विजा अभियान र धनकुटा जेलको अनुभव

– बालकृष्ण सुबेदी
२०५६ मा पूर्वी नेपालमा विद्यार्थी जागरण अभियान सन्चालन भएको थियो। त्यो अभियानको अन्त्यमा मेरो प्रगतिशील विवाह भयो । के.बि. फुदोङ (तेह्रथुम), योगेन्द्र ढकाल (मोरङ) र म (धनकुटा) ले मोरङको केराबारीमा हुनेवाला ससुरालीमा विवाह बारे सल्लाह गर्न गइयो । केशव नेपाल पनि जाने कुरा थियो । तर केशब नेपालको आँखा पाकेकाले उहाँ जान सक्नु भएन । केटी पक्षका बुवाले ठीकै छ विवाह गर्नुस् तर यति छिटो हुन्न ,विवाह गर्दा परम्परागत तरिकाले गर्नु पर्दछ भन्नु भयो । हामीले परम्परागतढङ्गले विवाह गर्ने कुरा अस्वीकार गर्यौँ । योगेन्द्र ढकाल र के .बि फुदोङले छलफल गर्नु भयो । म हुने वाला दुलाहा भएकाले खासै बोलिन । साथीहरू नै बोल्नु भयो । कुरा मिलेन । बिहानमा गएका थियौ । खाना खाएर फर्कियौँ । विद्यार्थी जागरण अभियानको समापनको दिन असोज २२ गते धरानमा प्रगतिशील विवाह गरियो ।

त्यति बेला शहरमा भन्दा गाउँका जनताका वीचमा नै संगठनको भेलाहरू गर्नु पर्दछ भन्ने हाम्रो सोचाई थियो । २०५६ मा किसान संगठनको धनकुटाको तेलियामा र अनेराजमोको धनकुटाकै चानुवामा जिल्ला सम्मेलन गरिएको थियो । देशमा द्वन्द्वको स्थितिका कारण २०५७ मा तेलिया धनकुटा, तेलियाको घर ( हालको छथर जोरपाटी गाउँपालिका,वडा नम्बर चार) छाडेर धनकुटा सदरमुकाम बस्न थालियो । साथीहरूको वीचमा सामुहिक व्यवसाय चलाउने सल्लाह थियो । सामुहिक व्यवसायको लागि केही काम अगाडि बढाइयो तर त्यसमा हामी सफल हुन सकिएन ।
२०५७ भाद्रमा छोरी जन्मिए पछि ५÷ ६ महिना गोपाल विकजीको घरमा बसियो । सामान्य तरकारी पसल गर्दै संगठनको काम गरियो ।

२०५७ मङ्सिर ११ गते जिल्ला प्रशासन कार्यालय धनकुटाले गिरफ्तार गरी म र मेघराज शङ्करजीलाई हिरासतमा राख्यो । तेह्रथुमका मेघराज शङ्करजी त्यतिबेला धनकुटामा क्याम्पस पढ्नु हुन्थ्यो । विद्यार्थी संगठन र जातीय समता समाजमा काम गर्नु हुन्थ्यो । हामीलाई गिरफ्तार गर्दाका दिन संकटकाल लागेको रहेछ । त्यो कुरा हामीलाई थाहा थिएन । तपाईहरूबाट आतंककारी तथा विध्वंसात्मक गतिविधि हुन सक्ने आशंका भएकाले तपाईहरूलाई नियन्त्रणमा लिइएको छ भनेर हामीलाई भनिएको थियो । करीव एक महिना हिरासतमा राखेर हामीलाई जेल पठाइएको थियो ।

२०५७ मङ्सिरमा हाम्रा साथी मेघराज शंकर सँग एक जना साथी धनकुटा बजारको सिरवानी भन्ने ठाउँमा सँगै डेरा बस्थे । मेघराजजीका साथीका मामाले झापाबाट एक जना व्यक्ति सित एउटा सामानको पोको पठाएका थिए । एक जना बुढा मान्छे सामान लिएर आएकाथिए । साँझको समय थियो । यो सामान जसरी पनि पु¥याइदिनु पर्दछ भन्थे । जसरी पनि आजै पु¥याउनु पर्दछ भन्थे । त्यो पोकामा सुन थियो वा के थियो हामीलाई थाहा भएन । कुरा अस्वीकार गर्न नसके पछि सामान पु¥याउने ठाउँ सम्म म पनि बाटो देखाउन भनेर गएँ । फर्कँदा मेघराज र म साथी भइन्छ भनेर कोठाबाट निस्केर बाटो लाग्यौं । हिंड्दा हिंड्दै प्रहरीले घेरा हालेर पक्रिए । किन समाएको भन्दा साहबले बोलाउनु भएको छ मात्र भन्छ । तीनै जनालाई पक्रिएर लग्यो । मङ्सिरको चिसो जाडोमा हिरासतमा राख्यो । तपाइलाई साहबले बोलाउनु भएको छ भन्दै लग्यो । हामी तीन जना मध्ये ती बुढालाई पनि केही दिन हिरासतमा राखेर छोड्यो । मेघराज र मलाई छाडेन । भोलि पल्ट किन ल्याएको भनेर सोध्दा प्रहरीहरूले धेरै नबोल्नुस संकटकाल लागेको छ भन्थे । एक दिन डि एस पी गुप्त बहादुर श्रेष्ठ हिरासतमा भेट्न आएका थिए । डिएस पी पहिले देखि चिनेका मान्छे थिए । उनले सिडिओलाई थाहा छ किन छोपेको हो । मलाई थाहा छैन भन्थे ।
फत्तेबहादुर कार्की इन्स्पेटर थिए ।उनी राम्रै थिए । संकटकालमा बाहिर के भैरहेको छ भन्ने कुरा अपडेट गराईरहन्थे । तर अर्का रमेश कार्की नाम गरेका इन्स्पेक्टर खराब थिए । हिरासतमा साथीहरूलाई दमन गर्न अगाडि सर्दथे । असई ठीक थिए ।शालिन थिए ।
धनकुटा बहुमुखी क्याम्पसका लेक्चररहरू ठाकुर बराल ,जगत पोख्रेल ,क्याम्पस चिफको छोरा अजय श्रेस्ठलाई एक एक गरेर हिरासतमा ल्यायो । खानाको व्यवस्था राम्रो भएन अनसन बसिन्छ भनेर हल्ला गरेकाले मेघराज र मलाई रामै व्यवस्था गरेको थियो । क्याम्पसका लेक्चरहरूलाई ल्याए पछि खानाको स्तर बिग्रियो । लेक्चररहरूलाई हिरासतमा तपाइहरूको खाना घरबाट आउँछ कि यहीको खानु हुन्छ भने पछि उहाँहरुले हजुर जस्तो दिनु हुन्छ खान्छौ भने । पियनलाई लेक्चररहरुले हजुर हजुर भन्न थाले पछि त खाना पूरै बिग्रियो । आलुको तरकारी सितै बाख्राका बड्कौला सम्म पाकेको हुन्थ्यो । त्यस्तो खाना खान सकिन्न भनेर कति छाक भोकै पनि बसियो । खानाको कुरालाई लिएर धेरै हल्ला गरे पछि जेल चलान ग¥यो ।

जेल जानु भन्दा पहिले मलाई इन्क्वाइरीमा लगेको थियो । कुट्नका लागि इन्क्वाइरी गर्दा गर्दै खुट्टा बाँधेर मुण्टो तल पारेर बेन्चमा खुट्टा राखेर पाइपले पिट्न लागेको थियो। म भन्दा पहिले इन्क्वाइरी लिइएका साथीहरूबाट कुटाई खाएको कुरा सुनेकै थिएँ । राम्रै कुटाई खाने भैयो भन्ने लागेको थियो । इन्स्पेक्टर रमेश कार्कीले मलाई उँधो मुण्टो पारेर कुट्न लागेको बेला संयोगले त्यहाँ डि एस पी गुप्त बहादुर आइपुगे । डिएसपिसित मेरो पहिले देखिन चिनजान थियो । जिल्ला स्तरका विभिन्न बैठकमा म जनमोर्चाको तर्फबाट सङगै बैठकमा बसेको थिएँ । मैले डि एस पीलाई भने कि तपाईं प्रहरीको तर्फबाट र म पार्टीको तर्फबाट एउटै माइन्युटमा संगै सिग्नेचर गरेको बिर्सिनु भयो ? तपाईले मलाई चिन्नु हुन्न ? म कसरी आतंककारी भएँ ? माइन्युटको सिग्नेचरको मसी सुकेको छैन होला । मलाई यसो गराउने भनेर चिच्याएँ । डिएसपीले भने ,“सिडिओले थुन भनेर थुनेको हो । हाम्रो काम थुनी दिने हो किन लिएको हो हामी बाठो हुन आवश्यक छैन । इन्क्वाइरी गरे पनि उनैले गर्छन् । इन्क्वाइरी जरुरी छैन ।” डिएसपीले त्यसो भने पछि म कुटाई खानबाट जोगिएँ ।

मेरो इन्क्वाइरी गराएर फर्काउँदा हिरासतको कोठी भित्र पस्नु भन्दा पहिले एउटा सिढी झर्नु पर्दथ्यो । भ¥याङबाट झर्दै गर्दा भ¥याङ मुनि जुटको बोरामा एउटा पोका पारेर राखेको जस्तो देखियो । यसो हेरेको त बोरा चट्ट्पटाए जस्तो लाग्यो । अनि यो के हो भन्दै यसो खुट्टाले छोएको त साथी हो मलाई पोका पारेर राखेको छ । साथी हो खोल्देउन भन्दै बोलेको सुनियो । बोली लाल नेपालीको जस्तो लाग्यो । साच्चै बोरा भित्र लालजीलाई पोको पारेर ल्याएको रहेछ । लालजी त्यति बेला जनमोर्चाका जिल्ला नेता हुनुहुन्थ्यो । अलिकति पनि मानवीयता छैन भन्दै हिरासत भरी हल्ली खल्ली भयो । मलाई घचेट्दै हिरासतमा लग्यो । केही छिन पछि बोरा फुकाएर लालजीलाई पनि हिरासतमा ल्यायो ।

हामीलाई हेर्ने इन्चार्ज एउटा बुढो असई थिए । नकराउनुस माथिको आदेश नभई केही गर्न सकिदैन साथीहो भन्थे ।
दिन दिनै मान्छे थपिदै जान थाले । धनकुटाको हिलेबाट गङ्गराम गोम्देन, गणेश विष्ट, राजेश सुब्बा ( इलेक्ट्रोनिसियन ), ठेकेदार हरी लगायत थपिदै गए । हिरासतमा मान्छेको संख्या बढ्दै गए पछि बस्न सुत्न गाह्रो भयो । हामीलाई राजबन्दीको रूपमा लिएको हो भने राजबन्दीकै व्यवहार गर भनेर धेरै हल्ला गरियो । के कारणले पक्रिएको हो कारण सहित पूर्जी दिनु प¥यो भनेर हल्ला गरे पछि पक्राउ पूर्जी दियो । “आतङ्ककारी तथा विध्वंसात्मक गतिविधि हुन सक्ने सम्भावना भएकाले गिरफ्तार गरिएको “ भनी पूर्जीमा खुलाइएको थियो ।

अर्को पनि स्मरणीय घटना छ । हिरासतमा पिसाब फेर्न जर्किन दिएको थियो । हामीलाई ट्वाइलेट लैजा भनिन्थ्यो । लान्थ्यो । अजय श्रेष्ठ पेटका बिमारी थिए । मलाई दिशा गर्न ,पिशाब गर्न प्रहरी बोलाइ दे भनिरहन्थे । प्रहरी गार्ड आएन । अजयले कट्ट मै दिशा छाडेछन । यहाँ मान्छेले कट्टुमै दिशा गरि सक्यो । ड्युटीको मान्छे कहाँ गएको भनेर हल्ला गरियो । पछि आयो ड्युटी वाला । के गर्ने हजुर हाम्रो एक मात्र काम हुन्न । बोलाए पछि जानै प¥यो । लौ कमजोरी भयो सम्म भन्यो प्रहरी गार्डले ।

चार जना म, मेघराज शङ्कर, अजय श्रेष्ठ, जगत पोख्रेललाई जेल लग्यो । केही दिन पछि जगत पोख्रेललाई जेलबाट निकालेर लग्यो । कहाँ लग्यो भनेर हामीलाई डर लागेको थियो । कतै लगेर इन्काउन्टर ग¥यो कि भन्ने लाग्यो ।उहाँका आफन्तले सूर्य बहादुर थापाको सोर्स लगाएर निकालेका रहेछन् ।
जेलमा हिरासतमा भन्दा राम्रो भयो । २०५६ मा तत्कालीन अखिल (छैठौ ) का अध्यक्ष कृष्ण अधिकारी ,छैठौका परिषद सदस्य मातृका राई र माओवादीका ओम ढकालबाट जेलका बन्दीहरू राजनीतिकरुपले प्रशिक्षित भएका रहेछन । त्यसकारण राजनीतिक केसमा गएका हामीलाई जेल भित्र कुनै दुरव्यवहार भएन । जेलमा कतिपय ठाउँमा दाइ नाइके र भाइ नाइकेले बन्दीहरू सताइएका हुन्छन । कुटिएका हुन्छन् । हामीलाई त्यस्तो भएन । जेल भित्रका चौकीदारी गर्ने एक बन्दी डिल्लिराम पुरी (संखुवासभा) ले हामी सित राम्रो व्यवहार गरे ।

त्यहाँ जेल भित्र स्कुल थिएन । तर हाम्रो आफ्नै पहलमा स्कूल चलाउने योजना बनाएका थियौं। जो इच्छुक छन वा पढा लेखा नभएका कैदी– बन्दी हरूलाई हामीले पठनपाठन सन्चालन ग¥यौं । तर जगत पोख्रेललाई बाहिर लगे पछि कहाँ लग्यो भनेर मानसिकरुपमा तनाव भयो र ठाकुर बराललाई फेरि हिरासतमै लगे पछि स्कूललाई नियमित गर्न सकिएन ।
एक दिन जिल्ला विकास समितिका सभापति टीका चेम्जोङ सित सिडिओ शम्भु कोइराला जेलमा हामीलाई भेट्न पुगेका थिए । मलाई किन थुनियो भनेर सोधे ।

बिना पूर्जी किन जेलमा राख्नु भयो? म कसरी आतंकवादी भए ? आत्मसमर्पणको कागज थियो । म सनाखत गर्दिन । जिम्मा लिने मान्छे आउँदैन यस्तो आत्मसमर्पण गर्ने कागजमा म सही गर्दिन भने । राष्ट्रिय जनमोर्चाका तत्कालीन सांसद नवराज सुवेदी दुई पटक हामीलाई भेट्न आउनु भएको थियो । मैले आत्मसमर्पणको कागजमा हस्ताक्षर नगरे पछि मलाई सिडिओको कार्यालयमा हत्कडी लगाएर लगेको थियो ।नवराज सुवेदी सिडिओ कार्यालयमा हुनुहुन्थ्यो ।

नवराजले सिडिओलाई अहिले सम्म के कारणले बालकृष्णलाई जेलमा राखिरहेको भनेर सोध्नु भयो । सिडिओले “आतंककारी गतिविधिमा लाग्ने छैन भनी आत्मसमर्पण गर्न इन्कार गरेका कारणले उनलाई छोड्न नसकेको हो” भन्यो । नवराज एकदम रिसाएर भन्नुभयो, “तिमी कसरी सिडिओभयौ । जो मान्छे आतंककारी हैन ,उसले म आतङककरी हो, आत्मसमर्पण गर्छु भन्ने कागजमा कसरी साइन गर्छ । यति पनि नर्मल सेन्स छैन ? मेरो चल्थ्यो भने तिमीलाई सिडिओ हैन दर्ता चलानीमा राखिदिन्थे ।” नवराजजीले सिडिओलाई एकदमै झपार्नु भयो । पछि भेटमा त्यो सिडिओले गुनासो गरिरहन्थ्यो तेति धेरै मान्छेको बीचमा माननीयज्यूले मलाई तिमी भनेर अपमान गर्नु भयो ।”

प्रशासनले नै मेरो परिवारलाई बोलाए छ । अनि परिवारको रोहबरमा मलाई ५ महिना पछि २०५७ चैत्रमा धनकुटा जेलबाट रिहा ग¥यो । जेलमा रहेका मान्छेहरू आतंककारी गतिविधिमा संलग्न नभए पनि जेलमा बस्नु भन्दा आत्मसमर्पणको कागजमा हस्ताक्षर गर्दै निस्कदै गरे । तर मैल आत्मसमर्पणको कागजमा हस्ताक्षर नगरी निस्किए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित