- सन्तबहादुर नेपाली
२०७९ वैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको तर्फबाट उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन आयोगको कार्यालयमा वैशाख ११ र १२ दुवै दिनमा उम्मेदवारी दर्ता गराएका छन् । हाम्रो पार्टी नेकपा (मसाल) केन्द्रीय समन्वय समितिको तर्फबाट हामी सर्वप्रथम उहाँहरुको विजयका लागि अग्रीम शुभकामना प्रकट गर्न चाहान्छौं ।
यो सर्वविदित भएको कुरा हो कि संसारमा संसदीय प्रणाली कहीं पनि सफल छैन । श्रमजीवी जनतालाई शोषण, दमन, अन्याय, अत्याचार गरेर केही मुठ्ठीभर सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गलाई पोस्ने व्यवस्था हो संसदीय व्यवस्था । आफ्नो लुटको स्वर्गलाई निरन्तरता दिन बीचबीचमा आवधिक निर्वाचन गरेर आफ्नो लुटको खेतीलाई जोगाइ राख्न अरबौं खर्च गरेर निर्वाचन गराइन्छ । पैसा नहुनेले जति प्रयास गरे पनि उम्मेदवारी दिन र चुनाव जित्न सक्दैन । पैसाको खोलो बगाएर चुनाव जितिन्छ । चुनाव जितेपछि खर्च गरेको रकम अवैध ढंगले असुल गरिन्छ । पुँजीवादी पार्टीहरुको यो धन्धा सधैभरी चलिरहन्छ । यसैलाई पुँजीवादी पार्टीहरुले जनताको प्रजातन्त्र बताउँदै आएका छन् । हाम्रो पार्टी यस्तो निर्वाचनलाई, चाहे त्यो संसदीय होस् वा स्थानीय, कार्यनीतिक रुपले मात्र उपयोग गर्दछ, रणनीतिक रुपले उपयोग गर्दैन ।
संसदीय निर्वाचनभन्दा स्थानीय निर्वाचनको प्रकृति केही मात्रामा फरक छ । यो निर्वाचन राजनीतिक भन्दा सामाजिक प्रकृतिको बढी छ । जनतासित राजनीतिक भन्दा सामाजिक सम्बन्धले बढी काम गर्ने हुनाले निर्वाचनको आधार सामाजिक प्रकारको हुने गर्छ । हाम्रो पार्टीले स्थानीय तहलाई बढी भन्दा बढी स्वतन्त्र, स्वायत्त, संवैधानिक र अधिकार सम्पन्न बनाउने कुरामा जोड दिने नीति लिएको हुनाले चुनाव जित्ने लक्ष्यका साथ राजमो समन्वय समितिका स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गरेको छ । सिंहदरबारमा हुने भ्रष्टाचारले स्थानीय तहसम्म अहिले विस्तार गरेको छ । संसदीय प्रणाली स्थापना भएपछि आर्थिक रुपले देश टाट पल्टिंदैछ । जन्मिँदै गरेको बच्चाले समेत साठी हजार ऋण बोक्नु परेको छ । महंगी, तस्करी, कालोबजारी, घुस, कमिसन खोरी लगायतका विकृतिहरु संस्थागत हुँदै गएका छन् । गठबन्धन सरकारले एमसीसी पारित गरेर एकातिर असंलग्न परराष्ट्र नीति विपरीत काम गरेको छ भने अर्कोतिर हिन्द प्रशान्त रणनीति अन्तर्गत चीनलाई घेर्ने अमेरिकी सुरक्षा नीतिलाई सहयोग गरेर नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।
गठबन्धन सरकारले गरेको राष्ट्रघात, जनविरोधी तथा अधिनायकवादी कार्यका विरुद्ध संघर्ष आजको राष्ट्रिय आवश्यकता हो । संघर्ष अगाडि बढेन भने देशले कुनै दिन सिक्किम वा युक्रेनको अवस्था भोग्नु नपर्ला भन्न सकिन्न । स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा राष्ट्रघात र जनघातका विरुद्धको संघर्षलाई निर्वाचनलाई उपयोग गरेर अगाडि बढाउने हाम्रो पार्टीको नीति रहेको छ । त्यसकारण राजमो केन्द्रीय समन्वय समितिले प्रतिक्रियावादी, प्रतिगामी र विखण्डनवादीहरुलाई परास्त गर्न आवश्यक ठानेको छ । त्यो कार्यका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित स्थानीयस्तरमा तालमेल गर्ने नीति रहेको छ । जसलाई हामी देशभक्त, जनवादी तथा वामपन्थी शक्ति भन्ने गरेका छौं, ती शक्तिहरुका नेतृत्व पंक्ति त्यो चरित्र कायम गर्न सकेनन् । त्यो कुरा एमसीसी प्रकरणमा जनताले छर्लङग देखिसकेका छन् । नेतृत्व दलाल भए पनि स्थानीय नेता कार्यकर्ताहरुले दलाली गरेका छैनन् । उनीहरु त्यही भएर नेतृत्वको दलाली चरित्रको खुलेर विरोध गरेका छन् । कतिपय कम्युनिस्ट भनिने कांग्रेसपरस्त दक्षिणपन्थी दलका नेताहरुले हाम्रो त्यो नीतिलाई प्रतिगामीसँग एकता गरेको भनेर टिप्पणी गरेका छन् । साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको पुच्छर समातेर जनतालाई जनवाद र समाजवादको सपना देखाउन खोज्ने महासयहरुले जति वकवास गरे पनि उहाँहरुले कम्युनिस्ट आन्दोलनलाई गरेको विश्वासघातलाई जनताले राम्ररी बुझेका छन् ।
हाम्रो पार्टीले राजमो समन्वय समितिका उम्मेदवारहरुलाई समर्थन गरेको छ । उनीहरुलाई विजयी गराउन पार्टीले हरसम्भव प्रयत्न गर्नेछ । हामी अहिले नेकपा (मसाल) को मूल संगठनबाट अलग छौं । संगठनात्मक रुपले मूल संगठनमा जनताको पंक्ति ठूलो छ र त्यो स्वभाविक हो । तर विचारधारात्मक रुपले मसालको मूल नेतृत्व क्रान्तिकारी विचार छाडे पछि अब त्यसलाई मसाल हौं भन्ने हैसियत राख्दैन । मसाल हौं भन्ने दावी खोक्रो, जीर्ण र डेट स्क्सपायर भइसकेको छ । हामीले नै मसालको सातौं महाधिवेशनको क्रान्तिकारी विचारलाई निरन्तरता दिंदै विकासको चरणमा पार्टीलाई ल्याई पु¥याएका छों । विशेष महाधिवेशनमा आठौं महाधिवेशनका दक्षिणपन्थी खु्रश्चेभी संशोधनवादी नीतिलाई परिवर्तन गरेर कम्युनिस्ट क्रान्तिकारी विचारलाई हामी अगाडि बढाउने छौं ।
अहिले निर्वाचनको बेला निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई निर्वाचन चिन्ह लिएर जान सजिलो छ । तर समन्वय समितिका लागि कठिन छ । किनकि जनताले स्वतन्त्र उम्मेदवारहरुका निर्वाचन चिन्ह छान्न मुस्किल पर्दछ । तर पनि जनता सही विचारको पक्षमा उभिन्छन् भन्ने हाम्रो विश्वास छ । जनताले देश बेच्ने, युवा शक्तिलाई बेच्ने, राष्ट्रघातीहरु को हुन् ? यो देशको जनवाद र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिनेहरु को हुन् ? जनताका अधिकारका निम्ति जनतासित हातेमालो गर्दै संघर्ष गर्ने को हुन् ? भन्ने जनताले राम्रोसँग बुझेका छन् । समन्वय समितिले निर्वाचनको नारा ठीक ढंगले उठाएको छ । पहिलो कुरा त प्रदेश सरकार र संसद खारेज गर्नुपर्छ । दोस्रो कुरा, स्थानीय तहलाई संविधानले स्वायत्त बनाउने परिकल्पना गरे पनि दलहरुको हस्ताक्षेप निरन्तर चलिरहेको छ । राजमो मूल नेतृत्वले ढोरपाटन न.पा.का वडा अध्यक्ष तिलक पुनलाई पदबाट बर्खास्त ग¥यो । उहाँले सर्वोच्च अदालतमा रिट गरेर त्यो पदमा पुनर्वहाली हुुनुभयो । जनताको जनप्रतिनिधिमार्फत् काम गराउने मौलिक अधिकारमाथि कम्युनिस्ट पार्टी भनिने पार्टीले नै हस्तक्षेप गरेपछि स्थानीय तह कसरी स्वायत्त, स्वतन्त्र हुन्छ ? त्यसकारण प्रदेश संसद तथा सरकार खारेज गर्नुपर्छ र केन्द्रको अधिकार बाहेक सबै अधिकार स्थानीय तहलाई दिनुपर्छ । स्थानीय तहलाई पंचायतकालिन “गाउँ फर्क अधियान” जस्तो कार्यकर्ता भर्ति गर्ने र मन नपर्दा बर्खास्त गर्ने थलो बनाइनु हुँदैन ।
समन्वय समितिको उम्मेदवार नभएको ठाउँमा भोट कसलाई दिने ? भन्ने प्रश्न पनि उठिरहेको छ । देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरु मध्ये जससित हाम्रो स्थानीयस्तरमा तालमेल भएको छ, पहिलो प्राथमिकता उनीहरुलाई दिइनेछ । यदि तालमेल भएको दलको उम्मेदवार छैन भने स्थानीय समितिहरुले निर्णय गरेर समर्थन गर्ने नीति बनाउन सक्छन् । यसरी हेर्दा गठबन्धन भित्रका वामपन्थी शक्तिहरुसित पनि तालमेल हुन सक्थ्यो तर उनीहरु मसालका विद्रोही समूह भनेर स्थानीयस्तरमा तालमेल गर्ने प्रस्ताव ल्याएका छैनन् । एमालेले प्रस्ताव ल्याएको कुरा सार्वजनिक भएको छ । केन्द्रीयस्तरमा हाम्रो औपचारिक निर्णय भएको छैन । तर स्थानीयस्तरमा एमाले वा अन्य दलहरुसँग तालमेल गर्ने वा नगर्ने ? औपचारिक र लिखित निर्णय गर्ने वा नगर्ने ? आदि अधिकार त्यहाँको समितिलाई छ । हाम्रो नीति यो छ कि बढी भन्दा बढी देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुले निर्वाचनमा जित्नु पर्छ । तर कतिपय वामपन्थीहरु प्रतिक्रियावादी गठबन्धनमा सामेल भएकाले फेरि पनि प्रतिक्रियावादी, प्रतिगामी तथा विखण्डनवादीहरुलाई स्थानीय तहमा निर्वाचित गर्ने ठूलो तयारी गरिरहेका छन् । त्यो नीति उनीहरुका लागि नै प्रत्युत्पादक हुनेछ ।
राजमो समन्वय समितिका स्वतन्त्र उम्मेदवारहरुलाई हाम्रो पार्टीले उच्च सम्मान प्रकट गर्दछ । प्रायः निर्वाचनमा पैसा खर्च गर्न सक्नेहरु निर्वाचनमा खडा हुन्छन् । दोस्रो कुरा, पार्टीले चुनाव जिताइदिने आशामा उम्मेदवारी दिएका हुन्छन् । तर राजमो समन्वय समितिका उम्मेदवारहरु यी दुवै कुराको सुनिश्चितता नभईकन पनि पार्टीको विचार र नीतिलाई जनता समक्ष लगेर भोट माग्नका लागि उम्मेदवारी दिएका छन् । व्यक्तिगत फाइदा र स्वार्थलार्ई परित्याग गरेर जनता र देशको हितमा जनता जगाउन यो निर्वाचनमा खडा भएका छन् । जनताले ठूला पार्टीका उम्मेदवारलाई होइन, देश र जनताको पक्षमा आवाज उठाउने समन्वय समितिका स्वतन्त्र उम्मेदवारहरुलाई जिताउनु पर्छ । तब मात्र स्थानीयस्तरमा जनताले सही नेतृत्व पाउने छन् ।
अन्तमा राष्ट्रघाती, जनघाती र अधिनायकवादी दलहरुलाई सजाय दिने बेला यही हो । यदि यति बेला जनताले सोचेनन् भने भोलि निर्वाचन पछि ठूला दलहरुले गरेको राष्ट्रघात र जनघातको विरोध गर्नुको कुनै तुक हुने छैन । जनताले सोंच्ने र रोज्ने बेला यही हो ।