– नारायण शर्मा
आज १३३ औं मई दिवस ! अन्तर्राष्ट्रिय मजदुर दिवस वा श्रमिक दिवस अर्थात् श्रमिकहरुले दासको स्तरबाट दिनको ८ घन्टा मात्र काम गर्नुपर्ने व्यवस्था लागु गराउन र नागरिकको हैसियत प्राप्त गर्न सफल भएको ऐतिहासिक दिन !
सर्वप्रथम यस दिवसको इतिहास निर्माणमा रगत बगाउने सिकागोका मजदुरहरुको संघर्ष र बलिदानीलाई स्मरण, श्रद्धा र सलाम ! साथै मजदुर मुक्ति आन्दोलनबाट प्राप्त सफलताको लागि जीवनको आहुती दिने संसारका सम्पूर्ण महान् विचारक र योद्धा लगायत आन्दोलनमा विविध रुपले योगदान पुराउने नेता, मजदुर, बुद्धिजीवी आदि सबैलाई उच्च सम्मान र सलामी ! यसका अतिरिक्त संसारका सम्पूर्ण सर्वहारा श्रमिक वर्गको पूर्ण र स्थायी मुक्ति, प्रगति र समृद्धिको लागि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसँग अभिन्न रुपले जोडिएर अजेय रुपमा अघि बढ्नको लागि एकताबद्ध भएर समर्पित रुपमा लाग्न, लड्न र बढ्न सम्पूर्ण शोषित–पीडित मजदुरहरु र मजदुर मुक्ति आन्दोलनहरुलाई हार्दिक शुभकामना !!
विश्वमजदुर आन्दोलनका सन्दर्भमा केही आधारभूत मननीय कुराहरु यसप्रकार छन् ः
१. मई दिवस मजदुर मुक्ति दिवस हो !
२. मई दिवस सर्वहारा–श्रमजीवी मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस हो !
३. मजदुर आन्दोलन भनेको सर्वहारा श्रमजीवीहरुको नै आन्दोलन हो !
४. यो आन्दोलन मालेमावादद्वारा निर्देशित र परिचालित हो ।
५. यो आन्दोलन बाह्य रुपमा पुँजीवादका विरुद्ध र आन्तरिकरुपमा ट्रेड युनियनवाद र अर्थवाद जस्ता विचलनवादका विरुद्धको संघर्षबाट बचेको र बनेको समाजवादी आन्दोलनको अभिन्न आन्दोलन हो !
६. अहिले मजदुर आन्दोलनमा व्यक्तिवाद, उपभोक्तावाद, दलालीकरण र आत्मसमर्पण जस्ता विकृति, विसङ्गति, बेइमानी र बदमासीका प्रवृत्तिहरु हावी हुने खतरा बढेको छ !
७. श्रम, खासगरी शारीरिक श्रम गर्ने, श्रमिक व्यक्ति, वर्ग, व्यवहार र विचारलाई माया, श्रद्धा र विश्वास गरी संघर्ष गर्नेहरु मात्र सच्चा सर्वहारा श्रमजीवी मजदुर हुन् र तिनीहरू नै यो मई दिवस र मजदुर आन्दोलनका वास्तविक हकदार र पक्षधर हुन् ।
८. सर्वहारा श्रमजीवी मजदुर वर्ग सबैभन्दा कान्छो र शक्तिशाली क्रान्तिकारी वर्ग हो ।
९. यो वर्गले अवलम्बन गर्ने मालेमावादी विचार र यो विचारको आधारमा गरिने व्यवहार र मुख्यतः वर्गसंघर्षबाट नै मानव जातिले वास्तविक, पूर्ण र स्थायी मुक्ति, समानता र स्वतन्त्रता प्राप्त गर्दछ !
१०. मोनेरा वा अमिवादेखि बाँदर हुँदै मानवसम्मको विकास र संसारका सबै भौतिक र आत्मिक विकास–निर्माणमा श्रमको भूमिका प्राथमिक, मुख्य र निर्णायक रहि आएको छ ।
११. आज श्रम, श्रमिक, सर्वहारावर्ग, श्रमजीवी मजदुर र यी सबैको अर्थ, औचित्य, आवश्यकता, क्षमता, भूमिका र योगदानलाई पुँजी, प्रविधी र प्रतिभा (बुद्धि)ले निषेध गर्ने चिन्तन, प्रवृत्ति र प्रयास भैरहेको छ, जो अत्यन्तै गम्भीर, भयावह र दुखद कुरा हो ।
१२. विगतमा मजदुर आन्दोलनमा देखिएका जुझारु अर्थवाद र ट्रेड युनियनवादजन्य विचलनवादी चिन्तन–प्रवृत्तिहरु आज एनजीओ÷आइएनजीओकरण र आर्थिक–सांस्कृतिक भ्रष्टीकरण हुँदै सम्झौतावाद र आत्मसमर्पणवादजस्ता सर्वाधिक घातक चिन्तन–प्रवृत्तिको स्तरसम्ममा पुगेका छन् !
१३. फलतः आज विश्व मजदुर आन्दोलनसँगै नेपाली मजदुर आन्दोलनहरु पनि विवाद, विभाजन र विसर्जनको विडम्बनापूर्ण अवस्थामा पुग्नाले चरम रक्षात्मक बनेका छन् नै, साथसाथै विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन पनि बढी नै रक्षात्मक बनेको दुखदतम अवस्था छ ।
१४. यसप्रकारका संक्रमण, आक्रमण र विचलनका विरुद्ध तीखो वैचारिक संघर्ष संचालन गरी निर्णायक स्तरमा पुराएर उपरोक्त यावत् विचलन, विकृति र विसङ्गतिमाथि विजय प्राप्त गर्नको लागि मालेमावादको क्रान्तिकारी विचार र आचार अनि मर्म र कर्मलाईअविलम्ब आत्मसात गर्नु जरुरी भएको छ ।
१५. यो विजय प्राप्त गर्न नसके–नगरे मजदुर आन्दोलन धराशायी हुनेछ र मई दिवस मनाउनु र मजदुर आन्दोलन संचालन गर्नुको खासै अर्थ, महत्व र उपादेयता रहने छैन, छैन; कम्युनिस्ट आन्दोलनको पनि अर्थ र औचित्य रहने छैन !
१६. तसर्थ यो गम्भीरतम र दुखदतम अवस्थाबाट पार पाउँदै मजदुर मुक्ति र वर्गीय मुक्ति, स्वतन्त्रता, समानता, न्याय र सुख–समृद्धिका लागि नयाँ ढङ्गबाट सचेत हुनु, संगठित हुनु र संघर्षरत रहनुको विकल्प छैन ।
१७. यसै दिशामा अघि बढ्नको लागि मई दिवसले प्रेरणा देओस् ! अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्बन्धित सबैमा हार्दिक क्रान्तिकारी शुभकामना !
१ मे २०२२ (२०७९ बैशाख १८ गते) काठमाडौं