बाँके । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति बाँकेले अभिभावकहरुको हस्ताक्षर सहितको ध्यानकर्षणपत्र जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका नगरप्रमुख समक्ष विद्यार्थीको शुल्क वृद्धि, छात्रवृत्ति लगायत विषयमा विभिन्न मागहरु राखी ध्यानाकर्षण गराएको छ । बाँके जिल्लाका नीजि शैक्षिक संस्थाको लुट र शोषण विरुद्ध संचालन गरेको १००१५ (दश हजार पन्ध्र ) अभिभावकको हस्ताक्षर सहित अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो । साथै सुनुवाई नभएमा संघर्षमा जान बाध्य हुने, संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने पनि अखिल क्रान्तिकारीले जनाएको छ ।
संगठनले नीजि शैक्षिक संस्थाहरुमा भैरहेको लुट र शोषणविरुद्ध ध्यानाकर्षण गराएका बुँदाहरु निम्नानुसार रहेका छन् ः
१) शिक्षा निर्देशिका विपरित भर्ना शुल्क भनेर एउटै विद्यार्थी को प्रत्येक बर्षमा भर्ना शुल्क लिने कार्य बन्द गर्न,
२) पाठ्यपुस्तक र ड्रेस तोकिएको ठाउँबाट मात्रै खरिद गर्न बाध्य पार्ने अवस्था अन्त्य गर्न तथा पुस्तक खरिदमा न्यूनतम २५ प्रतिशत सहुलियत कायम गर्न,
३) विभिन्न वाहानामा शुल्क असूल गर्ने कार्य बन्द गर्न र गत वर्षको तुलनामा ५० प्रतिशत शुल्क घटाउन,
४) अध्ययन पश्चात् विद्यार्थिको प्रमाणपत्र निःशुल्क पाउने व्यवस्था लागू गराउन,
५) प्रत्येक नीजि विद्यालयमा अलग अलग पोसाकको व्यवस्था बन्द गरी, पोसाकमा एकरुपता कायम गर्न,
६) विद्यार्थीमाथी यातना दिन राखिएका आईडि खारेजी गर्न,
७) निर्देशिका बमोजिम छात्रवृत्ति व्यवस्था लागू गर्न,
८) कालो नम्बर प्लेटका स्कुल बस संचालनमा रोक लगाउन ।”

