नवराज सुवेदीको संयोजकत्वमा जनयुग पार्टी

काठमाडौँ । नवराज सुवेदीको संयोजकत्वमा जनयुग पार्टी गठन भएको छ। २०८२ साल असोज २४ गते काठमाडौँमा सम्पन्न एक भेलाले सो निर्णय गरेको हो। भेलाबाट पार्टीको नाम र संयोजक टुङ्ग्याइएको छ । त्यस भेलाको आयोजकहरु मध्येका एक बिमल पोखरेलले पार्टीमा सामेल गर्ने व्यक्तिहरूको बारेमा टुङ्गो नलागिसकेको हुँदा आगामी सोमबारसम्म पार्टीको केन्द्रीय कमिटीको नामावली र भेलाबाट पारित राजनीतिक प्रस्ताव, विधान, विशेष प्रस्ताव समेत राखेर वक्तव्य प्रकाशित गरिने बताए ।

सुवेदीलाई जनयुग पार्टी गठन गर्नुको औचित्यबारे सोध्दा “परम्परागत पार्टीहरू राजमार्ग खुले पनि भिरकै बाटो हिँड्नुपर्छ भन्ने जड मानसिकताबाट माथि नउठेको हुँदा सो पार्टी खोल्नु परेको ” हाँकलाई बताए । पार्टीको दर्शन, सिद्धान्त, राजनीति ,संगठन परिचालनको विधि के कस्तो हुने छ भन्ने बारे जानकारी लिन खोज्दा सुवेदीले भेला सकिए पछि सबै कुरा वक्तव्यमा आउने बताए ।

वकालत र प्राध्यापन पेसा गरिरहेका बेला प्राध्यापन पेशाबाट राजीनामा दिन लगाएर नवराज सुवेदीलाई नेपाल कम्युनिष्ट पार्टी मसालले २०५१ सालमा सांसदको उम्मेद्वार बनाएको थियो । सुवेदी २०५१ र २०५५ सालमा नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्यूूठान क्षेत्र नं.२ बाट सांसद निर्वाचित भएका थिए । ६३ सालमा तत्कालीन नेकपा एकता केन्द्र मसाल विभाजित भएर तीन पार्टी बन्दा उनी रामसिंह श्रीसले नेतृत्व गरेको नेकपा एकीकृतमा आबद्ध भएका थिए, नेकपा एकीकृतबाट उनी एकीकृत नेकपा माओवादीमा संलग्न भएका थिए । नेकपा माओवादी केन्द्रबाट बाबुराम भट्टराई विभाजित भएर नयाँ शक्ति गठन गर्ने प्रक्रियामा उनी सामेल भएका थिए । त्यसपछि उनले चार वर्षसम्म साउदी अरबमा नेपाली राजदूतको रुपमा काम गरेका थिए । २०८१ असारमा साउदी अरबबाट फिर्ता भएपछि उनी बाबुराम भट्टराईको पार्टीमा आबद्ध नभईकन स्वतन्त्र रुपमा नयाँ पार्टी गठन गर्ने प्रक्रियामा लागेका थिए ।

 

जनयुग पार्टीमा आबद्ध हुने धेरैजसो व्यक्तिहरू नेकपा मसालको पृष्ठभूमिबाट गएका व्यक्तिहरू हुने देखिएको छ तर त्यस पार्टीले कम्युनिष्ट मूल्य मान्यता नअपनाउने थाहा हुन आएको छ। कतिपय बिष्लेषकहरुले यसलाई नयाँ रास्वपा निर्माणको सानो अभ्यास भनेका छन् ।यसलाई कतिपयले पार्टी गठन गर्नु र क्लब खोल्नु बराबरै भयो भनेर पनि टिप्पणी गरेको पाइएको छ। यो पार्टी गठनलाई कम्युनिस्ट आन्दोलनबाट नवराज सुवेदी र बिमल पोखरेलको पलायनताको अभिव्यक्ति मात्र हो भनेर पनि टिप्पणी गरिएको छ।  अहिले नै धेरै टिका टिप्पणी गरिरहनु भन्दा त्यसले प्रकाशित गर्ने दस्तावेजहरू र उनीहरूको व्यवहारबाट नै त्यस पार्टीबारे स्पष्ट हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित