दक्षिणपन्थी नेतृत्वसँग सम्बन्धविच्छेद नै सही विकल्प

  • ज्ञानप्रसाद भूसाल

म २०३७ मा श्री विश्वो मा.वि अर्घाखाँचीमा अध्ययनरत थिएँ । त्यसबेला जिल्लामा भर्खर अनेरास्ववियुको गठन भएको थियो । हाम्रा नेताजनहरुले हामीहरुबीच नेकपा (मसाल) का नीति, सिद्धान्त, विचार, पार्टीका लाइन, वर्गसंघर्ष र पार्टीको अग्रगामी कदमका बारेमा प्रशिक्षण, कलास चलाउँनुहुन्थ्यो । हामीलाई नेपालको सुनौलो भविष्यका सपना देखाउँदा हामी अति उत्साहित थियौं । त्यसैबेला मलाई पनि अनेरास्ववियुको अर्घाखाँची जिल्लाको दोस्रो सम्मेलनको प्रतिनिधिका रुपमा अर्घा जाने अवसर मिलेको थियो । त्यहाँ जाँदाको त्यो उत्साह, पंचायती तानाशाहको त्यो विगविगीमा तर पनि नडराई अर्घाको मैदानमा उपस्थित त्यो जनमानस तिनी नारा, तिनी नेताहरुका भाषणले सन्धीखर्कबाट आएका प्रहरीको पनि प्रवाह नगरी प्रहरीसँग ढुंगा हानाहान गर्ने  हाम्रो जाँगर सम्झिँदा अहिले सपना जस्तो लाग्दछ ।

घरको समस्या एकातर्फ छँदै थियो । त्यसबेला नेपालमा रोजगारी नपाइने परम्पराले म भारतको दिल्ली जानु प¥यो । केही कमाएर घरपरिवार पाल्ने उद्देश्यले म डिल्ली पुगेको थिएँ । म संगठित भैसकेको मान्छे भारतमा गएर पनि मलाई संगठन चाहियो र खोजी गरे । नेकपा (मसाल) को मोर्चा अखिल भारत नेपाली एकता समाजमा संगठित बने । प्रदेशको जागिर भन्दा एकता समाजको माया बढी लाग्ने । आफ्नो पार्टी नेकपा (मसाल)ले देशमा आमूल परिवर्तन गर्छ भन्ने आशाले विदेश गएर पनि छाडेन । नेकपा(मसाल) लाई फलाउन फुलाउन सधै तत्पर हुने  । भारतमा जाने नेपालीलाई संगठित गर्ने । उनीहरुका समस्यालाई समाधान तर्फ लग्ने । प्रवासी नेपालीहरुँग नेपाल र नेपालीका विषयमा छलफल गर्ने । उनीहरुसँग वर्गसंघर्षका कुरा गर्ने । संगठित हुने कुरा गर्ने । नौलो जनवादी क्रान्तिका कुरा गर्ने । साम्यवादका कुरा गर्ने, बानी बसिसकेको थियो ।

त्यसै बीचमा पार्टी फुट्यो । पार्टी फुटेर साथीहरु अलगिंदा नराम्रो लाग्थ्यो । किन साथीहरुले कुरा नबुझेको होला जस्तो लाग्थ्यो । फेरि चित्त बुझाउँथे । साथीहरु, बाटो भुलेर गए होलान् फर्केर आउँछन् जस्तो लाग्थ्यो । नौलो जनवादी क्रान्ति र साम्यवादको बाटो त यही मसालले लिएको बाटो हो भनेर फेरि संगठन विस्तारतिर लागिन्थ्यो । अब सधै कति विदेशमा बस्ने भनी नेपाल फर्कियो । नेपालमा संगठन गर्दे जाँदा र बुझ्दा त्यतिबेला हाम्रो अग्रज नेताहरु त चुनाव लड्न नपाएर, मन्त्री खान नपाएर, पार्टी छोडेर गए भन्ने सुनियो । अचम्म लाग्यो –हैन हामीलाई कलास, प्रशिक्षण दिंदा त उहाँहरु राम्रा क्रान्तिकारी हुनुहुन्थ्यो, किन यस्तो भएको ?  भनेर ठूलो पीर मानियो । सायद पार्टीमा दुई लाइनको बहसले विवाद सिर्जना भई फुटतिर जाने रहेछन् भन्ने कुरा बुझ्दै जान थालियो ।

भारतलाई विस्तारवाद भन्दा र साम्राज्यवादी भन्दा नेपालमा त्यसले पारिेको असरका बारेमा त्यति ठूलो बहस चलाइएन । यसमा के देखियो भने विना अर्थको बहस । यस्तै बहस र ठूला नेताको अहमता– आफू नै सर्वोपरी, आफ्नो लाइन नै ठिक, नीति सिद्धान्त एकातिर व्यवहार अर्कोतिर, देखाउने एकथोक गरिने अर्कौले गर्दा नै पार्टी फुटतिर जाँदो रहेछ । कसैले पद र पावरका लागि पार्टी छोडे भन्ने आरोप पाए । कसैले पार्टीको नीति नियम विपरीत काम गरेको आरोप पाए । कसैले अर्को विवाहका आरोप पाएँ । कसैले यो विवाह गर्नु पार्टीका लागि हित छैन भन्ने आरोप लगाए । कसैले बुढेसकालमा रेखदेख गर्नेपर्ने हुँदा विवाह गरिएको भने । आखिर पार्टीको आठौं महाधिवेशनको भारत र चीनको साम्राज्यवादी बहसको सारतत्व मेटिएन । त्यस्तै यो विवाहको सारत्वत्को कसैले अगाडि ल्याएन ।  विवाहपछि पार्टी ठीक दिशामा छ कि दिशा बदलिएको छ ? पार्टी नौलो जनवादी क्रान्तिका दिशामा छ कि पूरा  संसदीय भासमा ? यतातिर पार्टी चिन्तिन भएको देखिंदैन । जसरी भए पनि गठबन्धनका भरमा होस् वा भागवण्डाका भरमा होस् पदीय सुख प्राप्त गर्ने बाटोमा पार्टी नेतृत्व लागेको देखिन्छ । पैसाका भरमा चुनाव जित्ने, व्यापारी तथा उद्योगी धनी वर्गसँग चुनावी फन्ट लिने  गरेको देखिन्छ । चुनाव जितेपछि उनीहरुका हितमा काम गर्ने जनप्रतिनिधिले शोषित पीडित जनता र पार्टी हितमा केही गरेको पाइँदैन ।  उहाँहरुलाई नौलो जनवादी क्रान्ति मन नपरेरै त्यसरी संसदीय भासमा डुब्नु भएको होला भन्ने हामीले प्रष्ट बुझ्न थालियो । हामी अहिले मसालको नीति निर्देशन, विचार र सपनामा नै केन्द्रित भएर फेरि मसाललाई नौलो जनवादी क्रान्तितिर लैजान र पार्टीलाई सशक्त रुपले अगाडि बढाउने दिशातिर लागियो । केही दिन पछि फेरि केही हाम्रा क्रान्तिकारी नेताहरु पार्टीबाट अलगिनु भएछ । पार्टी फुटको पीडाले दुखेको मुटु फेरि दुख्न थाल्यो । 

सधै फुट्नेहरुले संस्थापकहरुलाई दोष लगाउने संस्थापकले फुट्नेलाई दोष लगाउने बानीको विकास तीब्र रुपमा हुन थाल्यो । चुनावमा तनमन जागिर सही केही स्थानीय तह जितियो । तर संघीय संसद र प्रदेशमा गठबन्धन र बार्गेनिङको राजनीति  नेकपा (मसाल)को आठौं महाधिवेशनको चीन र भारत साम्राज्यवादी हुन कि होइनन् भन्ने बहस पढ्दा अचम्म लाग्यो । चीनलाई छोड्न र भारतका विषयमा यस्तो बहस किन थियो किन , किन भारतलाई साम्राज्यवादको विल्ला दिई ठूलो बनाउन खोजिएको हो कि ? विस्तारवाद र साम्राज्यवादको बीचको अन्तर लेखिएको थिएन । विस्तारवादको लाइन के हो ? साम्राज्यवादको चरित्र के हो ? यसको स्पष्टीकरण के हो ? यस विवादले पार्टीभित्र खल्लीवल्ली मच्चिएको थियो ।  त्यो त आठौं महाधिवेशन अघिको कुरा भयो । मसालको पार्टी नेतृत्वले आठौं महाधिवेशनबाट स्पष्ट रुपमा दक्षिणपन्थी नीति लियो । अहिले आफैले वर्गदुश्मन घोषणा गरेको नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर मसाल नेतृत्वले त्यही दक्षिणपन्थी कार्यदिशालाई कार्यान्वयनमा लगिरहेको छ ।

मसाल पार्टी नेतृत्वले लिएका नीति र तत्कालिन कार्यहरुले विभिन्न गम्भीर प्रश्नहरु जन्माएको छ । के अब नेकपा (मसाल) नेपाली कांग्रेस, एमाले, माओवादीसँग कदममा कदम मिलाएर चल्न लागेको हो ? काम एउटै गरिरहेका छन् भने उनीहरु बीचको अन्तर के त ? अहिले हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्र भित्र हुने कार्यहरु न्यायपालिका होस् व्यववस्थापिका अथवा कार्यपालिका यिनी सबैको कार्यशैली एक अर्कामा हावी हुने चलन र कोही भन्दा कोही कम नभई एक आपसमा लुटेर खाने प्रवृत्ति देख्दा नेपालमा लोकतान्त्रिक गणतन्त्रका नाममा बहुदलीय सामन्तवाद र दलालवादले स्थान लिएको देखिन्छ । यसैको परिणाम होला करोडौं रुपियाँ पढ्न पठाउने नाममा कमाउने दलाली काम भएको पार्टीभित्र आवाज उठिरहेका छन् । अर्को एउटाको सन्तानलाई अर्कैको बनाएर जापान पठाउने नागरिकता काण्डले पनि चर्चा पाएको छ । यिनी सबै विषयमा विचार गर्दा र यसको स्पष्टीकरण कार्यकर्तामा नआएको हुँदा हामी जस्तामा ठूलो शंका उत्पन्न भएको छ । ठूला नेताले आफ्ना गल्ती लुकाउने, त्यसपछिका नेताले कार्यकर्तासँग लुकाउने,कार्यकर्ताले समर्थकसँग लुकाउने, यसरी खास कुरा लुकाउँदै जाँदा पार्टी नौलो जनवादी क्रान्ति साम्यवादतिर हैन, बहुदलीय सामन्तवाद दलाल पुँजीवाद र अरु नेपालमा स्थापित पार्टीहरुको भनाइको समाजवाद अर्थात् संसदीय भासमा नै जाने देखिन्छ । त्यसकारण त्यस्तो दक्षिणपन्थी नीति बोकेको मसाल नेतृत्वसँग पूर्णतया सम्बन्धविच्छेद गर्नु नै सच्चा क्रान्तिकारी मसालका कार्यकर्ताहरुसामु उत्तम विकल्प देखिन्छ  ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित