नेपालगन्ज । १३० औं माओ जन्म दिवसको अवसरमा बाँकेको नेपालगन्जमा सरसफाइ एवं कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा भेरी अस्पताल परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाइ कार्यक्रम पछि लगत्तै भेरी अस्पताल अगाडि चोकमा चिनियाँ नयाँ जनवादी क्रान्तिमा कमरेड माओको योगदान र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा कमरेड माओको सिद्धान्त र विचारको महत्वबारे खुल्ला कोणसभा सम्पन्न गरिएको छ ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशाल) केन्द्रिय सदस्य गौरीलाल कार्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रिय सदस्य प्रेमबहादुर चलाउने ( अनन्त) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य लक्ष्मी चौलागाईं (प्रतिज्ञा) ले सम्बोधन गरेका छन् । उनीहरुले कमरेड माओको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा माओका विचार र सिद्धान्तको अनुसरणले क्रान्तिकारी आन्दोलन सफलतामा पुग्न सहयोग पुग्ने कुरा बताएका थिए । कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रिय सदस्य तथा बाँके संयोजक कृष्ण शाहले गरेका थिए ।