुट भएर वैकल्पीक शक्ति निर्माण गर्ने । यी तिनवटा विचार मध्ये तेस्रो विचार नै उपयुक्त हुन्छ । किनभने जबसम्म संसारमा शोषण, दमन, अन्याय, अत्यचार, लैङ्गीक विभेद, भ्रष्टचार रहिरहन्छ त्यतिबेला सम्म वर्गसङ्घर्ष चलिरहन्छ । बर्गसङ्घर्ष कायम रहँदासम्म क्रान्तिकारी कम्यूनिष्ट पार्टी पनि रहन्छ र आवस्यक हुन्छ । त्यसैले ढिलै भए पनि नेतृत्व वर्गको कार्यकर्तामाथि वर्षाै देखिको ठगी धन्दाबाट सबै सचेत हुन जरुरी छ । कार्यकर्ता जनता ठग्ने जुन कुनै नेतृत्वलाई पछ्याएर जिवन वर्वाद गर्नु भनेको क्रान्तीकारी विचारको हत्या गर्नु हो । त्यसैले मैले यो निर्णय केही महिना पहिलाबाट लिइसकेको थिए। तर पनि अझै कहिँ कतै मलाई चिने जानेका साथी भाईहरूले यो मान्छे मोहन विक्रम सिंहको नेतृत्वको मसालमा छ भन्ने भ्रम नपरोस भनेर आफ्नो स्थिति स्पष्ट गर्नका लागि यो कुरा सार्वजनिक गर्न गएको छु ।

२०७९÷०२÷२९

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित