लाल झण्डालाई थप उचाई प्रदान गरौं

– सागर कुँवर

वर्तमान परिस्थितिका केही भ्रामक प्रचारबाजीहरुलाई निस्तेज गर्नको लागि केही लेख्ने प्रयास गरेको छु । ० नेकपा(मसाल) ले दक्षिणपन्थी संशोधनवादी बाटो समाइसकेको अवस्थामा त्यो भित्रका क्रान्तिकारीहरुले पार्टीको गौरवशाली इतिहासको रक्षा र वर्तमानको क्रान्तिकारी अभिभारा लाई अगाडि बढाउन नेकपा (मसाल) केन्द्रीय समन्वय समिती (यस पछाडि सीसीसी मात्र भनिनेछ) बनाएको यहाँहरु सबैलाई सर्वविदितै छ ।

० त्यसरी सीसीसीको निर्माण पार्टी फुट थिएन र होइन । पार्टी विभाजन भएको छैन र हैन । पार्टी विभाजन गर्न चाहनेहरुले पार्टी फुट्यो भनेर स्यालहुइया मच्चाइरहेका छन । पार्टीमा कोर्डिनेशन बनेको हो । नेकपा(मसाल) को आठौं महाधिवेशनले लिएको दक्षिणपन्थी कार्यदिशालाई सच्चाएर अगाडि बढ्न कोअर्डिनेशन अनिवार्य थियो र भयो । पार्टी नेतृत्वलाई सच्चाउन अझ एक वर्ष समय दिइएको छ । त्यो समयसम्म पनि पार्टी नेतृत्व नसच्चिए र दक्षिणपन्थी कार्यदिशालाई परित्याग नगरे क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गर्नु अनिवार्य हुनेछ ।

० अहिलेलाई सीसीसीको प्रयत्न क्रान्तिकारी विचार सहितको एकीकृत पार्टी नै बचाउनु हुन्छ । तर, नेतृत्व दक्षिणपन्थी भासबाट बाहिर निश्कन सकेन भने त्यसको जवाफदेही पनि पार्टी नेतृत्व नै हुन्छ र हुनेछ । विद्रोहको यो प्रारम्भिक चरण हो, यो झिल्को मात्र हो, अब डढेलो लाग्दै जानेछ ।

प्रिय कमरेडहरु, लालझण्डालाई माथी उठाउन तयार बन्नुस, देशभर कोर्डिनेशन गठन गर्नुस । क्रान्तिकारी विचारधाराको रक्षा दक्षिणपन्थीहरुको कानुनी बन्देजभित्रबाट सम्भव छैन । ० माघ १५ गते नेकपा(मसाल) को वैधानिक मोर्चा रास्ट्रीय जनमोर्चाको विशेष भेलाबाट रास्ट्रीय जनमोर्चा केन्द्रीय समन्वय समितिको गठन भएको छ । अब यो सीसीसी को वैधानिक मोर्चा बनेको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिलाई औपचारिक हिसाबले पार्टी फुटेको भनेर जसले बबन्डर मच्चाइरहेका छन, खासमा फुट चाहने मान्छेहरु तिनै नै हुन ।

० सत्ताको रसस्वादनमा चुर्लुम्म डुब्दै, नेपाली काङ्ग्रेसको पिछलग्गु बनेर राष्ट्रिय जनमोर्चाको नेतृत्वले पनि त्यही नेकपा(मसाल) को दक्षिणपन्थी सुधारवादी कार्यदिशामा पतन भएको अवस्थामा समन्वय समिती गठन गर्नु अनिवार्य थियो र त्यो भयो । ० पार्टी फुट्नको लागि फुटको घोषणा हुनुपर्दछ । तर मसाल र जनमोर्चाको समन्वय समिति बनाएका साथीहरुले फुटको घोषणा गरेका छैनन, पार्टी नेतृत्व नसच्चिए पार्टी पुनः गठन गर्ने बताएका छन । त्यो सही छ ।

० नेकपा(मसाल) र राष्ट्रिय जनमोर्चा तथा त्यस मातहतका जवसहरु क. मोहन विक्रम सिंह र चित्र बहादुर केसीको विर्ता वा पेवा होइनन । सयौं शहिदहरुको वलिदान हजारौ कार्यकर्ताको पसिना र लाखौ जनसमुदायको अपार मायाबाट नेकपा(मसाल) बनेको हो । नेकपा(मसाल) आफ्नो गुठी सम्झने र त्यसलाई त्यही रुपमा उपयोग गर्ने क. मोहन विक्रम सिंह कम्पनीमा पछिल्लो चरणमा राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिती घोषणा हुँदा ६ रेक्टर स्केलको भुकम्प जानू स्वभाविक हो । त्यसको निरंतरता त जवसहरुको पनि समन्वय समिति बन्दा झन ठूलो धक्का लाग्दै जानेछ ।

० पार्टी एकता र फुट निरपेक्ष हुँदैन । त्यो सापेक्षतामा नै हुन्छ । क्रान्तिका आधारभुत मूल्य–मान्यताहरुलाई तिलान्जली दिएर, प्रतिक्रियावादीहरुसङ्ग चुचेघाटी मिलाउदै वुर्जुवा सत्ताको रसस्वादनमा मसाल नेतृत्व चुर्लुम्म डुबेर वैधानिक मोर्चालाई त्यो आधारमा प्रयोग गरेपछि समन्वय समिति गठन नगरेर रमिता हेरेर बस्नु कदापी सम्भव थिएन । त्यसरी समन्वय समिति निर्माण भएको बुझ्नुपर्दछ ।

० जसले पार्टी फुटाउन चाहेका छन, पार्टीको भएको सम्पत्ति कब्जा गर्ने र पार्टी सम्पत्तिलाई व्यक्तीकरण गर्न उद्वत छन, तिनीहरुले योजनावद्व ढङ्गले नै पार्टी फुटाउन लागेका छन । त्यसको लागि भिन्न मतको वहुमत भएका समितिहरुको विघटन गर्दै कारवाही अभियान चलाएका थिए । त्यो काम मोहन विक्रम चित्र बहादुर र आनन्द शर्मा रहेको मुख्यालयले गरिरहेको छ । वास्तवमा फुटपरस्त त मोहन विक्रम सिंह हुन । जसले समग्र पार्टी इतिहासमा आफू अल्पमतमा भए पनि पार्टी फुटाउने र बहुमतमा भए पनि भिन्नमतलाई हटाएर पार्टी फुटाउने काम गर्दै आएका छन । उनलाई क्रान्तिकारी आन्दोलनको चिन्ता होइन, कम्युनिष्ट आन्दोलनमा राजनीतिक रोमान्स मात्र चाहिएको थियो र छ । सामन्ती तथा प्राधिकारवादी चिन्तनले ग्रस्त मोहन विक्रमको राजनीति कम्युनिष्ट आन्दोलनमा मात्र होइन, सामान्य प्रजातान्त्रिक आन्दोलनमा समेत आउटडेटेड भैसकेको छ ।

० यसप्रकारको अवस्थामा, नेपालको क्रान्तिकारी आन्दोलनको कार्यभार पूरा गर्ने जिम्मेवारी नेकपा(मसाल) केन्द्रीय समन्वय समिति तथा राजमो केन्द्रीय समन्वय समितिमा आएको छ । सीसीसी अर्धभूमिगत छ । राजमो समन्वय समिति खुल्ला । अब कमरेडहरु राजमो समन्वय समिति मार्फत् पार्टीका गतिविधिहरुलाई अगाडि बढाउँदै नेपालको क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा लैजानको लागि नयाँ आधारमा नयाँ ढङ्गले सङ्गठित बन्दै अगाडि बढौ । लालझण्डालाई थप उचाइमा उठाऔं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित