गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

पोखरा, ७ भदौ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा २०८० भदौ ६ गते राति सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो ।

आगामी चार वर्षका लागि अध्यक्षमा चयन भएका सिग्देल कास्की जिल्ला क्रिकेट सङ्घको समेत अध्यक्ष हुन् । प्रादेशिक क्रिकेट सङ्घको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) चयन भएका छन् ।

यसैगरी सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) रहेका छन् । नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् साथै प्रदेश सरकार तथा महानगरसँग मिलेर क्रिकेटका पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको बताए ।

चालु आवमा प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन रु ४० लाख बजेट छुट्टाएको छ । बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट सङ्घ गण्डकीले दबाब दिने नवनिर्वाचित अध्यक्ष सिग्देलले बताए ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित