सेप्टेम्बर ७ मा नेपालमा सुरु भएको जनताको विद्रोहले ४८ घण्टा भित्र सरकारलाई अपदस्थ गर्यो र संसद विघटन गर्यो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको प्रतिक्रियास्वरुप विरोध प्रदर्शन सुरु भयो। सामाजिक सञ्जाल पुनः खोल्ने र भ्रष्टाचारको अन्त्यको माग गर्दै सुुरु भएको विरोध प्रदर्शन तुरुनतै सरकार विरुद्ध विद्रोहमा परिणत भयो। अधिकांश आन्दोलनकारीहरु १५ देखि ३० वर्षका भएकाले, विद्रोहलाई जेन जेड विद्रोहको रूपमा नामाकरण गरियो। प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक प्रहरी आक्रमणबाट आन्दोलनकारीहरुको मृत्युु भयो र मृत्युले क्रोधलाई तीव्र बनायो। आन्दोलनकारीहरुले संसद भवन र सर्वोच्च अदालत लगायत सरकारी भवनहरूमा आगजनी गरे, सरकारी अधिकारीहरूलाई कुुटपिट गरे, मन्त्रीहरूलाई लखेटे, प्रहरी चौकीहरूमा आक्रमण गरे र प्रहरी अधिकारीहरूलाई निशस्त्र बनाए। सेना सुरुमा पछि हट्यो, विद्रोह धेरै हदसम्म शान्त भएपछि मात्र सेनाले स्थितिलाई नियन्त्रणमा लिएको थियो।
विद्रोहीहरूले सेना बाहेक कसैसँग कुरा नगर्ने घोषणा गरे। विद्रोही र सेनाबीचको वार्तापछि, सर्वोच्च अदालतका पूर्व प्रधानान्यायाधिशलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरियो। सामाजिक सञ्जाल प्रतिबन्धले विद्रोहलाई प्रेरित गर्यो। नेपो किड्स आन्दोलनले बुर्जुवा राजनीतिज्ञहरूका छोराछोरीको विलासी जीवनशैली उजागर गरेपछि, सामाजिक सञ्जाल प्रतिबन्धलाई सेन्सरशिपको रूपमा मात्र नभई भ्रष्टाचार ढाकछोप गर्ने प्रयासको रूपमा पनि हेरियो।
नेपालको ३ करोड बासिन्दामध्ये पैंसठ्ठी प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन्। १५ देखि २४ वर्ष उमेरका २० प्रतिशत भन्दा बढी युवाहरू बेरोजगार छन्। निराशा, असुरक्षा र गरिबी युवाहरूले सामना गरिरहेका केन्द्रीय समस्याहरू हुन्। यसको विपरीत, बुर्जुवा राजनीतिज्ञहरूका छोराछोरीको विलासी जीवनशैली, नातावाद र भ्रष्टाचारसँगै, युवा पुस्ताको क्रोधमा उल्लेखनीय योगदान पुर्याएको छ।
पहिले सञ्चालित भ्रष्टाचार विरोधी कार्यक्रमहरू, संगठित र असंगठित दुवै, साथै सडक आन्दोलनले विद्रोहको लागि जग तयार गर्न मद्दत गरे। नेपाल अराजकताको संघारमा छ र विद्रोहको आँधी हाम्रो ढोकामै छ भनेर बारम्बार भनिएको थियो।
नेपालमा संघर्षको लामो परम्पराछ । २५० वर्ष पुरानो निरंकुश राजतन्त्रलाई विगतका दशकहरूमा विद्रोहद्वारा समाप्त गरिएको थियो ।
छापामार युद्धले २००० को दशकमा बुर्जुवा लोकतान्त्रिक गणतन्त्रक स्थापनामा नेतृत्व गर्यो, तर बुर्जुवा वर्गसँगको सम्झौता पछि, नेपालमा क्रान्ति अधुरो रह्यो, र सामाजिक मुद्दाहरू समाधान भएनन्।
यद्यपि माओवादी कम्युनिष्ट दलहरू सरकार र विपक्ष दुवैमा मुख्य पात्र थिए, बुर्जुवा लोकतान्त्रिक गणतन्त्रले राष्ट्रको सामाजिक समस्याहरूलाई सम्बोधन गर्न असफल भयो। गरिबी गहिरिँदै जाँदा, भ्रष्टाचार र नातावाद तीव्र हुँदै गयो। हालको विद्रोह नेपालमा बढ्दो असहनीय राजनीतिक र सामाजिक समस्याहरूको हिंसात्मक प्रतिक्रिया थियो। यो एक स्वस्फूर्त जनआन्दोलन थियो जुन क्रोधमा उत्पन्न भयो, यसले राजनीतिक सम्बद्धताको पर्वाह नगरी सबै सत्तारुढ दलहरू विरुद्ध आफ्नो क्रोध पोख्यो।
यो विद्रोह कुनै विशेष पार्टी, संगठन वा आन्दोलनको नियन्त्रणमा सुरु भएको थिएन। यो स्वतःस्फूर्त रूपमा सुरु भयो। दक्षिणपन्थी र माओवादी दुवै विपक्षी दलहरूका कार्यकर्ता विरोध प्रदर्शनमा भाग लिए, तर अधिकांश विद्रोही असंगठित युवाहरू थिए।
कुनै पनि स्वतःस्फूर्त विद्रोहमा जस्तै, त्यहाँ पनि विभिन्न शक्ति केन्द्रहरुले आफ्नो राजनीतिक उद्देश्यका लागि विद्रोहलाई आफ्नो पक्षमा पार्ने कोशिश गरे। क्रान्तिकारी दलहरू र प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरू दुवैले विद्रोहलाई आफ्नो पक्षमा पार्ने प्रयास गरे। नेपाली विद्रोहको बारेमा अड्कलबाजी व्यापक छ। यो CIA र RAW (भारतीय गुप्तचर) द्वारा योजना गरिएको दाबी गरिएको छ र यी शक्तिहरूले जनतालाई परिचालन गर्ने अवसरको रूपमा सामाजिक सञ्जाल प्रतिबन्धको अवसर प्रयोग गरेका थिए। सरकारमा रहेको पार्टीको पनि यस्तै बुझाई छ । क्रोध अझ बढाउन राज्य संयन्त्रको हिंसाले विशेष काम गरेको थियो । नवनियुक्त अन्तरिम प्रधानमन्त्रीलाई भारतको तुरुन्त बधाई र विद्रोहको वास्तविक आयोजकको रूपमा “हामी नेपाल” , राष्ट्रपतिको भूमिकामा जोड , यी सबै घटनाक्रमले नेपालको त्यस विद्रोहमा विदेशीहरुको हात रहेको पुष्टि हुुन्छ भन्ने दावी सरकारको नेतृत्व गरेको पार्टीको छ ।
यी मध्ये केही दावीहरू सत्य हुन सक्छन्, तर तिनीहरूले विद्रोहको वास्तविक कारणहरूलाई परिवर्तन गर्दैनन् वा यो नेपालको विद्यमान अवस्थाको प्रतिक्रिया थियो भन्ने तथ्यलाई परिवर्तन गर्दैनन्। यो विद्रोह साम्राज्यवादी शक्ति वा गुप्तचर एजेन्सीहरूद्वारा आयोजित गरिएको हो भन्ने विश्वास गर्नाले आन्दोलनको वास्तविक शक्तिलाई कमजोर पार्नेछ र नेपाली जनतालाई उनीहरूको स्वतन्त्रता र आत्मनिर्णयबाट वञ्चित गर्नेछ।
यो वास्तविक शक्तिलाई ध्यानमा राख्दै, विद्रोहबाट महत्त्वपूर्ण शिक्षाहरू लिन सकिन्छ ः
१. विद्यमान पूँजीवादी संकट र बढ्दो असमानता
साम्राज्यवादी भूमण्डलीकरणको अवधि र पूँजीवादको विद्यमान संकटले श्रमिक वर्ग र ठूला पूँजीपति वर्गको सानो वर्ग बीचको खाडललाई गहिरो बनाएको छ। मध्यम वर्ग बढ्दो रूपमा तल्लो वर्गमा झरेको छ, र गरिबी र निराशा युवाहरूका लागि बढ्दो रूपमा गम्भीर समस्याहरू बन्दै गएको छ। यसले गर्दा एक स्वस्फूर्त युवा आन्दोलन भयो जसले श्रमिक वर्गको लागि एक प्रकारको अग्रगामीको रूपमा काम गर्यो। अरब विद्रोहदेखि बंगलादेश, श्रीलंका, इन्डोनेसिया र गेजी र टर्कीमा मार्च १९ आन्दोलनहरूमा विद्रोहहरूसम्म, यस्ता धेरै उदाहरणहरू छन्। नेपालको विद्रोह, त्यस्ता सबै विद्रोहहरू जस्तै, पूँजीवादको विद्यमान संकटको लक्षण हो र यस संकटको लागि जनताको स्वस्फूर्त प्रतिक्रिया हो।
२. स्वस्फूर्त विद्रोहहरूको अन्तर्राष्ट्रिय प्रकृति
यो अवस्था संसारभरि लगभग समान छ। त्यसकारण, धेरै देशहरूमा स्वस्फूर्त विद्रोहहरू हुनु कुनै आश्चर्यको कुरा होइन। समान कारणहरूले समान परिणामहरू निम्त्याउँछन्। बढ्दो रूपमा असहनीय जीवन अवस्थाले सामाजिक विस्फोट निम्त्याउँछ। विद्रोहीहरू ती व्यक्तिहरू विरुद्ध उठ्छन् जसलाई उनीहरूले समाधान नगरिएका सामाजिक समस्याहरूको लागि जिम्मेवार ठान्छन्, र विभिन्न राजनीतिक शिविरका मानिसहरू सडकमा ओइरिन्छन्। यो स्वतःस्फूर्त विद्रोहको प्राकृतिक गतिशीलता हो। नेपालमा पनि त्यस्तै थियो। राजतन्त्रवादीहरू, विपक्षी कम्युनिष्टहरू, सामाजिक लोकतान्त्रिकहरू, दक्षिणपन्थीहरू, र कुनै पनि राजनीतिक सम्बन्ध नभएका मानिसहरू सबैले सँगसँगै विद्रोह गरे।
३. राजनीतिक तयारीको महत्त्व
विद्रोहको लागि तयार गरिएको कुनै पनि राजनीतिक शक्तिले यस चरणमा आफ्नो प्रभाव विस्तार गर्न सक्छ। त्यसकारण, विद्रोहमा हस्तक्षेप प्रायः सुरु हुनुभन्दा पहिले नै सुरु हुन्छ। प्रभावकारी राजनीतिक काम र तयारी बिना, विद्रोह सफल हुन सक्दैन। नेपालमा, साथै गेजी पार्क र ट्युनिसियामा, यो स्पष्ट छ कि विद्रोहको लागि सामाजिक वातावरण तीव्र आर्थिक र सामाजिक विरोधाभासहरू, साथै राजनीतिक काम र प्रचारद्वारा सिर्जना गरिएको थियो। यो कामले विस्फोटको लागि परिस्थिति सिर्जना गर्यो, र एउटा घटनाले चिंगारी प्रज्वलित गर्यो भनेर स्वीकार गर्नु महत्त्वपूर्ण छ। नेपालमा, भ्रष्टाचार विरुद्धको लामो समयदेखि चलिरहेको संघर्षले विद्रोहको लागि वातावरण प्रदान गर्यो।
४. प्रतिद्वन्द्वी शक्तिहरू र चलखेल
प्रतिद्वन्द्वी साम्राज्यवादी शक्तिहरू, प्रतिक्रियावादीहरू र फासीवादीहरूले आफ्नो उद्देश्यका लागि विद्रोहलाई चलाउन खोज्नु अचम्मको कुरा होइन। यद्यपि, यी प्रयासहरूले विद्रोहको कारणहरू परिवर्तन गर्दैनन्, र यदि विद्रोहमा प्रगतिशील प्रभाव कमजोर रह्यो भने, यी नै प्रतिक्रियावादीहरूले विद्रोहलाई आफ्नो दिशामा डोऱ्याउन र यसको मूल मार्ग परिवर्तन गर्न सक्छन्।
५. सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका
अरब विद्रोहदेखि, सामाजिक सञ्जालले प्रचार र विद्रोहमा महत्त्वपूर्ण भूमिका छ। द्रुत सञ्चार, संगठन, संक्षिप्त भिडियोहरू र प्रचार जनतालाई परिचालन गर्न अत्यन्त प्रभावकारी छन्। विशेष गरी युवा पुस्ताले यी प्लेटफर्महरू मार्फत लगभग सहज रूपमा राजनीतिक जागरूकता प्राप्त गर्छन्। साम्राज्यवादीहरू, प्रतिक्रियावादीहरू र फासीवादीहरूले पनि जनआन्दोलनलाई चलाउन प्रभावकारी रूपमा यी उपकरणहरू प्रयोग गर्छन्। यदि क्रान्तिकारी शक्तिहरूले यी प्लेटफर्महरू कुशलतापूर्वक प्रयोग गर्दैनन् भने, तिनीहरूले जनआन्दोलनमा पर्याप्त प्रभाव प्राप्त गर्न सक्दैनन्। नेपाल विद्रोहमा सामाजिक सञ्जालले कसरी केन्द्रीय भूमिका खेल्न सक्छ भन्ने उदाहरण हो।
६. बुर्जुवा लोकतान्त्रिक गणतन्त्रका सीमाहरू
राजतन्त्रको उन्मूलन र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको स्थापनाले कुनै पनि सामाजिक समस्या समाधान गरेको छैन, न त तिनीहरूले गर्न सक्छन्। ूलोकतान्त्रिक गणतन्त्र समाजवादको संक्रमणकालीन रूप होइन। जुन प्रणालीको सामाजिक–आर्थिक संरचना पूँजीवादी हुन्छ, त्यहाँ नेतृत्वको प्रकार होइन तर राज्यको पूँजीवादी संरचनाले व्यवस्था निर्धारण गर्छ। कम्युनिस्ट संसदमा बसे पनि, जबसम्म ठूला बुर्जुवा र जग्गाधनीहरूका सम्पत्ति सरकारले नियन्त्रणमा लिदैन, तबसम्म राज्यले बुर्जुवा वर्गको हितको सेवा गरिरहनेछ। नेताहरू बुर्जुवा वर्गको लागि काम गर्ने नोकरशाह बन्नेछन् र आफैं क्षय हुँदै गएको बुर्जुवा जीवनशैलीको हिस्सा बन्नेछन्। नेपालमा ठ्याक्कै यही भयो। समाजवादी उपायहरू बिना, कुनै वास्तविक सफलता प्राप्त गर्न सकिँदैन।
७. पुरानो राज्य यन्त्रलाई नष्ट गर्ने आवश्यकता
पुरानो राज्य यन्त्रलाई पूर्ण रूपमा नष्ट नगरी क्रान्ति पूरा गर्न सम्भव छैन। पेरिस कम्युनदेखि, यो प्रमाणित भइसकेको छ कि पुरानो राज्य संयन्त्रलाई कब्जा गर्नु हुँदैन, बरु ध्वस्त पारेर पुनर्निर्माण गर्नुपर्छ। नेपालमा, क्रान्तिकारीहरूले पुरानो राज्य संयन्त्रलाई कब्जा गरे तर यसलाई नष्ट गरेनन्। राजतन्त्रको अन्त्यले पुरानो राज्य संयन्त्रलाई समाप्त गरेन, बरु यसलाई सुधार मात्र गर्यो।
८. क्रान्तिकारी सेनाको एकीकरण
क्रान्तिकारी सेनाको पूँजीवादी सेनामा एकीकरणले क्रान्तिकारी सशस्त्र बलको विघटन निम्त्याउँछ। नेपालमा पनि यस्तै भएको थियो। क्रान्तिकारी सेना बिनाको राजनीतिक आन्दोलनले क्रान्तिकारी कार्यक्रम लागू गर्न सक्दैन। जब पनि पूँजीवादी वर्गले आफ्नो अवसर देख्छ, तब पुँजीवादी सेनासँग क्रान्तिकारी लाभहरू पुनः कब्जा गर्नेछ। नेपालमा, पुँजीवादी वर्गले अब यो अवसरलाई सदुपयोग गरिसकेको छ।
९. राज्यका अंगहरूमाथि जनताको नियन्त्रण
यदि जनगणतन्त्र वा संघीय राज्य तलदेखि माथिसम्म व्यवस्थित छ भने, यसले सबै राज्यका अंगहरू र कर्मचारी संयन्त्रलाई जनताको नियन्त्रणमा राख्नु पर्छ। कुनै पनि अधिकारी वा कर्मचारी व्यक्तिगत विशेषाधिकारका लागि आफ्नो पदको दुरुपयोग गर्न सक्दैन। पुँजीवादी संसदमा सेवा गर्ने क्रान्तिकारी प्रतिनिधिहरूले पनि यो संसद केवल पुँजीवादी वर्गको खलिहान हो भनेर कहिल्यै बिर्सनु हुँदैन। यदि तिनीहरूले आफूलाई पूँजीवादी वर्गको मीठा समाधानहरू बाट प्रलोभित भए भने, तिनीहरू भ्रष्ट कम्युनिस्ट मात्र बन्न सक्छन्। नेपालमा पनि यस्तै भएको थियो। संसदमा रहेका कम्युनिस्टहरूले आफूलाई पुँजीवादी जीवनशैलीको प्रलोभनबाट प्रलोभित भए र आफूलाई भ्रष्ट बनाए।
१०. क्रान्तिकारी सरकार अन्तर्गत स्वतन्त्रता सुनिश्चित गर्ने
क्रान्तिकारी सरकार अन्तर्गत, अभिव्यक्ति, संगठन र कार्यको स्वतन्त्रता क्रान्तिकारी संविधानको ढाँचा भित्र ग्यारेन्टी गरिनुपर्छ। साम्राज्यवादी, फासीवादी र प्रतिक्रियावादीहरूले दुरुपयोग गर्न सक्छन् भन्ने डरले यी स्वतन्त्रताहरूलाई प्रतिबन्धित गर्नाले पूर्णतया गलत परिणाम निम्त्याउँछ। साम्राज्यवादी र प्रतिक्रियावादीहरूको विरोध गर्नु आवश्यक छ, तर स्वतन्त्रताहरू प्रतिबन्धित गरेर होइन। यस्ता प्रतिबन्धहरूले अझ ठूलो दमन र उत्पीडन मात्र निम्त्याउँछ।