– रामबहादुर बुढा
– जितामित्र सुनार
रोल्पाको लुङग्री खोलाको सिरानमा पाङ् भन्ने गाउँ पर्दछ। यो प्यूठान जिल्लाको नौ बहिनी गाउँपालिका सित सिमाना जोडिएको गाउँ हो। यो गाउँको थोरै पूर्ब दक्षिण तिर सुन्दर सीर्प गाउँ पर्दछ । पाङ्को दक्षिणतर्फको डाडाबाट हेर्दा कता कता प्यूठान अर्खाको बेसीबन वा प्यूठानको बादिकोट जस्तै लाग्ने निकै सुन्दर सीर्प गाउँ देखिन्छ । पाङको धुरी जङ्गलले ढाकिएको छ । यता प्यूठानको खरा, अर्खा, स्याउलीबाङको धुरीमा जस्तै पाङको धुरीमा पनि कुहिरो लागिरहन्छ । पाङको ठूलो गाउँबाट पश्चिम पट्टि पाङकै अइपे डाँडा देखिन्छ । अइपे डाडाको तल्लो भागमा गाउँ छ भने माथिल्लो भाग खाली छ र त्यहा असोज महिनामा शिवको पूजा गर्ने, रातिमा धामी नाच्ने ,जात्रा लाग्ने गर्दछ । पाङमा मगर ,क्षेत्री,पुरी कामी,दमाईको वस्तीछ । कृषि यहाको मुख्य पेशा हो । लेकको खेती त्यसै पनि राम्रो बाली लाग्दैन । आधुनिक र व्यावसायिक खेती हुँदैन । बिदेशमा श्रम बेच्न जानू यहाँका युवाहरुको बाध्यता हो नेपालका अन्य गाउँका युवाहरुको जस्तै । यो गाउँबाट अझै कर्मचारी छैनन।पढेलेखेर केही क्षिक्षक बनेकाछन। पाङमा अहिले दुईतिरबाट सडक पुगेकोछ – लुङ्ग्री खोलाको किनारै किनार र अर्को सीर्प हुँदै ।
पाङ गाविसमा २०४९ मा मसाल समर्थित्त अखिल नेपाल किसान संघका अनराम पुनले गा. बि .स .अध्यक्ष जितेका थिए, थप दुई वटा वडा पनि । २०५४ मा राष्ट्रिय जनमोर्चा थोरै मतले गाबिस अध्यक्षमा पराजित भए पनि तीन वटा वडा जितेको थियो । त्यहाँ मसालको राजनीतिको जग बस्नुमा नेपालको राजनीतिक गतिबिधिको प्रभावमा भन्दा पनि अखिल भारत नेपाली एकता समाजका मान्छेहरु गाउमा आएर सङ्गठन गरेका हुन।
२०६१ मा रोल्पाको खुङ्गीकोटमा जनमोर्चा नेपालको एउटा प्रशिक्षण भएको थियो। रोल्पामा जनमोर्चा नेता जितेन्द्र सिंहलगायतलाई माओवादीले अपहरण गरेको र सरकारले पनि राज्य आतङ्क मच्चाइरहेको सन्दर्भमा त्यो प्रशिक्षण भएको थियो। त्यो प्रशिक्षणमा पाङबाट कुबिर पुनले पनि भाग लिएका थिए । कुबिर पुनले पाङको अइपे घटना बारे दिएको रिपोटिङ लाई तत्कालीन अखिल ( एकीकृत ) का नेता पुष्कर सापकोटाले डायरीमा टिपोट गरेर लिएका थिए। हामीले त्यो रिपोर्टलाई कुबीर पुनको नामबाट एउटा लेख बनाएर अखिल एकीकृत पश्चिमान्चल क्षेत्रको प्रकाशन “संवाहक“ मा २०६१ सालमा प्रकाशित गरेका थियौं ।मेलालाई सेनाहरुले घेरेर मान्छेहरुलाई कुटेर आखामा पट्टि बाधेर हातखुट्टा बाधेर भीरबाट गुल्टाइएका थिए। सामुहिक जमघटमा गोली हानेर मारिएको थियो।त्यो घटना निकै बीभत्स थियो।
विगतमा अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट अइपेको घटनाको एउटा वृत चित्र बनाउने बारे पनि निर्णय गरिएको थियो । रोल्पाका आकाश गिरी लगायतका साथीहरु सित आवश्यक सल्लाह पनि हुँदै थियो। मेघनाथ बिष्ट जि सहितको सहयोगमा २०७५ मा राजमो कार्यालय रोल्पाबाट ४ जना सहिदहरुको फोटो पनि लिने काम भएको थियो।बृत चित्र बनाउने हाम्रो त्यो मनको धोको मनमै रह्यो……… तर पनि घटना विवरण र सहिद बारे थप जानकारी लिने इच्छा हराएन । त्यही भएर जितामित्र सुनार जि र मैले जेष्ठ महिनाको अन्तिम हप्ता एउटा यात्रा तय ग¥यौं रोल्पाको लुङ्ग्री खोलाको तिरै तिर पाङ पुग्ने लक्ष बनाएर । लुङग्री खोला हुँदै जाने सडक बनाउने ठेकेदार भागेर अलपत्र छ सडक भन्थे गाउँलेहरु। कतै बाइकबाट ओर्लिएर हिड्दै कतै बाइकमा चढ्दै सुलिचौरबाट करीब साढे तीन घण्टाको हामी पुग्यौं पाङ् । पछि थाहा भयो घुमाउरो भए पनि सडक सीर्पको बाटो राम्रो रहेछ।द्वन्द्वको पीडादायी घाउ बोकेर बाचिरहेको त्यो गाउँमा हामी पुग्यौं । साथीहरुले हामीलाई गरेको सहयोग प्रति हामी आभारी छौँ ।
२०५९असोज ४ गते राती अइपे डाडामा मेला लाग्ने स्थानीय कार्यक्रम थियो । सेना आउने सूचना माओवादीलाई थियो । त्यसैले जात्रा बन्द गर्नु पर्छ भनेर उनीहरुले गाउलेलाई भनेका थिए। माओवादीका खास कार्यकर्ता गाउँ छाडिसकेका थिए। हामी सर्बसाधारण जनतालाई कसले के गर्दछ भनेर माओवादीले भनेको कुरा पनि जनताले मानेनन। कतिलाई त माओवादीहरुले जात्रामा नजानुस भनेर पनि फर्काइदिएका थिए। तर के हो ला र भन्दै मान्छेहरु मेला भर्न गए। राती १२ बजे पछि सेनाले मेला – जात्रा घेरा हालिसकेको थियो । पाङका गोकुल पुन ,खनु रोका ,चामे रोका र कुबीर पुन लाई मेला नजिकै एउटा आफन्तको घरमा बसिरहेको बेला समाएर बाधेर मेला भन्दा माथि तिर लग्यो। कुबीर पुन सुनाउनु हुन्छ, “माओबादी हैनौ भन्दा पनि राइफलको बोट्ले कानमा हानेर बेहोस बनायो। हात खुट्टा बाध्यो । आखामा पट्टि बाध्यो । बेहोस बनाएर मर्यो भनेर रातको बेला भीरबाट पल्टाइएछ । मेरो चेत खुल्दा म एउटा रुखको फेदमा अड्किएर बचेको रहेछु । बल्ल तल्ल हात बाँधेको रसी फुकाए ।आँखाको पट्टि खोले खुट्टाको रसी फुकाएर घिस्रीदै आफन्तको घर गए। “
रातिमा मेला लागेको ठाउ अइपे डाडामा मैण्टोल बलेका थिएँ। गाउलेहरु गीत गाउँदै नाच्दै गरिरहेका थिए। राती बाह्र बजे पछि सेनाले जात्रालाई घेरा हाल्यो । चुप चाप सन्नटा छायो। भर्खरै नाचिरहेका गाइरहेका मान्छेहरुको अगाडि मृत्यु नाचिरहेको थियो। डाडाको फेदीमा लुङ्ग्री खोला छङ्छङाउदै ओरालिइरहेको थियो । पाङ्कोे धुरी चुपचाप मलिन थियो त्यो अँध्यारो रातमा । सेनाहरुले महिलाहरुलाई गु्रप ग्रुप बनाएर राख्यो । बुढाहरुको एउटा लाइन लगायो। युवा र विद्यार्थीहरुको अर्को लाइन लगायो । सेनाको घेरा भन्दा बाहिर एउटा थारा – कटेरामा कम्ब्याट ड्रेस लगाई साथमा एउटा खुकुरी पनि भिरेका अग्लो ज्याङ्गो ज्यानका पाङको पोखरा भन्ने ठाउँ निवासी हुकुमे पुनलाई समाएर सेनाको एउटा टोलीले मेलामा ल्यायो । उनलाई गोली हानेर मा¥यो । हुकुमे पुन माओवादीका समर्थक थिए होलान । खुकुरी भिरेर जात्रामा गएकाले उनी अलि मूर्ख पनि थिए होलान तर उनी साच्चै माओवादी भएका भए सेना आएका बेला रक्सी खाएर थारा– कटेरामा सुत्ने थिएननन। “तँ माओवादी”, “खै माओवादी काहा छन भन” , “ साले आतङ्ककारीहरु”, “माओवादी पाल्ने”एकोहोरो सेनाको धम्की ,कुटाई ,लाईन लगाएर पिटाई । कुट्दै ,पिट्दै गोली हान्दै गर्दा १८ जनालाई मारेर भीरबाट फालेछन।
सबैको बारेमा जानकारी लिन जरुरी छ। १८ जना मध्ये ४ जना मसाल सम्बद्ध थिए। भेजे पुन (पाङ, वडा न . १) अखिल छैठौ मा आबद्ध थिए र मसाल सम्बद्ध जनबर्गीय सङ्गठनका कार्यक्रममा सहभागी हुन्थे। बेले पुन (पाङ वडा न १) ले अखिल भारत नेपाली एकता समाज हरियाणा पानीपतको सङ्गठनमा आबद्ध भै काम गरेका थिए। गाउमा भएका बेला जनमोर्चाका कार्यक्रममा सहभागी हुन्थे। बेगम पुन सरस्वती नि .मा. बि . दैबाङमा अध्ययन गर्दै गरेका अखिल छैठौंमा आबद्ध थिए। भीमे पुन पाङ वडा न १ लाली भन्ने ठाउँका थिए। उनी पनि जनमोर्चाका सदस्य थिए र कार्यक्रममा सहभागी हुन्थे।
अइपे डाडामा रगतको खोला बगाए पछि सेनाको टोलीले स्थानीय गाउँलेलाई रासन र उनीहरुका मालसमानको भारी बोकाएर उत्तर तिर गाम खोला तिर लागेका थिए। भारी बोकेर गएका केही दिन पछि ज्युदै फर्किएका थिए। स्थानीय बिन्मला पुन त्यो दिन सम्झदै भन्नू हुन्छ, “ म त मेला हेर्न गएन । बेलुकी पारी डाडामा मादल बज्दै थियो। हल्ला थियो तर बिहान सुनसान छ। के भयो ? हामीलाई अचम्म लाग्यो । अलि बेरको खबर आयो हत्या भए छ । गाउँमा रुवावासी भयो। बेगम मेरो भदै हो। निकै प्यारो थियो । स्कुल जान्थ्यो कार्यक्रममा हिड्थ्यो। मारेछन । बेगमकी आमा रोएर लास लिन जान सक्ने अबस्थामा थिइनन । म लास लिन गए । लासहरु गोलीले क्षतबिक्षत थिएँ । कसैको टाउको उछिट्टिएर गिदि निस्किएका थिए। लासहरु भीरमा गुल्टाइएका थिए ।”
अइपे घटना साच्चिकै अत्यन्तै दुःखद र पीडादायी घटना हो। यो घटना धनकुटाको छिन्ताङ काण्ड (२०३६) र सिन्धुपाल्चोकको पिस्कर काण्ड (२०४०) भन्दा कम दर्दनाक छैन । पिस्करमा माघे सक्रान्तिको मेलामा तत्कालीन मालेको आयोजनामा साङ्स्कृतिक कार्यक्रम गर्दा रातिमा प्रहरी – सेनाले घेराबन्दी गरेर हत्या गरेको थियो। कैयौं थामी जातिका मानिसहरू मारिएका थिए। छिन्ताङमा पनि उत्तर तर्फ आखीसल्ला पश्चिम तर्फ अरुण नदीबाट सेनाहरुले गाउँ घेरा हाली हत्याकाण्ड मच्चाएका थिए। पिस्कर र छिन्ताङमा जस्तै अइपे घटना रातीमा भएको थियो । ४ गते रातिमा मेला लागेको भए पनि १२ बजे राती पछि हत्या काण्ड भएको हुदा त्यो घटना लाई २०५९ असोज ५ गते भन्दा पनि हुन्छ होला । पिस्करमा कुनै राजनीतिक प्रकारको सांस्कृतिक कार्यक्रम थियो तर अइपेमा त विशुद्ध स्थानीय मेला मात्र थियो । घटना पछि सहिद परिवारहरुले दुई किस्तामा १०÷ १० लाख राहत पाएका थिए। त्यस बाहेक सहिद परिवारले राज्यबाट केही प्राप्त गरेका छैनन् । आज देशमा गणतन्त्र आएको छ। सत्तासिन दलका नेताहरु , तिनका आसेपासे , परिवार ,नातेदारहरु गणतन्त्रको अनुचित लाभ समेत लिइरहेकाछन। सहिद परिवारको घरमा गएर हेर्ने हो भने त्यहाँ अभाब ,निरासा र आँसु भेटिन्छ । यो गणतन्त्र जनताको गणतन्त्र रहेन। सहिदको रगतको आज अपमान भैरहेकोछ। सहिदको रगतको सम्मान हुने र सहिदको सपना पूरा हुने ब्यबस्थाको खोजीमा लाग्नु हाम्रो कर्तव्य बन्न गएकोछ ।