- शशिधर भण्डारी
अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सर्वहारावादी विश्व दृष्टिकोण क्रान्तिकारी आचरण, कम्युनिस्ट नैतिकता र व्यवहारका विषयमा प्रशस्त चर्चा र विमर्शहरु भएका छन् । रुसको कम्युनिस्ट आन्दोलनमा एउटा बोल्सेभिक पार्टीको सदस्यको आचरण र व्यवहारका उन्नत गरिमाका विषयमा धेरै साहित्यहरु लेखिएका छन् । आमा उपन्यासमा नै पावेल, आमा र उनका साथमा क्रियाशील पात्रहरुको भूमिका र वर्गप्रेममा आधारित महान गाथाहरुले जो कसैलाई प्रभावित पार्दछ । कम्युनिस्ट कार्यकर्ता र नेताहरुमा हुनुपर्ने नयाँ सांस्कृतिक पुञ्ज हो, आमा उपन्यास । लेलिनले म्याक्सिम गोर्कीले लेखेको आमा उपन्यासको प्रभावका कारण रुसको समाजवादी क्रान्तिलाई १० वर्ष नजिक ल्यायो भनेर त्यतिकै भनेका थिएनन् ।
वाङ ओद्वारा लिखित युवाहरुको गीत भन्ने चिनियाँ क्रान्तिकारी उपन्यासमा एउटा कम्युनिस्ट विश्व दृष्टिकोण र पूँजीवादी विश्व दृष्टिकोणमा देखा पर्ने आधारभूत अन्तरका विषयमा गहन विचार प्रस्तुत भएको छ । जुन उपन्यास सन् १९६३ मा लेखिएको थियो । सो उपन्यास सन् १९३१ देखि १९३५ का बीचका राजनीतिक घटना र परिघटनासँग सम्बन्धित छ । त्यसैगरी अग्नि दीक्षा, रातो चट्टानलगायतका उपन्यासहरु सर्वहारावादी चिन्तन र क्रान्तिकारी उत्सर्गका खजानाहरुले भरिएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा साहित्यका यस्ता खजानाहरु धेरै छन्, जसले एउटा सर्वहारावादी विश्व दृष्टिकोण र क्रान्तिकारी विश्व दृष्टिकोण निर्माणमा महत्वपूर्ण वैचारिक तथा मनोवैज्ञानिक चेत भर्नमा योगदान पु¥याउँछन् ।
भियतनामको कम्युनिस्ट आन्दोलनमा क. होचि मिन्हको नेतृत्वमा नैतिक आदर्शले भरिएको कम्युनिस्ट पल्टन तयार भयो । त्यही पल्टनले फ्रान्सेली साम्राज्यावाद र अमेरिकी साम्राज्यवादलाई रणभूमिमा पछार्न सफल भएको थियो । द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा तत्कालीन सोभियत संघका बोल्सेभिक पार्टीका लाल सेनाहरुले नाजि र फासिस्टहरुलाई सोभियत संघ र पूर्वी युरोपको भूगोलबाट लघारेका थिए । यो सामान्य वीरताको इतिहास होइन् । द्वितीय विश्वयुद्धमा नाजीका सैनिक र फासिस्टहरुसित रणभूमिमा लडेका कैयौं योद्धाहरुले युद्धको समाप्तिपछि विराट–विराट साहित्यिक ग्रन्थहरु तयार पारेका थिए ।
कोरिया प्रायद्वीपको कम्युनिस्ट आन्दोलनमा जापानीज साम्राज्यवादको विरुद्धमा संघर्षरत गोरिल्लाहरुको संस्मरण पढ्दा पनि गहिरो वर्गप्रेम, वर्गीय मित्रता र सहयोद्धाप्रतिको ममता देखि जो कोही भावुक बन्दछ । कमरेड किमइल सुङले आफ्ना कार्यकर्तासँग सँगै खाने र सँगै सुत्ने गर्दथे । नेता कार्यकर्ता र गोरिल्लाहरुमा भेद नआओस् भनेर क. किमइल सुङ सदा सजग रहन्थे ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास र साहित्यको सामान्य अध्ययन गर्दा पनि सर्वहारावादी विश्व दृष्टिकोणको निर्माणको प्रश्न एउटा कम्युनिस्ट पार्टीको नेता र कार्यकर्ताका निम्ति अत्यन्त महत्वपूर्ण तथा आधारभूत कुरा भएको देखिन्छ तर त्यो दृष्टिकोण निर्माणको कुरा कठिन कुरा भएको पनि देखिन्छ । चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि माओत्सेतुङ र लिउसाओचिहरुको बीचमा चिनियाँ व्यवस्थालाई समाजवादतिर संक्रमण गराउने कि यथास्थितिमा गम्भीर मदभेदको स्थिति देखा प¥यो । माओत्सेतुङले सन् १९५४ पछाडि चीनलाई समाजवादी संक्रमणको दिशा अगाडि बढाउने कुरामा जोड दिन थाले । तर लिउसाओचिहरुले नयाँ जनवादी व्यवस्थालाई नै कायम राख्ने कुरामा जोड दिन थाले । नयाँ जनवादी व्यवस्था त एउटा नयाँ पूँजीवादी व्यवस्था थियो । फरक यत्ति थियो कि त्यो व्यवस्थाको नेतृत्व दलाल पूँजीपति वर्ग नभएर कम्युनिस्ट पार्टील गरेको थियो । इतिहासमा दृष्टिकोण राख्ने प्रश्नमा कहिले काहीं उदेकलाग्दा दृश्यहरु पनि देखा पर्दछन् । असल कम्युनिस्ट कसरी बन्ने ? भन्ने त्यति धेरै महत्वपूर्ण पुस्तक लेखेका लिउशाओचिले नयाँ प्रकारको पूँजीवादी व्यवस्था अथवा नयाँ जनवादी व्यवस्थालाई नै कायम राख्नैपर्ने कुरामा अडान राखे । प्रश्न त्यही मात्र सीमित रहेन, त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्र्टीमा सुनका गहनाहरुले छाइनु र घरमा घरेलुु नोकर राख्ने कुरालाई समेत गैरसर्वहारा आचरण मानिन्थो ।
ल्युशाओचीले महिलाहरुले प्रशस्त सुनका गहनाहरु लगाउन र घरेलु नोकर राख्न पाउने कुरामा जोड दिए । त्यतिबेला यति कुराले पनि कसको के दृष्टिकोण छ भन्ने कुरा प्रष्ट पारेको थियो । यही मदभेद झाँगिदै जाँदा क. ल्युशाओची चिनियाँ कम्युनिस्ट आन्दोलनमा बुढेसकालमा दक्षिणपन्थी धारका एकजना प्रवक्ताको रुपमा अगाडि आए । पार्टीमा ल्यूशाओचीहरुकै बहुमत हुँदै गयो । सन् १९५९ मा माओलाई राष्ट्रपतिबाट हटाइयो र ल्यूशाओची पदासीन भए । पार्टीमा दक्षिणपन्थी विचारधारा हावी भयो चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा ल्यूशाओचीको महत्वपूर्ण योगदान रहेको थियो । सन् १९७१ मा योजना नं. ५७१ बनाएर माओको हत्या गर्ने योजनामा लागेका लिन पियाओ पनि सशस्त्र युद्धको बेलामा घाइते भएका योद्धा थिए ।
चीन समाजवादी व्यवस्था निर्माणको प्रक्रियामा अगाडि बढिसक्दा पनि धेरै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा विश्व दृष्टिकोण निर्माणको प्रश्न एउटा महत्वपूर्ण प्रश्न भइरह्यो । त्यसैले माओत्सेतुङले आफै नेतृत्व गरेर सन् १९६६ बाट महान सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा उठाए । महान सर्वहारा सांस्कृतिक क्रान्ति पुराना विचार, आनीवानी, आचरण तथा पूँजीवादी र गैरसर्वहारा चिन्तन प्रणाली तथा प्रवृत्तिका विरुद्धको धावा थियो । कम्युनिस्ट नैतिकताको प्रश्नमा पनि माओको अत्यन्त सजग देखिन्छन् । माओले सन् १९४७ चिनियाँ जनमुक्ति सेनाको जनरल हेडक्वाटर मार्फत अनुशासनका तीन मुख्य नियम र ध्यानदिनुपर्ने आठ कुराहरुको सर्कुलर गरेका थिए । ती यसप्रकार थिए ः
१. आफ्ना सबै काम कारवाहीमा आदेशको पालना गर ।
२. जनताबाट एउटा सियो र एउटा धागोसम्म नलेऊ ।
३. जफत गरेका सबै चिज बुझाऊ ।
ध्यान दिनुपर्ने आठ कुराहरुः
१. नम्रताका साथ बोल ।
२. किनेको चिजको उचित मूल्य तिर ।
३. पैंचो लिएका हरेक चिज फर्काऊ ।
४. बिगारे, भत्काएको हरेक चीजको मोल तिर ।
५.जनतालाई कुटपिट वा गाली बेइज्जत नगर
६. बालनाली नाश नगर ।
७. नारीहरुसँग उत्ताउलो व्यवहार नगर ।
८. बन्दीहरुसँग दुव्र्यवहार नगर ।
यसरी यस्ता विषयमा माओले सन् १९२८ बाटै पार्टीको सैन्य दस्ता तथा राजनीतिक कार्यकर्ताहरुलाई कम्युनिस्ट आचरण र नैतिकताको विषयमा प्रशिक्षित गरेको देखिन्छ । त्यसका साथसाथै माओले कार्यकर्ताहरुलाई लगातार उत्पादनमा लाग्न, अध्ययनशील बन्न, लेखा प्रणाली ठीक राख्न, जनतासित घनिष्ट सम्बन्ध राख्न, लक्षमा दृढ रहन, समान व्यवहार गर्न, वैचारिक बन्न लगातार प्रेरित गरेको पाइन्छ ।
विचार, सिद्धान्त, सर्वहारावादी विश्व दृष्टिकोण, कम्युनिस्ट नैतिकता र आचरणको धरातलमा हेर्ने हो भने हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा निकै भिन्न र बेग्लै तस्विर पाउँछौं । कम्तिमा पनि चीनमा ल्यूशाओचीले कम्युनिस्ट पार्टीको नेतृत्वको नयाँ जनवादी व्यवस्था जोगाउने र तत्काल समाजवादी संक्रमणकालको दिशामा अगाडि नबढ्ने भनेका थिए । नेपालमा यो दलाल तथा नोकरशाही पूँजीपतिवर्गले नेतृत्व गरेको व्यवस्थालाई एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीहरुले जनवादी व्यवस्था भन्छन् । सरकारी नेकपा (मसाल) का महामन्त्रीले अग्रमोर्चामा रहेर यही दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्थाको रक्षा गर्नुपर्छ भन्नुहुन्छ । सरकारी नेकपा (मसाल) र त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले संसदीय निर्वाचनबाट प्राप्त हुने तुच्छ स्वार्थ पूर्तिको निमित्त दलाल पूँजीवादी पार्टी नेपाली कांग्रेससित गठबन्धन गरेको छ । कतिपय स्थानमा रुख चिन्ह लिएर चुनाव लडेको छ र रुख चिन्हको प्रचारमा पनि सक्रियतापूर्वक हिडेको देखियो । यो विचित्रकोदृश्यले त नेपालका वर्गसमन्वयवादी सरकारी कम्युनिस्ट पार्टी तथा त्यसका नेताहरु भन्दा त ल्यूशाओची र उनको बिचार धेरै प्रगतिशील देखिन्छ । ल्युशाओचीले दलाल तथा नोकरशाही पूँजीपति वर्गले प्रतिनिधित्व गर्ने दलाल संसदीय व्यवस्थालाई समर्थन गरेका थिएनन् ।
सर्वहारावादी दृष्टिकोण, नैतिकता र आचरणको दृष्टिकोणबाट हेर्ने हो भने नेपालका सरकारी कम्युनिस्ट पार्टीका कैयन नेता कार्यकर्ताहरु भ्रष्ट, मेडिकल माफिया, शैक्षिक माफिया, तस्कर, दलाल, म्यानपावरका दलाल तथा एजेन्ट, मिटर व्याजे पैसा लगाउने, सुदखोर आदि छन् । सिद्धान्तमा यति डरलाग्दो पतन र आचरणमा यस्ता धन्दामा क्रियाशील व्यक्तिहरु कम्युनिस्ट हौं भन्दै पार्टीको सदस्यता देखाउँदै करोडौंका कारहरुमा हुइँकिन्छन् । कतिपय नेता कार्यकर्ताहरुले त अबैधानिकरुपमा सञ्चालित नेटवर्किङ व्यवसायमा समेत लगानी गरेका छन् । राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा तिनलाई कुनै चिन्ता छैन । उर्वर जग्गा मासेर घडेरी भन्दै गिट्टी र बालुवा फिज्छन्, कमिसनखोर यिनै छन् ।
बोल्सेभिक पार्टीको आदर्श बोकेको एउटा कम्युनिस्ट पार्टीको सदस्य बन्नु र संगठित हुुनु एउटा गौरवको कुरा हो सैद्धान्तिकरुपमा तर व्यवहारतः यस्ता परिस्कृत बुर्जुवाको स्तरमा पनि नभएका नेता कार्यकर्ताहरुले कम्युनिस्ट पार्टीको परिचालन गरेको अवस्थामा यस्ता कम्युनिस्ट पार्टीको सदस्यता लिनु कुनै गर्वको विषय देखिदैन । त्यसैले छरिएर रहेका विभिन्न घटकहरुमा अलमलिएका सच्चा क्रान्तिकारीहरुका बीचमा कोअर्डिनेशन, एकता र नयाँ कम्युनिस्ट केन्द्रको स्थापना र संघर्ष आजको युगको माग हो । नेपाली कम्युनिस्ट आन्दोलनमा पैदा भएको यति डरलाग्दो मूल्यविघटनको जवाफ यही नै हो । अरु विकल्प छैन ।