- रामबहादुर बुढा
बैशाख १८ गते का . मित्रमणि आचार्यको हत्या भएको ३७ वर्ष पूरा भएर ३८ औं वर्षमा प्रवेश भयो । यसपालिको सहिद मित्रमणिको स्मृति दिवसका सन्दर्भमा मेरा मनमा कैयौं प्रश्नहरु उब्जिएका छन् । मित्रमणिको हत्याका योजनाकार वा हत्याराहरु कहाँ छन् र के गर्दै होलान् ? अहिले आफुलाई वामपन्थी बताउनेहरुले मित्रमणिका हत्याराहरुहरु सित कस्तो सम्बन्ध राखेका छन् ? कांग्रेस सितको चुनाबी तालमेलको दीर्घकालीन असर के हुन्छ ?
मित्रमणि आचार्य पिता रेशमराज आचार्य र आमा पिताम्बरदेबी आचार्यको कोखमा २०१९ असार ११ गते प्युठान जिल्लाको रम्दी गाउँ पंचायतको तिघ्रामा जन्मनु भएको थियो । उहाँले तिघ्रा प्राबिबाट अध्ययन सुरु गरी खैरा निमाविबाट सात कक्षा, मुक्ति माबि रातामाटा प्युठानबाट एसएलसी, पक्लिहवा रुपन्देहीबाट आइएससी एजि उत्तिर्ण गरी रामपुर चितवनबाट बिएसएजिसम्म अध्ययन गर्नु भएको थियो । २०३६ सालमा पक्लिहवा कलेजबाट अखिल छैठौ इकाई समिति, रुपन्देही जिल्ला समिति सदस्य, चितवन जिल्ला समितिको कोषाध्यक्ष, उपाध्यक्ष हुँदै केन्द्रीय समिति सदस्यसम्म रहेर सङ्गठनमा काम गर्नु भएको थियो । २०३८ मा पक्लिहवा कृषि कलेजमा र २०४१ मा चितवन रामपुर कृषि कलेजमा दुवै पल्ट अखिल प्यानलबाट स्ववियु सभापति निर्वाचित हुनु भएको थियो ।
का. मित्रमणिको हत्याको योजना सम्बन्धमा २०४२ जेष्ठ २ गते काठमाडौंबाट प्रकाशित योजना साप्ताहिक वर्ष ३, अंक ५ मा लेखिएको छ,“नारायणगढको फेवा होटेलमा प्र. नेपाली काङ्ग्रेस चितवन जिल्लाका नेताहरु कृष्णलाल सापकोटा, नन्दकिशोर जोशी, गोपाल जोशी, टेकनारायण शर्मा, लुकबहादुर राना र नारायण शर्माको उपस्थितिमा बैठक बसी हत्याकाण्डको योजना बनाए ।”
योजना साप्ताहिकले लेखेको मित्रमणिको हत्या योजना बनाउने ब्यक्तिहरुबारे तत्कालीन राजनीतिमा चासो राख्ने ब्यक्तिहरु सित बुझ्दा निम्न कुरा थाहा हुन आयो । कृष्णलाल सापकोटा पुराना काङ्ग्रेस हुन । उनी नारायणगढ बेलचोकका हुन् । उनी अहिले पनि काङ्ग्रेसकै राजनीति गर्दछन् । स्थानीय निर्वाचन २०७९ मा केन्द्रबाट पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा माओवादीकी रेणु दाहाललाई मेयर उम्मेदवार बनाएको छ । तर चितवन कांग्र्रेसको एउटा पक्ष केन्द्रको निर्देशनलाई अस्वीकार गर्दै कांग्र्रेसको तर्फबाट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई अगाडि बढाएको छ । भुइँकटर चिन्हमा कांग्रेसका जगन्नाथ पौडेल उम्मेदवार बनेका छन् । मित्रमणिको हत्याको योजनाकार मध्येका एक (योजना साप्ताहिक अनुसार) कृष्णलाल सापकोटा अहिले स्थानीय निर्वाचनमा जगन्नाथ पौडेलको उम्मेदवारीको प्रस्तावक हुन् । नारायण शर्मा चितवन भिमनगरका हुन् । उनी लामो समयसम्म शिक्षक थिए । उनी सांसद पनि बने । माओवादीले घरमा वम हानेको नाममा उनले विगतमा राज्यबाट रकम क्षतिपूर्ति लिएका थिए ।
योजना साप्ताहिकमा अगाडि लेखिएको छ, “त्यस पछि दिब्यनगर गाउँ पंचायतका प्रधानपञ्च गुरुदत्तको घरमा र १७ गते बेलुका नन्दकिशोर गौतमका घरमा गुरुदत्त पौडेल, रामप्रसाद जोशी, महाबिष्णु जोशी, नारायण शर्मा, नन्द किशोर गौतम, विद्यालय संचालक समितिका अध्यक्ष दल सिंह र प्र.अ. चन्द्र दत्तको उपस्थितिमा कृष्णलाल सापकोटा सहितले बनाएको पूर्ब योजना लागू गर्न बैठक बसेको थियो ।” ती योजनाकारहरुबारे बुझ्दै जाने हो भने अबश्य पनि धेरै कुरा थाहा हुनेछ ।
बैशाख १८ गते मित्रमणिलाई हत्या गर्न मेघौलीमा आक्रमण गर्ने मुख्य ब्यक्तिहरु निम्न थिए १) महेन्द्र श्रेष्ठ – उनी रामपुर कृषि कलेजका नेपाल विद्यार्थी संघका इकाई अध्यक्ष थिए । उनी चितवन चनौली बजारका हुन् । उनले आफ्नो जीवनमा व्यापार ब्यबसाय अपनाए । २) पूर्ण बहादुर गुरुङ – चितवन रामपुर कृषि कलेजमा २०४१ को स्व.वि.यु .निर्बाचनमा मित्रमणि आचार्य सित सभापति पदमा प्रतिद्वन्द्वी थिए । उनी मित्रमणी आचार्य सित पराजित भएका थिए । गुरुङ चितवनका हुन् । ३) कृष्णराज अर्याल – अर्याल २०३८ असोज १८ गते रुपन्देहीको पक्लिहवा कृषि कलेजमा सम्पन स्व. वि.यु . निर्बाचनमा नेबि संघको तर्फबाट सभापति उम्मेदवार थिए । उनी मित्रमणिआचार्य सित पराजित भएका थिए । ४) रबिन्द्र नारायण दास– उनी रामपुर कृषि कलेजमा २०४१ को स्व.वि.यु. निर्वाचनमा नेबि संघको तर्फबाट सहसचिवको उम्मेदवार र अखिल प्यानल सित पराजित ब्यक्ति हुन् । ५) भार्गव धिताल– उनी रामपुर कृषि कलेजमा २०४१ को स्व. वि .यु . निर्वाचनमा नेबि संघको तर्फबाट उम्मेद्वार थिए र अखिल प्यानल सित पराजित ब्यक्ति हुन् ।
मित्रमणिको हत्या हुनुमा कलेज प्रशासन र सरकारको जिल्ला प्रशासन एवं प्रहरी प्रशासनको समेत दोष रहेकोछ । रामपुर कृषि कलेजका डीन बिन्देश्वरी प्रशाद सिन्हाले नेवि संघलाई काखी च्याप्ने र अखिलमाथि अर्घेलो व्यवहार गर्दथे । अखिलले नेतृत्व गरेको स्व.वि.यु. कार्यक्रमलाई अस्वीकार गर्ने र नेबि संघको कार्यक्रममा गएर अतिथि बनेर भाषण गर्ने गर्दथे डीन सिन्हाले । ने.बि .संघले गरेका अपराधहरुलाई कलेज प्रशासनले सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालको मिलेमतोमा अखिल पक्षलाई दमन गर्दथे । पन्च र कांग्रेस मिलेर मित्रमणि आचार्यलाई षड्यन्त्रपूर्ण तरिकाले हत्या गरेका थिए । २०४२ बैशाख १६ गते रामपुरबाट साङ्गठनिक काममा हिडेका मित्रमणि आचार्यलाई बैशाख १८ गते चितवनको मेघौलीमा लखेटी लखेटी आक्रमण गरेका थिए । एउटा आदिवासी थारुको घर तोडफोड गरेर उहाँलाई धारिला हतियार, चक्कु छुरीले आचार्यमाथि आक्रमण गरेका थिए ।
विगतमा आफुलाई कम्युनिस्ट बताउने पार्टीहरुले रणनीतिक उद्देश्यलाई ध्यान दिएर चुनावी नीति तय गर्दथे तर संसदीय बहुदलीय ब्यबस्थाको अभ्यास हुँदै जाँदा विद्यमान राजनीतिक जोड घटाउ, पदीय लाभ, सत्तास्वार्थको जोड घटाउ गरेर चुनावी नीति तय गर्ने प्रचलन बढ्दै गएकोछ ।
नेपाली कांग्र्रेस सित आफुलाई वामपन्थी बताउने पार्टीहरुले गरिरहेको चुनाबी तालमेललाई हेर्दा मलाई पुष्पलालको जीवनको पछिल्लो कालको स्मरण भैरहेको छ । केन्द्रीय समितिका ६ जना सदस्यहरुलाई लिएर पुष्पलाल श्रेष्ठले २०२५ सालमा बेग्लै केन्द्रीय समिति बनाउनुभयो । अर्घाखाँची, बागलुङ, पर्बत, गुल्मी, पाल्पा, स्याङ्जा लगायतका जिल्लाहरुमा घनिभूत सङ्गठन निर्माण भए । ठूला ठूला किसान आन्दोलन पनि भए । अर्घाखाँचीमा ह¥रेब¥रे काण्ड भयो । तर पुष्पलालले कांग्र्रेसलाई मित्र शक्ति भनेको बिषयलाई लिएर कार्यकर्ताहरुले पुष्पलाल सित व्यापक असन्तुष्टि जनाउँदै गए । विशाल पार्टी छिन्न भिन्न हुँदै गयो । मदन भण्डारी, जीबराज आश्रीत, मोदनाथ प्रश्रित, दिल साहनी सहितले मुक्ति मोर्चा समूह बनाई माले निर्माणमा जोडिए । २०२८ मा मोहन बिक्रम सिंह जेलबाट निस्की सकेपछि उहाँ भन्दा पहिले जेलबाट निस्किएका मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, निर्मल लामा लगायत मिलेर न्युक्लियस बनाउने कार्य भयो । २०३१ मा चौथो महाधिवेशन सम्पन्न भयो । पुस्पलालको कांग्रेस परस्त सोचाईको विरोध गर्ने ठूलै पंक्ति पुष्पलाललाई छाडेर चौथो महाधिवेशन धारमा आबद्ध हुन आए । गोबिन्द सिंह थापा, माधव ज्ञवालीलगायत कामरेडहरु पुष्पलाल छाडेर चौथो महाधिवेशनमा आउने मध्येका हुनुहुन्छ ।
नारायणमान बिजुक्छे र रुपलाल बिश्वकर्मा पनि पुष्पलाल सित साङ्गठनिक सम्बन्ध तोडेर फरक साङ्गठनिक अभ्यासमा लागे । पुष्पलाल समूहका राजाबन्दीहरु युवराज पन्थी, विष्णु प्रभात, टङ्कनाथ पौडेल , हरेराम शर्मा र उदय आचार्य पाँच जनाले कम्युनिस्ट एकता सम्पर्क बनाएका थिए । त्यो समूहले “रातो झण्डा” नामक प्रकाशन निकालेको हुनाले त्यसलाई रातो झण्डा समूह भनिन्थ्यो । रातो झण्डा समूहमा बिभाजन आई बहुमत पक्ष युबराज, टङ्कनाथ र उदय आचार्य मोहन बिक्रमले नेतृत्व गरेको चौथो महाधिबेशन धार तर्फ लागे भने अल्पमत पक्ष बिष्णु प्रभात र हरेराम माले धार तिर आबद्ध भए । यसरी काङ्रेस सितको पुष्पलालको नीतिका कारण पुष्पलाललाई धेरैले छोडेर हिंडे । अन्त्यमा पुष्पलालजीका श्रीमती साहना प्रधान र बलराम उपाध्याय लगायत केही सीमित मात्र बाँकी रहे । अहिले मसालमा काङ्ग्रेस, मधेसवादी सहित सितको सम्बन्धलाई ल्याएर कार्यकर्ता पंक्तिमा व्यापक असन्तुष्टि बढेर गएको छ ।
कांग्र्रेससँगको गठबन्धनले केही ठाउँमा जित होला तर यस प्रकारको नीतिले क्षणिक रुपमा लाभ भए पनि दीर्घकालीन रुपमा वर्गसंघर्षको राजनीति कमजोर बन्दै जाने र वर्ग समन्वयवाद हावी हुँदै जाने देखिन्छ । कार्यकर्ताहरुमा वर्ग समन्वयवाद हाबी हुँदै जाँदा यसको दश वर्ष पछि कम्युनिस्ट आन्दोलनको स्थिति के होला ? त्यो कोणबाट पनि समीक्षा गर्न जरुरी छ । सहिद मित्रमणि दिवसको सन्देश वर्ग संघर्षलाई आत्मसाथ गर भन्ने हो ।