पाँच दलीय गठबन्धन धरापमा

  • विनबहादुर कुँवर

स्थानीय निर्वाचनको नतिजा आएपछि सत्ताधारी पाँच दलीय गठबन्धनमा केही खटपट देखिन थालेको छ । खासगरी नेपाली कांग्रेस आफ्नो चुनावी नतिजापछि अलि बढी उत्साहित भएर अरु दलप्रति बेवास्ता गर्न थालेको छ । कांग्रेसले न सोचेकै चुनावी परिणामपछि उसमा बढी दम्भ र घमण्ड बढ्न थालेको छ । उनीहरुले अब नेका एक्लैले आगामी हुने प्रदेश र संघको निर्वाचनमा पनि यसरी नै जित्ने बताउन थालेका छन् । कांग्रेस पार्टीभित्र यो चुनावमा पनि एक्लै लड्नुपर्ने ठूलै मत थियो । तर देउवाकै जोडमा अरु दलहरुसँग मिली स्थानीय निर्वाचनमा कांग्रेस गएको थियो । जुन अहिले कांग्रेसले पाएको यो चुनावी सफलता यसैको कारण हो । तर अहिले कांग्रेसमा कोइराला पक्ष मात्रै होइन देउवा पक्ष पनि यो मान्ने पक्षमा छैन । आफ्नै दलीय कारणले नै यो चुनावी सफलता पाएको हो र अब यस्तो कुनै चुनावी गठबन्धनको आवश्यक नपर्ने निर्णयमा पुग्न थालिसकेको छ । यतिसम्मकि माओवादी केन्द्रको अपत्यारिलो यो चुनावी सफलतालाई समेत ने.का.ले आफ्नै कारण बताउन थालेको छ ।

यता फेरि माओवादी केन्द्रमा पनि त्यस्तै चुनावी दम्भ बढ्न थालेको छ । यो सफलतालाई उसले पनि आफ्नै पार्टीको कारण भएको बताउन थालेको छ । प्रचण्डदेखि पार्टीका थुप्रै नेताहरुको यसरी नै बढी चुरीफुरी बढ्न थालेको छ । कांग्रेस पार्टीमा अहिले देखिएको चुनावी दम्भ र पाँच दलीय गठबन्धनप्रतिको कांग्रेसी नेताहरुको उदासिनताप्रति आक्रामक हुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा खुल्ला कार्यक्रममा फेरि कांग्रेसलाई पनि एमालेकै जस्तो हालतमा पु¥याइदिने धम्की दिएका छन् । कांग्रेस र माओवादी केन्द्रमा देखिएको यो चुनावी दम्भकै कारण पाँच दलीय गठबन्धन धरापमा पर्न थालेको छ । वास्तवमा कांग्रेस र माओवादी केन्द्रको यो चुनावी सफलता मूलतः एमाले पार्टी अझ खासगरी पार्टी अध्यक्ष केपी ओलीकै कारणले भएको हो । करिब दुई तिहाई चुनावी बहुमत पाएको पार्टीले देश र जनताको हिततिरभन्दा आफ्नै दल अझ आफ्नै गुटको मात्रै हित गर्न लागेपछि जनतामा तत्काल पार्टी र सरकारप्रति वितृष्णा फैलिन थालेको थियो । त्यसको प्रभाव पार्टीभित्र पनि देखिएपछि प्रधानमन्त्री ओलीले एउटा सनकका भरमा सांसद विघटन गराउनु त्यो पनि एक पटक मात्रै होइन दुई–दुई पटकसम्म गर्नु नै एमालेको यो चुनावी हारको परिणाम हो भने यसैको परिणाम नै कांग्रेस–माओवादीको चुनावी सफलताको नतिजा हो । तर यसप्रति न एमालेले सोंचेको छ न कांग्रेस– माओवादी केन्द्रले नै । हुन त यथार्थमा नेपाली जनता न कांग्रेसको विश्वासमा छन्, न एमाले माओवादी केन्द्र र अरु संसदीय दलप्रति नै । यसैगरी अघि बढे एमालेकै जस्तो हालत प्रचण्डले भने जस्तै कांग्रेसको मात्रै होइन स्वयं प्रचण्डको माओवादी केन्द्रको पनि हुने निश्चित छ ।

यो स्थानीय निकायको निर्वाचनको परिणामले एकातिर कांग्रेस– माओवादी केन्द्रको चुनावी दम्भ बढ्दो छ भने अर्काेतिर एमालेको स्थिति खुईलिदै जान थालेको छ । एमाले अध्यक्ष ओली त अहिले नुन खाएको कुखुराजस्तै झोक्रेर बसेका छन् । अनेकथरी उखान टुक्का भनेर विरोधीलाई खुइलाउँदै हिंड्ने ओलीका ती सबै बोली बेकाम भएका छन् । आफ्नै पार्टीमा अहिले उनको राजीनामाको माग भइरहेको छ । राजनीतिक नैतिकता भए पहिले नै राजीनामा दिइसक्नुपर्दथ्यो । तर उल्टै अहिले त्यस्तो माग गर्ने केही पार्टी नेताहरुलाई कारबाही गर्ने केही ओलीका भक्तहरुले भन्दै हिंड्न थालेका छन् । कुकुर तल परे पनि माथि परे पनि काईकाई भनेको यही हो ।

अझँै पनि एमालेको साख जोगाउने हो भने अध्यक्ष ओलीले यो चुनावी परिणामको जिम्मेवारी लिनु पर्दछ । हिजो पार्टी अध्यक्षको नाताले पार्टीलाई एकताबद्ध पार्न नसक्नु अनि प्रधानमन्त्रीको हैसियतले सरकार सञ्चालन गर्न नसकी सदन नै विघटन गराउनुमा आफ्नो कमजोरी भएको स्वीकार्दै पुनः पार्टी एकताको लागि प्रचण्ड–माधव–झलनाथहरुसँग प्रस्ताव गर्नु सक्नु पर्दछ । तर जंगे बोलो बोलो भने जस्तो स्वाभाव भएका उनले यस्तो कमजोरी स्वीकार्न र यस्तो प्रस्ताव गर्लान् भन्ने विश्वास नै गर्न सकिन्न । तर एमाले पार्टीभित्र भने पुनः पार्टी एकीकरणको आवाज बढ्दो छ । यसका लागि दुई वा तीन पक्षीय वार्ता चलिरहेको पनि बताइएको छ ।

केही दिन पहिले प्रचण्डले कांग्रेस पार्टीलाई धम्काउँदै पुनः वाम एकताको र आफूलाई प्रधानमन्त्री बन्न समेतको प्रस्ताव आएको बताएका थिए । त्यस्तै कुरा फेरि एसका नेता माधव नेपालले पनि भने । पक्कै पनि आगो नबली धुवाँ बाहिर आउँदैन । मूलतः यस प्रकारको पार्टी एकताका लागि एमाले अध्यक्ष नै तगारो बनेका छन् । प्रचण्डले त यसभन्दा पहिले नै भनिसके ओली विनाको पार्टी एकीकरण हुन्छ । वास्तवमा त्यो पार्टी एकताका लागि तगारो ओली मात्रै नभई प्रचण्ड–माधव र झलनाथ पनि भएका छन् । सबैलाई अध्यक्ष अनि प्रधानमन्त्री नै चाहिएको छ ।

मूलतः यसैको कारणले नै पार्टी विभाजन अनि सरकार विघटन भएको हो । यही साँँच्चै नै पुनः पार्टी एकता गर्ने हो भने यी ठूला नेता भनिने ओली–प्रचण्ड अनि माधव– झलनाथहरुले केही त्याग गर्नै पर्दछ । अब आइन्दा यी सबैले पार्टी नेतृत्व सहित सरकारमा समेत नजाने कसम खान सक्नु पर्दछ । यो सबैको नेतृत्व अबदेखि दोस्रो पुस्ताका नेताहरुबाट हुने बताउनु पर्दछ । तर मान्छेलाई सास होउनजेलसम्म आस भएजस्तै हाम्रा यी नेताहरुलाई पनि सास रहुञ्जेलसम्म नेतृत्व, पद, प्रतिष्ठा र कुर्सी चाहिएकै छ । आफूहरुले नै वृद्धा भत्ताको व्यवस्था गरेका छन् । यसको अर्थ हो मान्छेको एउटा उमेरपछि उ मानसिक र शारीरिक रुपले असक्षम हुन्छ । त्यसैले त्यो व्यवस्था गरिएको हो ।

वास्तवमा एमाले, माओवादी केन्द्र अनि एकीकृत समाजवादी आदि बीच त्यति धेरै राजनीतिक र सैद्धान्तिक साथै वैचारिक भिन्नता नै छैन । भिन्नता र प्रतिस्पर्धा छ खाली पद, प्रतिष्ठा र कुर्सीका लागि मात्र । यसका लागि यी सबै दलका तल्लो पुस्ताका नेताहरुले बुझ्नु पर्दछ । यदि साँच्चै नै यो कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्किने हो भने यो नहुनेवाला पनि छैन । कांग्रेसले वाम इतर लोकतान्त्रिक मोर्चा बनाउने तरखरमा छ । लोसपासँग वार्ता भइरहेको छ ।

अब आगामी कात्तिक–मंसिरमा प्रान्त र संघको निर्वाचन हुँदैछ । त्यसका लागि कांग्रेसले आफ्नो नेतृत्वमा कथित लोकतान्त्रिक मोर्चा बनाई चुनावी मैदानमा जाने तरखरमा छ । त्यो भयो भने त्यसको विकल्पमा अर्काे संसदवादी वाम मोर्चा बन्नु अनिवार्य छ ।

हुनतः यहाँ जे मोर्चा बने पनि देश र जनताको हित हुनेवाला त छैन । यो राज्य व्यवस्थाकै चरित्र सामन्ती दलाल र नोकरशाही बुर्जुवा प्रकारकै छ । यी सबैले जहिले पनि राष्ट्र र जनघात गर्दै आई नै रहेका छन् । वास्तवमा यी दुवै मोर्चाको विकल्प मालेमामा आधारित क्रान्तिकारी संयुक्त जनमोर्चा नै हो । त्यसको लागि तत्काल पहलकदमीको अति आवश्यकता भइसकेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित