अहिले चाडबाडको समय हो । नेपालीहरूले मनाउँदै आएको चाडबाड दशैं, तिहार, छठ जस्ता पर्वहरू आइरहेका छन् । चाडबाडका लागि सामान किन्नको लागि बजारमा भीड लागिरहेको छ । बजारमा बेथितिको चाङ लागेको छ । बजारमा अहिले मंहगी कालाबजारी, अभाव गुणस्तरहीन सामानको बिक्री वितरण, मिसावट जस्ता समस्या अत्यधिक देखिएका छन् । राष्ट्रबैङ्कले चालु आर्थिक वर्षकोदुई महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी मसलाजन्य पदार्थको मुल्य वुद्धि ४५.४६ प्रतिशत चिनीजन्य पदार्थ र चिनीमा १७.७६ प्रतिशतसम्म, खाद्यपदार्थमा १३.३८प्रतिशत तरकारीमा १४.५१प्रतिशत अण्डामा १२.६० प्रतिशत मूल्य वृद्धि भएको छ ।
बजारमा चाडबाडको समयमा समान कृतिम अभाव सिर्जना गर्ने, अभाव गराउने, भएपनि सामान लुकाउने र महङ्गोमा बेच्ने ठगी गर्ने जस्ता कामहरू भइरहेको छ । व्यापारीहरूले यही मौकामा कमाउन पर्छ भन्ने र बजारलाई मनलागी बनाएका छन् । बजारमा चाडबाडको समयमा चलिरहेको मूल्य भन्दा बढिमा सामानहरू बेच्ने, ग्राहकलाई सिधा लुट्ने काम भइरहेको छ । अहिले बजारमा सामानहरूको मूल्य एकाएक आकाशिएको छ । राष्ट्रबैङ्कले यो आर्थिक वर्षमा मूल्यवुद्धिदर ६प्रतिशतमा राख्ने भनेको थियो तर मूल्य निकै बढिरहेको छ । यसले गर्दा उपभोक्ताहरू जो जसोतसो गर्जो टारिरहेका छन् उनीहरूलाई निकै मार परिरहेको छ । सर्वसाधारण ले आज मंहङ्गी थेग्न नसक्ने अवस्थामा पुर्याईएको छ ।
बाँच्नको लागि चाहिने आधारभूत आवश्यकताको लागि खाद्यान्न हो । यसको मूल्य अहिले निकै आकाशिएको छ । मूल्य सुन्दा नै सर्वसाधारणको बाँच्न पाउने अधिकार खोसिएको भान हुन्छ । दाल, चामल, चिनी तेल जस्ता वस्तुहरूको भाउ निकै महङ्गो भएको छ । कालाबजारियाहरूले रातारात चिनी लुकाएका छन् । महङ्गोमा बेच्नको लागि चिनी व्यापारीले लुकाएकाछन र चिनीको मूल्य किलोको एकसय पचास सम्म पुगेको छ । त्यस मसलाजन्य वस्तुहरूको मूल्यपनि आकाशिएको छ । जिरा, धनियाँ, मसलाको मूल्य छोइसक्नु छैन । यसले सर्वसाधारण, जनताको लागि बाँच्न निकै गाह्रो भइरहेको छ । यसरी समानहरूमाथि व्यापारीहरूले मनोमानी गरिरहँदा सम्बन्धित निकायले भने थाहा पाएको नपाई गरिरहेको छ ।
चाडवाडको समयमा बजारको मूल्य नियन्त्रण गर्ने र कालोबजारी हुन नदिन सबै उपभोक्ताको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न सरकारको ध्यान जानु पर्ने हो तर गइरहेको छैन । चिनीको अभाव हुन थालेको लामो समय हुँदा पनि सरकारले त्यसको नियन्त्रण गर्न पट्टि ध्यान दिन सकेको छैन । सरकार छ कि छैन जस्तो अवस्था अहिले देखिएको छ । सरकारले अभाव हुन नदिन, महङ्गी नियन्त्रण गर्न, कालोबजारी रोक्न र मूल्यवृद्धि नियन्त्रण गर्ने जस्ता काममा तदारुकता देखाउन सकेको छैन । कालेबजारीलाई नियन्त्रण गर्न र कारबाहीको दायरामा ल्याउन सकेको छैन । एक जनासम्मलाई पनि कुनै कारबाही गरेको छैन । यसले बजारमा एकछत्र रुपमा मनोमानी गरेका व्यापारीहरूले झनै मंहगी बढाएका छन् । गुणस्तरहीन सामान बेचिरहेका छन् । यसले उपभोक्ता निकै ठगिएका छन् ।
उपभोक्ताले स्वस्थकर समान पाईरहेका छैनन् । महङ्गो सामान किन्न बाध्य भइरहेका छन् । यस्तो अवस्था हुँदा सामान महङ्गाउने व्यापारीहरू कालाबजारी गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । यसको लागि उपभोक्ता, सर्वसाधारण, सरकारका निकायहरू स्थानीय तहहरू उपभोक्ता हित संरक्षणसङ्ग सम्बन्धित सबै सचेत हुनु पर्दछ । मूल्य नियन्त्रण गर्न सचेत हुनुपर्दछ । कालाबजारीयालार्ई कारबाही गर्नु पर्दछ । उनीहरूलाई कानुनी रुपमा हदैसम्मको कारबाहीमा ल्याउनु पर्दछ । सरकारले उनीहरूलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन ।
सरकारले सस्तोमा सामान दिलाउनको लागि सहुलियत पसलहरू खोल्नुपर्दछ । सहुलियत पसलहरूलाई व्यापक बानाउनु पर्दछ । भरसक सस्तोमा समान किन्न पाउने बनाउनु पर्दछ । बजारलाई बिना निगरानी छोडिदिनु हुँदैन । अहिले कारबाही गरिएको नियन्त्रणको लागि पहल गरिएको भन्ने जस्ता कुराहरू पनि भइरहेका छन् । तर यसको प्रभावकारिता भने न्यून रहेको छ । त्यसैको फाईदा लिँदै व्यापारीहरूले मनोमनी गरिहेका छन् । यी सबै अराजकता र अनियमितताको नियन्त्रण गर्नु पर्दछ ।

