साम्राज्यवाद र विश्व मानचित्र

अपत्य शर्मा
कुनै पनि मुलुक छिमेकी मुलुक असल होस् भन्ने चाहन्छ । असल सहयोगी होस् भन्ने चाहना राख्दैमा असल न परेर दुष्ट विस्तारवादी पर्न आउँछ । विस्तारवादी वा सहयोगी जे भए पनि छिमेकी मुलुक फेर्न सकिंदैन । विश्व मानभित्रमा विगतको विश्वको नक्सा र वर्तमानको विश्वको नक्सा आकाश जमीनको फरक पाइन्छ । विश्वव्यापी रुपमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिले गर्दा नै साना ठूला मुलुकका अस्तित्व नै कही गायव भएका वा नयाँ मुलुकको नाममा उदाएका छन् । ठूला मुलुकले साना मुलुकहरुलाई हेप्ने, अपमानित गर्ने र साना मुलुकलाई आफ्नो मुलुकमा गाभ्ने नसके विस्तारै ती साना कमजोर मुलुकहरुका प्राकृतिक स्रोत र साधनहरुको क्रुरतम रुपले दोहन गरेर त्यहाँका स्वतन्त्रताप्रेमी क्रान्तिकारी राष्ट्रवादी जनतालाई चरम दमन गरेर आफ्नो प्रभुत्व कायम गर्दै आएका छन् । साना राष्ट्रहरुलाई मात्र होइन ठूला राष्ट्रहरुलाई पनि साम्राज्यवादी मुलुकहरुले टुक्राटुक्रा पारेर शक्तिहीन मुलुकहरुमा परिणत गरेका छन् । विगत प्राचीन इतिहासले पनि शासकका क्रुरता र आम नरसंहारलाई महानता भनेका छन् । किनभने विजेताहरुले ठूलो भूभागमा अधिकार गरेका थिए ।
अलेक्जेन्डर द ग्रेट भनेर जुन नामाकरण गरिएको छ त्यो विजेताका पक्षमा वकालत गर्नु हो । अलेक्जेन्डरले कति विद्रोही र लडाकाहरुको संहार गरे त्यसबारे सत्यतथ्य बाहिर ल्याइँदैन । तर पनि यहाँ कुख्यात अलेक्जेन्डरका बारेमा चर्चा गरौं । ताकि मुलुकहरुको उत्थान पतनले विश्व मानचित्र पहिले कस्ता थिए र वर्तमानमा कसरी कुन रुपमा छन् भन्ने सानो बोध हुनेछ ।
अलेक्जेन्डरले पृथ्वीको ठूलो भूभागमा अधिकार जमाएर ठूलो साम्राज्य खडा गरे । अलेक्जेन्डरको जन्म मेसिडोनियाको प्राचीन राजधानी पेल्लामा जुलाई २०, ३५६ वि.सि. मा भएको थियो । राजधानी भएकाले पेल्ला प्रशासनिक राजधानी पनि थियो । उनको बाबु फिलिप क्ष्क्ष् मेसिडोनका थिए भने आमा ओलम्पियाजकी थिइन् । अलेक्जेन्डरले दार्शनिक एरिस्टोटलबाट शिक्षा लिएका थिए । ३३६ वि.सि. मा फिलिपको हत्या गरियो र उत्तराधिकारीको रुपमा २० वर्षका अलेक्जेन्डर अस्थिर गद्दीमा बसे । ग्रीकलाई एक गरेर विशाल पर्सियन साम्राज्यदेखि भारतसम्म विजय प्राप्त गरे । अर्को शब्दमा भन्दा तीनैवटा महाद्वीपसम्म आफ्नो साम्राज्य खडा गरे । ग्रीकबाट विस्तार हुँदै अनातोलिया, सिरिया, फोनेसिया, मिस्र, मेसोपोटामिया, विशाल इरान, अफगानिस्तान र भारतसम्म आए । लगातारको युद्धले थकित गलित सेना घर फर्कन आतुर भएका र अगाडि लड्न अनिच्छुक भएकाले अलेक्जेन्डरले घर फर्कने निर्णय गरे । उनले भारतलाई जित्न सकेनन् । अलेक्जेन्डर ३२ वर्षको उमेरमा बेबिलोनमा मरे । (३२३ विसीमा मृत्यु) प्राचीन केही लेखकहरुले अलेक्जेन्डर अत्यधिक रक्सी पिउँथे र आवेशपूर्ण व्यवहार गर्थे भनेका छन् भने कतिले सो भनाईप्रति असहमति जनाएका छन् ।
युद्धको दृष्टिकोणले विश्वका सबैभन्दा ठूला सैनिक जनरल मानिन्छन् अलेक्जेन्डर । उनले आफूले जितेका मुलुकहरुको संस्कृतिको आदर गर्दथे । राजा अलेक्जेन्डरले मर्ने बेलामा भनेका भनाई मार्मिक छन् ः “जब तिमीहरुले मेरो शरीरलाई पुर्छौैं, मेरो सम्झनामा कुनै स्मारक नबनाउनु र मेरा हातहरु बाहिरै राख्नु ताकि संसारैले थापा पाओस् कि जसले सम्पूर्ण विश्वलाई जित्यो मर्दाखेरी उसको हातमा केही पनि छैन ।” यी भनाईपछि अलेक्जेन्डरले आफ्नो आँखा चिम्ले । विश्व विजयको सपना देखेका अलेक्जेन्डरलाई मृत्युले नै जित्यो ।
जन्म मृत्यु प्रकृतिको सामान्य नियम हो । सक्कली मानव हुन चाहनेले यस पृथ्वीमा छोडेर जाने एउटै मुख्य काम समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा आंशिक या पूर्ण योगदान गर्नु अर्थात् सर्वहारावादी मानवीयताभित्र सर्वहार वर्गको मुक्तिका लागि एक थोपा रगत भएसम्म संघर्ष गर्नु हो । तर वर्तमान नरभक्षी साम्राज्यवादी तथा पुँजीवादी व्यवस्थाले प्रजातन्त्रको नाममा विश्वव्यापी रुपले आम मानिसको मन मस्तिष्कलाई पूर्ण रुपले पुँजीवादीकरण गर्दै लगेको छ । आधुनिक ज्ञान विज्ञानको प्रगतिले निर्माण गरेको कृत्रिम बौद्धिकताले (एआई) मानवका प्रत्येक कोशिकाहरुलाई नै सिमेन्टेट गर्दै लगेको छ । अर्थात् पुँजीवादी दासता नै निर्विकल्प हो भनेर पुँजीवादी व्यवस्थालाई प्राकृतिक बनाउने असफल प्रयास गरिंदैछ । पुँजीवादी समाजवादी प्रजातन्त्र र स्वतन्त्रता भनेको व्यक्ति प्रधान, (व्यक्तिवादिता) पुँजी प्रधान, व्यक्तिगत तुच्छ स्वार्थ, धनसम्पत्ति, यौन प्रधान, नारी स्वतन्त्रताका नाममा नारीको देह र प्रत्येक अंगप्रत्यंग मालको रुपमा खुला बजारमा विकाउ माल (कमोडिटी) नै प्रधान हुन्छ । सौन्दर्यको नाममा मुख मण्डललाई रंग रोगन गर्नु र यौन प्रदर्शन प्रधान, विश्व सुन्दरी प्रतियोगिताको नाममा नारी दासता, यौन स्वतन्त्रताको नाममा पुँजीवादी नग्न पाशविक यौन प्रधान । नाफा पुँजीवादको प्राण पुँजीवादी स्वतन्त्रतामा खुलाबजार प्रधान, एकाधिकार प्रधान हुन्छ । पुँजीवादी प्रजातन्त्रमा प्रेसलाई चौथो अंग भन्दै प्रेस स्वतन्त्रताको बाजा बजाइन्छ । तर प्रेस स्वतन्त्रता पुँजीपति वर्गस्वार्थसिद्ध गर्ने माध्यम मात्र हो । किनभने प्रेस वा अन्य संचारमाध्यमहरुमाथि ठूलो लगानीकर्ता मजदुर नभएर ठूलो पुँजीपति हुन्छ । प्रेसको मालिकले आफ्नो पुँजीवादी स्वार्थ, विपरीत पत्रकार वा अन्य संचारकर्मीलाई तुरुन्त निस्कासन गर्छ । जहाँसम्म मजदुर स्वतन्त्रताको प्रश्न छ हायर र फायर, दैनिक ज्यालादारी, मजदुर दासता, शोषण, उत्पीडन, दमन र अपमान र भोकै मर्ने स्वतन्त्रता यही हो पुँजीवादी प्रजातन्त्रको स्वतन्त्रता । साम्राज्यवादी युगमा सबैभन्दा ठूलो दासता पुँजीवादी अन्ध बौद्धिक दासता ।
अलेक्जेन्डरले विजित साम्राज्य उनको मृत्युपछि क्रमशः स्वतन्त्र हुँदै गए । अर्को शब्दमा विश्व मानचित्रको स्वरुपमा परिवर्तन भयो । त्यसपछि अटोमन साम्राज्यको उदय हुन्छ र विश्व मानचित्रको स्वरुप फेरिन्छ । अटोमन साम्राज्यको स्थापना १२९९ तिर ओसमान प्रथमले गरेका थिए । जुन साम्राज्य बहुजातीय, बहुधार्मिक थियो र एसिया, यूरोप र अफ्रिकासम्म फैलिएको थियो । यो अटोमन साम्राज्य १६ औं र १७ शताब्दीतिर वैश्विक शक्तिको रुपमा रह्यो । यसको पतन पहिलो विश्वयुद्ध पछि १९२२ मा भयो । अटोमन साम्राज्यका ओसमान टर्कीस जातिका थिए, जुन अनातोलियामा पर्छ । यो साम्राज्य अनातोलियाको उत्तर पश्चिममा ओसमान प्रथमले स्थापना गरेका थिए । उनीपछिका शासकहरुले अनातोलियाका धेरै क्षेत्रहरुमाथि विजय हासिल गरे । १४ औं शताब्दीको मध्यम वल्कनसम्म फैलिए । सानो जातीय राज्यलाई बहुमहाद्वीपीय साम्राज्यमा परिणत गरे । विश्व इतिहाससमा सबैभन्दा ठूलो र लामो समयसम्म टिकेको साम्राज्य अटोमन साम्राज्य हो । यो साम्राज्य तीन महाद्वीपीय दक्षिण पूर्वी यूरोप, सेन्ट्रल एसिया, अरेविया र उत्तर अफ्रिकासम्म फैलिएको थियो । स्मरणीय छः अटोमन सेनाले गनपाउडर प्रयोग गरेका थिए ।
यो अटोमन साम्राज्यको विनास कसरी भयो भने प्रथम विश्व युद्ध १९१४ देखि १९१८ सम्म भएको थियो । प्रथम विश्वयुद्धमा अटोमन साम्राज्यले जर्मनको पक्ष लिएको थियो । युद्धपछिका सन्धिहरुले अटोमन साम्राज्य विघटन भयो । र १९२२ मा मुस्तफा केमाल अटाटुर्कले सुल्तानेतलाई समाप्त पारे र गणतान्त्रिक टुर्कीको घोषणा गरे । मुस्तफा केमाल अटाटुर्क आधुनिक टुर्कीका संस्थापक मानिन्छन् । केमाल अटाटुर्क सोलोनिका (आजको थेसालोनीकी ग्रीक) मा १८८१ मा जन्मिएका थिए । केमाल टुर्कीश सैनिक अफिसर थिए र गणतन्त्र टुर्कीका संस्थापक थिए । केमालले टुर्कीश स्वतन्त्रता आन्दोलनको नेतृत्व प्रथम विश्वयुद्धका मित्र राष्ट्रहरुको अधिकारका विरुद्ध नेतृत्व गरे र धर्म निरपेक्ष प्रजातान्त्रिक गणतन्त्रको स्थापना गरे । केमालले टुर्कीलाई आधुनिक राष्ट्रमा परिणत गर्नुका साथै टर्कीश जनतालाई एक गरे । केमाल अटाटुर्क गणतन्त्र टुर्कीका प्रथम राष्ट्रपति भए । केमालले टुर्कीलाई आधुनिकीकरण गर्ने महत्वकांक्षी योजना लागु गरे र टुर्कीश जीवनलाई कानुनी र सामाजिक व्यवस्थामा परिणत गरे । केमाल टुर्कीश फिल्ड मार्शल र क्रान्तिकारी प्रवक्ता पनि थिए । उनी पहिला राष्ट्रपति १९२३ मा भएर नमरेसम्म (१९३८) राष्ट्रपति भए । अटाटुर्कले टुर्कीलार्ई धर्म निरपेक्ष मुलुक बनाए । जहाँ ९९ प्रतिशत मुस्लिम थिए । टुर्कीका जनता धर्ममा कट्टर अहिले पनि छैनन् । अटाटुर्कले बुर्का वा रुमालले कपाललाई छोप्न नपर्ने बताए । हालका तानाशाह इर्दोगान राष्ट्रपति पदका लागि चौथो पल्ट राष्ट्रपति पदमा चुनिने प्रयासमा छन् । इर्दोगान दुई दशकदेखि टुर्कीका सत्तामा छन् । आफ्ना विपक्षीहरुमाथि दमनचक्र चलाएका छन् । इर्दोगानको अमेरिकी साम्राज्यवादीसँग घनिष्ठ सम्बन्ध छ । टुर्की १९५२ मा नेटोको सदस्य भएको हो ।
प्रथम विश्वयुद्ध,द्वितीय विश्वयुद्धले विश्वमानचित्रमा व्यापक फेरबदल ग¥यो । विश्वयुद्धहरु उपनिवेशमाथि अधिकार र आफ्ना मालहरुका लागि बजार साम्राज्यवादीका लागि अत्यावश्यक भएकाले भएका थिए । हाम्रो छिमेकी मुलुक भारत पनि करिब २०० वर्षसम्म बेलायती साम्राज्यवादीको उपनिवेश थियो । सन् १७५७ मा इस्ट इन्डिया कम्पनी स्थापना गरेर प्लासीको युद्धमा जीत हासिल गरेदेखि १९४७ सम्म ब्रिटिश राज रह्यो । बेलायती साम्राज्यवादीले दोस्रो विश्वयुद्धमा नराम्रो पराजय भोगेको र भारतीय क्रान्तिकारी जनताको ठूलो बलिदानी संघर्षलाई नियन्त्रण गरेर उपनिवेशी सत्ता कायम गर्न नसक्ने देखेर आफ्ना बफादार मोहनदास करम चन्द गान्धी र नेहरु आइन्ड कं. लाई भारतीय सत्ताको बागडोर सुम्पे । प्रतिक्रियावादीका नाइके गान्धी र नेहरुले आफ्ना छिमेकी साना मुलुकहरुमाथि पनि बेलायती मालिकका हैकमवादी विस्तारवादी नीति लागु गर्ने नै भए । भारतको हाल सातौंटा देशसँग सीमा जोडिएका छन् । ती देशहरु हुन्ः पाकिस्तान, अफगानिस्तान, नेपाल, चीन, बंगलादेश, भुटान र म्यानमार स्थलमार्गसँग जोडिएका छन् भने समुद्रसँग श्रीलंका र माल्द्वीप जोडिएका छन् । बेलायती साम्राज्यवादीले विवादको बीउँ काश्मीरको छिनोफानो नै नगरेर छाडे । विशेष गरेर भारतले पाकिस्तानसँग १९४७,१९६५, १९७१ र १९९९ मा युद्ध गरिसकेको छ । चीनसँग १९६२ मा सीमाका विषयलाई लिएर युद्ध भैसकेको छ । पाकिस्तानसँग १९७१ मा युद्ध गरेर बंगलादेशी बनायो ।
त्यस्तै विस्तारवादी भारतले श्रीलंकाका तमिलहरुलाई पृथकतावादी युद्ध गराएर ७०,००० को हत्या गरायो । बंगलादेशी गृहयुद्धमा ३० लाख जनता मारिएका थिए भनेर (अप्रिल ४, २०२५) बंगलादेशले जनाएको छ । लाखौं घाइते र शरणार्थी भए । गत मईमा भारत र पाकिस्तानको बीचमा भएको चार दिनको द्वन्द्व आपसी सहमतिमा रोकिएको छ । बेलायती साम्राज्यवादीले झगडाको कारण काश्मीरलाई विभाजित गरायो । भारतीय अधिकृत काश्मीर र पाकिस्तानी अधिकृत काश्मीरमा बेलाबखत झडप र गोलावारी हुँदै आएको छ । भारतले पाकिस्तानलाई समय समयमा सिन्धु जल सन्धि अनुसार सिन्धुको पानी भारतले पाकिस्तानलाई दिने सहमति गरिएको थियो जुन १९६० मा सन्धिमा हस्ताक्षर गरिएको थियो । जसको व्यवस्था पर्मानेन्ट इन्डस कमिसनले गरेको र जसमा दुवै मुलुकका प्रतिनिधिहरु सामेल थिए । गत महिना भारत अधिकृत काश्मीरमा आतंकवादी आक्रमणमा २७ जनाको हत्या गरिएकोमा पाकिस्तानले गराएको भनेर भारतले भन्यो र आतंकवादीसँग जुझ्ने नाममा भारतले पाकिस्तानलाई सिन्धुको पानी रोक्ने धम्की दिएको थियो । पाकिस्तानका सुख्खा जमीनका लागि थोरै मात्र पानीका स्रोत छन् । पाकिस्तानले पश्चिमका तीनवटा नदीका पानी विना अवरोध प्रयोग गरिरहेछ । भारतले पश्चिमी नदीहरुबाट सीमित अधिकार पाएको छ र सिंचाई तथा विजुलीका लागि बाँध बनाउने क्षमता राख्छ । भारतले पश्चिमी नदीहरुमा ६ वटा बाँध बनाएको छ र अरु धेरै बाँध बनाउने योजनामा छ । तर पाकिस्तानले आपत्ति जनाएको छ । आपसी सहमतिमा यो समस्या हल हुन्छ । तर भारत सहमत हुने कम सम्भावना छ । किनभने भारतको एक अरब ४० करोड जनतालाई पिउने पानी र सिंचाईको ठूलो मात्रामा पानीको आवश्यकता छ ।
नेपालका राष्ट्रघाती प्रतिक्रियावादी भारतीय विस्तारवादीका कठपुतली शासकहरुले नेपालका सम्पूर्ण ठूला नदीहरु कोशी, गण्डकी, महाकाली आदि भारतलाइ सुम्पिसके । यतिले पनि भारतीय फासिस्ट सत्ता सन्तुष्ट छैन र नेपाललाई आफ्नो एउटा प्रान्त बनाएर ग्रेटर भारत हुने सपना देख्दैछ । नेपालले आफ्नो संविधान बनाउँदा नाकाबन्दी लगाउनु, नेपाली भूभाग निर्लज्ज रुपले क्रमशः आफ्नो भूभागमा मिलाउनु नेपाली भूभाग जलमग्न बनाउने सीमामा बाँध बनाउनु, कालापानीमाथि जवरजस्ती सैनिक क्याम्प बनाउनु आदि अत्याचारलाई बढाउँदै लगेको छ । यसकारण सम्पूर्ण देशप्रेमी नेपाली एक भएर राष्ट्रघाती शासक मण्डलीका विरुद्ध संघर्ष गर्नु आजको आवश्यकता मात्र होइन दायित्व पनि हो । ठूलो दुई मुलुकका बीचमा भएकाले पञ्चशीलका आधारमा परराष्ट्र नीति उपयुक्त देखिन्छ ।
भारतीय विस्तारवादीको ग्रेटर भारत, अमेरिकी साम्राज्यवादीको ग्रेटर अमेरिका, विस्तारवादी जातिवादी इज्रायलको ग्रेटर इज्रायलका लागि फिलिस्तिनी जनताको आम नरसंहार गर्दैछ भने लेवनान, सिरिया, जोर्डन आदिलाई जायोनिष्ट राष्ट्र बनाउन अमेरिकी साम्राज्यवादीको सहायता र समर्थन छ । यसकारण विश्वका सम्पूर्ण शान्तिप्रेमी, राष्ट्रवादी, देशभक्त क्रान्तिकारी जनता अमेरिकी साम्राज्यवादीको विरुद्ध एक भएर संघर्ष नगर्ने हो भने विश्व मानचित्रमा फेरवदल हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित