काठमाडौ । नेपाल सरकारले जेनजी आन्दोलनका बेला भागेका कैदी बन्दीहरूलाई असोज २० गतेसम्म फर्कन सूचना जारी गरेको छ। देशभरिका कारागार कार्यालयहरूबाट सो सूचना जारी गरिएको हो।
कारागार व्यवस्थापन विभागको मिति २०८२ असोज १० गतेको बैठकले फरार कैदी बन्दीहरूको खोजी तथा पक्राउ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्न विभिन्न कारागारहरूले सूचना जारी गरेका छन्। सूचनामा भनिएको छ – यदि असोज २० गतेसम्म फर्किएर कारागारमा नआएमा कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम थप सजाय हुने छ । सूचनामा भनिएको छ – फरार कैदीबन्दीहरुलाई लुकाउने छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । निजहरूको परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायी लगायत सम्पूर्ण महानुभावहरूलाई फरार कैदी बारे सूचना गर्न अनुरोध गरिन्छ समेत सूचनामा भनिएको छ। गत जेन जी आन्दोलनको बेलामा देशभरिका विभिन्न कारागारबाट करिब १४ हजार कैदीबन्दीहरू फरार भएका थिए । अहिले सम्म झण्डै आधा कैदीबन्दीहरु फर्किएर वा पक्राउ भएर कारागारमा फिर्ता भइसकेका छन् ।