गिनिज बुढा, काठमाडौं। माघ २३ गते बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा सिग्नल लाईटको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम पद्मकन्या बहुमुखी क्याम्पस तथा महानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । सिग्नल लाइट पैदल यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।
सिग्नललाईटका निर्माणकार्यमा संलग्न ईन्जिनियर श्रीस पाण्डेका अनुसार यस प्रकारका लाईटहरू अन्य ३६ ठाउँमा जडान गरिएको छ । ३३ वटा विद्यालय र कलेज अगाडि तथा ३ वटा अस्पताल अगाडि जडान गरिएको छ । ती ठाउँमा सडक दुर्घटना भएको पाइका कारण सिग्नल लाईटलाई सन्चालनमा ल्याइएको हो । पैदल यात्रुले सडक पार गर्नु परेमा लाईटमा जडित बटन थिच्न सक्ने छन् र सिग्नल परिवर्तन भए पछि सजिलै सडक पार गर्न सक्ने छन् । कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुखले बटन थिचेर गरिएको थियो ।
यसरी क्याम्पस अगाडि सिग्नल लाईट सन्चालनमा आउनुमा क्याम्पसकी प्रा डा भगवती सेढाईको योगदान रहेको छ । उहाँले सडक सुरक्षामा विद्यावारिधि गर्नु भएको छ । क्याम्पस अघिको सडकमा सिगनल लाईट सन्चालनका लागि उहाँले नै महानगरपालिकालाई निवेदन दिनु भएको हो । विद्यार्थीहरूलाई मध्य नजर गर्दै र पैदल यात्रुहरूलाइ प्राथमिकतामा राखेर दुर्घटना न्युनिकरण गर्ने प्रयासका साथ सो सिग्नल लाईट सन्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
क्याम्पस प्रमुख प्रा डा जया लक्ष्मी प्रधानले महानगरपालिकालाई धन्यवाद दिदै आगामी दिनहरूमा क्याम्पसका विद्यार्थीहरूका लागि सहज हुने बताउनु भयो । विद्यार्थीहरूले पनि सिग्नल लाईटको पालना गर्नु पर्ने बताउनु भयो । सिग्नल लाईटको उचित सन्चालनका निम्ति क्याम्पसमा क्लब पनि निर्माण गरिएको जानकारी दिनु भयो। कार्यक्रममा पूर्व ट्राफिक प्रहरी सेवामा कार्यरत जगतमन श्रेष्ठको पनि उपस्थिति रहेको थियो । उहाँले विद्यार्थीहरूलाई सिग्नल लाईटको सदुपयोग गरेर अन्य पैदल यात्रुलाई उदाहरण दिन सुझाब दिनु भयो । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू र विद्यार्थीहरूको उल्लेख सहभागिता रहेको थियो ।

