– ओमबहादुर के. सी.
म २०४५ साल देखि २०४९ सालसम्म बागलुङको बोहोरा गाउँ स्थित श्रीप्रभा मा. बि. शिक्षक को रूपमा कार्यरत थिएँ । २०४६ सालमा बहुदलीय ब्यबस्थाको पुनर्स्थापना भए देखि नै त्यो क्षेत्रमा कम्युनिस्ट र काङ्रेसको बीच निकै संघर्ष चलेको थियो । त्यो संघर्ष गाउँमा मात्र थिएन । कम्युनिस्ट र काङ्ग्रेस वीचको झगडा विद्यालयका विद्यार्थी– विद्यार्थी र विद्यार्थी – शिक्षकको विवादमा समेत प्रकट हुने गर्दथ्यो । विद्यार्थीहरू बीचको सामान्य झगडालाई काङ्ग्रेसहरूले राजनीतिकरण गरेको अनुभवलाई यो छोटो संस्मरणात्मक लेखमा राख्न चाहन्छु ।
एकदिन झिवाखोला स्थिति प्रभा मावि स्कुलमा पढ्ने बोहरागाउँ वडा न. ९ बडाचौर गाउँको पँधेरोमा पानी भर्न जाँदा दुई जना विद्यार्थी ज्ञान प्रसाद पौडेल र हरिलाल पौडेलको बिचमा सामान्य विवाद भएछ । ज्ञान प्रशाद अखिल (छैठौं) र हरिलाल नेबिसंघमा आबद्ध विद्यार्थी थिए । ती दुई वीचको सामान्य विवादलाई लिएर विद्यालयमा आ–आफ्नो सङ्गठनमा उजुरी गरेछन र दुई सङ्गठनका नेताको उपस्थितिमा छलफल गरेका रहेछन् । छलफलछि ने.बि.सङ्घका विद्यार्थी हरिलाल पौडेलले गल्ती गरेको ठहर गरेकाले कान समातेर उठबस गर्दै थिए । म मध्यान्हको समयमा चिया पिएर अफिस भित्र पस्दै गर्दा त्यो देखे । तत्काल नै यो के गरेको हो ? बन्द गर भन्दा दुबै सङ्गठनका नेताले सामान्य केस हो सकियो सर भनेर जवाफ दिएका थिए । पछि अफिसमा हरिलाललाई नै बोलाएर किन तिमी त्यसरी उठबस गरेको भन्दा भयो सर यो हाम्रो सानो बिबाद हो सकियो भनेपछि म पनि चुप लागे ।
म मसाल समर्थक शिक्षक थिएँ । प्रभा मावि झिवाखोलामा अध्यायपन गर्ने अधिकांश शिक्षकहरु मसाल समर्थक नै थिए । मैले विद्यालय समयमा अनुशासित तरिकाले आफ्नो पढाउने काम गर्थे । साँझ बिहान पार्टीले दिएको जिम्मेवारी पनि पूरा गर्दथें। मैले पार्टीको काम निडरताकासाथ गरिरहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई चित्त बुझेको थिएन ।कसरी यसलाई ठिक पार्ने भनेर काङ्ग्रेसहरूले निहु खोजिरहने गर्दथे ।
पहिले पनि मलाई कमजोर बनाउन धेरै पटक योजना बनाएका थिए तर सकेका थिएनन् । यस पटक विद्यार्थीहरू बीचको विवादलाई आधार बनाएर म माथि आकर्मण गर्ने योजना बनाएछन् । त्यो योजना अनुसार आफूलाई अन्याय भएको कुरा लेखेर हरिलालले ने.बि.सङ्घ बुर्तिबाङ क्षेत्रीय समितिमा निबेदन दिएका रहेछन् । त्यतिबेला ने.बि.सङ्घका क्षेत्रीय सभापति ढालेन्द्र शेरचन थिए । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति कृष्ण शेरचन बुर्तिबाङ बजार बासी थिए । उनीसम्म त्यो मुद्दा पुगेछ ।
२०४७ को एस. एल. सी. को परीक्षा केन्द्र बुर्तिबाङ मा परेको थियो । बुर्तिबाङकेन्द्र पहिलो पटक परेको थियो । त्यहीबेला ढालेन्द्र शेरचनले एस. एल. सी.दिदै थिए । म पनि हाम्रा विद्यार्थी त्यही केन्द्रमा भएकाले गार्ड बस्न वुर्तिबाङ गएको थिएँ । गणित विषयको अघिल्लो दिन बजारमा भेटेर दादागिरी शैलीमा भोली मलाई हिसाब गरेर दिनुपर्छ । तपाईं गणितको शिक्षक हो । त्यसरी सहयोग नगरे राम्रो हुदैन भनेर धम्की दिएका थिए । मैले त्यही बेला नै जवाफ दिएको थिए कि यो हुदैन, म गर्दैन, तिमी जानेको गर्नु म गार्ड बस्न आएको हुँ सिकाउन आएको होइन । त्यसबेला परीक्षाको केन्द्राध्यक्ष त्यही वुर्तिबाङका उत्तरगंगा माध्यमिक विद्यालयका प्र. अ. धिरप्रताप सिंह थिए । केन्द्राध्यक्ष सिंहलाई भनेर म गणितको पेपरका दिन रनिङ गार्ड बसे र अझ बढी कडाइ पनि गरें ।त्यो रिस उनले साचेर बसेका रहेछन् । त्यहीबेला बुर्तिबाङ इलाका प्रहरी प्रमुख स.इ .नाम अहिले सम्झना भएन, कार्की थरका पाल्पाका थिए, उनीसङ्ग पनि मेरो राम्रो परिचय भएको थियो । झिवाखोलामा पनि इलाका प्रहरी कार्यालय थियो त्यहाँ पनि स.इ. नै बस्थे तर बुर्तिबाङको स .इ. सिनियर हुन्थ्यो ।
ती हरिलालले बुर्तिबाङमा उनको संगठनमा आफू अन्यायमा परेको उजुरी दिएपछि त एकदिन मलाइ त्यही निहुँमा ठिक गर्न भनी नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति कृष्ण शेरचन, ने.बि. सङ्घ का सभापति तिनै ढालेन्द्र शेरचनको नेतृत्वमा १२÷१३ जना को टिम साँझ ३.३० बजे तिर ४÷५ वटा घोडा लिएर झिवाखोला पुगे । साथमा ती बुर्तिबाङका कार्की थरका स. इ. पनि गएका थिए । उनीहरु सिधै इलाका प्रहरी कार्यालयमा गए र प्र.अ. सहित मलाई पनि बोलाउन पठाए । हाम्रो विद्यालयका प्र. अ. भुमिराज आचार्य जो अहिले चितवनमा बस्नुहुन्छ, हुनुहुन्थ्यो । तर उहाँ प्रायः बाहिर काममा जानुहुन्थ्यो । पहिले विद्यार्थीको बिबादको समयमा पनि स्कुल मा हुनुहुन्न थियो र त्यो दिन पनि उहाँ नभएकाले जनकलाल खरेल उहाँको घर गुल्मी थियो, उहानै नि. प्र.अ.हुनुहुन्थ्यो । उहाँ समेत हामी केही स्टाफ थानामा गयौ । साथमा केही विद्यार्थीहरु पनि हामी पनि जान्छौ भनेर गए तर उनीहरुलाई थानाभित्र पस्न दिएनन् । हामी भित्र पसे पछि छलफल शुरु भयो । विषयको प्रवेश तिनै स.इ. ले गराए त्यसपछि त तिनै ढालेन्द्र शेरचनले नै मलाई निकै डाटे । एकोहोरो प्रकारले पुरानो रिस समेत पोखे । हाम्रा प्र .अ. र अरु स्टाफ त बोल्ने कुरै भएन । उनीहरु धेरै बोले धम्की दिए । तर म आत्तियको थिएन किनकि मैले कुनै गल्ती गरेको थिएन जब उनीहरु सबै जना बोले तब मैले तिनै सइलाई सोधे अब म बोल्न पाउछु? उनले बोल्नुस भनेपछि मैले सबै कुरा खोलेर बताए । हामीलाई विद्यार्थीको त्यो विवाद थाहा थिएन । जतिबेला उठबस गराउदै थिए मैले देखेर रोक्न खोजेको थिए । उनीहरुले नै यो सामान्य हो हामी मिलि सक्यौ भनेको र पछि हरिलाललाई बोलाएर सोधेको र उनले पनि हामी मिलि सक्यौ भनेको कुरा बताएका थिए भन्ने रिपोर्टिङ गरिदिएँ । तिनै पीडित भनिएका हरिलाललाई सोध्नुस हामीले यो प्रकृया गरेको हो कि होइन भनेपछि हरिलालले पनि हो त्यसो त भनेर बोलेका थिए । अब भन्नुस मेरो गल्ती काहानेर छ ? भने पछि थप बोल्ने ठाउँ भएन र पछि तिनीहरुले नै उल्टै मलाई सम्झाए जस्तो गरेर तपाईं जस्तो बुद्दिजिवी मान्छे यहाँ हुनुहुन्छ । गल्ती हाम्रो विद्यार्थीको हो हामीले राम्रोसँग कुरा नबुझिकन यहाँ आयौं गाह्रो नमान्नुहोला ।
विद्यार्थीहरूलाई सम्झाइदिनुहोला भन्न थाले । ती कार्की स.इ.ले राम्रो भाषामा मैले उहाँलाई पहिले देखि चिन्छु उहाँले तेस्तो नगर्नु पर्ने हो कसरी भएछ भन्ने लागेको थियो। कुरा यस्तो रहेछ भने त्यो छलफल पछि हासी खुसी सबैले हात मिलाएर निस्किएका थिए। पछि त्यो मुद्दा सकिएपनि तिनै विद्यार्थीहरू बिचमा बिबादहरु चल्दै रहेछ । हामीलाई त के थाहा हुनु र ? पछि फेरि २०४९ श्रावण महिनामा तिनै ढालेन्द्र शेरचनले दुई पेज लामो पत्र मेरो नाममा लेखेर हाम्रा विद्यार्थीमाथि अन्याय भइरहेको छ त्यसमा तेरो हात छ त्यसैले त यता बुर्तिबाङ आएमा हातखुट्टा भाचेर सग्लो जान पाउदैनस भनेर भनेका थिए । त्यो पत्र पाएपछि मैले केही विद्यार्थीसँग यो के भइरहेको छ ? किन यसो भनी रहन्छ यो मान्छेले म बुर्तिवाङ जान्छु यसले के गर्दो रहेछ भनेर भने । मेरा केही विद्यार्थीहरूले नजानुस सर खतरा हुन पनि सक्छ भन्दै थिए तर म बुर्तिबाङ गएँ । दुईदिन बसेँ । ती बान बहादुर भेट भएनन् । पछि माघ महिनामा मैले बागलुङ बोहोरा गाउँको विद्यालयमा पढाउने काम छाडेर आफ्नै घर दाङ को गढवा फर्किएँ । मैले त्यहाँको स्कुल पढाउन छाडेर घर फर्किए पछि त्यहाँको विवाद , धम्की पनि स्वतः समाप्त भयो ।