विश्वकप खेल्न नेपाललाई अब ८ अंक आवश्यक, एकदिवसीय मान्यता जोगाउन ४ अंक

काठमाडौं । क्रिकेट खेलको आगामी विश्वकप खेल्न नेपाललाई अब ८ अङ्क  आवश्यक परेको छ । एकदिवसीय  मान्यता जोगाउन भने नेपालले ४ अङ्क मात्र प्राप्त गरे हुनेछ । अर्थात् आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु  त्रिवि मैदान काठमाडौंमा हुने अन्तिम सिरिजका चार खेल पुरै जिते नेपाल आगामी विश्वकपमा  सिधै सहभागिता जनाउन सक्नेछ भने ती चार मध्यका दुई खेल मात्र जिते पनि नेपालको एकदिवसीय मान्यता जोगिनेछ ।   नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक अन्तिम एकदिवसीय सिरिज २०७९ फागुन २५ देखि त्रिवि मैदान काठमाडौंमा सुरु हँुदैछ ।

तिनै तीन राष्ट्र सम्मिलित दुबईमा भएको सिरिजका चार खेल मध्य  नेपालले ३ मा विजयी हासिल गर्दै लिग–२ को अंक तालिकामा ३२ अंक बटुलेको छ । नेपाल युएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । उक्त सिरिज अन्तर्गत २२ फागुनका दिन भएको अन्तिम खेलमा नेपालले घरेलु टिम युएईलाई ४२ रनले पराजित गरेको थियो ।

लिग टु को पाँचौं स्थानमा उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ । युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।  लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ ।  लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ ।

यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा  पुगिसकेका छन् । तेस्रो टोलिका लागि नेपाल, युएई  र नामिबिया बीच प्रतिस्पर्धा छ । अब नेपालले लिग–२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका चार खेलबाट जीत हात पार्नु पर्छ भने एकदिवसीय मान्यता जोगाउन २ खेलमा जीत निकाल्नु पर्छ ।

नेपाल, युएई र पपुवा न्युगिनीबीच अब त्रिवि मैदान काठमाडौंमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ ।

उक्त अन्तिम सिरिजमा नेपालले चार मध्ये दुई खेलमा जीत हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित