–सूर्या थापा
म २०२६ सालमा बुटवलमा स्वास्थ्यकर्मी भइ काम गर्दा कम्युनिष्ट आन्दोलनसित जोडिएको हुँ । तर मैले कम्युनिस्ट पार्टीको सदस्य प्राप्त गरेको २०२९ सालमा हो । मैले लामो समय प्राध्यापन पेशामा रही काम गरें । पोखराको नसिंङ क्याम्पस, विरगञ्जको नर्सिङ क्याम्पस, पाल्पा तानसेनको अनमि क्याम्पस, कञ्चनपुरको नर्सिङ क्याम्पस कीर्तिपुरको हेल्थ सेन्टर र काठमाडौं महाराजगञ्जको नर्सिङ क्याम्पसमा मैले काम गरें, प्राध्यापन गरें । प्राध्यापनको कार्यसँगै राजनीतिक कार्यमा पनि म सक्रिय भएँ ।यो छोटो संस्मरणात्मक लेखमा विभिन्न क्याम्पसहरुमा प्राध्यापन गर्ने बेलाका केही अनुभवहरु राख्न चाहन्छु ।
काठमाडौं महाराजगञ्जको नर्सिङ क्याम्पसबाट वि.एन. (व्याचलर इन नर्सिङ) उत्तिर्ण गरिसकेपछि म पोखरा नर्सिङ क्याम्पसमा एसिस्टेन्ट लेक्चररको पोष्टमा नियुक्त भएँ । २०४४ देखि करिब डेढ वर्ष त्यहाँ पढाएँ । त्यहाँ पोखरा छँदा म पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन्थे । मैले लेभी तिर्ने गर्दथे । पार्टीको तर्फबाट लेभी लिन कामरेडहरू आउने गर्नु हुन्थ्यो ।
०४५÷०४६ तिर त्रिभुवन विश्वविद्यालय अन्तर्गत विरगन्ज, नेपालगन्ज, विराटनगर सहित चार ठाउँमा सर्टिफिकेट लेभलको नर्सिङ क्याम्पस खुल्यो र मलाई बिरगन्ज पठाइयो । विरगन्ज नर्सिङ क्याम्पसमा पढाउने बेला २०४६ सालको जनआन्दोलन शुरु भयो र बहुदलीय व्यवस्था पुनर्स्थापना पनि भयो । त्यतिखेर म आन्तरिकरूपमा नेकपा( मसाल) मा छँदै थिएँ । जनआन्दोलनका बेला प्राध्यापकहरुको तर्फबाट मैले बिरगन्जको घण्टाघर लगायतका स्थानहरुमा मन्तव्य दिएकी थिएँ । सत्ताको दमनको विरोध र जनताको स्वतन्त्रताको पक्षमा खुलेर स्टेज प्रोग्राममा बोलिन्थ्यो । त्यतिखेर आन्तरिक पार्टी कार्यक्रममा हिमालचन्द्र गौतम, अक्षयलाल साह, शिव तिवारी, कर्ण थापा लगायतका साथीहरुसित सम्पर्क भयो । उहाँहरु पनि जनआन्दोलनमा सहभागी हुनु भएको थियो ।
२०४८ सालतिर मलाई पाल्पाको तानसेन भुसालडाँडास्थित अ.न.मि क्याम्मपसको क्याम्पस प्रमुख बनाएर पठाइयो । त्यहाँ म करिब तीन वर्ष क्याम्पस चिफ भएर काम गरें । २०४८ श्रावण ११ गते मसालका केन्द्रीय नेता कामरेड मानबहादुरको उपस्थितिमा नेकपा (मशाल) पाल्पा जिल्ला संगठन समितिको गठन भयो । म पाल्पा मसालको जिल्ला संगठन समितिको सेक्रेटरी बने । २०४८ असोज १२ गतेको बैठकमा मसालको पार्टी केन्द्रको तर्फबाट रामसिंह श्रीस पाल्पामा बैठक बसाल्न जानु भएको थियो । त्यो बैठकबाट २०४८ पौषमा हुने छैठौं राष्ट्रिय सम्मेलनमा पाल्पाबाट जाने प्रतिनिधि छनौट, पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष का. गोञ्जालोको जीवन रक्षार्थ वालपेन्टिङ गर्ने लगायतका कार्यक्रमहरुबारे निर्णय गरिएको थियो ।
पाल्पा छँदा पार्टी कार्यमा लाग्ने माधव ज्ञवाली (तानसेन), रेवतीप्रसाद पाण्डे ( बौघा गुम्बा), मोति पाण्डे (अर्गेली) , मणिध्वज (तानसेन), कृष्ण गाहा (गेंझा), लिला गाहा (गेंझा), सुदर्शन सिलवाल (गेंझा) लगायतका साथीहरु सम्झन्छु । युवा सोमकुमार कार्की, विद्यार्थी नेता नरेन्द्रमान के.सी. पनि त्यतिबेला सक्रिय हुनुहुन्थ्यो । म पाल्पा हुँदा माघे सक्रान्तिका बेला रिडीमा मेला लागेका बेला प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम भएको थियो । रक्तिमका कलाकार ध्रुव ज्ञवाली गुल्मीको हुनुहुन्थ्यो । जीवन शर्माको स्वरमा कमाण्डीङ पावर छ तर ध्रुबको स्वर असाध्य मीठो थियो । दुःखद कुरा ज्ञवालीको छिटै मुत्यु भयो । रिडी मेलाको कार्यक्रममा ध्रुव ज्ञवालीको सबैलाई मन्त्रमुग्ध पार्ने स्वर गुञ्जिएको मैले बिर्सिएको छैन ।
गोविन्द सिंह थापा (का. मामा) म पाल्पा छँदा पाल्पा जानुहुन्थ्यो । उहाँ पाल्पाका बैठक र कार्यक्रमहरुमा पनि सहभागी बन्नु हुन्थ्यो । मामा एउटा बैठकको काममा गेंझा पनि पुग्नु भएको थियो । माधव ज्ञवालीको घर सिलखानटोलमा पार्टी कार्यालय थियो । माधव ज्ञवाली, विद्या ज्ञवाली एउटै परिवार जस्तो लाग्दथ्यो । तानसेनका काशीराम बुढा प्रिती माधवजीको घरमा आइरहनु हुन्थ्यो ।
एउटा अलि तितो अनुभव के छ भने गुल्मीकी शारदाअर्याल नामकी विद्यार्थी १ दिनको लागि भनेर बुटवलतिर नेवि संघको कार्यक्रममा गइन । उनी ३ दिन पछि मात्र फर्किइन् । मैले ती विद्यार्थीलाई होस्टेलको अनुशासनमा बस्नुपर्दछ । १ दिनको विदा लिएर ३ दिन किन हराएको मात्र भनेर मौखिक सोधेको थिएँ । उनले नेवि संघका नेताहरुलाई कुरा लगाइछन् । मैले सोधेको मात्र थिएँ । कार्वाही गर्छु पनि भनेको थिएन । उनको दाइ सूर्य अर्याल लगायत कांग्रेसका युवाहरु मेरो कार्यालयमा आएर उफ्रिएर, कराएर टेवुल हानेर उत्पात गरे । काठमाडौंबाट निस्कने एउटा पत्रिकाले नेबिसंघ्को उद्दन्डताबारे समाचार नै बनाएको थियो । शनिबारका दिन तानसेनमा मणिध्वज, निर्मल श्रेष्ठ लगायतका बुद्धिजीवीहरु बसेर समसामयिक विषयमा छलफल पनि गरिन्थ्यो ।
तानसेन भुसलडाँडाको अनमि क्याम्पस हटेपछि म बेतलवी विदामा बसे । त्यही बेला कञ्चनपुरको महेन्द्रनगरमा प्राइभेट निर्सङ कलेज खुलेछ । मलाई क्याम्पस चलाउन मान्छे भएन भनेर कञ्चनपुर लगेर गए । मैले १ वर्ष कञ्चनपुरमा नर्सिङ कलेजको क्याम्पस चिफ भएर काम गरें । म कञ्चनपुर छँदा त्यहाँका पार्टीका साथीहरुसित सम्पर्कमा आएँ । थारु गाउँमा गएँ । मेवाराम चौधरी, चन्द्रवदन, लोकेन्द्र लम्साल सित त्यहाँ भेट भयो ।त्यसपछि म केही समय कीर्तिपुर हेल्थसेन्टरमा काम गरें । उपप्राध्यापकका लागि त्रिभुवन विश्व विद्यालयले आवेदन आह्वान ग¥यो । म उपप्रध्यापकमा नाम निकाल्न सफल भएँ । त्यसपछि म काठमाडौं महाराजगन्जको नर्सिङ क्याम्पसमा उपप्राध्यापकको रुपमास काम गर्न थाले । बालाजु घर बनाइयो । काठमाडौंमा लगातार कार्यक्रम भइरहने, निरन्तर पार्टी काममा पनि हिंड्नु पर्ने भएपछि निकै गाह्रो भयो । राम सिंह श्रीस, चित्रबहादुर के.सी.जीहरुले पार्टीको होलटाइमर हुनुपर्दछ । छोड्नुजागिर भनिरहनु भयो । पेन्सनको आशा नगरी २०५५ मा मैले उपप्राध्यापकको जागिर छोडेर पार्टीको होलटाइमरको रुपमा काम गर्न थालें ।