नेकपा (मशाल) स्वर्गद्वारी नगर समितिले गरायो नगरपालिकालाई ध्यानाकर्षण

प्यूठान । नेकपा (मशाल) स्वर्गद्वारी नगर समितिले स्वर्गद्वारी नगरपालिकालाई विभिन्न विषयहरु समेटेर ध्यानाकर्षण गराउने काम गरेको छ । नेकपा (मशाल) स्वर्गद्वारी नगर समितिका सचिव ओवीराम जिएम, वीरबहादुर पुन र रिखिराम घर्तीमगर सहितको एक प्रतिनिधि मण्डल २०८० फागुन २० गते नगरप्रमुख र प्रशासकीय अधिकृतसँग भेट गरी पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा (मशाल) स्वर्गद्वारी नगर समितिको सचिव ओविराम जिएमले एक वक्तव्य प्रकाशित गरी सो कुराको जानकारी गराएका छन् । वक्तव्यमा कार्यसम्पादन मूल्यांकनमा स्वर्गद्वारी नगरपालिका प्यूठान जिल्लामा सबैभन्दा पछाडि परेको लगायत विषयहरुमा नेकपा (मशाल) को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ५ बुंदे ध्यानाकर्षण पत्र बुझाएको उल्लेख छ । वक्तव्यमा नेकपा (मशाल)ले बुझाएको ध्यानाकर्षणपत्र प्रति नगरप्रमुख सकारात्मक रहेको पनि उल्लेख गरिएको छ ।

नगर सचिव ओविराम जिएमद्वारा २०८० फागुन २२ गते जारी वक्तव्यमा भनिएको छ–“केही दिन अगाडि सामाजिक सञ्जालमा स्वर्गद्वारी नगरपालिका का १७ जना कर्मचारीहरूले अतिरिक्त काम गरे बापत भनी करिब ४ लाख बढी रकम भुक्तानी लिएको भन्ने विषय, नगर प्रमुखको सचिवलाई को वक्तव्यमा “बकम्फुसे, भक्तहरू” जस्ता अमर्यादित शब्द प्रयोग गरेको, त्यसै वक्तव्यमा कोरिया जाँदा एक रूपैयाँ पनि नलिएको भन्ने नगर प्रमुखको सचिवालयका समाचारहरू आएको र विगत जस्तै यो वर्ष पनि यस स्वर्गद्वारी नगरपालिका कार्यसम्पादन मुल्याङ्कनमा प्युठान जिल्लामै सबै भन्दापछि नबौँ नम्वरमा रहन गएकोमा ने.क.पा.(मशाल) नगर कमिटी स्वर्गद्वारीको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त विषयमा मिति २०८० फागुन २० गतेका दिन ने.क.पा.(मशाल) नगर कमिटीको प्रतिनिधि मण्डल ओविराम जिएम, वीर बहादुर पुन र रिखिराम घर्ती नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भेट गरि निम्न विषयहरूमा ध्यानाकर्षण तथा सचेत गराउने काम भएको छ ।

१) स्वर्गद्वारी नगरपालिका कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामै सबैभन्दा पछाडि नवौ नम्बरमा पर्नु के के कमजोरी रहन गयो ? यो नगरपालिका असफल हुनु भनेको हामी नगरबासिको चिन्ताको विषय हो, नगरवासीलाई यस विषयमा प्रष्ट पारिनु पर्दछ ।
२) अतिरिक्त काम गरे बापत १७ जना कर्मचारीलाई रकम दिने काम गरियो । १७ जना मध्य कयौं कर्मचारी फिल्डमा नगईकन, र आफ्नो वरिपरिका कर्मचारीले मात्र अतिरिक्त भत्ता बुझेका छन् । नगरपालिकाको यस प्रकारका हर्कत जनविरोधी छ । जनताका माग र आवश्यकतालाई बेवास्ता गर्ने र तलव भत्तामा कर्मचारीतन्त्रलाई प्रभावमा पारेर आफ्नो अनुकूलतामा काम गर्ने शैली जनविरोधी शैली हो ।
३) के कामको लागि कोरिया जानुभयो । कुनै पनि देशको नगपालिकासँग सम्बन्ध कायम गरेर त्यहाँको विकासको मोडेल, टेक्नोलोजी, प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा, औद्योगिक विकास जस्ता विषयमा लगानी भित्र्याउने सम्बन्ध कायम गर्न सकिन्छ । तर त्यसमा ध्यान नदिएर नगरपालिका भित्रका युवालाई विदेश पलायन गराउने उद्देश्य राखेर श्रम व्यापार मात्र गरियो भने सुनिएको छ । यस प्रकारका कामले भविष्यमा नगरपालिकाको लागि घातक हुनेछ र नगरपालिकाको विकास हुने छैन ।
४) कोरिया जाँदा एक रूपैयाँ पनि लिएको छैन भनेर वक्तव्यमा भनिएको तर सार्वजनिक सुनुवाइमा २ लाख बढी रकम पेश्की लिएको हो भनेर स्विकार्नु भयो । नगर प्रमुख जस्तो गरिमामय पदमा रहेर इमानदारी र नैतिकता भएन ।
५) नगर प्रमुख जस्तो गरिमामय पदमा रहेर अरूलाई “बकम्फुसे, भक्तहरू” भनी अमर्यादित शब्द सामाजिक सञ्जालहरूमा लेख्नु शोभनीय भएन । नगरको विकासमा स्वच्छ , पारदर्शी र सुशासनलाई प्राथमिकतामा राखेर जानुपर्नेमा नगरपालिका संचालकहरूले मोनोपोली र स्वेच्छाचारी तरिकाले नगरपालिका चलाउन खोजेकोमा ने. क. पा. (मशाल) स्वर्गद्वारी नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको र छलफलमा प्रतिनिधि मण्डलले नगर प्रमुखलाइ नगरपालिका भित्र हुने गरेका यस प्रकारका कमि कम्मजोरीहरूलाई सुधार गर्न सुझाव दिएको छ । र नगर प्रमुखबाट कमी कमजोरीहरूलाई सुधार गर्ने वचन दिनुलाई पनि सकारात्मक रूपमा लिइएको छ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित