२०२६ अप्रिल २५ र २६ मा भोपालमा विस्तारित बैठक हुँदैछ

आनन्द थापा
केन्द्रीय अध्यक्ष, अखिल भारत नेपाली एकता समाज

० गत साल २०२४ जुलाईमा दुई वटा संगठनहरु अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवाशी नेपाली एकता समाज बीचमा एकता गरी अखिल भारत नेपाली एकता समाज गठन भएको थियो तर केन्द्रमा एकता सकिएर क्षेत्रीयस्तरको एकता प्रक्रियासम्म नटुङ्गिँदै एकता छाडेर केही व्यक्ति हिंडे । किन यस्तो भयो ?
–२०२३ जुलाई ९ र १० मा नेपाली एकता समाज भारत र प्रवासी नेपाली एकता मन्च भारतको बीचमा सोनीपटमा संयुक्त एकता–अधिवेशनद्वारा संगठनको नाम अभाप्रनेएस राख्ने निर्णय भएको थियो । त्यस पश्चात् भारतमा राज्य समितिहरुको एकता अधिवेशन प्रकृयाहरू सम्पन्न भएको थियो ।
२०२४ जुलाई ६ र ७ तारिखमा प्रमुख अतिथिको रुपमा कृष्ण धमला (गम्भीर) को उपस्थितमा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच हैदरावादमा संयुक्त एकता–अधिवेशन भयो । अधिवेशनद्वारा संगठनको नाम अखिल भारत नेपाली एकता समाज राखियो । अधिवेशनले केन्द्रीय समिति पारित गरी, सात क्षेत्रीय समितिको एकता– अधिवेशन कार्यक्रमहरुको कार्य तालिका २०२४ जुलाई १३ तारिख देखि २०२४ अगस्त ४ सम्म सम्पन्न पार्ने गरी कार्यक्रम बनाइएको थियो । त्यस अनुसार कृष्ण धमला (गंभीर) २०२४ जुलाई १६ गते मध्य–दक्षिण क्षेत्रीय समितिको एकता–अधिवेशन कार्यक्रममा हैदरावादमा सम्पन्न गरी उहाँ सुदुर पश्चिम क्षेत्रीय समिति एकता–अधिवेशन २०२४ जुलाई २० र २१ को कार्यक्रममा सहभागी हुने भैसकेको अवस्थामा कन्चनले हस्ताक्षर गरेको प्रेस वक्तव्य प्रकाशित भयो । सामाजिक सञ्जालमा पार्टी एकता असफल भएको र नेकपा बहुमतलाई ब्यूँताउने कार्य गरियो ।
त्यसले हाम्रा निर्धारित भारतका कार्यक्रममा कुनै असर पार्न सकेनन् । कंन्चनजीहरुको मूल उद्देश्य, लक्ष्य भनेको पार्टी संगठन कब्जा गर्ने दाउमा हुनुहुन्थ्यो त्यो सम्भावना महाधिवेशनद्वारा आफु सफल नहुने देखेर खेल मैदान छोडी बाहिरिनु भएको हो । केही व्यक्ति बाहिरिए । त्यसले संगठनलाई खासै ठूलो असर गरेन ।
० एकता पछि अहिलेसम्मको संगठनात्मक कार्यको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
–हामी दुई संगठन एकता भएको चौध महिना भइसक्यो । यस बीचमा संगठनात्मक गतिविधि जुन रुपमा परिचालन र संगठन निर्माण कार्यलाई तीब्र रुपमा लैजानु पर्ने हो । त्यस अनुरुपमा संगठन परिचालन गर्न सकिएको छैन । संघर्ष गर्नु पर्ने चुनौतीहरु हाम्रा अगाडि छन । हाम्रो एकतादेखि अत्तालिएर एकतालाई तोडफोड गर्न चारैतिरबाट आक्रमण भैरहेको छ । जसको निम्ति ईटको जवाफ पत्थरले दिनु पर्दछ ।
० अखिल भारत नेपाली एकता समाजको २०२५ जुलाई १२ र १३ मा सम्पन्न हैदराबाद को बैठकले २०२६ मा अखिल भारत सम्मेलन गर्ने निर्णय गर्नु भएको छ । सम्मेलनको के कस्तो तयारी हुँदै छ ?
– हामीले अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बैठक २०२५ जुलाई १२र १३ गते हैदराबादमा सम्पन्न गरी आगामी कार्यक्रम तर्जुमा गरेको छ ।
सेप्टेम्वर महिनासम्म क्षेत्रीय समिति–नगर समितिहरुका बैठक राख्न इन्चार्जहरुलाई जिम्मा दिइएको छ र २०२५ नोभेम्बर– डिसेम्बरसम्म भारतव्यापी रूपमा नगर सम्मेलन सम्पन्न गरिने छ । २०२६ फरवरी र मार्चसम्म क्षेत्रीय सम्मेलन सम्पन्न पश्चात् नवौं अखिल भारत सम्मेलनको तयारीको लागि २०२६ अप्रिल २५ र २६ मा भोपालमा विस्तारित बैठकको निश्चित गरिएको छ ।
० तपाईहरुको संगठनको तर्फबाट भर्खरै मात्र दिल्लीस्थित नेपाली राजदूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । यहाँहरुको मागप्रति राजदूतको प्रतिकृया के थियो ?
–२०२५ अगस्त ११ गते अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट ५ जना प्रतिनिधि मण्डलहरु सचिवः नारायण शर्मा, सचिव चेतमान भण्डारी, सदस्य–विनिमाधव–सदस्य, राम बहादुर कौशल, सल्लाहकार कृष्ण के.सि.सहितद्वारा नेपाली राजदूतावासको कार्यालय नई दिल्ली मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको छ । तपाईहरुको माग जायज छन् । नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने काम गरिने छ । राजदुतको तर्फबाट गर्ने काम गरिनेछ भनेर राजदुतले आश्वासन दिनुभएको थियो ।
० तपाई सबैभन्दा पहिले संगठनमा कहाँबाट कसरी आवद्व हुनुभएको हो ?
– म आवद्व भएको संगठन भनेको १९८७ मा अखिल भारत नेपाली एकता समाजबाट सुरु गरेको हो । १९८७ अगस्त १८ गते अखिल भारत नेपाली एकता समाज हैदराबाद नगर समितिको प्रथम नगर सम्मेलनद्वारा उप–सभापतिको पदीय जिम्मेवारीमा रही संगठनका कार्यहरुमा निरन्तर क्रियाशील रहँदै आएको छु ।
नगर सम्मेलन सफल पार्न प्रमुख अतिथि संस्थापक सभापति गोबिन्द सिंह थापा र रामचन्द्र पौडेल र नेपालदेखि साँस्कृतिक टोलीको नेतृत्व गरेर जीवन शर्मा लगायतका कलाकारहरुको टोली सहभागिता रहेको थियो ।
० तपाईको कुरा सुन्दा तपाई भारतमा बसेर नोकरी गर्न थालेको र संगठनको काम गर्न थालेको निकै लामो समय भयो । सुरुमा संगठनमा काम गर्दाको अवस्थामा भारत प्रवाश आउने नेपालीहरु र अहिले भारत प्रवास आउने नेपालीहरुको अवस्थामा के भिन्नता पाउनुभएको छ ?
–नेपालदेखि भारतको आन्ध्र प्रदेशको राजधानी हैदराबादमा १९८३ मा नोकरीको खोजीमा आउने क्रममा हैदराबाद मेट्रो वाटर सप्लाइ बोर्डमा १९८५ देखि काम गर्दै आएको हो ।
जिन्दगी विदेशमा बित्यो, गाउँ घर सबै रित्तियो । अब नेपालमा बृद्धाहरु, असक्त, केही गर्न नसक्ने मात्र देश बनाउने यूवाहरु विदेशी मुलुक खाडीमा पुगेका छन् । नेपाल देशलाई कङ्गाल पारेर लुटपाट गर्ने भ्रष्टाचार, तस्करी र गुण्डागर्दी र विचौलियहरुको मिलेमतोमा राजनीतिक गर्ने दलहरुको अखडा भयो । संगठनमा लागेर काम गरेको पनि धेरै नै समय बितिसकेछ, भारतस्थित नेपालीहरुको अभिभावक संगठन अखिल भारत नेपाली एकता समाज भएको हुनाले प्रवासी नेपाली मजदुरका समस्याहरु आउने गर्दछन् । एकता समाज संगठनका काम गर्ने कार्यकर्ताहरु सरकारी, कारप्रोशन , राम्रो कम्पनीमा जागीर गर्नेहरु प्रवासी नेपालीहरु अब भारत प्रवासमा क्रमिक रुपमा कमिहुदै गएको अवस्था छ । संगठनमा आबद्ध गर्नका लागि नेपालमा आस्था राख्ने राजनैतिक पार्टीहरुका संगठनमा जोडिने प्रकृया रहेको छ । सुरुमा भारतमा संगठन विस्तार क्रममा अहिले जस्तो परिस्थिति थिएन ।
० भारत प्रवासमा रहने नेपालीहरुको समस्य के के छन?
– नेपालमा शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता विषयमा नेपाल सरकारको ध्यान केन्द्रीकृत नभएको अवस्थामा नेपालका युवादेखि बृद्धहरु आफ्नो जीवन निर्वाहका निम्ति भारतका विभिन्न राज्यहरुमा नोकरीको लागि आउँदा,जाने क्रममा भारत नेपाल सिमानामा दलाल, गुण्डा र प्रशासनको मिलेमतोमा लुटपात, ठगिने गरेका छन् । नोकरी, प्रशासन , बैङ्क खाता खोल्न आधार कार्डलाई भारत सरकारद्वारा अनिवार्य बनाएको र आधारकार्ड हालमा बन्द गरेको अवस्थामा नेपालीहरुलाई नोकरी गर्न समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका निम्ति नेपाली नागरिकतालाई आईडिको रुपमा मान्यता दिनका लागि र भारतमा प्रवासी नेपालीहरु खुला सिमानाका कारण भारतमा रोजगार गर्न आउने नेपालीहरुको संख्या लाखौंमा रहेको अवस्था भारतदेखि नेपाल फोन गर्न काल चार्ज धेरै महङ्गो भएको छ ।
प्रवासी नेपालीहरुका समस्यालाई नेपाल सरकारद्वारा भारत सरकारसित कार्यान्वयनका निम्ति पहल गरियोस् ।
० भारत प्रवासमा रहने नेपालीहरुको समस्या समाधान गर्ने उपायहरु के के हुन सक्छ ?
– देश छोडी प्रदेश लाग्नु रहर होइन । बाध्यताले दैनिक हजारौं नेपालीहरु रोजगारका निम्ति श्रम स्वीकृति लिएर तेस्रो मुलुक जाने र खुला सिमाना भएको छिमेकी देश भारतमा आउने नेपालीहरुको कुनै लेखा जोखा छैन । हाम्रो देश नेपालमा भ्रष्ट, विदेशी साम्राज्यवाद, विस्तारवादका दलाल रहिरहँदासम्म नेपाल राष्ट्र र नेपाली जनताका समस्या समाधान हँुदैन ।
तब सम्म प्रवासी नेपालीहरुका समस्या दिन प्रतिदिन जटिल बन्दै जान्छ, जसको लागि आफ्नो अधिकारका निम्ति जनतालाई सचेत र सङ्गठित गरेर संघर्षलाई, आन्दोलनका रुपमा परिचालन गरेर आन्दोलनद्वारा नै सत्ताच्यूत गरेर त्यसको ठाउँमा जनगणतन्त्र ब्यवस्था आए पछि मात्र प्रवासी नेपालीहरुका समस्य समाधान हुन्छन् ।
० भारत प्रवासमा रहँदा संगठनमा काम गर्दाखेरीको केही अविस्मरणीय र उल्लेखनीय केही घटनाहरु पनि सुनाइदिनुहोस् ।
–संगठनमा सन् १९८७ देखि काम गर्दै हाल सम्म निरन्तर रूपमा नै लागिरहेको अवस्था भन्नुपर्छ । हैदराबादमा अखिल भारत नेपाली एकता समाज र प्रवासी संघको संगठन प्रतिस्पर्दामा रहेको अवस्था थियो ।
दुवै संगठन आक्रमक रुपमा एक आर्काले आफुलाई कमजोर नठान्ने भौतिक रुपमा आक्रमण गरिहाल्ने अवस्था थियो । एक दिन पठाचेरुमा छलफल गर्ने भनेर दुवै तर्फबाट सहमतिमा आयोजना गरी छलफल कै क्रम चलिरहेको र हाम्रो उपस्थिति कम भएको देखेर हामी प्रति आक्रमण गर्ने उनीहरूले योजना सुरु गरे पश्चात् हाम्रा साथीहरू त्यहाँबाट टाप कसेर भागे । त्यहाँ म र पठानचेरुमा रहने स्थानीय हाम्रा संगठनका साथी रहेकोले मलाई हात हाल्ने काम गरे केहीले उहाँलाई हात नहाल्नु भनेपछि छोडे । पार्टी संगठनमा लागेर हिम्मत गरेर बढनु पर्छ । कहिलै हरेस खानु हँुदैन अन्त्यमा जित सत्यको हुन्छ ।
० सांगठनिक कामको सिलसिलामा वा कुनै अभियानको सिलसिलामा नेपालमाआई काम गरेका केही स्मरणीय घटनाहरु पनि सुनाइदिनु न?
– राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनावी कार्यक्रमलाई लिएर बागलुङ जिल्ला अर्जेवाको घटना स्मरणीय छ । अर्जेवा चिटिखर्क विद्यालयमा राती साँस्कृतिक कार्यक्रम राखिएको थियो ।
त्यो ठाउँ काङ्ग्रेसको गढ थियो । उनीहरुले साँस्कृतिक कार्यक्रम विफल पार्न बीच–बीचमा हुटिङ गर्ने कार्यहरु भैरहेकोले हाम्रो कार्यक्रममा आएर यो हर्कत नगर्नका लागि हाम्रो तर्फबाट अनुरोध गर्ने काम भयो । त्यसै क्रममा दुबै तर्फबाट भना–भन क्रममा उनीहरुले हाम्रा साथीलाई हात पात गरे पश्चात् हाम्रो तर्फबाट पनि हामीले आक्रमणको तयारी गरी सबै हामीहरु घरको छाना हान्ने काम भयो । उनीहरुले आफ्ना मान्छेहरूलाई बोलाउने क्रममा काङ्ग्रेसहरु आएर चारैतिरबाट आक्रमण गरे । हातमा कोदालो, हसिया, बन्चरो लिएर घेरेका थिए । पछाडि फर्केर हेर्दा हाम्रा साथीहरु त कोही छैनन् । दुई जना साथीलाई स्कुलमा बाँधेर राखेछन । अब जिन्दगीको भौतिक लडाईमा के हुने हो भन्ने थाहा थिएन । अप्ठ्यारो परिस्थितिजन्य अवस्था महशुस भैरहेको थियो । तर काङ्ग्रेसहरुमा कोही आफन्त परेकाले भौतिकरुपमा आक्रमण भएन ।
० नेपालको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
– नेपालको राजनीतिक परिस्थितिलाई हेर्दा वर्तमान राजनीतिक दलहरु आफु सरकारबाट बाहिर हँुदा राष्ट्रवादी, जनगणतन्त्र, जनजीविका, राष्ट्रियताका सवाललाई लिएर सडक र सदनमा हंगामा गर्ने । जब उनीहरु सरकारमा जानका लागि आफ्ना हर्कत लुकाउनका लागि आफु बच्नका निम्ति हर कसै संग पनि गठबन्धन गरेर सरकारमा जाने ।
काङ्ग्रेस, एमाले, माओवादी केन्द्र देशका ठूला राजनीतिक पार्टी भएर देशमा पाँच वर्षसम्म सरकार टिकाउन सकेको अवस्था छैन । कम्युनिष्टको नामले नेपाली जनतालाई भ्रम सिर्जना गरी जनताको राष्ट्रिय ढुकटीबाट विकासको नाममा करोडौं रकम भ्रष्टाचार गरेर पुनः चुनावमा खर्च गरिन्छ जीत पश्चात् संसदमा पुग्छन् । चुनावी विकासका नाराहरु ओझेलमा पर्छन् । जनताका समस्याहरु यो व्यवस्था र अवस्था रहेसम्म कहिलै समाधान हुँदैन ।
० हाँक साप्ताहिक मार्फत् भन्नु पर्ने थप केही ?
– हाँक सांप्ताहिक पत्रिका मार्फत् मेरा विचार राख्ने मौका दिनु भएकोमा धन्यवाद छ । हाँक पत्रिकाद्वारा देशका जनताका जल्दा बल्दा समस्याहरुलाई जनताका बीचमा खरोरुपमा सम्प्रेषण गर्न निरन्तर अग्रस्थान रहि अगाडि बढोस् भन्दै हाँक साप्ताहिक पत्रिकालाई मेरो तर्फबाट उच्च प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित