राष्ट्रिय एकता महाधिवेशन सम्पन्न

-मोहन वैद्य किरण महासचिव निर्वाचित
-११७ पूर्ण र ९५ वैकल्पिक सदस्यहरु सहितको केन्द्रीय समिति गठन ।
-विधानमा राष्ट्रिय परिषद्को व्यवस्था
-मार्ग निर्देशक सिद्धान्त–माक्र्सवाद–लेनिनवाद माओवाद । तर माओविचारधाराबारे खुला छलफल गर्न सकिने
-नेपाली समाजको चरित्र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक विशेषता सहित नवऔपनिवेशिक अवस्था
-राजनीतिक कार्यदिशा–नयाँ जनवादी क्रान्तिको खुड्किलो सहित वैज्ञानिक समाजवाद ।
संघीयताबारे खुला छलफल हुने
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशनले संघीयता र माओविचारधारा सम्बन्धी खुला बहस हुने निर्णय गरेको छ । संगठनात्मक रुपमा महासचिव प्रणाली कायम गर्ने ,एकता महाधिवेशनले ११७ जना पूर्ण ,९५ जना वैकल्पिक सदस्यको चयन गरेको छ र राष्ट्रिय परिषदको व्यवस्था पनि गरेको छ ।राष्ट्रिय एकता महाधिवेशनले निवर्तमान संयोजक मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरेको छ ।
मंसिर १३–२३ गतेसम्म काठमाण्डौमा सम्पन्न महाधिवेशनका विषयमा जानकारी दिन २०८१ मंसिर २५ गते काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा महाधिवेशनको उद्यघाटन समारोह, बन्दशत्र तथा समापन समारोहको बारेमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा नेता सीपी गजुरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्दै तीन पार्टीकोबीचमा सम्पन्न भएको एकता महाधिवेशनले क्रान्तिकारीहरुमा उर्जा थपेको बताउनुभयो र यो एकता अन्तिम नभएको भन्दै देशमा क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सबै क्रान्तिकारीहरु एक हुनु पर्ने कुरामा जोड दिनुभयो । पत्रकारहरुले राखेको प्रश्नको जवाफ नेता सीपी गजुरेलले नै दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यको पूर्ण पाट यसप्रकार छ ः
“पत्रकार मित्रहरु !
अन्तर्राष्ट्रिय रुपमा भूमण्डलीकृत साम्राज्यवाद, नवउपनिवेशवाद तथा नवउदारवाद र राष्ट्रिय रुपमा दलाल तथा नोकरशाही पुँजीवादको शोषण, उत्पीडन तथा हैकम चल्दै आएको, दक्षिणपंथी संशोधनवाद प्रभावी रहेको र चौतर्फी रुपमा संकट बढ्दै गइरहेको वर्तमान राजनीतिक परिप्रेक्षमा यो महाधिवेशन सम्पन्न भएको छ ।
नेपालमा क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत परिस्थिति बीचको अन्तर्विरोध समाधानको दिशामा अघि वढ्न हामीले २०८० वैशाखमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीच पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण गरेको कुरा सर्वविदितै छ । यसको ठीक एक वर्षपछि २०८१ वैशाखमै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच एकता भई निर्माण गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा यही मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौंमा राष्ट्रिय एकता महाधिवेशन शानदार रुपमा सम्पन्न गरिएको छ । उक्त महाधिवेशनमा लिइएका कतिपय महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
महाधिवेशनको कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको छ ः
क) उद्घाटन समारोह ः
मङ्सिर १३ गते जनसमुदाय, महाधिवेशनका पर्यवेक्षक, प्रतिनिधि तथा पार्टीका नेताहरुको सहभागितामा काठमाण्डौं शान्तिबाटिका र त्रिपुरेश्वरबाट शुरु भएको जुलुस न्यूरोडको धर्मपथमा सुसज्जित मञ्च अगाडि पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । यस समारोहको अध्यक्षता निवर्तमान सहसंयोजक सन्तबहादुर नेपालीले गर्नुभएको थियो भने उद्घोषण निवर्तमान प्रवक्ता क. हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गर्नुभएको थियो । स्वदेश तथा विदेशबाट आमन्त्रित अतिथिहरुलाई आसनग्रहण गराइसकेपछि शहिदहरु प्रति श्रद्धान्जली र अन्तर्राष्ट्रिय गीतबाट कार्यक्रम अघि बढाइएको थियो । वरिष्ठ नेता क. सी पी गजुरेलद्वारा स्वागत भाषण गरिएको उक्त समारोहमा निवर्तमान संयोजक क. किरणले मशाल बालेर उद्घाटन सहित उद्घाटन भाषण गर्नुभएको थियो । स्वदेशी तथा विदेशी मित्र तथा भाइचारा पार्टीका प्रतिनिधिहरुले राष्ट्रिय एकता महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
ख) बन्दशत्र समारोह ः
काठमाडौँको किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको स्मृति सदनमा मंसिर १४ देखि २३ गतेसम्म बन्दसत्र सम्पन्न भएको छ । क. सुशर्दनद्वारा कमललाल चौधरी, क. दिनेश शर्मा, क. चिन्तामणि पौडेल, क. विन्देश्वर पटेल र क. शोभा सेन्चुरी रहेको ५ सदस्यीय अध्यक्षमण्डल प्रस्तावित भएपछि प्रतिनिधि तथा पर्यवेक्षक सम्मिलित सदनबाट गडगडाहट तालिकासाथ उक्त प्रस्ताव पारित गरियो । त्यसपछि अध्यक्ष मण्डलको अध्यक्षतामा निम्न अनुसारका प्रस्तावहरु पारित गरिएको छ ।
१) बन्दसत्रमा क. किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सहित सोह्रओटा पूरक प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् । उक्त प्रस्तावहरुमाथि वीसओटा समूहमा विभाजन गरी छलफल चलाइएको थियो । त्यसअनुसार अर्धसामन्ती तथा अर्धऔपनिवेशिक विशेषता सहित नवऔपनिवेशिक अवस्थामा रहेको वर्तमान नेपाली समाजका सन्दर्भमां पार्टीको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुडकिलो सहित वैज्ञानिक समाजवाद हुनेछ भने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनेछ । त्यसै गरी राज्य पुर्नसंरचनाको सन्दर्भमा आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति र पहिचान सहितको संघीयताको नीति पारित गरिएको छ । साथै, माओविचारधारा र संघीयताबारे बाहिर पनि छलफल चलाउन सकिने निर्णय लिइएको छ ।
२) राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै जाने ठेगान भएको छ ।
३) संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद समेत बनाउने निर्णय लिइएको छ ।
४) पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरु सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक ज्येष्ठ सदस्य क. मोहन वैद्य किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट क. किरणलाई महासचिव चयन गरिएको छ ।
५) कमरेड प्रीतमद्वारा प्रस्तुत समयामयिक प्रस्ताव पारित गरियो ।
ग) समापन समारोह ः
समापन समारोहको अध्यक्षता क. सिपी गजुरेलले गर्नुभयो भने यसको उद्घोषण क. चन्द्रहरि सुवेदी अटलले गर्नुभयो । सो समारोहमा नवनिर्वाचित महासचिव क. किरणद्वारा महाधिवेशनमा पारित नीति, कार्यक्रम तथा कार्यदिशाको दृढ कार्यान्वयन गर्ने, संगठन तथा संघर्षका कामलाई व्यवस्थित तुल्याउने र क्रान्तिको तयारीका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरियो । यस समारोहमा कतिपय भाइचारा प्रतिनिधि तथा पर्यवेक्षकहरुको तर्फबाट नवनिर्वाचित केन्द्रीय समितिलाई बधाइ तथा शुभकामना व्यक्त गरियो । अन्तमा समापन समाहरोको अध्यक्षबाट सौहाद्र्रपूर्ण वातावरणमा अन्तिम सत्रको समापन भयो ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित