ज्वाराभाटाका विरुद्ध अगाडी बढ्नुुपर्छ

  • सन्तबहादुर नेपाली

कहिले काही सत्यले हार्छ । तर अन्तिम जीत सत्य कै हुन्छ । त्यो जीत कति समयपछि, कति वर्षपछि भन्ने कुनै मिति तोकिएको हुँदैन । प्रायः मानिसहरुले आफ्नो आँखा सामुन्ने जे देखिरहेको हुन्छन्, जे सुनिरहेका हुन्छन्, त्यसैलाई सत्य ठानिरहेका हुन्छन् । किन कि मानिसहरु बाहिरी आवरण देखेर धारणा बनाइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरु सत्यको गहिराई बुझ्नतिर ध्यान दिएका हुँदैनन् वा बुझ्ने फुर्सत पनि हुन्दैन । दोस्रो कुरा यो पनि हो कि कुनै पनि सत्य निरपेक्षको साथ साथै सापेक्ष पनि हुन्छ । एउटै घरमा बस्ने परिवारका बीचमा पनि सत्यलाई बेग्ला बेग्लै ढंगले हेर्ने गरेको पाइन्छ । बाबु आमाले कुनै हट्टाकट्टा जवान माग्ने मान्छे वा जोगी भीख माग्न आयो भने भीख दिने गर्छन । उनीहरुका लागि त्यो भीक्षा दानले पुन्य हुने ठान्दछन् । तर छोराछोरीले भीख माग्नेलाई तिमी जस्तो मान्छेले काम गरेर खानुपर्छ भनेर भिक्षा दिन इन्कार गर्छन् । उनीहरुका लागि भीख दिएर धर्म हुँदैन । सबैले काम गरेर उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने कुरा सत्य लाग्छ । दुवै कुरा आ आफ्नो स्थानमा सत्य जस्तो लागे पनि छोराछोरीले भनेको कुरा नै सत्य हो । तर समाजले बाबुआमाको व्यवहारलाई सत्य मान्ने गर्छन् । बाटोमा हिंड्दा वा गाडीमा हिंडिरहेको बेला मन्दिर नजिक देखेमा मानिसहरु निधारसम्म हात लगेर मन्दिरलाई प्रणाम गर्छन् । तर मन्दिर एउटा मानव निर्मित निर्जिव बस्तु भनेर कतिपयले प्रणाम गर्दैनन् । धेरै मानिसहरुले मन्दिरहरुलाई प्रणाम गरे पनि त्यो मन्दिर जीवित मान्न सकिन्न । किनकि त्यो र त्यसभित्र मूर्तिहरु निर्जिव बस्तु हुन । निर्जिव वस्तुलाई पनि मानिसहरु आफ्नो धार्मिक आस्थाका कारण प्रणाम गरे पनि त्यो जीवित वस्तु बन्न सक्दैन । त्यो थाहा हुँदाहुँदै पनि एक अर्काको व्यवहार देखेर मानिसहरु युगौंदेखि प्रणाम गर्दै आएका छन् । मानिसहरु त्यसैलाई सत्य मान्दै आएका हुन्छन् । भित्रै मनबाट विश्वास गरेका हुन्छन् ।

राजनीतिक दलहरुको कुरो पनि त्यही हो । कुनै कारणले कुनै दललाई कुनै व्यक्तिले समर्थन गरे पछि उसले त्यही पार्टीमा रहेर बाँच्न अभ्यस्त भएको हुन्छ । पार्टी कहाँबाट कहाँ पुगेको हुन्छ तर समर्थक त्यही झुण्डिएको हुन्छ । वीपी कोइरालाको पालाको नेपाली कांग्रेस र अहिलेको नेपाली कांग्रेस आकास पातालको फरक छ । वीपी भारतीय विस्तारवादको सल्लाह नमान्नुको कारण भारत निर्वासन छोडेर राजासित मेलमिलाप गर्न नेपाल फर्कनु परेको थियो । तर अहिलेको नेपाली कांग्रेससँग राष्ट्रियताको त्यो भावना पनि रहेन । भारतीय विस्तारवादको दलालमा परिणत भैसकेको छ । अमेरिकाको पनि दलाली त्यही रुपमा गर्दै आएको छ । तर कार्यकर्ता र समर्थकले यो परिवर्तन देख्न नसक्दा कांग्रेसलाई राष्ट्रवादी ठान्दै पछ्याईरहेका छन् । त्यसैलाई प्रजातान्त्रिक पार्टी ठान्दछन् । पूर्व मालेको नीति र अहिलेको एमालेको नीतिमा आकास पातालको फरक छ । पूर्व माओवादी र अहिलेको माओवादी केन्द्रको नीतिमा आकास पातालको फरक छ । तर केही सचेत नेताहरु, जसले प्रचण्डको प्रवृत्तिलाई बुझ्न सफल भए, तिनीहरु पार्टी छोडे । जसले त्यो प्रवृत्तिलाई बुझ्न सकेनन, उनीहरु जनयुद्धकाल कै माओवादी ठानिरहेका छन् र उनीहरु त्यसैलाई पछ्याईरहेका छन् ।

आज नेकपा (मसाल) मा पनि ठीक त्यही प्रवृत्ति देखा परिरहेको छ । नेकपा (मसाल) को लामो समयदेखि क्रान्तिकारी परम्परा रहेको छ । पंचायतकालमा र त्यसपछि बहुदलीय व्यवस्थामा समेत मसाल क्रान्तिकारी विचार बोकेको पार्टी थियो । देशलाई आमूल परिवर्तन गर्न हुटहुटी भएका क्रान्तिकारीहरु नै त्यतिबेला पार्टीमा लाग्थे । बाँकी मान्छेहरु जता धेरै शक्ति छ, त्यतैतिर लाग्थे । किनकि राजनीतिक लाइन सही वा गलत भन्ने कुरा थोरै मान्छेले मात्रै बुझ्दथे । कालान्तरमा मसाल पहिलेको अवस्थामा रहन सकेन । उसले यथास्थितिवादी बाटो समात्यो । दलाल पुँजीवादी लोकतान्त्रिक गणतन्त्रलाई कांग्रेस तथा कथित कम्युनिस्टहरुले पुँजीवादी क्रान्ति सम्पन्न भएको र देश अब समाजवादमा प्रवेश गर्न लागेको बताएपछि मसाल पनि आफनो लक्ष्यलाई चटक्क छोडेर  दलाल पुँजीवादी व्यवस्थाप्रति समर्थन जनाएको छ । उसले “समाजवाद उन्मुख तथा प्रगतिशील कार्यमा जोड दिंदै जनवादी गणतन्त्रको स्थापना गर्ने” नीति पारित गरेको छ (हेर्नुहोस,मस्यौदा दस्तावेज पेज ७)

मसालले मूलत ः खु्रश्चेभी संशोधनवादको बाटो अपनाएको छ । त्यो बाटो भनेको वर्ग समन्वयको बाटो हो । मसालको वर्ग संघर्षको नीति समाप्त भएको छ । अब त्यो मजदुर किसानको पार्टी भनेर दावी गर्ने हक गुमाइसकेको छ । मसालले नेकालाई सामन्त र दलाल नोकरशाही पुँजीपतिवर्गको पार्टी हो र त्यो नयाँ जनवादी क्रान्तिको दुश्मन शक्ति हो भनेको छ । (हेर्नुहोस्, राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रस्ताव, पेज ३७) तर पार्टी नीति विपरित नेकासित रणनैतिक प्रकारको गठबन्धन बनाएर सत्ता साझेदार बन्न पुगेको छ । यसरी वर्गसंघर्षको नीति समाप्त भएको छ । कैयौं नेता र कार्यकर्ताहरुलाई मसाल अब दलाल पुँजीवादी व्यवस्थासित आत्मसमर्पण गरेको स्पष्ट थाहा छ । त्यो अवस्थामा नेता र कार्यकर्ताहरुका अगाडि दुईटा बाटाहरु रहेका छन् ः एउटा, मसालको पुँजीवादी नीतिलाई मानेर जाने, अर्को, त्यसको विरोध गर्ने । ती दुवै प्रवृत्ति मसालभित्र रहेका छन् । मानेर जानेहरु यतिबेला पार्टीले दलाल शासकहरुसित गठबन्धन गरेर सुविधाहरु प्राप्त गर्न पाएकोमा मख्ख छन् भने पार्टीको पुँजीवादी नीतिको विरोध गर्नेहरु पार्टी फुटाल्न हुन्न भन्ने यान्त्रिक अनुशासनका कारण आत्मसमर्पण गर्न पुगेका छन् । त्यसले गर्दा कथित अनुसासनको डरले आत्मसमर्पण गर्नेहरुका कारण क्रान्तिकारी आन्दोलन कमजोर बन्ने संभावना देखिएको छ । रुसी कम्युनिस्टहरुले खु्रश्चेभी वर्ग समन्वयवादी नीतिको खुलेर विरोध गर्न नसक्दा रुसी समाजवादी व्यवस्था ढल्न पुग्यो । कम्युनिस्ट पार्टी नै ध्वस्त भयो । त्यसको ठिक विपरित क. माओको नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले पार्टीभित्रको पुँजीपन्थीहरुसित संघर्ष चलायो । त्यसकारण पार्टी समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्न सफल भयो । यो बेग्लै कुरा हो कि माओको निधन पछि पुनः पुँजीवादीहरुले पुँजीवादको पुनस्र्थापना गर्न सफल भए ।

मसालभित्रका क्रान्तिकारी साथीहरुले निर्वाचनमा दुईचार सिट हासिल गर्ने नाममा सिद्धान्त र विचारलाई तिलाञ्जली दिन पुगेका छन् । त्यो कार्यबाट मसालको पुँजीवादी नेतृत्वले अहिलेको अन्तरविरोधलाई हल गर्न सफल भएकोमा खुशी प्रकट गरेको छ । मसालका उम्मेदवार तथा नेताहरु कांग्रेसको चार तारे झण्डा र रुख चिन्ह बोकेर गाउँ गाउँमा कांग्रेस उम्मेदवारको प्रचारमा हिंडेका छन् । हसिँया हथौडाको झण्डा बोक्ने हातहरु चार तारे झण्डा बोक्दा पनि  ग्लानी भएको हुनुपर्छ । तर पार्टीको गलत निर्णयले गर्दा कार्यकर्ताहरु अनुशासनको नाममा झण्डा बोक्नुको विकल्प पनि छैन । पार्टी नेतृत्वले गलत दिशा समातेपछि त्यसको विरोध गर्न नसक्नुको परिणाम मसाल पनि कांग्रेस जस्तो देखिने नियति देख्नु परेको छ । अर्कोतिर राजमो समन्वय समितिले सीमित मात्रामा उम्मेदवार उठाएको छ । क्रान्तिकारी नीति र विचारका अगाडि पद, प्रतिष्ठालाई लत्याएको हुनाले सीमित क्षेत्रमा उम्मेदवारी दिने अवस्था आएको छ । तर पनि सीमित रुपमा उठेका  उम्मेदवारहरु उच्च मनोबलका साथ क्रियाशील रहेका छन् । “ज्वारभाटाका विरुद्ध जानु” भनेको यही हो ।

अहिले पार्टीको ठूलो शक्ति मसाल नेतृत्वको पक्षमा छ । त्यसकारण विद्रोह गर्न चाहने कार्यकर्ताहरु पनि दबिएर त्यतै समर्थन गरेको देखिन्छ । धेरै मानिस कतातिर छन् भनेर जोखना हेरेर त्यसका पक्षमा लाग्नु माक्र्सवादी लेनिनवादी सोंचाई होइन । जसरी हिजोको कांग्रेस, माले, माओवादी आज पहिलेको अवस्थामा छैनन्, ठीक त्यही प्रकारले हिजोको मसाल आज त्यही रुपमा रहेको छैन । मसालमा आकाश पातालको परिवर्तन आइसकेको छ । त्यो कुरा सिद्धान्त र विचारलाई प्राथमिकता दिनेका लागि बुझ्न सकिने कुरा हो । तर सिद्धान्त र विचार भन्दा संख्यालाई प्राथमिकता दिनेका लागि यो सबै बुझ्न सकिने कुरा होइन । उनीहरुका लागि नीति र विचार गौण कुरा बन्न जान्छ । तर नीति र विचारलाई प्राथमिकता दिने कार्यकर्ताको ठूलो पंक्तिले त्यो कुरा बुझेर नै समन्वय समिति निर्माण गरेका हुन् । समन्वय समितिले आफ्नो लक्ष्यतर्फ निरन्तर कदम अगाडि बढाइरहेको छ । कसैलाई लाग्न सक्छ यिनीहरु पनि डिलाराम, नवराजहरुले जस्तै पार्टीलाई अर्को पार्टीमा लगेर बुझाउने छन् । त्यो भ्रम मात्र हो । वास्तविकता यो हो कि डिलाराम नवराजजीहरुको पार्टीको लाइनसित मतभेद थिएन । केही व्यवहारिक मतभेद मात्र थिए । विना लाइन उहाँहरुलाई पार्टी टिकाउन सम्भव थिएन । त्यसकारण अर्को पार्टीमा जानु बाध्यता थियो । हामी स्पष्ट रुपमा दक्षिणपन्थी संशोधनवादसितको भीषण संघर्षबाट गुज्रिएका कम्युनिस्ट हौं । हामी मसाल नेतृत्वको पुँजीवादी धारका विरुद्ध संघर्ष गर्दै आएका छौं । मसाल नेतृत्वले पार्टीलाई दक्षिणपन्थी दिशामा लगे पनि हामीले मसाललाई क्रान्तिकारी धार मै टिकाई राखेर अगाडि बढाउने छौं । क्रान्तिकारी संघर्ष नै मसालको पहिचान हो । वर्गसंघर्ष मसालको पहिचान हो । वर्गदुश्मनसँग सत्ताको भागबण्डाका लागि पंचायतकालीन कालरात्रीमा कार्यकर्ताहरु कष्टकर दिन बिताएका थिएनन्  नयाँ जनवाद, समाजवाद र साम्यवादमा पुग्नका लागि जेल, नेल र सहादतलाई हाँसेर स्वीकार गरेका थिए ।

अब मसालभित्र छिटै अर्को धु्रवीकरण हुनेछ । पुँजीवादी विचार भएका मसालका नेता तथा कार्यकर्ताहरु पुरानै पार्टीमा बस्ने छन् । त्यहाँ बस्न नसक्ने अवस्थामा एमाले वा माओवादी केन्द्रमा गएर आफ्नो स्थान बनाउँदै जानेछन् । क्रान्तिकारी विचार राख्नेहरु अहिले ढुलमुल भए पनि निर्वाचनपछि विशेष महाधिवेशनको बेलासम्म आफ्नो पंक्ति निश्चित गर्नेछन् ।

समन्वय समिति पार्टीको अल्पमत पक्षबाट जन्मिएको हो । त्यसकारण मसालको क्रान्तिकारी धारा यही नै हो । अल्पमत सधै अल्पमत रहँदैन । अल्पमत भन्नुको अर्थ सधै थोरै भन्ने पनि हुँदैन । सही विचार अल्पमतमा परेको मात्र हो । त्यसकारण कुनै व्यक्ति अल्पमतमा समर्थन जनाउनुको अर्थ थोरै व्यक्तिको पक्षमा लाग्नु भन्ने होइन । बरु अल्पमतको पक्षमा लाग्नु भनेको सही विचारको पक्षमा लाग्नु भन्ने हो । कुनै बेला सही विचारको पक्षमा थोरै मानिसहरु पनि हुन सक्छन् । समाज विकासको नियम अनुसार थोरै धेरैमा परिणत हुन्छ भने धेरै थोरैमा पनि परिणत हुन्छ । त्यसको कारक तत्व त्यसभित्र अन्तरनिहित विचार पक्ष हो । मोहन विक्रम सिंह पाँचौं महाधिवेशनबाट कार्वाही गरिंदा एक्लै थिए । तर तात्कालिन अवस्थामा उनको विचार सही भएकै कारण मसालको संगठन देश विदेश फैलिएको थियो । सयौं कार्यकर्ताहरु नोकरी पेशा छाडेर होमिएका थिए ।  अहिले गलत विचार भएपछि पनि त्यही रुपमा संगठन रहन्छ भन्ने हुदैन ।  त्यही प्रकारले समन्वय समितिको क्रान्तिकारी विचार अहिले थोरै व्यक्तिको बीचमा भए पनि भोलि क्रान्तिकारीहरुको बृहत केन्द्र र क्रान्तिकारी मूलधार बन्ने छ । त्यो दिशामा हाम्रो प्रयत्न जारी रहन्छ ।

कुनै पार्टी प्रति आस्था र निष्ठा राख्नु त्यतिबेलासम्म उचित र जायज हुन्छ जतिबेलासम्म उसले सही नीति अपनाउँछ । पार्टीले नीति परिवर्तन गरेपछि त्यसलाई पूर्ववत् अवस्थामा मान्ने कुरा जायज हुँदैन । तर हामीले जबसम्म गहिराईमा पुगेर अध्ययन गर्दैनौं, त्यतिबेलासम्म सत्यलाई बुझ्न सक्दैनौं । तसर्थ सत्यलाई समयमै बुझ्ने प्रयास गर्नुपर्छ । समय बितेपछि सत्य बुझेर त्यसको केही अर्थ हुँदैन । रुस, चीनका जनताले अहिले सत्य बुझेर तत्काल कुनै अर्थ छैन । नेका, एमाले, माओवादीका कार्यकर्ताले अहिले सत्य बुझेर केही अर्थ छैन । एमसीसी सम्झौताको विरोध गर्नेहरु पार्टीले संसदबाटै पारित गरेपछि पनि त्यही आत्मसमर्पण गर्नुको कुनै विकल्प नरहनु त्यसैको परिणाम हो ।

क्रान्तिकारीहरुका निम्ती तत्कालका लागि सत्य ओझेलमा परेको छ । कतिपय दक्षिणपन्थीहरुलाई क्रान्तिकारीहरुको नीति र कार्यक्रम मजाक जस्तो बन्न सक्छ । डा. केशरजंग रायमाझीले दरबारलाई समर्थन गर्दा त्यतिबेला विद्रोह गर्नेहरु पनि मजाकका विषय बनेका थिए होलान । तर विद्रोह गरेकाहरु नै कम्युनिष्ट आन्दोलनलाई यहासम्म ल्याइपुर्याउने काम गरेका छन् । अहिले पात्रहरु बदलिएका छन् तर प्रबृत्ति उस्तै उस्तै छ । यो प्रबृत्तिका विरुद्ध संघर्ष गर्दै नयाँ जनवाद र समाजवादसम्म लैजाने जिम्मेवारी अहिलेका विद्रोहीहरुको काधमा आइपुगेको छ । दक्षिणपन्थीहरुको हमलाका बाबजुद विश्वका सबै जसो मुलुकमा क्रान्तिकारीहरु तमाम कष्ट र दुःख झेल्दै क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेका छन् । भारतमा भाजपा जति शक्तिशाली भए पनि क्रान्तिकारीहरु झुकेका छैनन् । कांग्रेसी गठबन्धनमा बसेर आफूलाई शासक ठान्ने दक्षिणपन्थी पँुजीवादीहरुको आक्रमणले समन्वय समितिका क्रान्तिकारीहरुको पनि आस्था ढल्ने छैन । सत्य र न्यायको जीत हुन्छ । तर क्रान्तिकारीहरु धैर्य, संयम अनुशासित र अविरल यात्रामा अगाडि बढ्न सक्नु पर्छ ।

फाइदा र सुविधाको राजनीति गर्नेले जनताको सेवा गर्दैन । उसले व्यक्तिगत नाफा घाटालाई राजनीतिको केन्द्र बनाउँछ । पुँजीवादी व्यवस्थामा यो आम प्रचलित संस्कार हो । हामी त्यो संस्कारबाट मुक्त हुन सकेनौं भने पुँजीवादले हामी सबैलाई लपेट्ने छ । त्यही भएर चीनमा क. माओले सर्वहारा सांस्कृतिक क्रान्ति गर्नु परेको थियो । सजिलो बाटो हिंडेर नाम मात्रको  “कम्युनिस्ट” बन्न सजिलो छ । तर ज्वारभाटाका विरुद्ध लडेर कम्युनिस्ट बन्न कठिन छ । हामी त्यही कठिन बाटोको यात्रामा लागेका छौं । जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाको संघर्षमा क्रान्तिकारीहरु थाकेर आत्मसर्मपण गर्नु वा हार खानु हुदैन किनकी यो लडाइमा  हामी मात्र होइन, आम जनता नै त्यो बाटो नहिंडि सुख छैन । हाम्रो खुशी भनेको अन्ततः जनताको मुक्ति र राष्ट्रिय स्वाधीनता नै हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित