लेखा व्यवस्थापनको सन्दर्भमा गोश्वारा भौचरको महत्व

 

–सकस नायक

व्यवसाय संचालनको लागि कोष परिचालनको महत्व भए जस्तै लेखा व्यवस्थापनमा गोश्वारा भौचरको महत्व रहन्छ । लेखा व्यवस्थापनमा प्राथमिक अभिलेख बिल, भरपाइको अहं महत्व भए जस्तै गोश्वारा भौचरको पनि अपरिहार्य महत्व रहन्छ । लेखा व्यवस्थापनमा प्राप्त बिल भरपाईहरुलाई लेखाङकन गर्दा कुन शिर्षकलाई खर्च र कुन शिर्षकलाई जम्मा गर्ने भन्ने यकिन गरी सकेपछि मात्र भौचर बनाउने प्रक्रियाको थालनी हुन्छ । गोश्वारा भौचर (Journal) लाई लेखाविधिको प्राथमिक (Primary Sources Of Data) अभिलेख वा मूल पुस्तिका (Books Of Original)भनिन्छ । गोश्वारा भौचर भनेको दैनिक कारोबारहरुको नियमित र व्यवस्थित तरिकाले अभिलेख राख्न प्रयोग गरिने विवरण हो । लेनदेन र व्यवसायका प्रत्येक कारोवारहरुलाई खर्च (Debit) र जम्मा (Credit) गरी क्रमबद्ध तरिकाले दुइ पक्षमा अभिलेख राख्न प्रयोग गरीने मूल अभिलेखलाई गोश्वारा भौचर भनिन्छ । गोश्वारा भौचर नै लेखा व्यवस्थापन बिधिको मेरुदण्ड हो जसको अभावमा व्यवस्थित लेखा विधिको परिकल्पना संभव हुँदैन ।

शाब्दिक अर्थमा गोश्वारा (Journal)फ्रेन्च भाषाको Jour शब्दबाट उत्पन्न भएको हो जसको अर्थ दैनिकी (Diary) हुन्छ । दैनिक आर्थिक कारोवारको क्रमबद्ध लेखा राख्ने एक प्रकारको सहायक खाता ( Subsidiary Book) नै गोश्वारा भौचर (Journal) हो । गोश्वारा भौचरमा कारोवारका दुईपक्ष हुने भएकाले भौचर तयार गर्नु भन्दा पहिले कारोवारको कुन पक्ष खर्च (Debit) हुन्छ र कुन पक्ष जम्मा (Credit) हुन्छ भन्ने स्पष्ट धारणा बने पश्चात कारोवारहरुलाई भौचरको रुपमा अभिलेख राख्न सकिन्छ । कारोवारहरुका दुईपक्षहरुलाई खर्च र जम्मा गर्नु पर्ने महत्वपूर्ण कार्यको थालनी गोश्वारा भौचरबाटै हुने भएकाले समग्र लेखा विधिको शुद्धता त्यसमा टिकेको हुन्छ ।

गोश्वारा भौचरका आधारमा अन्य सहायक खाताहरुमा अभिलेख प्रविष्टी गरीने हुँदा त्यस्ता प्रकारका सहायक खाताहरु द्वितीय अभिलेख (Secondary Sources Of Data) हुने भएकाले  गोश्वारा भौचर (Journal) नै गलत हुन पुग्यो भने त्यसका आधारमा तयार भएका अन्य सम्पूर्ण अभिलेखहरु गलत हुन जाने हुँदा भौचर तयार गर्ने कुरामा अत्यन्तै सावधानीपूर्वक तयार गर्नु पर्ने हुन्छ । त्यसैले पनि गोश्वारा भौचरलाई दोहोरो लेखा प्रणाली अन्तर्गत राखिने अभिलेखहरु मध्ये प्रारम्भिक (Primary Sources Of Data) तथा अति महत्वपूर्ण अभिलेख मानिन्छ । गोश्वारा भौचर आर्थिक कारोबारको प्रारम्भिक अभिलेख भएकोले यो तयार नगरी कुनै पनि कारोबारहरुलाई अन्य सहायक खाताहरु (Ledger) मा अभिलेख चढाउन (Posting) सकिंदैन । गोश्वारा भौचर बिल, भरपाई, रसिद, बैंक भौचर लगायत अन्य सबै प्रकारका आर्थिक कारोबारहरुका प्रमाणित कागजातहरुका आधारमा लेखाको सिद्धान्त बमोजिम तयार गर्ने गरिन्छ ।

गोश्वारा भौचरमा खर्च र जम्मा गर्ने सामान्य तरीकाहरु

कारोवारका दुईपक्षहरुलाई कसरी खर्च र जम्मा गर्ने भन्ने सम्बन्धमा व्यवस्थापन विज्ञहरुद्वारा केहि नियमहरु बनाएका छन् । जसका आधारमा खर्च र जम्मा गर्ने गरिन्छ । व्यक्तिहरुसंग सम्बन्धित कारोबारहरुबाट व्यवसायको जन्म हुन्छ । व्यवसाय संचालनका लागि नगद तथा अन्य मालसामानहरुको आवश्यकता पर्दछ । त्यसको परिपूर्ति व्यवसाय मालिकद्वारा हुन्छ । व्यवसायको संचालन गर्दा संचालन खर्च, उत्पादन, खरीद, बिक्री, सेवा प्रवाह तथा नाफा नोक्सान हुन्छ । यसरी सम्पूर्ण कारोबारहरुलाई ३ समुहमा विभाजन गर्न सकिन्छ ।

क.     व्यक्तिगत खाता (Personal Account) मा – व्यक्ति वा संस्थासंग गरिने कारोवारहरुका खाताहरुलाई व्यक्तिगत खाता भनिन्छ ।  जसमा व्यक्ति वा संस्था जो  नगद वा मालसामान प्राप्त गर्ने पक्ष (Receiver) हुन्छ त्यसलाई खर्च (Debit) र नगद मालसामान दिने पक्षलाई जम्मा ( Credit) गरीन्छ ।

                कुनै मालसामान वा नगद प्राप्त गर्ने पक्ष खर्च हुन्छ भने दिने पक्ष जम्मा हुन्छ ।

                (Debit the receiver, Credit the giver)

ख.     वास्तविक खाता ( Real Account ) मा – व्यवसायका सम्पत्ति तथा मालसामानहरुसंग सम्बन्धित खाताहरुलाई वास्तविक खाता भनिन्छ । जसमा कुनै पनि संस्था वा निकायमा सम्पत्ति ( मालसामान, नगद, घर, जग्गा, फर्निचर, मेशिनरी आदि) प्राप्त भएमा खर्च (Debit) र संस्था वा निकायबाट सम्पत्ति बाहिर गएमा जम्मा (Credit) गरिन्छ । जे आउँछ त्यो खर्च हुन्छ भने जे जान्छ त्यो जम्मा हुन्छ ।

                (Debit what comes in, credit what goes out)

ग.     सांकेतिक खाता (Nominal Account) मा – संस्था वा व्यक्तिका कारोवारहरुमा आम्दानी, खर्च, नाफा, नोक्सान आदीसंग सम्बन्धित खातालाई सांकेतिक खाता भनिन्छ । यस खातामा आम्दानी, खर्च, नाफा, नोक्सान आदि कारोबारहरु हुन्छन जसमा सबै प्रकारका खर्चहरु तथा नोक्सानीहरुलाई खर्च (Debit) र सबै प्रकारका आम्दानी तथा लाभहरुलाई जम्मा (Credit) गरिन्छ ।

                सबै प्रकारका खर्च र नोक्सानहरु खर्च हुन्छ भने सबै प्रकारका आम्दानी र लाभहरु जम्मा हुन्छ ।

                (Debit all expences & loses, credit all incomes and gains)

घ.     सम्पत्ति, पूँजी, दायित्व आदिमा घटीबढीका आधारमा खर्च जम्मा गर्ने आधारहरु

                १.      कुनै पनि कारोबारहरुमा सम्पत्ति बढेमा खर्च र घटेमा जम्मा गरिन्छ

                २.     कुनै पनि कारोबारहरुमा पूँजी तथा दायित्व बढेमा जम्मा र घटेमा खर्च गरिन्छ

                ३.     कुनै पनि कारोबारहरुमा खर्च तथा नोक्सान बढेमा खर्च र घटेमा जम्मा गरिन्छ

                ४.     कुनै पनि कारोबारहरुमा आम्दानी तथा नाफा बढेमा जम्मा र घटेमा खर्च गरिन्छ

गोश्वारा भौचरको नमुना

 

गोश्वारा भौचरमा निम्न व्यहोराहरु लेखिन्छ ः

क. मिति (Date) ः आर्थिक कारोवार भएको मिति

ख. विवरण (Particulars)    पहिलो लाइनमा खर्च गरिएको खाताको नाम

दोश्रो लाइनमा TO लेखेर जम्मा गरिएको खाताको नाम

                                तेश्रो लाइनमा कोष्ठ भित्र ( Being वा For लेखि गरिएका

                                कारोबारहरुको संक्षिप्तमा विवरण

ग. खाता पाना नं. (L. F. ) जुन खाता (Ledger) मा प्रबिष्टी गरिने हो सो खाताको पा. नं.

घ. खर्च रकम (Debit amount) खर्च गरिएको रकम अंकमा

ङ. जम्मा रकम (Credit amount) ः जम्मा गरीएको रकम अंकमा

लेखाशास्त्रको जानकारी भएका व्यक्तिहरुलाई उल्लेखित गोश्वारा भौचर तयार गर्न सहज भएता पनि लेखाशास्त्रको औपचारिक ज्ञान नभएका व्यक्तिहरुको हकमा गोश्वारा भौचर तयार गर्ने कुरा जटिल हुन्छ । गोश्वारा भौचर तयार गर्नु पूर्व गोश्वारा भौचरमा कुन शीर्षक खर्च (Debit) गर्ने र कुन शीर्षक (Credit) गर्ने भन्ने यकिन गर्न सक्नु पर्दछ । गोश्वारा भौचरमा शीर्षकहरुलाई खर्च र जम्मा गर्न लेखाशास्त्रमा केही विधिहरु छन त्यसका आधारमा खर्च र जम्मा गर्ने गर्नु पर्दछ । मैले आफ्नो व्यवहारिक अनुभवमा प्रयोग गर्ने गरेको भौचरको नमुना माथि उदाहरणमा राखि सकेकोले त्यसलाई प्रयोग गर्दा लेखाशास्त्रको आधारभूत ज्ञान नलिएका तर व्यवहारको माध्यमद्वारा दीक्षित व्यक्तित्वहरुको हकमा सहज र सरल हुनेमा विश्वस्त हुन सकिन्छ ।

भौचर बनाउने कार्य सम्पन्न भए पश्चात ती कारोवारहरुलाई सम्बन्धित सहायक खाताहरुमा प्रविष्टी गर्नु पर्ने हुन जान्छ । जसका आधारमा सम्बन्धित व्यक्ति वा निकायहरुलाई आवश्यक समयमा आवश्कता अनुरुपमा तथ्याङ्क उपलब्ध गराउन संभव हुन्छ ।

दैनिक कारोवारहरुलाई सम्बन्धित सहायक खाताहरुमा प्रविष्टी गरी सके पश्चात उक्त अवधिमा गरिएका कारोवारहरु सहि छन वा छैनन ? पत्ता लगाउनु पर्ने हुन्छ । हामीले कारोबार गरेका प्रत्येक गोश्वारा भौचरका कारोवारहरु खर्च र जम्मा गर्दा दुबै पक्ष तर्फ समान असर रहने हुँदा कारोवारहरुको दुवै पक्षमा रकम बराबर हुनु पर्दछ । त्यसरी हिसाबको अंकगणितीय जाँच गर्ने विधिलाई सन्तुलन परीक्षण (Trial Balance) भनिन्छ । यसरी सन्तुलन परीक्षण तयार भईसके पश्चात दैनिक कारोवारको व्यहोरा ठीक बेठिक भएको कुरा पत्ता लगाउन सकिन्छ । यसरी भएको दैनिक कारोवारहरुको सन्तुलन परीक्षणका आधारमा साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा विवरणहरु तयार गर्न सकिन्छ । लेखाशास्त्रको विधि अनुरुप यसरी वार्षिक कारोवार सम्मको सन्तुलन परीक्षणबाट कारोवारहरु ठीक छन् भन्ने प्रमाणित भए पश्चात उक्त व्यक्ति, संस्था वा निकायहरुको बार्षिक कारोवारहरु गर्दा तत् तत् व्यक्ति, संस्था वा निकायहरु सामाजिक संस्था वा गैरनाफामुलक संस्थाहरु भएमा कारोवारको व्यहोरा जानकारी भए पुग्ने अवस्था भयो । तर नाफा नोक्सान के भयो पत्ता लगाउनु पर्ने हुन जान्छ । तत् तत् व्यक्ति, संस्था वा निकायहरु सामाजिक संस्था नभएर नाफामुलक संस्थाहरु भए त्यसको नाफा नोक्सानको अवस्था समेत पत्ता लगाउनु पर्ने हुन्छ । नाफा नोक्सान समेतको खाता तयार भईसके पश्चात वासलात (Balance Sheet) बनाउनु पर्दछ । वासलात तयार भए पश्चात कारोवारको अन्तिम खाता तयार हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित