हाँक साप्ताहिकका चार दशक

आजदेखि हाँक साप्ताहिक चालिस वर्ष पूरा गरेर ४१ वर्षमा प्रवेश गरेको समाचार सुनाउन पाउँदा हामीलाई निकै हर्ष र गौरवको अनुभूति भएको छ । पंचायतीकाल र नेपालमा बहुदलीय व्यवस्था स्थापना भए पश्चात् प्रतिगमन कालमा हाँक साप्ताहिक माथि राज्यद्वारा हस्तक्षेप भयो । जसको कारणले पत्रिकाले आफ्ना पाइलाहरूलाई रोक्न पर्‍यो । त्यस अलावा जनताको सामाजिक, राजनीतिक मुक्ति र परिवर्तनको लक्ष्य तथा सपनाको मिसन बोकेको हाँक साप्ताहिकको चार दशक लामो निरन्तरता असामान्य कुरा हो भन्ने हामीलाई लाग्दछ । बितेका चार दशकका अवधिमा हाँक साप्ताहिकले बोकेको लक्ष्यका विरुद्धमा पत्रिकाको शिविर बाहिरबाट मात्र होइन भित्रबाट पनि निर्मम थप्पडको सामना गर्न पर्‍यो । हाँकको शिविर भित्रको एउटा पक्षले हठात् हाँक साप्ताहिकलाई मृत्युवरणको घोषणा गरेर डस्विनमा फ्याँक्ने काम गर्‍यो । कुरा माक्र्सवादीले जस्तै गर्ने तर कर्म पुँजीवादीले जस्तै गर्ने सो सरकारी पक्षले हाँक साप्ताहिक नपढ्नु भन्ने उदेगलाग्दो फर्मान जारी गर्ने धृष्टता समेत गर्‍यो पाठकहरू छक्क परे । हाँक मिसनबाट धरमराएको सो पक्षको उद्देश्यलाई हामीले पूरा हुन दिएनौँ र एक अङ्क पनि ब्रेक हुन नदिई पत्रिकालाई जीवन्तता र निरन्तरता प्रदान गर्न सफल भएका छौँ । यो हाम्रो अर्को गौरव र विजयको कुरा हो ।

आज हामी बाँचिरहेको युगले विचार होइन बजारको प्रतिनिधित्व गर्दछ । पुँजीवादका कर्पोरेट हाउसहरूले विचारलाई समेत बजारको खेतीका रुपमा उपभोग गर्ने प्रयत्न गर्दछन् । धर्म र संस्कृति समेत व्यापार तथा बजारुतानाशाहको कोपभाजनमा परिरहेको अवस्थामा आमूल परिवर्तनको मिसन बोकेर अगाडि बढ्नु सहज छैन । हाँक शिविर भित्रको एउटा पक्षलाई कर्पोरेट पुँजीवादका एजेन्ट तथा बजार तानाशाहका पुलाउहरूले अलमल्याउन थाले । त्यसपश्चात् हामीलाई जवरजस्त मिसन पत्रकारिताको झण्डालाई थाम्न हामीलाई सामान्य कठिनाईको सामना गर्न परिरहेका छैन । तर पनि हामीले यो मिसन पत्रकारिताको झण्डालाई उठाइरहेका छौँ । समाज व्यवस्था बदल्ने, देशलाई सकारात्मक सङ्क्रमणको दिशामा अगाडि बढाउने र जनताको जीवन पद्धति फेर्ने लक्ष्यमा हाँक धरमराउने छैन भन्ने विषयमा हामीले प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ । आजसम्म हामी आफ्नो प्रतिबद्धतामा अडिग रहँदै आएको ऐतिहासिक तथ्य जगजाहेर नै छ ।

हाँक साप्ताहिकलाई आफ्नो लक्ष्यमा हिंडाउने सिलसिलामा भोग्न परेका कठिनाईहरू सामान्य प्रकारका छैनन् । आर्थिक, भौतिक, प्राविधिक र कतिपय अवस्थामा बौद्धिक सङ्कटका कारण पनि बेलाबेलामा हाँकको प्रकाशनमा पूर्णविराम लाग्ने हो कि भन्ने सन्देहहरू पनि पैदा हुने गर्दछन् । यो नै हाम्रो सबभन्दा ठूलो चिन्ताको विषय हो । यस्ता धेरै समस्या र कठिनाइका बीचमा पनि हाँकलाई एउटा मिसन साप्ताहिकका रुपमा यहाँहरू समक्ष उभ्याउन सफल हुँदै आएका छौँ । हाम्रो यो सफलता हाँकका स्टापहरूको प्रयत्नले मात्र प्राप्त भएको होइन । हाँकलाई यो स्थानमा पुर्‍याउनका लागि विज्ञापनदाता,सहयोगदाताहरू, शुभचिन्तकहरू, ग्राहकहरू, लेखकहरू र पाठकहरूको सहयोगात्मक भूमिका अत्यन्त महत्त्वपूर्ण रहँदै आएको छ । त्यसप्रति हामी धेरै नै आभारी छौँ ।

देशमा व्यवस्था परिवर्तन भयो । पुँजीवादी लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यो गणतन्त्र स्थापना गर्न देशका हजारौँ सपुतहरूले बलिदान दिएका छन् । यो व्यवस्था आम शोषित पीडित जनताको पक्षपोषण गर्ने व्यवस्था होइन तर पनि यो व्यवस्थामा कैयौँ जनमुखि काम गर्न सकिन्छ । तर राज्य संचालनको विधिमा रहेका दलहरूले जनअपेक्षा अनुरुप कार्य सम्पादन गर्न सकेनन् । जसको परिणाम जनआक्रोस बढ्दै गएको छ । राज्य संचालनमा पैदा भएको भ्रष्टाचार, कुशासन, अराजकता र राज्यको ढुकुटीमा हुने लुटले मुलुकको अवस्थालाई दारुण बनाएको छ । उत्पादनमा गिरावट, महङ्गी, आयातमा वृद्धि र युवाहरूको पलायन हाम्रो देशको संस्कृति बनेको छ । जनता वर्तमानप्रति असन्तुष्ट छन् र भविष्यप्रति आशावादी पनि छैनन् । यी वेथितिपूर्ण समस्याहरू राष्ट्रका जटिल समस्याहरू हुन् ।

आज पनि हाँक साप्ताहिक देशको राजनीति, समाज र अर्थ व्यवस्थामा पैदा भएका यस्ता विकृतिका विरुद्धमा लगातार विचारधारात्मक रुपमा सङ्घर्षरत रहँदै आएको छ । देशको अवस्था कुन दिशामा जाने हो र हाँक साप्ताहिकले भावी दिनमा कति विचारधारात्मक सङ्घर्षको वीणा उठाउन पर्ने हो भन्ने कुरा यसै भन्न सकिन्न । हाँक साप्ताहिक आफ्नो लक्ष्य र प्रतिबद्धतामा अडिग रहँदै निरन्तर अगाडि बढ्ने छ । त्यस सिलसिलामा भावी दिनमा पनि हाँकलाई जोगाउन र निरन्तरता दिन हाँकलाई सबै क्षेत्रको सहयोग, हेरचाह र रक्षाको आवश्यकता पर्ने छ । हामीलाई आशा, विश्वास तथा भरोसा यो छ कि बितेका चार दशकमा जस्तै हाँकप्रति सबै क्षेत्रको सहयोगात्मक भूमिका अटल रहने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित