शालिकराम भण्डारी
नयाँ जनवाद हुँदै समाजवादमा पुग्ने भन्दै जनयुद्ध थालनी गरेको माओवादी पार्टी झण्डै झण्डै आफ्नो लक्ष्य पूरा गर्ने बेलामा आन्तरिक र बाह्य प्रतिक्रियावादको चपेटामा परी आत्मसमर्पण गरिदिंदा धोका खायो । क्रान्ति युद्धमा २ पक्षबीच वार्ता हुन्छन्, सकेसम्म कसैले आफ्नो हक दावी छोड्दैनन् । ठूला ठूला विश्वयुद्ध भए, पहिलोमा लेनिनको नेतृत्व या वार्ता भयो कमजोर पक्षले आत्मसमर्पण गर्दा युद्ध समाप्त भयो शान्ति सम्झौतामा हस्ताक्षर गरियो युद्ध अन्त्य भयो । त्यसैगरी दोस्रो विश्वयुद्धमा स्टालिनको भूमिका प्रमुख रह्यो । युद्ध समाप्तिको घोषणा गरियो । तर नेपालको जनयुद्धमा माओवादी पार्टी शक्तिशाली हुँदाहुँदै पनि वार्ताको प्रस्तावमा भाग लियो । त्यहाँसम्म ठिकै थियो । त्यति ठूलो गल्ती कमजोरी भएको थिएन । तर वार्तामा आफ्नो अडान छोडिदिंदा देशका मुख्य राजनैतिक, आर्थिक समस्या जस्तै जनगणतन्त्र, नयाँ जनवाद हुँदै समाजवाद पुग्न आफ्नो लक्ष्य छोडी प्रतिक्रियावादीको बाटो पुँजीवादी गणतन्त्र–पुँजीवादी जनवाद नै यसको पनि कार्यदिशा रह्यो । संसदीय प्रजातन्त्रबाट पनि समाजवादमा प्राप्त गर्न सकिने दृढ निश्चयमा पुग्यो । मुख्य नेतृत्वको एउटा ठूलो भागले यस्तो कार्यनीति लिएपछि यसलाई अनुचित, धोका ठान्नेहरु क्रान्तिकारीहरु संगठनमा उत्रेपनि, अगाडि बढ्दै गएपनि केही हदसम्म कमजोर भएको छ । यो अवस्थाबाट निस्कन कडा परिश्रमको आवश्यकता छ ।
जनताले माओवादमा कति ठूलो आस्था, विश्वास गरेका रहेछन् भन्ने प्रमाण शान्ति सम्झौतापछि हुन गएको पहिलो निर्वाचनमा जनताले यसमा प्रतिनिधिलाई ठूलो संख्यामा पुराई दिनाले पनि स्पष्ट थाहा हुन्छ । तर नेतृत्वले गलत बाटो लिंदा होसियार जनता अलमलमा परेका छन् । सही दिशा परित्याग नगरेको भए “अहिले पो बुढो भएर” भन्ने गीत गाउँछन्, त्यस्तै भएको छ । जनताले स्वागत गरेकै थिए तर के गर्ने ? अव त प्रतिक्रियावादी दक्षिणपन्थीले लगाउने गरेको आतंकवादी उग्रवादी, अराजकतावादी जस्ता आरोप सहन परेको छ । १९ हजार जनता मार्ने हत्यारा भन्ने गरेका छन् त्यो पनि सहनै परेको छ । निरंकुश राजतन्त्र र बहुदलीय व्यवस्थाका पार्टीहरुले जनता मारेको संख्या त्यो भन्दा धेरै ठूलो छ यस्तो सत्य कुराको चेतावनी दिन पनि सकिएको छैन । खाली रित्तो गर्जनले मात्र के गर्ने ? जनताका आधारभूत समस्या ः गास , वास, कपास रोजगारी, शिक्षा, स्वास्थ्य छोडेर सानातिना सुधारका कुराहरुले के हुन्छ ? समाजवाद ल्याउँछौं, क्रान्ति गर्छौं भन्दै डाको छोडेर मात्र कहाँ सम्भव भएको छ । मौकामा छोडियो अहिले पछुताएका जस्ता कुरा गरेर के हुन्छ र ? नीति न छोडेको भए जनयुद्धको प्रभावले जनगणतन्त्र, नयाँ जनवादी हुँदै समाजवाद प्राप्त गर्न बाटो खोलिदिएको थियो ।
अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टीले लगातार २८, २९ वर्षसम्म सामन्तवाद, नोकरशाही पुँजीवाद, अन्य घरेलु प्रतिक्रियावाद र जापानी साम्राज्यवाद लगायत पश्चिमी साम्राज्यवादबाट देशलाई मुक्त गर्न र नयाँ जनवाद हुँदै समाजवाद प्राप्त गर्न ठूलो सशक्त निशस्त्र संघर्ष ग¥यो । अन्त्यमा घरेलु प्रतिक्रियावादी शक्तिले वार्ताको लागि प्रस्ताव राख्यो धेरै सोंच विचारपछि माओ–त्सेतुङको नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले वार्तामा भाग लिन स्वीकार ग¥यो, १ वर्षसम्म वार्ता हुँदा पनि सि.पि.सी. आफ्नो अडानमा टसमस भएन आखिर बाह्य शक्तिको आड भरोसा नाचिरहेको कोमिनताङ पार्टी डा. सन यात सेनको निधन पछि नेतृत्वमा आएको चेङकाइसेकलाई देश छोडी चीनकै भूमि ताइवान भन्ने टापुमा बस्न प¥यो । जहाँ अमेरिकी साम्राज्यवाद र यीन शक्तिले त्यसको रक्षा गरेका छन्, चीन विरुद्ध लडाईमा रहेका छन् । १९४९ मा चीन मुक्त भयो नयाँ जनवादी संयुक्त सरकारको निर्माण भयो ।
चीन नेपालको स्थितिलाई एउटै पाराले हेर्न मिल्दैन । मूल कुरा गन्तव्य स्थान एउटै छ । त्यहाँ पनि जन जणतन्त्र नयाँ जनवाद हुँदै समाजवादमा पुगिएको हो । यहाँको क्रान्तिकारी पार्टीको कार्यदिशा पनि त्यतैतिर अग्रसर छ । चीन सामन्तवाद, नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरोधमा सुरुदेखि लडेको हो । यहाँ अलि फरक छ– नेपाललाई नोकरशाही पुँजीवाद, दलाल पुँजीपतिवर्ग, नवउपनिवेशवादसँग पनि लड्न परेको छ, साम्राज्यवाद यी सबैको गुरु हो । हिजाको माओवादी पार्टीले लिएको नीति चटक्क छोडेर आजको नामधारी माओवादी केन्द्रले जन्मजात पुँजीवादमा विश्वास गर्ने पार्टी र पुँजीवादमा रुपान्तरित भईसकेका नामधारी कम्युनिस्टहरुसँग सम्झौता गरिसकेको छ, हातेमालो गर्दै हिंडेको छ । तैपनि भ्रम छर्न पृथक अस्तित्व राखेको बहाना गर्दैछ, हिजोका यसमा शत्रुहरु मित्र भएका छन् । मित्रहरु शत्रु भएका छन् । जनगणतन्त्रात्मक नयाँ जनवादी क्रान्तिको निम्ति बाधक सावित भएका छन् । क्रान्तिकारी सोंचविचार भएका पार्टीहरु, व्यक्तिहरुलाई अलमल्याउन अनेक प्रकारका छलकपटका विधिहरु प्रयोग गर्न व्यस्त छन् । यस्ता सिद्धान्त विचारविहीन अस्त्रहरु गोलाबारुदको अभावमा पनि हल्ला गर्न, तर्साउन समय समयमा कहीं कतै सफल भएका पनि छन् । सिद्धान्त विचार भन्नुको मतलव नै माक्र्सवाद, लेनिनवाद, माओवाद, जुन द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र वर्गसंघर्षको सिद्धान्तमा आधारित हुनु भनेको हो । यसैलाई निरन्तरता दिनु भनेको हो । बाबुबाजेको पालामा हामी यस्ता थियौं, उस्ता थियौं भनेर गफ लगाएर मात्र कुनै पनि समाजमा क्रान्ति सम्पन्न हुँदैन । राजनीति बमोजिम कार्यनीति कार्यान्वयन गर्न सके मात्र सम्भव हुने कुरा हो । यहाँ त जान पर्ने धरान धनकुटा थियो । धनगढी–कञ्चनपुर जस्तो भएको छ ।
अर्को कुरा, समाजवादमा एकैचोटी जाने भनेर अर्को एउटा नयाँ जोगी देखा परेको छ । यो चार पार्टीको मिलोमतोमा बनेको छ, यसमा पारुहरु हुन्–प्रचण्ड, विप्लव, माधव नेपाल र रामनारायण यादव । यिनीहरु बाहिर समाजवाद ल्याई हाल्छन् जस्तो भान पार्छन् । भित्र केही छैन खोक्रो छ । यिनीहरु एंगेल्सले लेखेको लेख समाजवाद काल्पनिक तथा वैज्ञानिक व्याख्या गरे जस्तो वैज्ञानिक समाजवादभित्र पर्दैनन्, –यिनी त काल्पनिक हावादारी समाजवादी हुन् । वैज्ञानिक समाजवादको बाटो धेरै पहिलेदेखि नै छोडिसकेका छन्, नेपाल जस्तो अविकसित देशमा समाजवाद प्राप्त गर्ने एउटा मात्र सही बाटो हो, जनगणतन्त्र, नयाँ जनवाद हुँदै समाजवाद । रुसमा सिधै समाजवादी गणतन्त्र घोषणा गरिएको थियो । यहाँ त्यस्तो सम्भव छैन । नेपालका काल्पनिक समाजवादीहरुले मजदुर भूमिहीन गरिब–किसान, साना तिना जमिनपति,साना, मझौला खालका उद्योगपति र टाउको उठाउन नसकेको राष्ट्रिय पुँजीपति वर्गको सम्बन्धमा एक शब्द बोल्दैनन् । यो समाजवादी मोर्चाको मौनताको अर्थ दलाल तथा नोकरशाही पुँजीपति अवशेषको रुपमा रहेको सामन्तीहरुको सेवा गर्नु बाहेक केही देखिंदैन । प्रमाण खोज्न यही पुँजीवादी संसदमा यिनीहरुले खेलेको भूमिका हेरे पुगिहाल्छ । टाढा जानुपर्दैन । शोषण दमनको सानो रुप मिटर व्याज पीडक र सहकारी रकम ठगहरु विरुद्ध यिनले एउटा कानुन बनाउन सकेका छैनन् । जसले जे गर्छ खुला छुट्छ । कसरीहोस् यी नक्कली समाजवादी हर्कत जन गणतन्त्र नयाँ जनवाद हुँदै समाजवादमा पुग्न सकिने आशा गर्ने ? नयाँ जनवाद भनेको त समाजको निम्ति पहिलो सिंढी हो । देशको सम्पत्ति दलाल लगायतका सम्पूर्ण पुँजीपति, भूमिपतिलाई थमाई दिने, समाजवादको हल्ला गर्ने । कुन वर्गको निम्ति समाजवाद हो त ? समस्त निम्न गरिखाने वर्ग तिल्लो, उनीसित श्रम बाहेक के बाँकी रह्यो र ? विशाल पुँजी निर्माण भ्रमबाट अर्थात् अतिरिक्त श्रमबाट हुन्छ–उत्पादित वस्तुहरुको तीन चौथाई भन्दा बढी भाग पुँजी लगानीकर्ताको खल्तीमा जान्छ, गरिखाने वर्गलाई जिउ धान्न पनि सारै धौ धौ ।
नेपालमा नयाँ जनवाद भनेको ती समस्त दलाल लगायतका पुँजीपतिवर्गको ठूलाठूलाहरुको सम्पत्ति राज्यले जफत गरेर निम्न वर्गको निम्ति उपयोग गर्न सके मात्र समाजवादको निम्ति आधार हुने हो । यस्तो व्यवस्था सर्वहारावर्गको हातमा सत्ता प्राप्त भएपछि मात्र आउन सक्छ । सबै यात्रा पार गर्दै प्राप्त गरेको समाजवाद त्यस्तो व्यवस्थाको जहाँ वर्ग विहिन समाज निर्माण हुन्छ । मान्छेले मान्छेलाई शोषण, दमन गर्न सक्दैन । निजी पुँजीको प्राथमिकता समाप्त हुन्छ । सार्वजनिक पुँजीको भूमिका सर्वेसर्वा हुन्छ । त्यसैले पुँजीवादी गणतन्त्र, पुँजीवादी जनवादको झण्डा बोकेर जनगणतन्त्र नयाँ जनवादको पनि प्रशंसा गर्नु समाजवाद प्रति विश्वासघात मात्र हो ।

