शशिधर भण्डारी
भारतीय उपमहाद्वीपमा करिव २५०० वर्ष अगाडि वर्ण व्यवस्थाको जग बसेको मानिन्छ । त्यस्तै करिव २००० वर्ष अगाडि ब्राह्मण राजा मनुले वर्ण व्यवस्थालाई वर्णाश्रम धर्मका रुपमा कडा बनाएको र त्यस पश्चात समग्र दक्षिण एशियाको हिन्दु समाजमा छुवाछुत प्रथा सूत्रपात हुँदै स्थापित हुँदै र विकसित हुँदै इतिहासका कालखण्ड पार गर्दै यहाँसम्म आएको देखिन्छ । इतिहास हेर्दा खस आर्य समुदायमा शुरुमा वर्ण व्यवस्थाको परिपाटी भएको पाइन्न । खस आर्यहरुको आदिमता शुरुमा वोन संस्कृति र त्यस पश्चात बौद्ध दर्शनसित जोडिएको देखिन्छ । बौद्ध र जैन दर्शन वैदिक कर्मकाण्ड, वर्णव्यवस्था र मूर्ति पूजाको विरुद्धमा आएको विचार थियो । विश्वका कैयन अनुसन्धानकर्ताहरु तथा इतिहासकारहरुले बौद्ध र जैन दर्शनलाई नास्तिक दर्शनको कोटीमा राखेको पनि पाइन्छ । वैदिक आर्यहरुले खस आर्यहरुलाई अछुत व्रात्य जातिका रुपमा विवेचना गरेर शूद्रकै कोटीमा राखेर हेयको व्यवहार गरेका ऐतिहासिक तथ्यहरु आज पनि भेटिन्छन् ।
भारतमा विशेषतः इस्लामहरुसित धार्मिक द्वन्द्व चर्केपछि कुमाउ गढवाल र नेपाल पसेका वैदिक सनातनीहरुले खस आर्य समाजमा पनि कामको आधारमा वर्ण व्यवस्थाको थिति बसाले । तिनीहरुले कामको आधारमा ब्राह्मणको कोटीमा परेकाहरुलाई वेद, कर्मकाण्ड र मनुको नीति पढाए । क्षेत्रीहरुलाई रणकौशलता सिकाए । मंगोलहरुलाई वैश्यको कोटीमा राखे । सोझो र सिधालाई सेवकका रुपमा राखेर शूद्र बनाएको देखिन्छ । वैदिक आर्यहरुले नै भारतको उत्तरी कछाडमा फैलिएका खस आर्य अन्तर्गतका पढ्ने पढाउने, कर्मकाण्ड गर्ने र ज्ञान बाँड्ने बाहुनको दर्जा पाएकाहरुलाई र राज्य चलाउने र त्यसको रखवारी गर्ने ठकुरी क्षेत्रीहरुलाई जनैधारी बनाइदिएका थिए । यसरी जनै पहिराउने क्रममा छुटेका खसहरु मतवाली क्षेत्रीका रुपमा समाजमा परिचित भए । आज पनि पश्चिम नेपाल तथा कुमाउँ गढवालमा मतवाली क्षेत्रीहरुका वस्तीहरु छन् । पूर्वतिर सरेका मतवाली क्षेत्रीहरुले पनि क्रमशः जनै धारण गर्दै गएको इतिहास पनि पाइन्छ । पश्चिम नेपालमा मतवाली क्षेत्रीलाई पावै खस भन्ने प्रचलन छ । पछि तिनीहरु पनि हिन्दुकरण हुँदै जनैधारी खस क्षेत्रीहरुसित समागम हुँदै गएको पनि देखिन्छ । ऐतिहासिकरुपमा त समग्र खस आर्य समुदाय मतवाली नै थियो । वैदिक आर्यहरुको प्राचीन इतिहास हेर्दा तिनीहरु पनि एकहदमा मतवाली नै थिए भन्ने कुरा ऋषिहरुले पिउने सोमरसको प्रसंगले प्रष्ट पार्दछ । श्रीकृष्णका सन्तान ५६ कोटी यदुवंशीहरु मदिरा पान गरेर आपसमा लडेरै समाप्त भएका थिए ।
वैदिक आर्यहरुले खस समुदायमा वर्ण व्यवस्थाको थिति बसाले तापनि खस समुदायमा छुवाछुत प्रथाले त्यति कडिकडाउ रुप लिन नसकेको जस्तो देखिन्छ । भारतमा जस्तो नेपालमा सतिप्रथा शुरुमा अनिवार्य थिएन भन्ने कुरा लिच्छवी कालका राजा मानदेवकी आमालाई सति जान नपरेको इतिहासले प्रष्ट पार्दछ । नेपालमा वर्ण व्यवस्था मूलरुपमा मल्लकालबाट कडा हुन थालेको थियो । आर्य समुदायकी भृकुटीको विवाह मंगोल मूलका चिनियाँ राजा स्रञ्चन गम्पोसँग भएको तथ्य इतिहास बोल्छ । यसले त्यतिबेलाको समाजमा वर्ण व्यवस्थाको स्वरुप झल्के तापनि अन्तरजातीय विवाहमा त्यति कडा बन्देज थिएन भन्ने प्रष्ट हुन्छ ।
वर्ण व्यवस्था र भाग्यवादी चिन्तन प्रणाली नेपाली समाजको प्रगतिको बाधक हो । यसरी पछि मात्र खस आर्य समुदायमा स्थापित भएको वर्ण व्यवस्था क्रमशः आरोलो लाग्दै गएको छ तर समावेशीकता, समानुपातिक प्रतिनिधित्व र आरक्षणको व्यवस्था अस्मितावादी राजनीतिका अंगहरु हुन् । यो अस्मितावादी राजनीतिअन्तर्गत दलितहरुले प्राप्त गर्ने यस्ता राहत समस्याका स्थायी समाधान होइनन् । यो राहतले दलित समुदायलाई एउटा उपेक्षित अस्तित्व र तहका रुपमा कायम राखिरहन्छ । त्यही तहको प्रश्नलाई लिएर नेताहरुले राजनीतिको गोटी चाल्छन् । त्यसको फाइदा समाजका टाठाबाटा दलितहरुले मात्र लिन्छन् । भारतमा अंग्रेजहरुको पालाबाट शुरु गरिएको आरक्षण आजसम्म कायम छ । तर सबै दलितहरु मुक्त हुन सकेनन् । त्यसोत यो समस्याको स्थायी समाधान वर्गीय दृष्टिकोणमा आधारित राजनीतिले मात्र गर्न सक्छ ।
लिच्छवीकालमा हिन्दु धर्मअन्तर्गतका पन्थहरुका बीचमा पनि विचारको प्रश्नलाई लिएर तिक्त अन्तरविरोधको स्थिति रहेको देखिदैन । राजा मानदेवकै परिवारमा हिन्दु धर्म अन्तर्गतको शैव तथा वैष्णव धार्मिक पन्थ मान्नेहरुले एउटै कसौं डीको भात खाएर एउटै परिवारमा मिलेर बसेको इतिहास छ । त्यसकारण नेपाल प्राचीनकालबाटै धार्मिक सहष्णिुतापूर्ण सभ्यताको मुलुकका रुपमा स्थापित हुँदै आएको तथ्य प्रष्टिन्छ । खस आर्यहरुको प्राचीन इतिहास हेर्दा त यिनीहरु हिन्दु कर्मकाण्डका विरुद्धमा जुधेको पनि देखिन्छ । मष्टो, बराह, कूलानी, गोठ देवता जल र प्रकृतिको पूजा गर्ने खस आर्यहरुको हिन्दु संस्कार आज पनि वैदिक सनातनी आर्यहरुसित मिल्दैन । नेपालको पश्चिम खण्डका खस साम्राज्यकालका शीलालेखहरुमा ऊँ मणि पद्मे हुँ लेखिएका छन् । यसबाट खस आर्यहरु एउटा कालखण्डमा बौद्धमार्गी भएका थिए भन्ने झल्को पाइन्छ । तर शिव र कैलाशको नाम पनि खस सभ्यतासित जोडिएर आउँछ । यसले खसहरु समुन्द्रको किनारमा विकास भएको विष्णुपूजक संस्कृति भन्दा कैलाशका शिवपूजक संस्कृतिको अनुयायी हुँदै हिन्दुकरण भएका थिए भन्ने केही आधारहरु देखा पर्दछन् । इतिहासका तथ्यहरुले खस आर्यहरुले वर्ण व्यवस्था स्वीकारे पनि त्यस्तो कट्टरता थिएन नै भन्ने कुरा प्रष्ट छ । सन् ८७९ तिर नेपालको वागमती उपत्यकामा लिच्छवी वंशको शासन अन्त्य भयो । त्यसपछि मल्लहरु शासन सत्तामा आए । त्यतिबेलाको भाँडिएको समाजलाई एउटा व्यवस्थापनमा ल्याउन हिन्दुधर्मीय वर्ण व्यवस्थालाई स्थापित वा कडिकडाउ पार्ने प्रयत्न गरियो । यसभित्र शासकहरुको सत्ता टिकाउने रणनीतिक स्वार्थ लुकेको थियो । त्यो स्वार्थ पूरा गर्न समाजमा वर्ण व्यवस्थाको नयाँ कथा जोडियो । जयस्थिति मल्लको शासन काल (१३६०–१३९५) मा भारतका कट्टर वैदिक ब्राह्मण कीर्तिनाथ उपाध्याय, मैथेल ब्राह्मणहरु रघुनाथ झा, रामनाथ झा तथा दक्षिण भारतका ब्राह्मणहरु महिनाथ भट्ट र श्रीनाथ भट्टलाई आमन्त्रण गरिएको थियो । ती वैदिक आर्य ब्राह्मणहरुले वागमती उपत्यकामा आएर उपत्यकाको समाजलाई चार वर्ण ६४ जातमा विभाजन गरे । अनि छुवाछुत प्रथालाई कडा बनाउने राजकीय नीतिहरु निर्माण गराएर फर्के । यसरी सिर्जना गराइएको जात व्यवस्थालाई उल्लंघन गर्नेलाई राजाहरुले दण्ड सजायको व्यवस्था गरे । शूद्रहरुको समुदायमा पनि अन्तरजातीय जात व्यवस्थाका उपक्रमहरु सिर्जना भए । यो व्यवस्था समग्र हिन्दुखस समुदायमा मात्र होइन बौद्ध धर्म मान्ने नेवारहरुको समुदायमा समेत विस्तार भएको थियो । लिच्छवीकालमा वागमती उपत्यकाको समाजलाई चार वर्ण अठार जातमा मात्र विभाजन गरिएको थियो ।
यसरी प्रजालाई विभाजन गरेपछि राज्य चलाउन सजिलो हुँदोरहेछ भन्ने सामन्त शासक राजाहरुले राम्रोसँग बुझेपछि तिनीहरुले वर्ण व्यवस्थालाई राम्रोसँग अनुशरण गर्नुपर्ने नीति बनाउन थाले । यसको प्रभाव जताततै पर्न थाल्यो । गोरखाका राजा राम शाह (१६०५–१६३६) ले वर्ण व्यवस्थालाई थप बलियो पारेर शासन गर्ने नीति अख्तियार गरे । उनले माना, पाथी र ढक तराजुको मात्र व्यवस्था गरेनन् आफ्ना प्रजाहरुलाई चार वर्ण छत्तीस जातमा विभाजन गरे । पछि राम शाहकै सन्तान पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान चलाए । उनले नेपाललाई चार जात छत्तीस वर्णको फूलबारी तथा असली हिन्दुस्थानाको रुपमा नेपाललाई उभ्याउन प्रयत्न गरे । एकीकरणपश्चात नेपाल खस आर्यहरुको राज्य, खस भाषा र खस भेषको एउटा हिन्दुधर्मीय मुलुकका रुपमा स्थापित हुन पुग्यो । राजा र राणाहरु कसैले पनि नेपालको वर्ण व्यवस्था र छुवाछुत प्रथामा सुधार ल्याउन चाहेनन् । इतिहासमा भीमसेन थापाले आफू खस भएकोमा गर्व गरेको पाइन्छ तर जंगबहादुर राणाले अब कसैले आफूलाई खस नभनोस् ठकुरी क्षेत्री र ब्राह्मण भनोस् भनेर उर्दी नै जारी गरेका थिए । उनले १९१० को मुलुकी ऐनमा जातपातको व्यवस्था समेत गरेका थिए ।
खस आर्य समुदायमा शासक वर्गले वर्ण व्यवस्थालाई कठोर बनाएर सत्ता राजनीति गरेका थिए । तर जातपात, वर्ण व्यवस्था, मूर्ति पूजा र अन्धधार्मिक संस्कारका विरुद्धमा जनस्तरमा विरोध र सुधारवादी आन्दोलन नेपालमा पनि चलेको थियो । सन्त शशिधर पौडेलले स्थापना गरेको जोशमनी सन्त मतले वर्ण व्यवस्थाविरुद्धमा आवाज उठाएको थियो । उनी पृथ्वीनारायण शाहका समकालीन हुन् । सन्त शशिधरका मुख्य चेला सन्त दिलदास मानिन्छन् । उनले त्यो समयमा पनि अन्तरजातीय विवाह गरेका थिए । समाजले उनलाई जात हराएको मान्छेको संज्ञा दिएको थियो । सन्त दिलदासले जात हराएको भन्ने सामाजिक प्रतिक्रियाको जवाफमा रुम्जाटारको बजारमा हराएको जात खोज्नुप¥यो भनेर दिउँसै राँको बालेर हिडेको कुरा इतिहासमा उल्लेख छ । त्यसपछि योगमायाले पनि यस्ता धेरै कुरीतिका विरुद्धमा आवाज उठाइन् । भनिन्छ उनको कुटीमा दलितहरुको भीड लाग्थ्यो ।
यस्ता केही सुधारवादी आन्दोलनको जगमा नेपालमा दलित मुक्ति आन्दोलन सञ्चालन भएको हो । वाम तथा लोकतान्त्रिक आन्दोलनको प्रवाहमा चलेको दलित आन्दोलनले केही सफलता प्राप्त गरेको छ । समावेशी तथा सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रमा आज राज्य सञ्चालनको विधिमा दलितहरुको प्रतिनिधित्व छ । वर्ण व्यवस्था कठोरबाट क्रमशः नरम हुँदै गएको छ । आरक्षणको व्यवस्था पनि छ । तर अझै वास्तविक रुपमा दलित समुदायको मुक्ति हुन बाँकी छ । वर्ण व्यवस्था र भाग्यवादी चिन्तन प्रणाली नेपाली समाजको प्रगतिको बाधक हो । यसरी पछि मात्र खस आर्य समुदायमा स्थापित भएको वर्ण व्यवस्था क्रमशः आरोलो लाग्दै गएको छ तर समावेशीकता, समानुपातिक प्रतिनिधित्व र आरक्षणको व्यवस्था अस्मितावादी राजनीतिका अंगहरु हुन् । यो अस्मितावादी राजनीतिअन्तर्गत दलितहरुले प्राप्त गर्ने यस्ता राहत समस्याका स्थायी समाधान होइनन् । यो राहतले दलित समुदायलाई एउटा उपेक्षित अस्तित्व र तहका रुपमा कायम राखिरहन्छ । त्यही तहको प्रश्नलाई लिएर नेताहरुले राजनीतिको गोटी चाल्छन् । त्यसको फाइदा समाजका टाठाबाटा दलितहरुले मात्र लिन्छन् । भारतमा अंग्रेजहरुको पालाबाट शुरु गरिएको आरक्षण आजसम्म कायम छ । तर सबै दलितहरु मुक्त हुन सकेनन् । त्यसोत यो समस्याको स्थायी समाधान वर्गीय दृष्टिकोणमा आधारित राजनीतिले मात्र गर्न सक्छ ।