– नारायण शर्मा
नीति शब्दको ब्युत्पत्ति न र ईति वा नि र इति मिलेर भएको हो भन्न सकिन्छ । यसको अर्थ “अन्त्य न भएको“ अर्थात् अन्त्यहीन भन्ने हुन्छ ! अन्त्य नभएको भन्नुको मतलव यसको मूल्य, महत्ता, मान्यता र महिमा कहिले कम वा समाप्त न हुने भन्ने हुनजान्छ ! यसरी नीति एक सार्वभौम, सार्वजनीन र सार्वकालिक अवधारणा हो भन्न सकिने देखिन्छ ! जेहोस्, मानवजीवन र जगतको लागि नीतिको मर्म र महत्व अनि आवश्यकता र उपादेयता के कति र कस्तो छ वा हुन्छ भन्ने कुरा प्राचीन पूर्वीय दर्शन, सिद्धान्त र शास्त्र–ग्रन्थहरुका साथै परम्परा र प्रचलन अनि संस्कार र संस्कृतिहरुबाट पनि स्पष्ट छ नै !
यसरी नै नेतृत्व भन्नाले पनि नीतिको सिर्जन, अवलम्बन र कार्यान्वयन गर्ने नेता र उसमा रहेको यसप्रकारको क्षमता भन्ने बुझिन्छ ।
नीति र नेतृत्वको बिचमा अन्योन्याशृत, परिपूरक वा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । कुनै एकको अभावमा कुनै पनि व्यक्ति नेता बन्न नै सक्तैन । यसरी नै कुनै एक गलत भएमा त्यसले सही नीति वा सही नेतालाई नै खाइदिने दुर्भाग्य समेत हुन्छ । यद्यपि कतिपय तर्कवादी, कानुनी मार्क्सवादी र अवसरवादी बुद्धिजीवीहरुले अनि जड र एकाङ्गी द्वन्द्ववादीहरुले सही नीति भएमा गलत नेतृत्वलाई रुपान्तरण वा परिवर्तन गर्न सकिने हुनाले निरपेक्ष रुपमा सही नीतिको पक्षपोषण गर्दछन् ! तर हाम्रा अनुभवहरुले के देखाएका छन् भने सही नीतिले गलत नेतृत्वलाई बदल्ने भन्दा पनि गलत नेतृत्वले सही नीतिलाई नै तुलनात्मक रुपले बढी बदलिदिएका छन् । सोभियत रूसलगायतका कयौं देसहरुमा भएका प्रतिक्रान्तिका घटनाहरुले यो कुरा बारम्बार सिद्ध गरिरहेका छन् । त्यसैले हाम्रो जोड सही नीति र सही नेतृत्वमा नै हुनु पर्दछ । यही नै सही क्रान्तिकारी सोंच, सिद्धान्त र शैली हो ।
आज विश्वका थुप्रै पार्टी, समाज र राज्यहरुमा नीति र नेतृत्वबारेको स्पष्ट र, सही र क्रान्तिकारी अवधारणाको धेरै नै आवस्यकता र महत्व हुने गरेको छ । तथापि यस बारेमा यथेष्ट चर्चा भएको पाइँदैन वा भएको चर्चाले आवश्यकतानुसार काम गर्न सकेको छैन । जहाँ र जे काम गर्न– गराउनको लागि पनि सामान्यतया जसको नीति उसकै नेतृत्व प्रभावकारी र परिणाममुखी हुने कुरामा आम सहमति जस्तै हुनाले प्रायः नीतिअनुसारकै नेतृत्व निर्माण गरिन्छ । यो प्रथम अर्थात् उत्तम दर्जाको कुरा हो । यसो हुँदा नै आफ्नो सही नीतिलाई सहजै आफूले नै लागू गर्न–गराउन सकिन्छ र अपेक्षित परिणाम निकाल्न सकिन्छ ।
नीति आफ्नो तर नेतृत्व अर्काको भएको अवस्थामा नीति कार्यान्वयन भएमा त त्यो राम्रै हुन्छ, फलदायी नै हुन्छ; अन्यथा त्यो आशामुखी मात्र हुन्छ ! नेतृत्वले गरिदेला र परिणाम आउला भनेर बाटो हेर्ने गर्दैमा समय बित्छ । त्यसैले यो दोस्रो अर्थात् मध्यम दर्जाको कुरा हो ।
अर्काको नीति तर आफ्नो नेतृत्व आत्मरतिपूर्ण त होला तर अन्ततः त्यो प्रचण्डपन्थी हुन्छ । यो तेस्रो अर्थात् निम्न दर्जाको कुरा हो ।
मानिसहरु दोस्रो र तेस्रोमा कुन राम्रो भन्दा प्रायः सबैले तेस्रो राम्रो ठान्छन् र आफू नेता हुन पाएकोमा अथवा आफ्नो महत्वाकांक्षा पूरा भएकोमा गर्व गर्दै नीति गलत भएकोले परिणाम राम्रो न आएको हुनाले नीति फेर्नुपर्ने कुराको वकालत गर्दछन् । यसो गर्दा अन्ततः आफ्नो सही नीति पनि अकारण नै गलत साबित हुन पुग्ने खतरा रहन्छ भने नेतृत्व पनि गलत हुन पुग्ने अवस्था उत्पन्न हुँने हुँदा यो स्थिति देस र जनताको लागि त ज्यादै नै बदतर हुन्छ । साथसाथै, नेता स्वयंकै लागि पनि अन्ततः प्रत्युत्पादक हुन्छ ।
केही म जस्ता सोझा र इमान्दार मानिसहरुले नीति आफ्नो भएमा अर्थात् राम्रो र सही पारित भएमा र नेतृत्वले सो नीति कार्यान्वयन गर्ने गरेकोमा आफ्नो अभीष्ट अर्कैद्वारा पूरा गराउन सकेकोमा गौरव पनि गर्दछन् । यदी त्यसो हुन नसकेको खन्डमा नेतृत्व नीति कार्यान्वयन गर्नमा असक्षम र असफल भएको प्रमाणित गर्दै नेतृत्व फेरेर आफूले नेतृत्व लिने सुनौलो अवसर प्राप्त हुनेमा आशावादी हुने गर्छन् । यो अवस्थामा अर्काको अर्थात् गलत नीति पहिल्यै पराजित भैसकेको हुन्छ भने नेत्रित्व पनि पछिल्तिरसम्ममा असफल प्रमाणित हुने भएकोले आफ्नो सही नीति र नेतृत्वको निर्विकल्प अवस्था पैदा भएकोमा सुखानुभूति गर्ने गर्दछन् ! यो कुरा सही र स्वाभाविक नै हो र यसरी यो अवस्था भनेको अन्ततः र परिणामतः पहिलो दर्जाको अवस्था बन्न पुग्छ । त्यसैले यो दोस्रो दर्जाको अवस्थालाई थोरै मात्र सोझा र इमानदार नेताहरुले राम्रो अवसर मान्ने र छान्ने गर्दछन् ।
एउटा अर्को चौथो अवस्था पनि हुन्छ । यो अवस्था भनेको नीति पनि अर्कैको अर्थात् नीति पनि गलत नीति हुने र नेतृत्व पनि अर्को कुनै गलत व्यक्ति हुने अवस्था हो । यो अवस्था चरम पीडादायी अवस्था अर्थात् न खाउँ भने दिनभरिको शिकार कसरी न खाउंँ, खाउँ भने कान्छा बाबुको अनुहार कसरी खाउँ भन्ने अवस्था हो यो । अहिले धेरैजसो पार्टीहरुका थुप्रै नेताहरु पद, पैसा र पावर प्राप्तिको प्रलोभनमा परेर यही दुखद विडम्बना बेहोर्दै बसेका छन् । यदी उनीहरु सच्चा क्रान्तिकारी नीतिवादी र नैतिकतावादी हुन् भने त्यो पीडामा पिल्सिएर होइन, सर्वप्रथम त त्यहाँबाट मुक्ति पाउन विद्रोह गर्नु पर्छ अन्यथा आफ्नो नीति, नेतृत्व र नैतिकता समेत गुम्छ ।
अहिले ःऋऋ जस्तो महाघातक सम्झौता पनि क्रान्तिकारी कम्युनिस्ट भनिने पार्टी र राष्ट्रियताको पहरेदार मानिने नेपालको सार्वभौम भनिएको संसदबाट पारित भएबाट केही ठुला भनिएका पार्टीहरुमा रहेका खाँटी क्रान्तिकारी, देसभक्त र जनपक्षीय देखिएका नेताहरुका सन्दर्भमा एउटा अर्को प्रकारको दुखद विडम्बना पनि प्रकट हुन गएको छ । त्यो रुपमा नीति अनुसारको नेतृत्व नहुँदाको परिणाम जस्तो देखिए पनि सारमा त त्यो नीति र नेतृत्व दुवै नै गलत, अवसरवादी र आत्मसमर्पणवादी हुनुकै परिणाम हो ।
त्यसैले न त नीति सही हुँदैमा सबै ठिक भैहाल्छ भनेर आत्मरति गर्नु सही हुन्छ नत नेतृत्वले सो सही नीति कार्यान्वयन गराउँदा वा न गराउँदा पनि आफ्ना दुवै हातमा लड्डु हुन्छन् भनेर स्वैर कल्पना वा मनोगत अपेक्षामा बस्नु नै सही हुन्छ । बरु यो त अन्ततः, सारतः र परिणामतः अत्यन्त घातक र दुखद विडम्बनापूर्ण नै हुन्छ भन्नेमा हामी स्पष्ट हुनु पर्दछ । यो कुरा त अहिले दिनको घामझैं छर्लङ्ग नै भएको छ । देस, समाज, पार्टी र आन्दोलनमा नेतृत्व सही नहुँदा अर्थात् धोकेवाज, कायर, दलाल र गद्दार नेतृत्वलाई पनि सही, सक्षम, क्रान्तिकारी, देसभक्त र जनवादी नेतृत्व ठान्ने र मान्ने भूल र भ्रममा क्रान्तिकारीहरु परेको अवस्थामा कसरी पारित भएको पार्टीको सापेक्षित वा रुपमा सही, देसभक्तिपूर्ण र जनपक्षीय ठानिएको नीति पनि बेइमान नेतृत्वको कोप भाजनको शिकार बन्दोरहेछ र क्रान्तिकारी र देसभक्तिपूर्ण आन्दोलनको विसर्जन हुन पुग्दोरहेछ भन्ने कुरा फेरि एक पटक हाम्रो देसमा पनि हालै सहजै प्रमाणित भएको छ ।
साथै यसले गर्दा साहस र समर्पणका साथ सही र क्रान्तिकारी नीति निर्माण गर्नमा अनि सच्चा, सक्षम र साहसी क्रान्तिकारी नेतृत्व चिन्न, बिन्न अनि तिनलाई मान्न वा हान्न नसक्दा सापेक्षित सही नेताहरु र तिनका स्वयं आफ्ना तुलनात्मक रुपले सही नीतिको लागि र अन्ततः समग्र देस र जनताकै लागि समेत त्यो अवस्था के, कति र कसरी प्रत्युत्पादक, प्रतिक्रान्तिकारी र घातक हुँदोरहेछ भन्ने पनि ःऋऋ परित प्रकरणबाट प्रस्ट भएको छ । तसर्थ नीति र नेतृत्वका विषयमा हामी सच्चा क्रान्तिकारी कम्युनिस्टहरु अत्यन्तै सजग भैरहनु र सकृयता पूर्वक सही र क्रान्तिकारी नीति निर्माण गर्नमा अनि इमानदार र सक्षम नेतृत्व छनोट गर्नुका साथै सही नीति र नेतृत्वलाई सहयोग गर्दै संरक्षण र सम्बर्द्धन गर्नमा तथा गलत नीति र नेतृत्व बन्न सक्ने खतराप्रति सावधान रहँदै वा गलत नीति र नेतृत्व बनिहालेको खन्डमा त्यसका विरुद्धमा उपयुक्त अवस्थामा आवश्यक हस्तक्षेप र विद्रोह समेत गरी सही र क्रान्तिकारी नीति र नेतृत्व सहितको नयाँ वैकल्पिक शक्ति निर्माणको लागि हरहमेसा तत्पर भैरहनु पर्दछ । यही नै अहिलेको नेपालको कम्युनिस्ट क्रान्तिकारी र देसभक्तिपूर्ण आन्दोलनको ठोस आवश्यकता हो ! यही आवश्यकता पूर्ति गर्नतिर लाग्नुनै माओका शब्दमा ज्वारभाटाका विरुद्धमा जाने क्रान्तिकारीता हो ।