एसिसी यू–१९ एसिया कप क्रिकेटको आजको खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, २२  मंसिर । एसिसी यू–१९ एसिया कप क्रिकेटको आजको खेलमा नेपाल पाकिस्तानसंग ७ विकेटले पराजित भएको छ ।
दुबईमा सुरु भएको एसीसी यू १९ एसिया कपमा नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
पाकिस्तानलाई जिताउन अजान आविसले अविजित ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे र साद बैगले ५० रनको योगदान गरे ।
नेपालका गुल्सन झाले ओपनर सामी हसनलाई शून्यमा आउट गरे भने अर्का ओपनर साहाजिब खानलाई १५ रन बनाउँदा आउट गरे । तर उनीहरुपछिका दुई ब्याटरले अर्धशतकीय पारी खेलेपछि नेपाल पराजित हुन पुग्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका थिए । दीपेश कँडेलले ३१ रन, अर्जुन कुमालले २१ रनको योगदान गरेका थिए ।
पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे । उबेद शाह र अली असफन्दले समान एक एक विकेट लिए ।
नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित