सन्दर्भ-नागरिकता विधेयक तर चर्चा – नेताहरुको अतिवाद र नेपालको फिजीकरण !

– नारायण शर्मा
अहिले नेपाली नेता–शासकहरु अति संवेदनशील, अति उदार, अति मानवतावादी र अति अन्तर्राष्ट्रियतावादी भएका छन् ! यस्तो भएकैले त कुनै विदेशी नेपालमा छिरेपछि, जन्मेपछि, बेवारिसे भेटिएपछि र उसको बाबु–आमाको ठेगान नभएपछि पनि उसलाई अनागरिक राख्न त के एकछिन, एक दिन पनि अंगीकृत नागरिकसम्म राख्न पनि चाहँदैनन् र यस्ता कोही मान्छे नेपालको चार किल्लाभित्र भेटिंदा बित्तिकै तत्कालै नागरिकता दिलाउन मरिहत्ते गर्छन् । यिनीहरु छिमेकी वा अरु देशहरुमा नगएर, नागरिकताबारे ती देशहरुले नागरिकतासम्बन्धी गरेका विधि, व्यवस्था र व्यवहार देखे–भोगेका नभएर अथवा अति अन्तर्राष्ट्रियतावादी भएर अब नेपाल नामको एउटा नाथे देश किन अलग्गै चाहियो र अन्तर्राष्ट्रियकरण गरे हुन्छ भन्ने जस्ता “महान” कार्यहरु गर्दैछन् कि के हो ? यहाँका नेता–शासकहरु विदेश भ्रमणमा नगएरै त होला नि विदेशमा गएका नेपालीहरुले त्यहाँ पी.आर., ग्रीन कार्ड, रासन कार्ड जस्ता नागरिकता अघिका नागरिक सुविधादायी प्रमाणपत्रहरु लिनलाई पाएको दुख, पर्खेको समय, पुराएका प्रमाण र लगाएको लगानी केही देख्दैनन् र त्यहाँ तिनको लागि कुनै सहजीकरण गर्दैनन् । बरु उल्टै विदेश गएर नेपालको नागरिकता अर्थात् नेपालप्रतिको माया–ममता, आशा–विश्वास, आस्था–भक्ति, सेवा–सद्भाव र जिम्मेवारी–कर्तव्य आदि सबै जसो त्यागेर विदेशका नागरिक बनेका पूर्व नेपालीलाई पो यहाँ स्वागत–सत्कार र सेवा–सम्मान सहित नागरिकता दिलाउने विधि–व्यवस्था मिलाउँन भरमग्दुर प्रयत्न गर्छन् ! विचरा यी नेता–शासकहरु अन्यत्र जान त सकेनन–पाएनन्, देश भित्रकै तराई–मधेशका डोम, चमार, मुसहर, खत्वे, जस्ता आदिवासी दलित मधेशी गरीव दुखी अशिक्षित सच्चा नेपाली सन्ततिहरु भएका गाउँ–ठाउँहरुमा पनि घुमफिर गर्न जान पाएका छैनन् र त यिनले त्यहाँ नागरिकता नपाएको पनि देख्न पाएका छैनन् ! ? विडम्बना, त्यत्रो ठूलो संख्यामा नेपाली मूलका भुटानीहरु भुटानबाट लखेटिंदा समेत हाम्रा शासकहरुले भुटानलाई त केही भन्न र गर्न सकेनन् भने झन् भारतलाई के भन्न–गर्न सक्थे र ? चुँ सम्म गर्न सकेनन् । भारतले आफ्नो देशमा पसेका भुटानी शरणार्थीलाई भ्यानहरुमा कोचेर नेपालमा ल्याएर छोडिदिंदा केही न बोल्ने नेपाली शासक वर्गले नेपालको नागरिकतासम्बन्धी नीति–निर्णय, विधि–व्यवस्था र व्यवहारद्वारा भैरहेको जनसांख्यिक अतिक्रमणको लगातारको सुनियोजित प्रयासका बीचमा भैरहेको भारतीय अतिक्रमणको यो पछिल्लो, गम्भीर र निर्णायक दाउपेचबारे बोल्ने कुराको त कल्पनासम्म पनि गर्न सकिन्न ।

संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुई अजङका देशहरुका बिचमा बसेको एउटा सानो भूगोल र यथेष्ट जनसंख्या भएको मुलुक नेपालमा एउटा देशसँग त तीनतिरबाटै सीमा खुला छ र नेपालमा त्यहाँबाट आप्रवासनको लागि आउनको लागि केही आकर्षण पनि छ ।

भारतको दीर्घकालीन र सुनियोजित रणनीति अनुसार भारतीय सीमा हिमालय पर्वत शृङ्खलासम्म हो र गराउनुपर्छ भन्ने नेहरु डक्टृनमा हालसम्म चलिआएको शक्तिशाली विस्तारवादी प्रभुका विरुद्ध झन् के भन्ने–गर्ने कुरा भयो र ? बरु उल्टै भारतीय विस्तारवादी शासकवर्गप्रति भक्तिभाव राख्ने, भजन गाउने र उनीहरुको आशिर्वाद लिएर नेपालमा शक्ति जुटाई सत्ता हत्याएर भोजन जुटाउने बाहेक अरु के गर्न सक्थे र ?
आजका हाम्रा शक्तिशाली दल, नेता र शासकहरु चरम अन्तर्राष्ट्रियतावादी भएर त होला, यिनले न आफ्नो देशको वास्तावेस्ता गर्छन् नत देशवासी भूमिहीन सुकुम्बासी नेपाली धर्ती पुत्रहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र न्याय–सम्मानको कुनै व्यवस्था गर्छन् ! उनीहरुलाई एउटा नागरिकताको चिर्कटो सरल, सहज र शीघ्र रुपमा दिने नीति–निर्णय र निर्देशन दिन पनि नसक्ने यी विदेशीका लाचार छायाँ नेपालका शासकहरुले देश र जनताको सुख र समृद्धिको लागि केही गर्छन् भन्नु मूर्खता नै हो !
देशका निम्ति केही राम्रो गर्नको लागि लडेका भनिएका हाम्रा यी नेताहरु यति धेरै “गम्भीर” र “जिम्मेवार” छन् कि सच्चा नेपालीलाई भन्दा कीर्ते नेपालीलाई, विदेशी नेपालीलाई र खास गरी आप्रवासी भारतीयहरुलाई नेपालको जन्मसिद्ध वा अंगीकृत मात्र होइन, वंशजकै नागरिकता दिलाउन समेत विदेशीहरुसँग बचनबद्धता गरेर नेपालको शासन सत्तामा आरोहण गर्छन् ! त्यसक्रममा उनीहरुले सर्वप्रथम कीर्ते, जालसाझी र फर्जी तरिका अपनाएर जनसंघर्ष र बलिदानको राप र चापको बलमा नेपालका संविधान र कानूनमा त्यस्ता घातक व्यवस्था छिराउँछन् अनि नेपालमा अएका, भएका र भेटिएका गैरनेपाली जति जम्मैलाई जन्मसिद्ध वा अङीकृत नागरिकता दिने व्यवस्था मिलाउँछन् र त्यसपछि अन्ततः “तिनका सन्तानलाई अनागरिक राख्न कसरी मिल्छ र ?” भन्दै वंशजकै नागरिकता दिलाउने ऐन–नियम बनाउने गर्छन्, यही गरिआएका छन् र पछिल्लो चर्चित र विवादित नागरिकता विधेयकद्वारा त खुलै, सीधै, नाङ्गै र निर्लज्ज रुपमै देशै बिक्री गरी दलाली खाने दाउँ गरिरहेका छन् ! धन्य हुन् हाम्रा वीर पुर्खाका सन्तती भनिएका आज देस चलाउने हाम्रा “महान” नेता–शासकहरु !
आज त ती कीर्ते नागरिकताहरु छानबिन गर्ने, कीर्ते ठहरिएकालाई रद्द र दण्ड गर्ने र सच्चा नागरिकतालाई सदर गर्दै बाँकी सच्चा नेपाली भूमिपूत्रहरुलाई र नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिला नेपालमा आएर एक दशकजति बसेर यहाँको माटोको ममताले भिजिसकेपछि तिनलाई पनि नागरिकता दिलाउने गर्नु पर्ने हो ! राष्ट्रिय र जनवादी क्रान्तिको लागि यत्रा ठुल्ठुला वर्गसंघर्ष, जनयुद्ध र जनआन्दोलन गरेर आएका नेताहरुले आज वर्ग र देशलाई बिर्सेर जाति, धर्म, समुदाय, क्षेत्र र लिङ्गमा सिमित भएर विदेशीको मतियार र हतियार हुनु कहाँसम्मको हाम्रो दुर्भाग्य हो ? यस्तो भए–गरेपछि त हिंजोका ती सशस्त्र संघर्ष र तिनको नेतृत्व गर्ने नेताहरुको आज के अर्थ र औचित्य भयो र ? के ती खाली विदेशी प्रभुहरुका पैसा र पावरको प्रलोभन–प्रभाव र सुझाव–दवावमा परेर देशको अस्तित्व नै समाप्त गर्ने गरी संविधान र ऐन–कानूनहरु बनाउँन आएका रहेछन् ?

के उनीहरु पनि देशलाई सके सिक्किकरण र फिजीकरण गर्ने नसके भुटानीकरण र युक्रेनीकरण गर्ने षड्यन्त्रमा जानाजान सामेल भएकै हुन् त ? प्रश्न गम्भीर र पेचिलो छ । के हाम्रा वर्तमानका नेता–शासकहरु, मन्त्री–सांसदहरु र कर्मचारी–प्रशासकहरु विदेशीहरुका भक्त, भाट र भजनकारी नै भैसकेका हुन् त ? के यिनीहरु विदेशीहरुका दास, दलाल र दरिद्र दामपन्थी भएर आफ्नो गाँस, बास र कपासको बन्दोबस्त मिलाउन मात्रै सिमित, सक्रिय र समर्पित नै छन् त ? नत्र भने किन यसरी सदा–सदाका लागि राष्ट्रकै स्वत्व–अस्तित्व छिट्टै र पूरै समाप्त पार्ने गरी नेपालको नागरिकता वितरण गर्ने घातक प्रयास गरिरहेका छन् त ? आज आमजनमानस, शिक्षित, बुद्धिजीवी, विज्ञ–विशेषज्ञ र सार्वभौम जनताका प्रतिनिधि र कानून बनाउने सर्वोच्च संस्था संसदमा समेत यथेष्ट छलफल नै गर्न नदिएर फास्ट ट्रयाकबाटै राष्ट्र घाती एमसीसी पारित गरेझैं गरेर नै नागरिकता विधेयक पनि प्रस्तुत र पारित गर्न खोज्नु विचित्रको विडम्बना हो !
संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुई अजङका देशहरुका बिचमा बसेको एउटा सानो भूगोल र यथेष्ट जनसंख्या भएको मुलुक नेपालमा एउटा देशसँग त तीनतिरबाटै सीमा खुला छ र नेपालमा त्यहाँबाट आप्रवासनको लागि आउनको लागि केही आकर्षण पनि छ । यदी भारतको २ प्रतिशत जनसंख्या मात्र खुला सीमाको सुविधा लिएर नेपाल प्रवेश गरेमा निश्चित छ यहाँ भारतीयहरु बहुमतमा हुनेछन् र नेपाललाई अर्को फिजी बनाइने छ । तर यहीं नै यत्रो गम्भीर राष्ट्रिय महत्वको यस्तो विषयमा पनि यति विधि हतारो र चटारो गरेर हठात् र बलात् विदेशीहरुलाई सामान्यतया तिब्बती शरणार्थी, आयातित ज्वाइँ, भान्जाभान्जी र बुहारी आदिलाई अनि विशेषतः आप्रवासी भारतीयहरुलाई चुन्ने र चुनिने जस्तो सर्वाधिक ठुलो राजनीतिक अधिकार अर्थात् स्थानीय, प्रादेशिक वा संघीय संसद, सरकार र तिनका मुख्य पोस्टहरुमै पुग्ने अधिकार दिएर सरकार र राष्ट्रकै प्रमुख बनाउन किन लागेका छन् ? किनकी नेपाल यिनीहरुलाई घाँडो भएको छ भने नेपाली यिनलाई झ्याउ भएका छन् ! त्यसैले न रहे बाँस न बजे बाँसुरी भनिएझैं देसै विदेश र विदेशीलाई जिम्मा लगाइदिएपछि त यिन्लाई हाईसन्चो हुनेछ ! विदेश र विदेशीहरुप्रतिको यति निच तहसम्मको दलाली तर देश र देशवासीप्रतिको यति हदसम्मको गद्दारी गर्ने अपराधको दण्ड के देशभक्त र राष्ट्रप्रेमी नेपाली वीर सपुतहरुले न देलान् र ? अवश्यै दिन्छन् । के यिनीहरुलाई इतिहासले पनि क्षमा देला र ? पक्कै पनि दिनेछैन । के यिनीहरुलाई हाम्रा पुर्खाको रगत–पसिनाले समेत न पोल्ला र ? पोल्ने कुरा अवश्यम्भावी नै छ । के हाम्रा भावी सन्ततिले पनि न धिक्कार्लान् र ? सयका सय धिक्कार्ने छन् ! धिक्कार्ने मात्र हैन लल्कार्ने पनि छन् र लल्कार्ने मात्र होइन दुत्कार्ने समेत छन् । र, यसो गर्नै–गराउनै पनि पर्छ, जो उचित, आवश्यक र न्यायसंगत पनि हो ।
अस्तु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित