विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठी सफल पारौं !

 

मनु वि.क.

विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठी यही मंसिर ११–१३ गते सम्म नेपालको राजधानी काठमाण्डौमा हुन गइरहेको छ । विश्वका समाजवादी उत्पीडित महिलाहरुको आयोजनामा हुन गइरहेको यो गोष्ठीमा विभिन्न ४ महादेशका महिलाहरुको सहभागिता हुँदैछ । गोष्ठीमा साम्राज्यवाद विरुद्ध, पर्यावरणीय संकट र आणविक हतियारहरुको होडको बारेमा विशेष प्रकारले छलफल हुने छ । उत्पीडित महिलाको हक अधिकारको बारेमा गहन छलफल हुनेछ । महिलाहरुको पहिलो सम्मेलन भेनेजुयलाको कराकसमा २०११ मा, दोस्रो २०१६ मा नेपालमा सम्पन्न भएको थियो । तेस्रो महिला सम्मेलन २०२२ मा ट्युनेसियाको ट्युनिसमा भएको थियो र अब चौथो सम्मेलन २०२७ मा हुँदैछ ।

यी महिला सम्मेलनहरुले संसारभरिका महिलाहरुको उत्पीडन, शोषण दमनको विरोधमा आवाजहरु उठाउनुका साथै महिला अधिकारको बारेमा एकताबद्ध हुन उत्प्रेरणा दिएको थियो । अहिले नेपालमा हुन गइरहेको यो सैद्धान्तिक गोष्ठीमा पनि नेपालका झण्डै २ सय सहित विश्वभरिका गरी ३ सय महिलाहरुको सहभागिता हुँदैछ । यो गोष्ठीलाई सफल पार्न नेपालका विभिन्न महिला संगठनहरु क्रियाशील रहेका छन् । नेपालको जनेजी आन्दोलन पछिको प्रतिकूल समयका बाबजुत महिलाहरु यो गोष्ठी सफल पार्न जुटिरहेका छन् । यो गोष्ठीमा विभन्न विषयमा अवधारणा पत्रहरु प्रश्तुत हुनुका साथै साम्राज्यवाद विरुद्ध साँस्कृतिक कार्यक्रमहरु पनि हुँदैछ । यो कार्यक्रममा सहभागीहरुले आफ्नै खर्चमा  उत्साहकासाथ सहभागिता जनाउँदैछन् ।

यो भन्दा अगाडि यस्तै खालको गोष्ठी २०१८ मा भारतको वेङलोरमा भएको थियो । त्यो गोष्ठीले महिला अधिकारको विषयमा उत्पीडित महिलाहरुलाई सचेत गराउन मद्दत गरेको थियो । अहिले विश्वको अवस्था अत्यन्त जटिल बनिरहेको छ । विश्वका साम्राज्यवादी देशहरु आणविक शक्तिको प्रतिपर्धामा छन् । २०२२ फ्रेबुअरी २२ देखि रुस र युक्रेनको बीचमा युद्ध जारी छ । युद्धलाई रोक्न भएका पहल र प्रयासहरु असफल भइरहेका छन् । २०२३ अक्टोबर ७ देखि प्यालेष्टाइनमाथि अमेरिकी सहयोगमा आक्रमण गरी लाखौंलाई विस्थापन हुन बाध्य पारिएको छ , मारिएको छ । घरबारविहीनतामा पु¥याइएको छ । २०२५ अक्टोबर १० देखि युद्धविराम गरिएको भने पनि त्यो युद्धविराम शान्तिमा परिणत हुन नसक्ने लक्षणहरु हटेका छैनन् । यो युद्धमा महिला र बालबालिकाहरु अत्यन्तै पीडित बन्न पुगे ।  अझै युद्धको खतरा टरिसकेको छैन । इजरायलले पटक पटक आक्रमण गरिरहेको र प्यालेष्टाइनीहरुलाई निःशस्त्रीकरण गरेर उनीहरुमाथि दमन गर्न चाहेको देखिन्छ । प्यालेष्टाइनमाथि दमन गर्न अमेरिकाको भूमिका दोहोरो प्रकारको रहँदै आएको छ । उसले शान्तिकोलागि भन्दै वार्ताको नाटक गर्छ भने अर्कोतिर इजरायललाई हतियार दिने र आर्थिक सहायता प्रदान गर्ने गर्दै आएको छ ।

साम्राज्यवादले विश्वभरि नै आफ्नो प्रभुत्व जमाउन सके हतियार पठाउने,हतियार बेच्ने, बजार स्थापना गर्न युद्धलाई बढावा दिइरहेको छ । युद्ध गर्न नचाहेका जुनसुकै देशका नागरिकहरुलाई पनि त्यो देशको विविधतालाई उछालेर होस या जातीय – क्षत्रीय मुद्दाहरु उचाल्न लगाएर होस युद्ध हुने अवस्था सिर्जना गरिरहेको छ । जाति ,धर्म,लिंग, क्षेत्र वा पहिचानको नाममा द्वन्द्वहरु सिर्जना गर्ने काम भइरहेको छ । कुनै पनि देशको साँस्कृतिक अतिक्रमण बढिरहेको छ । उत्पीडित देशहरुमा आर्थिक असमानता र आर्थिक शोषण जारी छ । स्थानीय ज्ञान , सीप र कलाको लोप हुँदै गइरहेको छ । औद्योगिक मुलुकहरुको उत्पादनको कारण आर्थिक रुपमा विपन्न देशहरु उत्पीडनको शिकार हुँदैछन् । निजीकरण र बजारीकरणका साथै संसारभरि भएको उदारीकरणले संसारका गरिब देशहरु तथा जनताहरुले अनावश्यक दुःख भोग्नु परिरहेको छ । अहिले व्यापारिक युद्ध चलिरहेको छ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि नै भन्सार कर बढाउने र देशहरुलाई कमजोर पार्ने अभियान चलाएका छन् । साधन स्रोतमाथि कब्जा जमाउन साम्राज्यवाद कुदिरहेको छ । विश्वको साधन स्रोत कसरी आफ्नो हातमा पार्ने र कसरी नाफा कमाउने भन्ने ध्यानमा साम्राज्यवाद डुलिरहेको छ ।विश्वका देशहरुले युद्ध गर्ने , युद्धलाई सहयोग गर्ने र शान्ति सम्झौताको बहाना बनाएर त्यो देशको साधन स्रोत आफ्नो हातमा लिने योजनामा साम्राज्यवाद छ , यो कुरा रुस युक्रेन युद्धको शान्तिवार्ताको प्रसंगमा डोनाल्ड ट्रम्पले रुस, युक्रेन युद्ध अन्त्यबारे राखेको प्रस्तावमा युक्रेनको खनिजहरुको आधा हिस्सा अमेरिकाको  भनेर प्रस्ताव राखेका थिए । विश्वभर साम्राज्यवाद यही यात्रामा छ । विश्वको खानीहरु आफ्नो हातमा पार्ने ध्याउन्नमा साम्राज्यवाद कुदिरहेको छ । साम्राज्यवादले  विश्वभरिका जनतालाई एक आपसमा लडाएको छ । त्यति मात्रै होइन अहिले विश्वभर आणविक युद्धको खतरा बढिरहेको छ । आणविक केन्द्रहरुको निर्माण भएको छ भन्दै केही समय पहिले अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो । इरान अमेरिकाको आक्रमण केही दिनमा नै सकियो । त्यस्तै गरी केही समय पहिले अपरेशन सिन्दुरको नाममा भारत–पाकिस्तान युद्ध भएको थियो । यो आणविक युद्ध नभए पनि ड्रोनबाट आक्रमण हुँदा कैंयौ मानिसको ज्यान गयो र धनको क्षति भयो ।

मानिसको विश्वमा आणविक केन्द्र निर्माण मानव अस्तित्व कै संकट निम्त्याउन सक्छ । विश्वमा आणविक युद्धको खतरा बढिरहेको छ । पुँजीवादी देशहरुले युद्धकोलागि अत्यधिक साधन स्रोतको प्रयोग गरिरहेका छन् । साधन स्रोतको दोहन गरिरहेका छन् खानी, खनिजको दोहन भइरहेको छ । पुँजीवादी देशहरुको व्यापार र बजारको खोजीमा जे पनि गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

प्राकृतिक साधन स्रोतहरुको लोप हुँदै गएको छ । प्राकृतिक साधन स्रोतको अत्यधिक दोहनले गर्दा भविष्यका सन्तानहरुले के गरी बाँच्ने हुन् भन्ने चिन्ताको विषय बनेको छ । औधोगिक देशहरुले निकालेको कार्बनको कारण मानव सहित सम्पूर्ण चराचर जगतको अस्तित्व नै लोप हुने खतरा छ ।

पर्यावरणको संकट गहिरिँदो छ । पुँजीवादी देशहरुका कारण समुन्द्रहरुमा माछाहरुको अस्तित्व लोप हुँदैछ । सामुुद्रिक जीवहरुलाई बाँच्न गाह्रो हुँदैछ । हिमाल पग्लिने क्रम बढ्दो छ । पहिलेका सेता हिमालहरु काला पत्थरमा परिणत हुन थालेका छन् । नदी ,ताल ,तलैयाहरु सुक्दै जाने क्रम बढेको छ । किसानहरुले उत्पादन गरेका कृषि फसल उत्पादन हुन सकिरहेका छैनन् । नेपालजस्तो अल्पविकसित देशहरु विकसित देशहरुले गरेका प्रकृतिको अत्यधिक दोहन तथा कार्वन  उत्सर्जन जस्ता कुराहरुले पीडित बनेका छन् । त्यो मात्रै हैन, यहाँको प्राकृतिक साधन स्रोतहरु नाँसिँदै र मासिँदै जाँदैछन् । यहाँका प्राकृतिक जडिबुटीहरु दिनानुदिन लोप हुँदै जाँदैछन् । प्रकृतिमा ठूला देशहरुले अपनाएको गलत नीतिको कारण विश्वभरिका जनताले दुःख भोग्दैछन् ।

जनताको बाँच्नकोलागि चाहिने आधारहरु गुम्दैछन् । पूँजीपतिहरुको बजारले स्थानीय साधन स्रोतहरु विस्तारै लोप हुँदैछन् । स्थानीय ज्ञान, कला लोप हुँदैछन् । मानिसहरुलाई पुँजीवादले पैसाबाहेक अरु केही नदेख्ने बनाएको छ ।
संसारमा केही मुठ्ठीभर धनाढ्यको हातमा साधनस्रोतहरुको केन्द्रीकरण हुँदै गएको छ र बहुसंख्यक जनताहरु भोकमरी ,रोग भोक र शोकले ग्रसित छन् । केही मानिसहरुको सुखकोलागि अरबौं मानिसहरुले दुःख भोग्न परिरहेको छ ।

साम्राज्यवादले संसारभरिका मानिसहरुलाई विचारविहीन बनाउने र आफ्नो पकड जमाउने ध्यानमा लागेको छ । महिलाहरुलाई साम्राज्यवाद अर्थात पुँजीवादले एक वस्तु सरह बनाउँदै लगेको छ । एक, उनीहरुको पारिश्रमिकमा शोषण गरेर र अर्को उनीहरुलाई वस्तुसरह प्रयोग गरेर । संसारभरिका महिलाहरुले साम्राज्यवादको कारण निकै कष्ट भोग्नु परेको छ । युद्ध भएमा सबभन्दा पीडित युद्धबाट महिलाहरु नै हुनु परेको हुन्छ । उनीहरुको बालबच्चा , श्रीमान् नातापाता सबै गुम्ने वा घाइते हुने त्यसको दीर्घकालीन असर महिलाहरुले भोग्नु परेको छ । युद्धबाट बालबच्चाहरु पीडित हुनु परेको छ । संसारमा अहिले अघोषित रुपमा तेस्रो विश्व युद्ध चलिरहेको छ । साम्राज्यवादले आफ्ना हतियारहरु बेचिरहेको छ । अझै आणविक युद्धको खतरा बढेर गएको छ र विश्वभरि तेस्रो विश्व युुद्ध हुने अनुमानहरु बलिया हुँदै गएका छन् ।

यस्तो अवस्थामा विश्वका मानिसहरुले, उत्पीडित महिलाहरुले यसको विरोधमा आवाज उठाउनु पर्ने भएको छ । यसको विरोधमा आवाज उठाउनकोलागि धारणा निर्माण गर्न यो सैद्धान्तिक गोष्ठीले मद्दत गर्नेछ । अहिले साम्राज्यवादको विरोध गरेर केही हुँदैन ,पूँजीवादको विरोध गरेर केही हुँदैन  भन्ने कुराहरु बढी मात्रामा सुनिन थालेका छन् । मानिसहरुलाई उपभोक्तावादमा रमाउने बनाइएको छ । मानिसहरुलाई  निराश बनाइएको छ । त्यो भन्दा अझै बढी समाजवादी विचारहरुको विरोधमा,संसारभरका उत्पीडित जनताको विरोधमा बोल्ने आवाजहरुलाई  दमन गरिएको छ । समानता र न्यायको संघर्षलाई खिसी ट्युरी गर्ने संस्कारको विकास गरिँदैछ ।

मानिसहरुले आफु बाहेक अरु केही होइनन् भनेर सोच्ने बनाइँदैछ । मानिसहरुलाई विचार विहीनतामा पु¥याइदैछ । एक पुस्तालाई अर्को पुस्ताले गाली गर्ने काम राम्रो हो भनेर सिकाउने दर्शनको विकास गर्न खोजिँदैछ । साम्राज्यवादी हल्लाको पछाडि कुद्ने बनाइँदैछ । मानिसहरुलाई आफ्नो पनमा गर्व नगर्ने बनाइँदैछ । विश्वभरि साम्राज्यवादी संस्कृति फैलाइँदैछ । महिलाहरुको हक अधिकार नजानिँदो तरिकाले खोसिँदैछ ।

यस्तो अवस्थामा संसारभरिका महिलाहरु एक भएर साम्राज्यवादको विरोधमा धारणाहरु निर्माण गर्न सहयोग पुग्ने प्रकारको कार्यक्रम गर्नु चानचुने कुरा होइन । महिलाहरुको सैद्धान्तिक गोष्ठीमा प्रस्तुत हुने विषयहरुले संसारभरिका महिलाहरुको हक, अधिकार प्राप्ति र रक्षाकोलागि संघर्ष गर्ने प्रेरणा प्रदान गर्नेछ । संसारभरिका मानवताको रक्षाकोलागि साम्राज्यवादको विरोधमा आवाजहरु उठाउन प्रेरणा दिनेछ । संसारभरका उत्पीडित महिलाहरुको साझा समस्याको विषयमा एक भएर लड्न प्रेरणा प्रदान गर्नेछ । गोष्ठीले साझा समस्याको लागि साझा तरिकाले संघर्ष गर्न सैद्धान्तिक ज्ञान दिनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित