निर्वाचनबाट प्रतिक्रियावादी दल मजबुत भएका छन्

  • विमल शर्मा

२०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका मतपरिणामहरू पनि सार्वजनिक भएका छन् । प्रत्यक्ष वा समानुपातिक दुवैतर्फका सिट सङ्ख्या हेर्ने हो भने निर्वाचनले मूलतः प्रतिकृयावादी शक्तिलाई नै मजबुत बनाएको छ । सबैभन्दा बढी सिट प्राप्ट गरेर नेपाली काङ्ग्रेस सबैभन्दा ठुलो दल, एमाले दोस्रो दल, माओवादी केन्द्र तेस्रो दल बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही सिटमा जित हासिल गरेको छ । राजावादी शक्ति पहिलेभन्दा मजबुत भएका छन् । प्रतिक्रियावादी शक्तिलाई शक्तिशाली बनाउनुमा देशका आफूलाई कम्युनिस्ट वा वामपन्थी पार्टी बताउने राजनीतिक दलको नै महत्वपूर्ण भूमिका रहेको छ । प्रतिकृयावादी शक्ति शक्तिशाली हुनु भनेको जनता पक्षधर शक्ति कमजोर हुनु हो । जनताको पक्ष कमजोर हुनुका पछाडि निर्वाचनलाई उपयोग गरेका आफुलाई वामपन्थी र कम्युनिस्ट बताउने पार्टी वा समूहले प्रतिक्रयावादीलाई सहयोग गर्नु नै हो । उनीहरूले अपनाएको वर्गसमन्वय र वर्गसङ्घर्षको तिलाञ्जलीको नीतिले कम्युनिस्ट आन्दोलन र वामपन्थी जनमत कमजोर हुँदै प्रतिक्रियावादी शक्तिहरू सुदृढ हुादै गइरहेका छन् ।

वर्तमान संसदीय प्रणालीले जनताका वास्तविक समस्याको समाधान गर्न सक्दैन । यसको मूल चरित्र नै जनताको पक्षमा होइन कि प्रतिक्रियावादी तथा विदेशी साम्राज्यवादी शक्तिहरूको हितको रक्षा हो । देशमा विगत लामो समयदेखि राष्ट्रघाती सन्धि सम्झौताहरु हुँदै आइरहेका छन् । राष्ट्रघाती एमसिसि सम्झौता र राष्ट्रघाती नागरिकता विधेयक पास गरेपछि देशमा विदेशी शक्तिहरूको सकृयता र प्रभाव अरु बढ्दै गइरहेको प्रत्यक्ष देख्न सकिन्छ । एमसीसी र नागरिकता विधेयक संसदबाट पास गर्ने गठबन्धनका शक्तिहरूले नै निर्वाचनमा बढी सिट प्राप्त गरेका छन् । यसले आगामी दिन पनि देशका लागि सहज नहुने कुरा आँकलन गर्न सकिन्छ ।

विगत करिब डेढ वर्षदेखि देशमा जुन अराजनीतिक गठबन्धन बनेको थियो त्यो गठबन्धनको केही दिन पहिले बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । देशमा प्रतिक्रियावादी शक्तिको बढी सिट आउनु र प्रतिक्रियावादी शक्तिलाई स्वयं वामपन्थी दलहरूले सहयोग गर्नुले देशमा अहिलेभन्दा बढी भ्रष्टाचार मौलाउने, राष्ट्रिय सम्पत्तिको दुरूपयोग हुने, सुकुम्बासी र निम्न आय भएकाहरूको समस्या बढ्ने, नेपाली युवाहरू श्रम बेच्न विश्वका बजारमा बिक्री हुन वाध्य हुने, महिला माथिको शोषण तथा उत्पीडनमा बृद्धि हुने, महङ्गी अझै बढ्ने, भारतीय विस्तारवादले देशका नदीनालालाई आफ्नो अधीनमा बनाउने, सीमा अतिक्रमण गर्ने कार्यहरूमा अरू तीव्रता आउने छ । सिमित रुपमा भएका उद्योगधन्दा, कलकारखाना, कृषि उद्योग र किसानहरूको अवस्था अझ कमजोर हुने छ । देशलाई अरू कङ्गाल बनाइने छ । त्यसको परिणाम शोषित, पीडित नेपाली जनताले अरू कष्टकर जीवन बिताउन वाध्य हुनुपर्ने छ । साम्राज्यवादीहरूको योजना अन्तर्गत चीन अमेरिकी युद्धको अवस्था पनि सृजना हुन सक्दछ । यस्ता कार्यहरूमा देशका कतिपय वामपन्थी शक्तिहरू र प्रतिक्रियावादी शक्तिहरूले आपसमा गठबन्धन गरेर यी कार्यहरू अगाडि बढाउने नै देखिन्छ ।

यो निर्वाचनमा कुन उमेदवारलाई जिताउने र हराउने मुख्य प्रश्न थिएन । किनभने अहिले चुनावमा जुन दलले भाग लिएका थिए उनीहरू जो कसैले जिते पनि जनताको वास्तविक समस्याको समाधान हुन सक्दैनथ्यो । यो व्यवस्था प्रतिकृयावादी भएको र जनताको पक्षमा काम नगर्ने भएकाले यसका विरुद्ध जनचेतना उठाउन, जनवादी क्रान्तिका लागि आधार निर्माण गर्न बहिष्कार÷अवज्ञा वा नो भोट गरेर जनतामा संसदीय व्यवस्था विरुद्ध जागरुकता ल्याउनु पर्दथ्यो । वर्तमान संसदीय व्यवस्थाका असफलताबारे जनचेतना उठाउन नेकपा(मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल सहित अन्य कैयौं दलहरुले त्यसरी आन्दोलनलाई अगाडि बढाउन प्रयत्न गरेका छन् । जनता विरोधी व्यवस्थाको स्थानमा मजदुर किसानको एकतामा बन्ने सरकारको स्थापनाको प्रचार प्रसार गर्दै जानुपर्दछ । नेपालीको भविष्य सकारात्मक बाटोमा अगाडि बढाउन वर्तमान संसदीय व्यवस्थाको विकल्पमा वैकल्पिक व्यवस्था अर्थात् नयाँ जनवादी व्यवस्थाको स्थापनाका लागि जनमतद्वारा संघर्षको आधार तयारपार्दै लैजानु नै अहिलेको आवश्यकता हो ।

अहिलेको निर्वाचनलाई कतिपय व्यक्तिहरूले प्रतिगमनको हार भएको छ, प्रतिगमको जित भएको छ भनेर बताएका छन् । तर वास्तविकतामा गएर मूल्याङ्कन गर्ने हो भने वामपन्थीहरूको मतले प्रतिगामी र दलाल नोकरशाही पुँजीपति वर्गलाई पुनः सत्तामा पु¥याएको छ । विश्वको इतिहास हेर्ने हो भने कम्युनिस्ट वा वामपन्थीहरूले देशलाई वाÞय सङ्कटबाट बचाउन, देशलाई अप्ठ्यारो परेको अवस्थामा वा बलियो प्रतिक्रियावादी शक्तिलाई सत्ताच्यूत गर्न कमजोर प्रतिक्रियावादी शक्तिहरूसित पनि सीमित रुपमा सहकार्य गरेर आन्दोलन गरेको देखिन्छ । तर त्यसका विपरित अहिले देश तथा जनताका पक्षमा होइन कि सिमित पदीय स्वार्थद्वारा निर्देशित भएर बलियो प्रतिक्रियावादी शक्तिसित मिलेर स्वार्थसिद्ध गर्ने, प्रतिकृयावादीका उम्मेदवारसँग तालमेल गर्ने उनीहरूलाई नै जिताउन मतदान गर्ने र उनीहरूलाई अझ शक्तिशाली बनाएर आफुमाथि शासन गर भनेको पाइयो । समग्रमा अहिले देशमा जुन गठबन्धन बनेको छ त्यो देश र जनताका पक्षमा काम गर्नका लागि होइन कि सत्ताबाट आफ्नो स्वार्थ पुरा गराउनका लागि नै गरिएको छ । त्यसको प्रत्यक्ष उदाहरण गठबन्धन दलहरूको आपसी निर्णयमा गरिएको एमसीसी र नागरिकता जस्ता राष्ट्रघाती सम्झौता वा विधेयकलाई संसदद्वारा पारित गराउन जुन प्रक्रिया वा नीति अपनाइयो त्यसले ती दलहरुको सत्ता स्वार्थको राजनीतिलाई स्पष्ट गर्दछ । जसले देशमा विदेशी तथा साम्राज्यवादी शक्तिहरूलाई नेपालमा आफ्नो प्रभूत्व बढाउन बाटो खोलिदिएको छ ।

नेपाल अधिराज्यभरको जमिन मुठीभर सामन्त र दलाल पुँजीपतिको हातमा रहेको छ । नेपालको व्यापार भारतीय व्यापारी र दलाल ब्यापारीका हातमा रहेको छ । उत्पादनका साधन र औजारहरू अधिकांश भारतीय उद्योगपतिहरूको हातमा छन् । नेपाली जनता र राष्ट्रिय पुँजीपति व्यापारीहरूले विकास गर्न चाहेर पनि दलालहरू र बिचौलियाहरूले उनीहरूलाई असफल बनाउने गरेका छन् । राष्ट्रवादी, राष्ट्रिय पुुँजीपति वर्ग प्रत्यक्ष्यरूपमा सङ्गठित भएर अगाडि आइसकेका छैनन् । अहिले देशमा उनीहरूलाई सङ्गठित गर्ने संस्था कमजोर छ । विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूले देशमा जुन प्रभूत्व बढाउँदै लगिरहेका छन् त्यसलाई कमजोर बनाउन राष्ट्रिय पुँजीपतिवर्ग, किसान र मजदुर, राष्ट्रवादी शक्तिहरू सङ्गठित हुँदै अगाडि आउन जरुरी छ ।

२०७४ को चुनावमा पहिलो दल रहेको एमाले अहिलेको चुनावमा दोस्रो दलमा ओर्लेको छ । नेकपा (एमाले)ले कम्युनिस्ट आन्दोलनलाई ४० औं वर्ष पहिलेदेखि दक्षिणपन्थी अभियानमा सामेल गराइरहेको छ । उसको नेतृत्व अहिले पनि सुधारिनुको सट्टा दलाल बनिरहेको अवस्थामा त्यसभित्रका वामपन्थीहरूले राम्रोसँग बुझ्नुपर्ने आवश्यकता छ । त्यसैगरी माओवादी केन्द्रले पनि ३० औं वर्षदेखि उतार चढाव हुँदै अहिले एमाले र त्यसको नेतृत्वभन्दा फरक भएर आएको देखिंदैन । नेपाली काङ्ग्रेस जसले दलाल नोकरशाही र विस्तारवाद तथा साम्राज्यवादी शक्तिको आशीर्वादमा आफूलाई बलियो बनाउँदै गएको छ । आफूलाई कम्युनिष्ट बताउने शक्तिले पनि कांग्रेसी गठबन्धन शक्ति भित्रबाट सुविधाहरू लिएर आफ्नो अस्तित्व धान्नुलाई उनीहरूको वर्ग समन्वयको अभियान सफल हुँदै गएको बुझनु नै सही हुनेछ । ने.क.पा. (मसाल)को बैधानिक मोर्चाले २०४९ सालदेखि निर्वाचनलाई उपयोग गर्दै आएको छ । पटक पटक एमालेको सहकार्यमा कहिले सिमितरुपमा आफुले जितको छ भने कहिले एमालेलाई जिताएको छ । जब एक्लै निर्वाचनमा जाने स्थिति आयो एकाध अपवादलाई छाडेर पराजय नै भोग्नु परेको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर प्युठानको एउटा सिट जितेको थियो । समानुपातिक तर्फ करिब ६२ हजार मत प्राप्त गरेको थियो भने अहिले त्यो मत घटेर करिब ४६ हजारमा ओर्लेको छ । त्यति बेला काँग्रेसलाई प्रतिक्रियावादी र प्रतिगामी, गणतन्त्र विरोधी, भारतीय विस्तारवाद (साम्राज्यवाद) पक्षधर शक्ति भनेर उससितको गठबन्धनलाई गलत बताइएको थियो । एमालेसितको गठबधनलाई सही बताइएको थियो । जब केपी ओलीले दुईपल्ट संसद विघटन गरेर असंवैधानिक काम गरेपछि मसालले काङ्ग्रेस तथा मधेशवादीहरु जस्ता घोर प्रतिक्रियावादी शक्तिसित गठबन्धन जोड्यो एमालेलाई प्रतिगामी भनेर विश्लेषण गर्न थाल्यो ।

राष्ट्रिय जनमोर्चाले २०७९ सालको स्थानीय र प्रतिनिधि तथा प्रदेश चुनावसम्म आइपुग्दा कांग्रेससित गठबन्धन गरेर प्रतिक्रियावादी शक्तिलाई जिताउन आफ्ना देशभरका १६५ सिटहरूमध्ये जम्मा २ सिट बागलुङ र प्युठानमा मात्र आफ्नो उम्मेदवारी दिएको थियो भने अन्यत्र सबै स्थानहरुमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र मधेशवादी दल (स्मरण रहोस् मसालको आठौं महाधिवेशले मधेशवादी दललाई भारतीय साम्राज्यवादद्वारा उसको पक्षमा काम गर्नका लागि भारतीय साम्राज्यवादले नै निर्माण गरेको भनेर विश्लेषण गरेको छ)हरुको प्रचारमा नै लागेको थियो । देशभरिका ३३० प्रदेशसभा सिटहरूमध्ये जम्मा १ जना अर्घाखाँचीमा मात्र उम्मेदवारी दिएर अन्यत्र सबै ठाउँमा गठबन्धनका दलहरूलाई जिताउने नीति लिएको थियो । अर्घाखाँचीमा पनि उसको हार भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाका ३ सिट मध्ये देशभरमा एक सिट बागलुङ बाहेक सबै स्थानहरूमा हार भयो । समानुपातिक तर्फ धेरै मत संख्या घट्यो । आफूले हारेका स्थानहरूमा हारको मुख्य दोष तिनै गठबन्धनका दलहरु काङ्ग्रेस र माओवादीलाई बनाइएको छ ।

मसालको अहिलेसम्मको इतिहासमा आफूले नै प्रतिक्रियावादी घोषणा गरेको काङ्ग्रेस, मधेशवादीसित चुनावी तालमेल गरेको २०७९ को स्थानीय तथा अहिलेको चुनावमा हो । यसभन्दा पहिले राष्ट्रपतिको चुनावमा रामवरण यादवलाई समर्थन गरेको थियो, गण्डकी प्रदेशमा आफ्नो सांसदलाई निष्कासन गरेर नेपाली काङ्ग्रेसको सरकारलाई स्थापित गराएको थियो, कैयौं राष्ट्रघाति विधेयकहरु पास गर्दा समेत उनीहरुलाई नै समर्थन गरिरÞयो, सरकारमा सामेल नभए पनि सरकार संचालनको संयन्त्रमा बसेर विभिन्न पदहरूको बाँडफाँड गरेर आफूले कैयौँ पदहरू लिने काम ग¥यो । मसालको त्यस प्रकारको राजनीतिक पतनलाई प्रतिक्रियावादी शक्तिले उपयोग गरे र अहिले पनि गरिरहेका छन् । साम्राज्यवादीहरू र तिनका दलालहरूको योजनामा संसदीय एकदुई सिटको मन्दविष दिएर मसाललाई आफूतिर तान्न सक्नुले उनीहरुलाई दीर्घकालिन अर्थ र महत्व राख्दछ । जसले मसाल भित्र वर्गसमन्वयवाद विरोधी बचेखुचेको शक्तिलाई समाप्त पारेर वर्गसमन्वयको बाटोमा पतन गराउने छ । हामीले आशा गर्नुपर्दछ मसाल भित्रको क्रान्तिकारी शक्ति वर्गसमन्वयमा पतन हुनबाट बचेर दक्षिणपन्थी नीति तथा प्रतिक्रियावादी शक्तिहरुसितको साँठगाँठको नीतिलाई छाड्दै आफूलाई सुधार गर्न सकोस् ।

संसदीय व्यवस्था प्रतिकृयावादी व्यवस्था हो । कम्युनिस्टले त्यसलाई कमजोर बनाउन र नयाँ जनवादी व्यवस्थाको लागि आधार तयार गर्न प्रचार प्रसार गर्ने कार्यलाई तीव्रता दिनुपर्दछ । त्यो दौरानमा कार्यनीतिक रूपमा निर्वाचनको बहिष्कार वा उपयोग हुन सक्दछ । कम्युनिस्टको उद्देश्य यथास्थितिवाद र संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्षलाई केन्द्रित गर्नुपर्ने हुन्छ र हुनुपर्दछ । नेपालमा पञ्चायती व्यवस्थाको कालमा पनि नयाँ जनवादी व्यवस्थाको प्रचार प्रसार र सङ्घर्षको आधार तयार गर्न बहिष्कार वा उपयोग गरेको पाइन्छ । तर अहिले गरिएको अराजनीतिक गठबन्धन जस्तो स्थिति विगतमा थिएन । सायदै विश्वको इतिहासमा आफूलाई कम्युनिस्ट बताउने समूहहरूले आफूले नै दलाल र प्रतिक्रियावादी घोषित गरेका पार्टीलाई शक्तिशाली बनाउन वा जित दिलाउन आफ्नो बाहुल्यता भएका ठाउँहरूलाई छाडेर प्रतिक्रियावादी शक्तिहरूलाई जिताउने गरेको इतिहास कहीं पाइन्छ होला । यो गम्भीर सोचनिय विषय भएको छ ।

यो निर्वाचनमा आफुलाई कम्युनिस्ट बताउने माओवादी केन्द्र, एकीकृत समाजवादीले नेपाली काङ्ग्रेस वा मधेशवादी संगठनका उम्मेदवारलाई मत दिएर विजयी गराउने काम गरे । एमालेले राजावादी शक्तिलाई सहयोग ग¥यो । यो कुनै नौलो कुरा थिएन । यिनीहरू धेरै पहिलेदेखि कम्युनिस्टको बाटोबाट वर्गसमन्वयको बाटोमा परिणत भइसकेका छन् । ने.क.पा. (मसाल) र त्यसको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस तथा मधेशवादी दललाई दस्तावेजमा दलाल नोकरशाही तथा प्रतिकृयावादी शक्ति भनेर घोषणा गरेको छ । तर निर्वाचनमा तिनै प्रतिक्रियावादी शक्तिलाई, उसैका उमेदवारलाई मतदान गरेर विजय बनाउँदै आफुमाथि शासन गर्न उनीहरुलाई नै सहयोग गरेर शक्तिशाली बनायो । ने.क.पा. (मसाल)ले वामपन्थी राजनीतिमा अवसरवादी भूमिका खेलिरहेको छ । मसालको विश्लेषण अनुसार आफ्नो एकजना व्यक्तिको जित भएकोले प्रतिगमनको हार भएको र आफ्नो दुईजना व्यक्तिको हार भएकोले प्रतिगमनको जित भएको विचारले एक दुई सिटको लागि प्रतिकृयावादीहरूसँग केका लागि तालमेल वा गठबन्धन गरिएको रहेछ स्पष्ट छ । देशभरमा एकसिट जित्नका लागि देशभरका सिटहरू छाड्नुले प्रतिगमनको हार भयो वा प्रतिक्रियावादी शक्तिहरू अरू मजबुत वा शक्तिशाली भए ? सहजै अनुमान लगाउन सकिन्छ । मसालले एकसिट जित्नका लागि देशभरका सिटहरू छाडेर आफ्नो राजनीतिक प्रचारप्रसारको नीतिलाई छाडेको छ र प्रतिक्रियावादी सत्ता र शक्तिलाई मजबुत बनाउने काम गरेको छ । २०७९ मंसिर २६

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित