१. देश चुनाबमय भएको छ – बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनलाई यहाँले कसरी हेर्नु भएको छ ?
–देश चुनावमय त भएको छ । तर दलहरु स्वार्थ केन्द्रित गठबन्धनमा लागेका छन् । यो चुनावद्वारा पनि पहिलेको भन्दा झन् भ्रष्ट र नालायक व्यक्तिहरु नै चुनिन सक्ने खतरा छ । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुने कुनै सम्भावना छैन । राज्यका संयन्त्रहरु सेटिङ्गमा चलेको जस्तो भान हुन थालेको छ । सरकार तथा निर्वाचन आयोगले सर्वाेच्च अदालतको फैसलाको अपहेलना गरी मतपत्रमा ‘नो भोट’ को लागि कोलम नछुटयाउनु, कानुनी रुपमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई भोट हाल्ने उचित प्रबन्ध गर्न नसक्नु, इलेक्ट्रोनिक भोटिङ्ग मेसिन (इभीएम)को व्यवस्था गर्न नसक्नु, मतदानकेन्द्र, मतदानस्थल र मतगणना स्थलमा पर्याप्त मात्रामा सिसीटिभी क्यामेरा सहितको सुरक्षा प्रबन्ध गर्न नसक्नुले सम्बन्धित निकायको बदनियत छैन भन्न सकिन्न । स्थानीय तह समृद्धिको आधार बन्नु पर्नेमा असक्षम नेतृत्वका कारण झन् बर्वाद हुने सम्भावना बढेको छ । यो निर्वाचनद्वारा दलाल–नोकरशाही–पूँजीवादी–संसदीय व्यवस्था थप बलियो हुने डर बढेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल सम्वोधन हुने कुनै सम्भावना देखिदैन ।
२. यो ब्यवस्था अन्तर्गत हुने चुनावहरुबाट जनताका आधारभुत समस्याहरु समाधान हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– यो चुनाव पनि जारी लुटतन्त्रलाई वैद्यानिकता दिने एउटा माध्यम मात्र बन्नेमा कुनै शंका छैन । राष्ट्रघाती र जनघाती दलका कार्यकताहरु आफुले भष्ट्राचार गरी कमाएको कालो धनको बलले मत लुटान तथा जनमतको खरिद गरेर चुनाव जित्ने दाउमा छन् । ती पार्टीका इमान्दार, जनप्रेमी र देशप्रेमी कार्यकताहरु छाँयामा परेका छन् । जनता रनभुल्लमा हुनुहुन्छ । यो निर्वाचनबाट पनि वास्तविक जनप्रतिनिधि चयन हुन नसक्ने भएको हुँदा जनताका आधारभूत समस्या समाधान हुन सक्ने कुनै छेक छन्द छैन ।
३. जनसमाजबादी पार्टी, नेपाल खासमा कस्तो पार्टी हो ? यसको दीर्घकालीन र तत्कालीन उद्देश्यहरु के के हुन ?
–जनसमाजवादी पार्टी, नेपाल राष्ट्रियताप्रति प्रतिबद्ध एक सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । यस पार्टीले आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा कठिन संघर्ष गर्दै आइरहेको छ । नयाँ जनवादी क्रान्तिको कार्यदिशा लिएको यस पार्टीको उद्देश्य नयाँ जनवादी व्यवस्था स्थापना गरी समाजवाद तथा साम्यवाद स्थापना गर्नु हो । शान्तिपूर्ण संघर्षमा दमन गरिए सशस्त्र संघर्षद्वारा राज्यसत्ता प्राप्त गर्ने जनताको सार्वभौम अधिकारप्रति खुल्ला रहँदै शान्तिपूर्ण जनसंघर्ष सञ्चालन गर्ने तथा जनप्रतिनिधिमुलक संस्थामा संक्रमण समेत गरी नयाँ जनवादी क्रान्तिका लागि आधार तयार गर्नु पार्टीको तत्कालिन कार्यनीति रहेको छ ।
४. नेपालमा क्रान्तिकारी कम्युनिष्टहरु छिरल्लिएर रहेको अवस्था छ , उनीहरुलाई एकीकृत गर्न के छ तपाइहरुसँग त्यस्तो योजना ?
–क्रान्तिकारी कम्युनिष्टहरु छिरलिएका छन् भन्ने कुरामा म विश्वास गर्दिनँ किन भने एक त कम्युनिष्टहरु, त्यहीमाथि क्रान्तिकारी कम्युनिष्ट छिरलिने भन्ने सवालै हुन्न । हो, आफ्नो स्वार्थ सिद्ध गर्नको लागि केही मान्छेले अलग–अलग कम्युनिष्ट नामधारी खुजुरे पसल भने खोलेका छन् र बेला बेलामा फाईदा लिएका पनि छन् । यस्ता स्वार्थी व्यक्तिहरुले नेतृत्व गरेको कुनै पनि कम्युनिष्ट नामधारी पार्टीसँग एकता हुनै सक्दैन र एकता गर्नु पनि हुन्न तर कम्युनिष्ट क्रान्तिकारीहरुको एकता जरुरी छ र सम्भव पनि छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउन चाहने व्यक्तिले आफूमा भएको केही व्यक्तिगत अहमलाई भने छोड्न तयार हुनै पर्छ ।
५. तपाईहरुले सबैभन्दा नजिकको मित्र शक्ति कसलाई मान्नु हुन्छ ?
–स्वभाविक छ कि–हामी देशप्रेमी, राष्ट्रवादी, क्रान्तिकारी कम्युनिष्टहरुलाई हाम्रो सच्चा मित्र शक्ति मान्दछौं । त्यसैगरी वामपन्थीहरु, लोकतन्त्रवादीहरु, मजदुर, किसान, राष्ट्रिय पुँजीपतिहरु र देशप्रेमी सबै नागरिकहरु पनि हाम्रा मित्र शक्ति हुन् ।
६. नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र तपाईंहरुको पार्टी सहित मिलेर संयुक्त मोर्चा बनेको रहेछ, खासमा यो मोर्चाको आवश्यकता किन पर्यो ?
– देशमाथि देशी÷विदेशी षड्यन्त्रकारीहरुको दमन बढिरहेको अहिलेको परिस्थितिमा देशलाई माया गर्ने र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल समाधान गर्न कटिवद्ध सबै राजनीतिक पार्टी, संघ÷संस्था, मञ्च÷मोर्चा, व्यक्ति÷व्यक्तित्वहरु एकजुट हुनु आजको आवश्यकता हो । त्यही आवश्यकताको महसुस गरी यो संयुक्त क्रान्तिकारी मोर्चाको निर्माण भएको हो । जनसमाजवादी पार्टी, नेपाल जस्तो देश र जनताको भाग्य र भविष्य प्रति चिन्तित पार्टीका लागि यस्तो महान उद्देश्य बोकेको मोर्चा बन्नु एकदम खुशीको कुरा हो ।
७. के त्यो मोर्चालाई तपार्इंहरु पार्टी एकताको तहसम्म लैजान चाहनुहुन्छ ? चाहनुहुन्छ भने के कति प्रगति भैरहेको छ त पार्टी एकताको लागि ?
–हो, हामी त्यही चाहन्छौं । नेतृत्व पक्तिमा रहेका केही साथीहरुले आफुमा रहेको संकीर्णतालाई त्याग्न सकेको खण्डमा हामी बीचको एकता तथा ध्रुवीकरणलाई कसैले रोक्न सक्दैन तर केही–केही अवाञ्छित तत्वले हाम्रो एकता भाँड्न पनि ठूलो ताकत लगाएका छन् । यस प्रति हामी सचेत छौं, अनभिज्ञ छैनांै ।
८. देशको राष्ट्रियता संकटको भुमरीमा फसिरहेको छ, गणतन्त्र लगायतका जनआन्दोलनका उपलब्धीहरुमाथि कालो बादल मडारिईरहेको छ, ठुला भनिने पार्टीहरु सत्ता स्वार्थमा रुमल्लिइरहेका छन् – यस्तो अवस्थामा ती पार्टी र नेताहरु एवं जनतालाई तपाईं के सुझाब दिन चाहँनुहुन्छ ?
–हो, दलाल पार्टी र तिनका नेताहरुका कारण नेपालको राष्ट्रियता गंभीर संकटमा परेको छ । यिनीहरुकै कारण गणतन्त्र धरापमा परेको छ । जनआन्दोलनको बलले प्राप्त उपलब्धीहरु गुम्ने खतरा पनि उतिकै छ । हामी त्यसो हुन दिंदैनौं र जनताले पनि दिनुहुन्न तर जनताको अवस्थामा सुधार आएन भने कुनै पनि व्यवस्था लामो समय टिक्न सक्दैन यो चाँहि पक्का हो । यो निश्चित हो कि–गणतन्त्र नामको यो लुटतन्त्र चाहिँ अब धेरै टिक्दैन । म पार्टीहरुलाई सचेत रहन र जनतालाई जागरुक रहन अनुरोध गर्दछु ।
९. अन्त्यमा हाँक साप्ताहिक मार्फत तपाईंले भन्न चाहेका तर मैले सोध्न छुटेका त्यस्ता केही विशेष कुरा छन कि ?
–धेरै विषयहरु त माथि आइसकेका छन् । हामी दलाल–नोकरशाही–पुँजीवादी संसदीय व्यवस्थालाई पूर्णतया स्वीकार गर्दैनौं । हामीले विवादित विभिन्न विधेयक, अध्यादेश र सरकारी काम कारबाहीको घोर विरोध गरेका छौं । हामीले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्शाको विरुद्ध नेपालको वास्तविक नक्शा जारी गर्नु पर्छ भनेर संघर्ष गर्दा ओली सरकारको दमन पनि झेल्यौं । तर ओली सरकार चुच्चे नक्शा ल्याउन चाहिं बाध्य भयो । ओली सरकारको गृहमन्त्री बादलको परिपत्रबाट लाखौं विदेशीलाई नागरिकता बाँड्ने प्रपञ्च गरेको थियो । तर हामीले सर्वाेच्च अदालत मार्फत त्यसलाई रोक्न सफल भयौं । हाल उक्त मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन छ । हामी नागरिकता विधेयक खारेजीको माग राखेर संघर्षरत छौं । त्यसैगरी हामीले एमसीसी सम्झौता विरुद्ध पनि अन्तिमसम्म संघर्ष ग¥यौं । हाम्रो संघर्ष अझै जारी छ ।
जनसमाजवादी पार्टी नेपालले क्रान्तिकारी उपयोगको नीति अनुसार स्थानीय तह निर्वाचन २०७९ लाई उपयोग गर्ने निर्णय गरी पार्टीले चुनाव चिन्ह “तारा” लिई पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएको छ । हामीले यो निर्वाचनलाई पार्टीको नीति तथा अवधारणालाई जनतासम्म पु¥याउने माध्यमको रुपमा मात्र लिएका छौं ।
हामी नेपालको सर्वाङ्गिण समृद्धिको लागि “क्त्ब्च् ःइम्भ्ी” लाई आर्थिक कार्यक्रमको रूपमा अघि बढाउँदैे ५ (पाँच) बर्षभित्रै वार्षिक प्रतिव्यक्ति आय ५०,०००।– (पचास हजार) अमेरिकी डलरसम्म पु¥याउन चाहन्छौं । त्यसैले “तारा”मा हालेको मत समृद्ध नेपाल निर्माणको निम्ति जनताको अभिमत हो । देशप्रेमी जनताको देश प्रेम हो । अन्त्यमा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा हाँक साप्ताहिकप्रति हार्दिक धन्यवाद प्रकट गर्दै यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।